काठमाडौँका चार युवा मिलेर दुर्घटनामा परेका वा कुनै रोग लागेका व्यक्तिहरूलाई सहयोग जुटाउन उनीहरूका घाउ या रोगको अवस्थालाई कलात्मक ‘पेन्टिङ’मा उतारिरहेका छन्।
काठमाडौँ– उज्यालो कोठा। कुनातिरको भित्तामा एउटा पेन्टिङ झुन्ड्याइएको छ जुन झट्ट हेर्दा कुनै भूगोलको नक्सा जस्तो देखिन्छ। तर नियाल्दै जाँदा त्यो नक्सा नभई दुर्घटनामा परेर पिँडौलामा मोटरसाइकलको रड छिरेको घाउको पेन्टिङ हो। त्यसमा वरिपरिबाट घाउ निको हुँदै गरेको देखाउन खोजिएको छ। तर बीचमा रातो रङले घाउ अझै आलै छ भन्ने पनि दर्शाउँछ।
यो पेन्टिङ काठमाडौँ, मूलपानीकी १८ वर्षीया इङ्शारा लिम्बूले १० घण्टा लगाएर तयार पारेकी हुन्। उनले पेन्टिङमा देखाउन खोजेको घाउ ताप्लेजुङका ३८ वर्षीय सन्देश (नाम परिवर्तन) को हो। काठमाडौँमै सडकमा हिँड्दै गर्दा सन्देशलाई मोटरसाइकलले ठक्कर दिएको थियो। त्यही बेला मोटरसाइकलको रडले उनको पिँडौला छेडिएको थियो।
तत्कालै हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल चाबहिल पुगेर जाँच गर्दा पिँडौला छेडिएर हड्डी, मांशपेसी र नशालाई समेत ठूलो क्षति पुगेको देखियोे। चिकित्सकले उनलाई कम्तीमा ६ हप्ता आराम गरेर बैसाखीको सहारामा मात्रै हिँड्नुपर्ने र लगातार फिजियोथेरापी पनि लिएमा चोट निको हुने सल्लाह दिए। यो दुर्घटनाले सन्देशलाई शारीरिकसँगै मानसिक रूपमासमेत आघात पुर्यायो।
उनको घाउ र उपचार प्रक्रियाको पेन्टिङ बनाउन गत साउन १६ गते लिम्बू अस्पताल पुगिन्। सन्देशको सहमतिमा घटनाको कथा र भिडियो रेकर्ड गरेर फर्केकी उनले त्यसको १० दिनपछि आफ्नो कोठामा बसेर सेतो, पहेँलो, रातो र गुलाबी रङको क्यानभासमा सन्देशको घाउ निको हुने आशालाग्दो सन्देश सहितको पेन्टिङ उतारिन्। जिम्मेवार निकायहरूले सडक दुर्घटना कम गर्न पहल नगरेकोमा अभिव्यक्त असन्तुष्टि र ध्यानाकर्षण पनि पेन्टिङमा झल्किन्थ्यो।
“सडकमा दिनहुँ दुर्घटना भइरहेका छन्। त्यसतर्फ ध्यान कम दिइएको छ। दुर्घटनाबाट धेरै मानिस घाइते हुन्छन्”, उनी भन्छिन्, “शारीरिक, भावनात्मक र आर्थिक रूपमा पीडामा हुँदाहुँदै पनि आफ्नो स्वास्थ्यलाभको लागि धैर्यपूर्वक प्रतीक्षा गर्ने साहस थोरै मानिसमा मात्र हुन्छ। घाउ निको हुने आशा जगाउने र सडक दुर्घटना कम गर्न ध्यानाकर्षण गराउने उद्देश्यले यो पेन्टिङ बनाइएको हो।”
लिम्बूले जस्तै बालुवाटारका १८ वर्षीय युगेश्वर कोइरालाले पनि दुर्घटनामा परेका व्यक्तिहरूको घाउको अवस्था र निको हुने प्रक्रिया दर्शाउने पेन्टिङ गरेका छन्। उनको कला झट्ट हेर्ने मानिसले त्यसको सन्देशबारे आ–आफ्नै धारणा राख्ने गरेका छन्।
धेरैले उनको पेन्टिङमा झर्ना देखाइएको अनुमान लगाउँछन्। तर पेन्टिङमा देखिने ठाडो सेतो भाग मानव मेरुदण्ड हो। सेतो भाग बीचको खाली ठाउँले चर्किएको मेरुदण्ड निको हुँदै गरेकोे देखाउँछ। माथिल्लो दायाँपट्टिको अनियमित भागले तीव्र गतिको लामो दुखाइ र तल्लो बायाँपट्टिको भागले घाउ निको भएको सन्देश दिन खोजिएको छ।
यो पेन्टिङ भवन निर्माणको क्रममा चिप्लिएर लडेपछि मेरुदण्ड भाँचिएका सिन्धुपाल्चोकका रुमिन (नाम परिवर्तन) को हो। करिब २० मिटर अग्लो बाँसको तख्तामा उभिएर काम गरिरहेका उनी चिप्लिएर खसेका थिए। परिवारका एकमात्र कमाउने व्यक्ति रुमिनको कम्मरको ठीक माथिपट्टिबाट मेरुदण्ड भाँचियो।
त्यही घाउको कारण उनी दुई दिनसम्म बेहोश थिए। शल्यक्रियापछि हिँड्ने आशा राखेका रुमिन गमनशीलता र घरेलु गतिविधिलाई सहज बनाउन आफूलाई काम लाग्ने प्रविधि छिट्टै आउला भन्ने आशामा छन्। उनको घाउको पेन्टिङ तयार पार्न कोइरालालाई एक हप्ता लाग्यो।
दुर्घटनामा परी घाइते भएकाहरूको पेन्टिङ गर्ने लिम्बू र कोइराला मात्र छैनन्। उनको समूहमा अरू दुई जना पनि छन्। उनीहरू हुन्– चाबहिलकी १९ वर्षीया अस्मी अर्याल र बालुवाटारका १८ वर्षीय युगोत्तम कोइराला। दुवै जना विरामीका कथा लेखनमा संलग्न छन्। उनीहरूले लिम्बु र कोइरालाले बनाएको पेन्टिङको सन्देश लेख्छन्। प्रत्येक कथालाई उनीहरूले शीर्षक पनि दिएका छन्। दिइएका केही शीर्षकहरू संर्ष, निदान, सहस, आभारलगायत छन्।
दुःखद् घटनापछिको उपचार प्रक्रियालाई लेखन र चित्रकलाको माध्यमबाट देखाउने कलालाई चार जना साथीहरूको समूहले ‘सञ्चो स्टोरिज’ नाम दिएका छन्।
‘सञ्चो स्टोरिज’को थालनी
समूहको औपचारिक थालनी दुई वर्षअघि मात्र भए पनि यस खालको कलायात्रा भने १० वर्ष अघिदेखि नै शुरू भएको थियो। कला पाठशालाको पहिलो हप्ता। कला र लेखनमा रुचि भएका अस्मी, युगेश्वर, इङ्शारा र युगोत्तमको मित्रता कलाकै कक्षाबाट अघि बढ्यो।

पहिलो कक्षाको कथा परियोजनादेखि खाली समयमा ‘डुडलिङ’, खाजाको समयमा कथाका विचारहरू आदानप्रदान र दर्जनौँ विद्यालय परियोजनाहरूमा सहयोग र सहकार्य गर्दै अघि बढेको उनीहरूको यात्राबाट बिस्तारै चार जनाको समूह बन्यो। परस्पर कुराकानी, कला कक्षा र लेखन डेस्कहरूबाट समूहको सक्रियता बिस्तार हुँदै गयो। सँगै हुर्किंदा एकअर्काको सफलता मनाउँदै र नयाँ चासोहरू खोज्दै गर्दा ग्रामीण स्वास्थ्य शिविरहरूमा बिरामीलाई मद्दत गर्ने प्रेम समावेश भई मिलेर काम गर्ने योजनाले ‘सञ्चो’ जन्माएको उनीहरू बताउँछन्।
यस्तो छ ‘सञ्चो’को लक्ष्य
प्रत्येक घाउ, हरेक चोट र जुनसुकै बिरामीसँग सुन्न योग्य कथा छ भन्ने विश्वासले ‘सञ्चो स्टोरिज’ जन्मायो। त्यस्ता कथाहरूको कलात्मक प्रस्तुतिमार्फत् बिरामीको आवाज बन्ने, रोग र अशक्ततामाथि समाजले थोपर्ने कलंक तथा लाञ्छनाका मुद्दाहरूलाई उठाउने र उपचारको सुन्दरतालाई चित्रण गर्ने लक्ष्य यसले राखेको छ। विभिन्न रोगसँग लडिरहेका र तिनलाई जितेका बिरामीहरूको सुमधुर उपचारयात्रा देखाउने पहल सञ्चोले गरेको समूहकी सदस्य अस्मी अर्यालले बताइन।
“बिरामी र तिनका परिवारहरू गरिबीको रेखामुनि धकेलिँदा उनीहरूले स्वास्थ्य बीमाको पहुँच नपाएका र अस्पतालको खर्च धान्न नसकेका धेरै उदाहरणहरू छन्। अझ अपांगताका कारण तिनै मानिसहरूले अकल्पनीय हदसम्म कलंक र भेदभावको सामना गर्छन्,” उनी भन्छिन्, “यस्ता सामाजिक र आर्थिक कठिनाइहरूलाई प्रकाशमा ल्याउन जरुरी छ। उपचार आफैँमा एउटा कला हो। यसलाई हाम्रो काममार्फत चित्रण गर्ने प्रयासमा छौँ।”
तयार भएका पेन्टिङ चित्रहरूको प्रदर्शनी गर्नु र बिक्रीबाट उठेको रकमले बिरामीहरूलाई सहयोग गर्नु आफूहरूको उद्देश्य भएको युगोत्तम कोइरालाले बताए। उनी भन्छन्, “पेन्टिङको निश्चित संख्या पूरा भएपछि कोषवृद्धिका लागि प्रदर्शनीहरू सञ्चालन गरेर हामीले बनाएका चित्रहरू बेच्छौँ। त्यसको आम्दानीबाट खाँचोमा परेका बिरामीहरूलाई सहयोग गर्छौं।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
