जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ।
ढोरपाटन– अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का–थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ।
दुर्गम गाउँ भए पनि डेढ दशक अघिसम्म यहाँ खेतीपाती र पशुपालन गरी स्थानीयले जीविकोपार्जन गर्दै आएका थिए। जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छे गाउँ छोड्दै बजार ओर्लिन थाले। हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ। गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ। नजिकै स्वास्थ्य चौकी र आँगनअघि गाडी गुड्छन्। सुविधा घरको आँगनमै पुगे पनि गाउँलेको बजार मोह घटेको छैन।
सदरमुकाम बागलुङ बजारबाट २०५८ सालमा रायडाँडा जोड्ने सडकको काम शुरू भयो। २०६० सालमा रायडाँडासम्म गाडी पुग्यो। सडक पुगेको धेरै वर्षसम्म स्थानीय गाउँमै बसे पनि अहिले अधिकांश बागलुङ बजारमा बस्ने गर्छन्। रायडाँडा बागलुङ नगरपालिकाको सबैभन्दा टाढा र दुर्गमको वडा हो। यहाँ अहिले विकासले गति लिन थालेको छ। भौगोलिक हिसाबले जैमिनी नगरपालिकासँग नजिक पर्ने भए पनि रायडाँडालाई बागलुङ नगरपालिकामा गाभिएको छ। रायडाँडा साबिक गाविस थियो। स्थानीय तह स्थापनापछि रायडाँडालाई एउटै वडा बनाइएको छ। बर्सेनि बसाइँसराइले गर्दा रित्तिएको गाउँका घर मक्किन थालेका छन्। अहिले केही बालबालिका र बुढापाका मात्रैले गाउँ धानेका छन्।
उत्पादनका हिसाबले उर्वर ठाउँ भए पनि बढ्दो बसाइँसराइका कारण काम गर्ने जनशक्ति घट्दै गएका छन्। युवा शक्ति विदेश पलायन र हुनेखाने बजार झरेपछि यतिबेला रायडाँडामा सामान्य वर्गमात्र रहेका छन्। बसाइँसराइ गरेर बजार झरेका पनि बेलाबेला गाउँ जाने गरे पनि खेतबारीमा खेतीपाती भने गर्दैनन्।
सीमित किसानले मात्रै खेती किसानी गर्दा गाउँमा उत्पादन कम भएर भोकमरी निम्तिने जोखिम बढेको स्थानीय दुर्गाबहादुर थापाले बताए। पहिले–पहिले गाउँमा वरपर काम गर्ने छरछिमेकी पाइने, कुनै पनि जग्गा जमिन खाली नहुने भन्दै अहिले खेतीयोग्य जमिन सबै बनमाराले ढाकिँदै गएको गुनासो उनले पोखे। दुई दशक पहिले गाउँमा कुनै विकास नभएको बेला बसाइँसराइ शून्य रहेको उनले स्मरण गरे। अहिले बस्ती नै रित्तिँदै गएको छ।
“पहिले गाउँमा विकास थिएन। मान्छे थिए। अहिले गाउँमा विकास आयो। मान्छे बजार झरे। अब गाउँ घर त हुँदाखाने र गरिब जनताको मात्रै हुने भयो,” उनले भने, “मान्छेले खेती गर्न छोडे। बजारबाटै चामल, पीठो लिएर खान्छन्। पहिले गाउँमा मकै, कोदो निकै उत्पादन हुन्थ्यो। अहिले वर्षभरि खान पुग्दैन।”
गाउँमा भोकमरी आउने जोखिम बढ्यो उनको भनाइ छ। “अहिले बारी हेर्न गयो भने बैराग लाग्छ। हाम्रो पालामा गाउँ घर कति रमाइलो थियो। अहिले केही छैन,” उनले भने, “सबैलाई बजार चाहिने, विदेश नै जानुपर्ने, यही हिसाबले बसाइँसराइ हुँदै गयो भने अबको १० वर्षमा गाउँमा कोही पनि रहने छैन।”
स्थानीय ओमबहादुर केसी गाउँमा जनसंख्या कम हुँदै गएपछि बाँदर आतंक बढ्दै गएको सुनाउँछन्। पहिले जंगलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उनको भनाइ छ। विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको केसीले बताए। गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बागलुङ बजार पुग्नुपर्ने अवस्था छ। सरकारले गाउँमा सेवासुविधा थपे मात्रै बसाइँसराइ रोकिने स्थानीयको अपेक्षा छ।
बागलुङ बजारबाट रायडाँडासम्म पुग्ने सडक पनि जोखिमपूर्ण छ। दुई दशक पहिले ‘ट्र्याक’ खुलेको सडक अहिले पनि साँघुरो र खाल्डाखुल्डी परेको छ। जसले गर्दा यात्रा निकै कष्टकर हुने गरेको छ। सडक अप्ठ्यारो हुँदा २० किलोमिटर सडकमा यात्रा गर्न दुई घण्टा बढी लाग्छ। रायडाँडाबाट अघिल्लो वर्ष करिब १६ र चालु वर्ष आठ घर परिवार बसाइँसराइ गरेर अन्तै गएको वडा कार्यालयले जनाएको छ। सडकको दुरावस्था र गाउँमा स्वरोजगारको अवसर नहुँदा धेरै स्थानीय बसाइँसराइ गर्छन्। बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँलाई राष्ट्रिय सडकसँग जोड्न नसक्दा समस्या भएको बताए।
२० वर्षअघि खुलेको सडक पाँच वर्षअघि नै एशियाली विकास बैंकले स्तरोन्नति गर्ने भनेको थियो। तर अहिलेसम्म प्रक्रिया पूरा हुन सकेको छैन। रायडाँडाबाट बसाइँसराइ रोक्नका लागि गाउँमै रोजगार सिर्जना गर्ने र स्थानीयलाई उत्पादनसँग जोड्नुपर्ने स्थानीयवासीको भनाइ छ। “भूगोलका हिसाबले पहिलेदेखि नै अलि पछाडि परेको क्षेत्र भएको हुँदा विकास ढिला भयो,” अध्यक्ष गौतमले भने, “पहिलेको तुलनामा विकास धेरै भएको छ। गाउँका मान्छेलाई गाउँमै रोक्ने धेरै प्रयास गरिरहेका छौँ।”
युवा शक्तिलाई लक्षित गरी स्वरोजगार कार्यक्रम ल्याउने वडाको योजना छ। सडकका कारण उत्पादनले बजार पाउन सकेको छैन। “सडकको अवस्था पनि सुधार गर्ने चरणमा छौँ। त्यसैले बसाइँसराइ रोकिने विश्वास लिएका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
