ट्रम्पद्वारा जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण, २ लाख डलर धरौटीमा छुटे

जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आपराधिक मुद्दामा दुई लाख डलर बुझाएर धराैटीमा छुटेका छन्। बिहीवार जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी त्यहाँ पुगेको २० मिनेटमै २ लाख डलरको धराैटीमा रिहा भएका बीबीसीले जनाएको छ। 

ट्रम्प न्यूजर्सीबाट आफ्नो निजी विमानमार्फत जर्जिया गएका थिए। उच्च सुरक्षाकासाथ त्यहाँको फुल्टोन काउन्टी जेल पुगे। जेल वरपर कडा सुरक्षाको व्यवस्था गरिएको थियो। त्यहाँ उनको प्रहरी मगशट भनिने फाइलको लागि औँठाछाप र फोटो लिइएको थियो। उनले जेलभित्र २० मिनेट जति समय बिताए। जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ। वेबसाइटमा उल्लेख भएअनुसार उनको कैदी नम्बर पी०११३५८०९ रहेको छ। 

ट्रम्पलाई जर्जियाको एक अदालतद्वारा गएको हप्ता सन् २०२० मा जर्जिया राज्यमा चुनावी हार उल्टाउने प्रयास गरेको अभियोग लगाइएको थियो। फुल्टन काउन्टी ग्रान्ड जुरीका तर्फबाट जारी गरिएका ४१ कागजातमा उनीलगायत अन्य १८ व्यक्तिमाथि उक्त आरोप छ। यो वर्ष मात्रै ट्रम्पमाथि आपराधिक आरोप लागेको यो चौथो पटक हो। तर, ट्रम्पले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन्। उनले आफूमाथि लागेका सबै आरोप राजनीति प्रेरित बताउने गरेका छन्।

उनले जेलबाट फर्केर घर जाने क्रममा विमानस्थलमा पत्रकारहरुसँग आफूले कुनै गल्ती नगरेको दाबी गर्दै भनेका छन्–"चुनावमा चुनाैती दिन पाइन्छ, मलाई थाहा छ त्याे चुनाव धाँदलीपूर्ण भएकाे थियाे। मलाई पनि त्यही लागेर गरेको हुँ। तपाईंहरुलाई थाहै होला हिलारी क्लिन्टन हुन् या स्टसी अब्राहम या अरु सबैले यस्तै त गरेका थिए।" 

यस्तै उनले एक्स (पुरानाे ट्विटर)मा एक फाेटाे राख्दै चुनावमा हस्तक्षेप/धाँदली गर्दैमा आत्मसमर्पण गर्न नपर्ने आशयसहितकाे ट्वीट पनि गरेका छन्। याेसँगै उनी तीन वर्षपछि सामाजिक सञ्जाल एक्समा फर्केका छन्।

सन् २०२१ मा अमेरिकी संसद् क्यापिटल हिलमा ट्रम्प समर्थकले हिंसा मच्चाएका थिए। त्यो घटनासँग सम्बन्धित उनका ट्वीटले थप हिंसा मच्चिने सम्भावना रहेको भन्दै ट्विटरले उनकाे ह्यान्डलमाथि प्रतिबन्ध लगाएको थियो। तर, गएको वर्ष एलन मस्कले ट्विटर किनेपछि ट्रम्पमाथिको प्रतिबन्ध हटाइदिएका थिए।