सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा छ। डेरा र मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्याउँदैन। पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण छ।
“यति कुरा सतहमा आइसकेपछि कांग्रेस आफ्ना उपसभापति तथा सांसद धनराज गुरुङबारे बोल्नुपर्छ। संसदीय र पार्टीको आन्तरिक संयन्त्रले निर्मम छानबिन गर्नुपर्छ। माननीय गुरुङले अरू बेला पढाएको पाठ सम्झिने हो भने छानबिनका लागि आग्रहसहित स्वःनिलम्बन घोषणा गर्ने हिम्मत देखाउनुपर्छ,” गुरुङकी पूर्वश्रीमती ज्योति सहकारीको बचत दम्पच पारेर बिदेसिएको अनि गुरुङले पाँच वर्षअघि गरेको छोडपत्रसमेत कागजी मात्रै भएको आशयका समाचार सार्वजनिक भएपछि पत्रकार नारायण अमृतले एक्स (ट्विटर)मा पोष्ट गरे। अमृतको माग अर्द्धसम्बोधन हुनेगरी गुरुङले आफूउपर छानबिन गर्न आग्रहचाहिँ गरेका छन्।
“संसदीय छानबिनका लागि तयार छु, यो मेरा लागि सुवर्ण अवसर हुनेछ,” प्रतिनिधिसभाको बैठकमा मंगलबार गुरुङले भने, “ममाथि लागेको आरोपको सत्य–तथ्य छानबिन गर्न सभामुखमार्फत गृहमन्त्री र सम्बन्धित निकायलाई अनुरोध गर्दछु।” बैठकमै उनको छोडपत्रलाई ‘नक्कली’ भन्ने रास्वपा सांसद गणेश पराजुलीलाई ‘जसले नक्कली काम गर्छ, उसले अरुलाई पनि नक्कली देख्छ’ भनेर कटाक्ष गरी नक्कली छोडपत्र सावित गर्न चुनौती पनि दिए। उनले बारम्बार भनिरहने ‘म निष्ठा र नैतिकताको राजनीति गर्छु’ प्रतिनिधिसभाको सो बैठकमा पनि छुटाएनन्। २०८० भदौ १२ को प्रतिनिधिसभामा बैठकमा पनि उनी ‘निष्ठा र नैतिकताको राजनीतिबाट कतै चुकेको छैन’ भन्दै गर्जिएका थिए।
भाषण होस् वा सामाजिक सञ्जालका पोष्ट वा बैठकहरूमै पनि आफूलाई सच्चरित्रवान/आदर्शवान दाबी गर्ने उनको पुरानै आदत हो। सामाजिक सञ्जाल (खासगरी एक्स उर्फ ट्विटर)मा आदर्शवचन र ‘पपुलिस्ट’ पोष्ट गरी लाइक्स/शेयर खाने लत परेका गुरुङ कांग्रेसको उपसभापति र झन्डै वर्ष दिन कानून, न्याय तथा संसदीय मामिलामन्त्री हुँदा झन चर्को सुनिए नै, उनका यस्ता पोष्ट/भाषण समाचार बनिहाले। उनका भाषण/पोष्टमा भ्रष्टाचारको दोहोलो काडिएको हुन्छ, सुशासनको अभियन्ता सुनिन्छन्।
“सदियौँदेखि जकडिएर रहेको विकृति, विसंगति र भ्रष्टाचारको अन्त गर्न सकौँ,” नयाँ वर्ष २०८१ को शुभकामनामा लेख्छन्, “सुशासनमार्फत नेपाली जनताको मुहारमा मुस्कान फर्काउन सकौँ।”
भ्रष्टाचार गरेको प्रमाण भई अदालतबाट ठहरेको अवस्थामा राजनीति त कानूनले नै छोडाइदिने देशमा ‘मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छाड्छु’ भनेर रवि लामिछाने टाइपको भाषण पनि गर्दिन्छन् (रवि त ३४ वर्षअघि संविधानले नै मृत्युदण्ड कानून बनाउन निषेध गरेको देशमा बारम्बार ‘भ्रष्टाचार गरेको प्रमाण भए फाँसीमा लट्काइदिए हुन्छ’ भन्दिएर ताली खाइदिन्छन्)। भारतमै प्रधानमन्त्री नरेन्द्र मोदी आलोचित हुने र सफल कम, विफल ज्यादा ठानिने नोटबन्दीबारे बेखबर जस्तो सुनिने धनराज ‘पाँचसय र हजारका नोटमा प्रतिबन्ध लगाऔँ, भ्रष्टाचारीलाई पाता कसौँ’ भनेर ‘फुटेज’ खाइदिन्छन्। (२०२३ मार्च १८)
सार्वजनिक ओहोदा धारण गरेकाहरूको सम्पत्ति छानबिन गर्न आयोग गठनको माग गरी गुरुङको प्रस्ताव तथा बद्री पाण्डे र जीवन परियारको समर्थनमा सार्वजनिक महत्त्वको प्रस्ताव चैत २७ गते दर्ता भएको थियो।
रक्तचाप घटेर मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई २०८० साउन २८ गते डिस्चार्ज भएका तत्कालीन मन्त्री गुरुङ सरकारबाट उपचार खर्च नलिने घोषणा मात्रै गर्दैनन् ‘जबसम्म गरिबभन्दा गरिब नेपालीलाई निःशुल्क उपचार गर्न सक्दैन तबसम्म राज्यकोषबाट एक पैसा पनि उपचार खर्च लिदिनँ,’ भनेर भ्युजको भिड लगाइदिन्छन् । मन्त्री क्वार्टरमा सरेपछि दलित युवकलाई भान्छे बनाएको २०८० जेठ २ को ‘नेपालबहस डटकम’मा प्रकाशित समाचार उनले शेयर गरेका छन्। “पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छाड्नुपर्छ भन्ने मान्यता राख्छु,” फोटोसहित गरिएको पोष्टमा लेख्छन्, “आजै मन्त्री निवासबाट पुरानै डेरामा फर्किएको छु।”
स्वघोषित सच्चरित्रवान बन्न डेरामा बस्ने/सार्वजनिक यातायात चढ्ने कुरालाई नै ‘ग्लोरीफाई’ गर्ने लत कतिपयमा हुन्छ। डेरा, सस्ता/मैला पोसाकले सच्चरित्रवान हुने प्रमाणको भार पुर्याउँदैन। घर वा डेराभन्दा पहिले त आर्जन वैध हुनु महत्त्वपूर्ण हो। यहाँ मलाई ‘डेरामा बस्छु’ भन्ने एकजना सशस्त्र प्रहरीका पूर्व महानिरीक्षको झल्याँस्स याद आयो, जो शहरको घर भाडामा लगाएर बुढानीलकण्ठमा रोपनीऔँ जग्गामा बनेको घर भाडामा लिएर बस्थे, सम्पत्ति अकूत छ।
आफूलाई निष्ठा र नैतिकताको राजनीतिको अनुयायी, सुशासनको अभियन्ता, गरिबको मसिहा दाबी गरिरहँदा चिन्नेहरू चाहिँ ‘फ्याक्ट चेक’ मा दाबी सत्य नहुने नै सुनाउने गर्छन्। रातो राहदानी काण्डमा उनले पाएको ‘क्लिन चिट’ गिरिजाप्रसाद कोइरालाको सदिच्छाको कारण सम्भव भएको कोइराला परिवार वरपर रहेकाबाटै सुनिन्छ। राहदानी दुरूपयोगको कुरा थाहा पाएपछि गिरिजाप्रसादले बोलाएर नराम्रोसँग झपार्दाका प्रत्यक्षदर्शीहरू पनि कोइरालाले जोगिउन चाहेको सुनाउँछन्। त्योबेला उनीमार्फत दुरूपयोग भएको भनिएको राहदानीको राहदानीवाहक लमजुङका सांसद रामचन्द्र अधिकारी (२०५५ सालमा गिरिजाप्रसाद नेतृत्वको सरकारमा आठ महिना स्वास्थ्य सहायकमन्त्री)को राजनीति त्यही काण्डले स्वाहा पारिदियो। यसैले त ‘रातो पासपोर्टले डामिएको मुख जति धोए पनि रातै हुन्छ,’ फेसबुकमा सरस्वती तिमिल्सिनाको पोष्ट छ ।
भाषण/पोष्टले उनी कांग्रेसप्रति उत्तिकै चिन्तित सुनिन्छन्।
“निष्ठाका प्रतिमूर्ती सर खगेन्द्र रेग्मी सिभिल अस्पतालमा उपचाररत हुनुहुन्छ (रेग्मीको निधन भइसकेको छ)। हस्पिटलको शैयाबाट भन्नुभयो– कांग्रेस बिग्रिन नदिनू। बिग्रिन दिन्नँ। सुधार्छु। चिन्ता नलिनू मैले भनेँ” उनले अप्रिल २८ मा पोष्ट गरेका छन्। कांग्रेसको महासमिति बैठकमा गत फागुन ७ गते उनले कांग्रेसका वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने हिम्मत महासमितिले गर्नुपर्छ भनेका थिए। “हाम्रो आचरणबाट, हाम्रो कार्यबाट, हाम्रो कार्यदिशाबाट, हाम्रो व्यवहारबाट, गौरवमय इतिहास निर्माण गर्न आवश्यक छ,” कांग्रेसको स्थापना दिवसको दिन जनवरी २६ मा उनले पोष्ट गरेका छन्।
उहिले नेताहरू ताली बज्ने ‘पञ्चलाइन’मा मथिंगल खियाउँथे, अहिले भ्युज/लाइक्स/शेयर तिनको दिमागमा भन्किरहेको हुन्छ। सामाजिक सञ्जालवाला फण्डामार्फत पपुलिष्ट हुनेमा नयाँ भनिएकाहरू आरोपित भए पनि तिनका पनि हेडमास्टर सुनिन्छन्, गुरुङ। रातो राहदानीमा क्लिनचिटका बावजूद नेपथ्यमा पुगिसकेका उनलाई पहिलो संविधान सभामा त समावेशीकरणको छालले समानुपातिकको बाटोमार्फत पुर्यायो। त्यसबखत जनजाति आन्दोलन भइरहँदा उनी ‘बाहुन क्षेत्रीले टुप्पी कसेर लोकसेवाको तयारी गर्दा जनजाति लाहुरेको सपना देखेर तिघ्रा बनाउन दगुर्ने, अहिले रिस गरेर हुन्छ?’ भन्दै बाहुन क्षेत्रीको ताली खाइरहेका हुन्थे। दोस्रो संविधानसभामा पनि स्थान सुनिश्चित गर्नेदेखि कांग्रेसको उपसभापतिसम्मको मार्ग आदर्श वचनमार्फत आर्जित लोकप्रियताले प्रशस्त गरायो। धनराज उपाध्यक्ष रहेकै नेवि संघ केन्द्रीय समितिको महामन्त्री रहेका सांसद चन्द्र भण्डारी पनि यही पथमा छन्।
“देशको स्वाधिनता हरेक व्यक्तिको पद, मान, सम्मानभन्दा कता हो कता माथि हुन्छ,” नेपाल टेलिभिजनलाई दिएको अन्तरवार्ताको क्लिपबाट टिकटकमा भाइरल भिडियोमा गुरुङ सुनिन्छन्। भाषण गर्दा ताली बज्ने अनि भिडियो सञ्जालमा भाइरल हुन के बोल्नुपर्छ भन्नेमा पोख्त उनी ‘देखेपछि प्वाक्कै भन्दिने बानी छ है, नरिसाउनू होला’ भनेर ‘आफैले दिने शिक्षाप्रति विश्वास नभएर आफना छोराछोरीलाई बोर्डिङ स्कुल पढ्न पठाएर आफू पढाउन सामुदायिक विद्यालय जाने गरेको’ नेपाल शिक्षक संघकै कार्यक्रममा ठोक्दिन्छन्। “मन्त्री भएपछि उद्घाटन गर्न रिबन काटेर हिँड्ने, शिलान्यास गर्न ढुंगा बोकेर हिँड्ने होइन,” मन्त्री रहँदै उनी भाषण गर्छन्, “मेरो त सिधा कुरा छ। लोभी नेता भएको देशमा जनता खुशी हुन पाउँदैनन्।” यति भन्दिएपछि कार्यक्रममा ताली त बज्छ नै, प्रकाशित समाचारको लिंक ठेल्दिएपछि भ्युज/लाइक्स/शेयर सुनिश्चित भइहाल्छ।
गत वर्ष भदौ ४ गते प्रदीप गिरिको निधनको एक वर्ष पुगेकै दिन सामाजिक सञ्जालमा उनलाई सम्झिइएका पोष्टहरू चलिरहँदा कानून तथा न्यायमन्त्री रहेका गुरुङ पोष्ट गर्छन्, “सशस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्कीले बनारसबाट सिरानीभित्र लुकाएर ल्याएको ग्रिनेड सुराकीको कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते जेल चलान गर्दा नख्खु ओरालोमा गोली हानेर मारियो। सुराकी को?”
उनकै ट्विटमा कांग्रेसकै नेता लोकेश ढकाल जवाफ दिन्छन्, “पार्टी पंक्तिमा त त्यति बेला बनारसतिरै बस्ने, योजना बनाउँदा बैठकमै भएका कांग्रेसीले सुराकी गर्या सुन्दै आएको हो, यहाँ भन्न भएन। यो कुरा त धनराजजीलाई पनि पक्कै थाहा होला नै। जय नेपाल।”
ढकालको जवाफमा गुरुङ फेरि लेख्छन्, “लोकेशजी तपाईं हामीजस्ता कांग्रेसको इतिहास अध्ययन गर्नेहरू सबैलाई थाहा छ। तपाईं जस्तो अध्ययन गर्ने मान्छेलाई थाहा नहुने कुरै भएन। यहाँले भन्नुभए जस्तै यहाँ भन्न मिलेन। तथापि सुराकीहरूलाई देवत्वकरण गरिनु एकदम गलत कुरा हो।” उनी अंग्रेजीमा थप्छन्, “आई विलिभ द्याट यु आर अग्रिड दिस स्टेटमेन्ट।”
खासमा नाम नलेख्ने चतुर्याई देखाउँदै गुरुङले प्रदीप गिरिलाई सुराकी करार गरी सशस्त्र विद्रोहमा हिँडेका विद्रोहीद्वयको हत्या गराएको घोषणा गरिदिएका थिए। ‘तपाईं हामीजस्ता कांग्रेसको इतिहास अध्ययन गर्नेहरू सबैलाई थाहा छ’ लेख्ने धनराजले थाहा नपाएको कुरो त उनले उल्लेख गरेको काण्डमा मारिनेमा लीला दाहाल र ठगी दाहाल पनि थिए, लीला त अझ त्यो टिमको लिडर नै थिए। फेरि उनले कुन चाहिँ इतिहास पढेर यस्तो निष्कर्ष निकालेका हुन्? कांग्रेसको इतिहासका ठेलीका पुस्तक लेखेका राजेश गौतम, पुरुषोत्तम बस्नेतको कुन चाहिँ ठेलीमा प्रदीप गिरिलाई सुराकी साबित गरिएको छ कुन्नी!
गिरिलाई कोइराला परिवारबाट त्यस्तो आरोप लगाइएको त थियो। त्यसबखत हतियार उठाउने बीपी कोइरालाको कदमप्रति गिरिको असहमति, शैलजा आचार्यसँग प्रेम सम्बन्ध, कोइराला परिवारैसँग तनावपूर्ण बन्दै गएको सम्बन्ध आदि धेरै कुरा छन्। सडकमा गणतन्त्रको नारा घन्काइरहेका गगन थापालाई गिरिजाप्रसादले गुथाएको राजावादीको पगरीमा दुई दशक बित्न लाग्दा पनि सत्यताको सानो कणसमेत भेटिएको छैन। आरोपै त विमान हाइज्याक गरेका दुर्गा सुवेदीले विमानबाट लुटिएको रकम आफूहरूले सर्लक्कै बुझाए पनि कोइराला परिवारले दुरूपयोग गरेको लगाइदिएका छन्, सम्बन्ध बिग्रिएपछि। आन्दोलन, अझ सशस्त्र विद्रोहमा सुराकी, गद्दार करार गरी आलोचक/प्रतिस्पर्धी तह लगाइने अभ्यासबारे बेखबर भएर होस् वा कोइराला परिवारप्रति बफादारी प्रकट गर्न– गुरुङ कुबेलामै पोष्ट गर्दिन्छन्।
पूर्वश्रीमतीले सहकारीको बचत दम्पच पारेको प्रष्ट देखिए पनि धनराजकै संलग्नताबारे अहिलेसम्मका समाचारहरूका आधारमा निष्कर्षमा पुग्न हतार हुन्छ। एकाघर सगोलमै रहेको अवस्थामै श्रीमतीले गरेको ‘अपराध’मा मिलिभगत नदेखिई उनलाई दोषी करार गर्न मिल्दैन, खबरहरूमा त रकम अपचलन छोडपत्र अघिको कि पछिको भन्नेसम्म पनि प्रष्ट छैन। छोडपत्रलाई नक्कली साबित गर्न छोडपत्रपछि पनि श्रीमान–श्रीमतीकै रूपमा पूर्ववत् सम्बन्ध रहेको पुष्टि हुनपर्यो। आफैलाई परेपछि टेलिभिजनमा धर्धरी रुन थालेका गुरुङले बुझ्नपर्छ गिरिले सुराकी गरेको भन्ने कुरा श्रीमतीले सहकारीको बचत झ्वाम्म पारेको कर्ममा श्रीमानको संलग्नता स्वतः ठान्नुजस्तै हो।
प्रिय साथीहरू ‘गन्तव्यमा पुग्नु छ भने ठेस लागेर लडे पनि उठेर यात्रा निरन्तर अघि बढाउनुस्’ (१६ जुलाई) ट्विट गरेका गुरुङ स्वयंलाई यतिबेला ठेस लागेको छ। उठेर निरन्तर राजनीतिक यात्रा त गर्लान् नै। ‘भगवान श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन (कर्म तिम्रो अधिकारमा छ, फल तिम्रो वशमा छैन),’ पूर्व मन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालते भ्रष्टाचारी ठहर गरेपछि धनराज एक्समा लेख्छन्, “दुई दशकभन्दा अलिअघि पटक–पटक मन्त्री भएर भ्रष्टाचारमा चुर्लुम्म डुबेका एक जनालाई पदबाट हटाउन तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासमक्ष डेलिगेशन लिएर गएको थिएँ। मैले गरेको कर्मको परिणाममा मैले कस्तो षडयन्त्र र मुद्दा भोग्नुपर्यो सर्वविदितै छ। षडयन्त्र चिर्दै अघि बढेँ। हिजो मात्र सर्वोच्च अदालतले ती व्यक्तिलाई भ्रष्टाचार मुद्दामा जेल हाल्ने अन्तिम फैसला गरेछ।”
उनले सफाइ पाएको रातो पासपोर्टको मुद्दा सिर्फ कोइरालासमक्ष डेलिगेशन गएको नतिजा थियो त भन्ने त अनुसन्धानकै विषय रह्यो। डेलिगेशन गएकै कुरा पनि यकिन गर्न कोइराला बिदा भएकै १४ वर्ष पूरा भइसक्यो। ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन’ चाहिँ उनमा पनि लागू हुने नै छ। अनुसन्धानबाटै बेदाग देखिनुपर्छ, गिरिजाप्रसाद जस्तो कोही प्रभावशालीको सदाशयता शायद मिल्नेवाला छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
