नाबालिग जबरजस्ती करणी मुद्दामा पीडितको बयान, मेडिकल रिपोर्ट, घटना मुचुल्का, प्रहरीले सोधपुछ गरेकाहरूले गरिदिएको घटनाविवरण कागज र सरकारी वकिलको मागदाबी विपरीत अदालतबाट आदेश आएको छ।
काठमाडौँँ– माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बिहीबार सहायक जिल्ला न्यायाधिवक्ता गणेशकुमार शर्मा ‘७३ नम्बर निवेदन’ सक्दो चाँडो लेखिसक्ने हतारोमा थिए। कुनै मुद्दामा सरकारी वकिलको मागदाबी विपरीत जिल्ला अदालतले गरेको आदेशविरुद्ध उच्च अदालतमा जाने प्रक्रिया ७३ नम्बर निवेदनको नाममा बुझिन्छ। मागविपरीत जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा प्रतिवादीलाई तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको पाँचौँ दिनै शुक्रबार सरकारी वकिल कार्यालयले ७३ नम्बर निवेदन उच्च सरकारी वकिल कार्यालय, पाटनमा पेस गरेको छ। अनेकन् मुद्दामामिलाका फाइलको चाङबीच कार्यालयले उच्च प्राथमिकतासाथ यो निवेदन किन ‘फरवार्ड’ गर्यो त?
१४ वर्षीया नाबालिग बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले सोमबार प्रतिवादी हिमाल शाहीलाई तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशले सरकारी वकिल कार्यालय र अनुसन्धानमा संलग्न प्रहरी नै आश्चर्यचकित छन्। हुन पनि पीडिताका बुवाले दिएको जाहेरी, स्वास्थ्य परीक्षण रिपोर्ट, घटनास्थलको मुचुल्का, पीडित र बुझिएका व्यक्तिहरूले गरेका घटनाविवरण कागजहरू अध्ययन गर्दा न्यायाधीशको आदेश आश्चर्यचकित पार्ने खालकै छ।
थुनामुक्त गर्न लिइएका आधार
मिसिल अध्ययन गर्दा न्यायाधीश ढकालले प्रतिवादी शाहीको इन्कारी बयानलाई पनि आधार मानेको देखिन्छ। शाहीले आफ्नो खाजा पसलमा खाजा खान र लिन आउने क्रममा बालिकासँग सामान्य चिनजान भए पनि बलात्कार नगरेको भनी इन्कारी बयान दिएका थिए। पीडिताले स्कुल बिदा भएपश्चात् खेलेर फर्किँदै गर्दा असोज २८ गते साढे ४ बजे आफूलाई साँघुरो गल्लीको एकान्तमा ढुकेर शाहीले पहिलोचोटि बलात्कार गरेको बयान दिएकी छन्। शाहीले मुख थुनिदिएको र कसैलाई भने छप्काइदिने धम्की दिँदै आफूलाई छाडिदिएको बालिकाले बयानमा भनेकी छन्। त्यसपछि आफू डरले काम्दै दौडिँदै डेरामा पुगेको बालिकाले बताएकी छिन्। त्यस दिनदेखि धाकधम्की दिँदै पटक–पटक एउटा स्कुल पछाडिको एकान्तस्थानमा लगी बलात्कार गरेको पनि बालिकाको बयानमा उल्लेख छ। पीडा भई अनुनयविनय गर्दा पैसा दिए यस्तो काम नगर्ने आश्वासन दिएको बताएकी छन्। बालिकाका अनुसार शाहीले उनीसँग भएको १५ सय रुपैयाँ लिई पछि एक हजार रुपैयाँ फिर्ता गरेका थिए। उक्त रकम स्कुलमा तिर्न भनेर अभिभावकले बालिकालाई दिएका थिए। त्यसलगत्तै घाँटी समातेर घटनाबारे कसैलाई नभन्न चेतावनी दिएको बताएकी छन्। “मैले भनेबमोजिम नगरे तेरो आँखा फुटाई अन्धो बनाई हातखुट्टा भाँचेर बाटोमा मागीखाने बनाई दिन्छु भन्दै धम्की दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए,” बालिकाको बयानमा उल्लेख छ। बालिकाका अनुसार शाहीले उनलाई अन्तिम पटक मंसिर ९ गते साढे ४ बजे बलात्कार गरेका थिए।
प्रतिवादीका तर्फबाट बहस गर्नेक्रममा कानून व्यवसायीहरूले पहिलोचोटि घटना भएको दिन घटस्थापना परेकाले स्कुल बिदा भएको र बिदाको दिन बालिका स्कुल गएको कुरा नमिलेको जिकिर गरेका थिए। न्यायाधीश ढकालले शाहीलाई धरौटीमा छोड्नुपर्ने प्रमुख कारणमा घटना भएको दिन घटस्थापनाको बिदाको दिन पर्नुलाई मानेका छन्। जबकि, बलात्कार बारम्बार भएको मिसिलमा संलग्न कागजातले देखाउँछ। र, घटस्थापनाको दिन पनि खेलेर फर्किँदै गर्दा बलात्कृत भएको बयान छ। बालिका अध्ययन गर्ने विद्यालय बन्द भए पनि खेलकुद भने भएको विद्यालयले पनि उकालोसँग पुष्टि गरेको छ।
प्रतिवादीका कानून व्यवसायीहरूले घटना भएको ठाउँ सार्वजनिकस्थल भएकाले त्यहाँ बलात्कार सम्भवै नहुने तर्क प्रस्तुत गरेका थिए। न्यायाधीश ढकालले पटक–पटक बलात्कार भएको कुरालाई बेवास्ता गरिदिए। आदेशमा ‘घटनास्थल भनिएको ठाउँ सार्वजनिक गल्ली बाटो देखिएको’ भनिएको छ। “बलात्कार जुनसुकै ठाउँमा पनि हुन सक्छ, सार्वजनिक ठाउँमा बलात्कार हुन्न भन्न सकिन्न,” अधिवक्ता ध्रुवराज पाण्डे भन्छन्, “बलात्कार भयो वा भएन भन्ने मुख्य कुरा हो।” न्यायाधीश ढकालले दिउँसोको साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार हुन नसक्ने आदेशमा उल्लेख गरेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले ७३ नम्बरको निवेदनमा न्यायाधीशको यो दाबीलाई खण्डन गर्दै भनेको छ, “वारदात राति मात्रै हुन्न। बिहान पनि हुन्छ। दिउँसो पनि हुन्छ।”
स्वास्थ्य रिपोर्टको उपेक्षा
घटनाका सम्बन्धमा चिकित्सकलाई दिएको बयान।
पीडिता असोज २८ गतेयता पटक–पटक बलात्कृत हुनु परे पनि अभिभावकसँग खुल्न सकेकी थिइनन्। घरैमा बोलाएर ट्युसन पढाइदिने छिमेकी किशोरीले थाहा पाई बालिकालाई मंसिर १० गते प्रहरी कार्यालय पुर्याएकी थिइन्। प्रारम्भिक सोधपुछमै बलात्कृत भएकोमा विश्वस्त भई प्रहरीले बालिकाका बुवालाई बोलाएर जाहेरी दिन लगाएका थिए। प्रहरीले तत्कालै बालिकालाई स्वास्थ्य परीक्षणका लागि कान्ति बाल अस्पताल पुर्याएको थियो। स्वास्थ्य परीक्षणका बेला बालिकाले चिकित्सकसमक्ष शाहीले आफूलाई दुईतीन दिनको फरकमा मंसिर ९ गतेसम्म बारम्बार बलात्कार गरेको बताएकी छन्। बालिकाले चिकित्सकसमक्ष दिएको यो बयान अस्पतालले प्रहरीलाई दिई अदालतमा पेस भएको स्वास्थ्य परीक्षण रिपोर्टमा पनि स्पष्ट उल्लेख छ। स्वास्थ्य परीक्षण गर्दा योनी च्यातिएको, दायाँ–बायाँ भाग रातो भएको र त्यहाँ योनीका झिल्लीका टुक्राहरू भेटिएको रिपोर्टले बालिकाको बयानलाई निर्विवाद रूपले पुष्टि गरेको छ। रिपोर्टले पीडित बालिकाको शारीरिकका साथै मानसिक स्वास्थ्य अवस्थाबारे पनि खुलाएको छ। “परीक्षणका क्रममा बालिका चिन्तित, त्रस्त र कापिरहेकी देखिन्थिन्,” रिपोर्टमा उल्लेख छ।
चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज (आईओएम)का पूर्वप्राध्यापक तथा मेडिकोलिगल विज्ञ डा. हरिहर वस्तीले नाबालिगको बलात्कार पुष्टि गर्न यो रिपोर्ट मात्रै पनि बलियो प्रमाण भएको बताए। “अघिल्लो दिनसम्म जबरजस्ती करणी भएको बालिकाले चिकित्सकलाई भनेकी छन्। भोलिपल्टै गरिएको स्वास्थ्य परीक्षणले योनी च्यातिएको, दायाँबायाँ भाग रातो भएको र झिल्लीका टुक्राहरू भेटिएको भनेर बालिकाको भनाइलाई पुष्टि गरेको छ,” वस्ती प्रश्न गर्छन्, “तर कहाँ कसले खेल्यो मलाई थाहा हुने कुरा भएन।”
बालिका नेपाल बाल मजदुर सरोकार केन्द्र (सीबीन)को संरक्षणमा छन्। “बालिका अहिले पनि टोलाइरहने, झस्किने र काम्ने गर्छिन्,” सीबीनका प्रवक्ता सागर भण्डारीले भने। शाहीले पछार्दा बालिकाको घुँडामा परेको चोट उपचार हुननसक्ता गम्भीर भएको छ। सीबीनले शुक्रबारै बालिकाको घुँडाको एमआरआई गराएको छ।
यो पनि – काठमाडौँमा नाबालिग बलात्कृत घटनाः प्रहरी भन्छ– मेडिकल रिपोर्टबाट बलियो आधार भेटियो
बारम्बार बलात्कृत भएको बयानका बाबजुद त्यसमध्ये एक दिन घटस्थापना परेकाले स्कुलबाट फर्किएको कुरा मिलेन भनेका न्यायाधीश ढकालले स्वास्थ्य परीक्षण रिपोर्टको मूल कुरा पन्छाउँदै स–साना त्रुटि औँल्याउँदै थुनामुक्त गर्ने छिद्र खोजेको देखिन्छ। आदेशमा जाहेरी बेहोरा र पीडितले स्वास्थ्य परीक्षण गराउँदा लेखाएको विवरणमा एकरूपता नदेखिएको भनिएको छ। जाहेरी र बालिकाले गरेको कागजमा अन्तिम पटक मंसिर ८ गते बलात्कृत गरेको उल्लेख छ। तर, स्वास्थ्य परीक्षण रिपोर्टमा भने अन्तिम पटक मंसिर ९ गते बलात्कार गरेको लेखिएको छ। यो त मिति लेख्दा अस्पतालबाटै त्रुटि भएको हुनसक्ने परीक्षणमा संलग्न कान्ति बाल अस्पतालका चिकित्सकले बताए। “मुख्य कुरा अस्पतालले बलात्कार भएको निष्कर्ष प्रस्टसँग निकालेको छ, त्यसैअनुसारको रिपोर्ट पठाइएको छ,” ती चिकित्सक भन्छन्, “निर्दोष साबित गर्न झिनामसिना त्रुटि खोज्दै जाने हो भने त त्यसमा फेला नपरे अर्को केही खोज्छन्।”
“अन्तिम पटक बलात्कार भएको मिति फरक–फरक उल्लेख भएको भनियो,” एक सरकारी वकिल भन्छन्,“इजलासले प्रमाण हेर्ने हो, लेख्दा मिति फरक परेको कुरालाई निर्दोष ठहर्याउने आधार बनाउन थाल्ने हो भने न्याय दिलाउन झन् सकस पर्छ।”
बयान परिवर्तन गराउने खेल निरन्तर
जाहेरी दर्ता भई शाही पक्राउ परेको भोलिपल्टैदेखि उनका नातेदारले बालिकाका अभिभावकलाई लोभ्याएर मुद्दा कमजोर बनाउन प्रयास थालेका थिए। बालिकालाई भानुभक्त स्कुलमा पढाइदिने र ५० हजार रुपैयाँ नगद दिने प्रस्ताव राखेको बालिकाका बुवाले उकालोसँग बताएका थिए। सीबीनका मनोपरामर्शदाता हीरादेवी खत्रीले अहिले पनि बयान परिवर्तन गराउन अभिभावक र नातेदारले संस्थामा आएर बालिकालाई दबाब दिइरहेको बताइन्। “बालिकाको पीडाप्रति अभिभावक संवेदनशील देखिँदैनन्,” उनले भनिन्, “भेट्ने बहानामा बालिकालाई थर्काएर जान्छन्।”
यो पनि – काठमाडौँमा 'बलात्कृत' नाबालिगमाथि अभिभावकबाटै यातना
खतिवडाका अनुसार बिहीबार बालिकाका काका र हजुरआमाले बालिकालाई जबरजस्ती घरमा लैजान खोजेका थिए। काका नेपाली सेनामा कार्यरत हुन। अभिभावकले यातना दिने कारण देखाइ बालिका घर जान चाहेकी छैनन्। बुवाआमाले ‘भानुभक्त जस्तो ठूलाबडाका छोराछोरी पढ्ने स्कुलमा पढ्न पाउँछेस्, घर हिँड्, केही पनि भएको होइन भन्दे’ भन्दै फकाइरहेको पीडिताले खतिवडासँग बताएकी थिइन्।
पीडितका बुवाले चाहिँ थुनामुक्त भएपछि शाहीले आफूहरूलाई धम्की दिन थालेको बताएका छन्। “झूटो मुद्दा हाल्नु भयो, नातिनीजस्ती नानीलाई मैले त्यस्तो (बलात्कार) कसरी गर्न सक्छु?,” हिरासतबाट छुटेकै दिन साँझ शाहीले पीडिताका नातेदारसँग भनेका थिए, “मैले पनि झूटा मुद्दा हालिदिन सक्छु। मलाई कमजोर ठानेको हो?”
शाही छुटेर आएपछि आफूले असुरक्षित महसुस गरिरहेको पीडिताका बुवाले बताए। उनले भने, “उसकै (शाही) पसलको बाटो भएर हिँड्नुपर्छ, केही गर्ने हो कि भन्ने डर लागेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
