सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जन

उनले तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनरको गाडी प्रयोग गर्दै आएको र पाँच करोड रुपैयाँ पर्ने सेतो रंगको ल्यान्ड क्रुजर जेडएक्स गाडी खरिदको क्रममा रहेको खुलेको छ।

काठमाडाैँ– मंगलबार पक्राउ परेका रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको छ। 

बुधबार ब्युरोको महाराजगन्जस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनलाई सार्वजनिक गरिएको हो। बम्जनले आफ्नो आश्रममा रहेका आनीलाई बलात्कार गरेको, बेपत्ता पारेको लगायत आरोपमा वि.स. २०७६ को माघ २३ गते सर्लाही जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 

बाराको निजगढस्थित रतनपुरी स्थायी घर भएका ३४ वर्षीय बम्जनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो। मंगलबार उनलाई बूढानीलकन्ठस्थित घरबाट पक्राउ गरेको हो। सीआईबीको टोली पुगेको चाल पाएपछि बम्जन आफू बस्दै आएको घरको चौथो तलाको झ्यालबाट हाम फालेर भाग्न खोज्दा पक्राउ परेका सीआईबीका प्रवक्ता  प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

'तपस्वी रामबहादुर बम्जन' भनेर चिनिने उनको वास्तविक नाम रामलाल बम्जन रहेको सीआईबीले जनाएको छ। बम्जनको साथबाट नेपाली झन्डै ३१ लाख रुपैयाँ हुन आउने विभिन्न १७ देशका विदेशी मुद्रा र नेपाली तीन करोड तीन लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरिएको छ। अनुसन्धानको क्रममा उनले प्रदेश ३०१०२४ च ६७२९ नम्बरको तुला राम तामाङको नाममा रहेको सेतो टोयोटा फर्चुनरको गाडी प्रयोग गर्दै आएको खुलेको छ। साथै पाँच करोड रुपैयाँ पर्ने सेतो रंगको ल्यान्ड क्रुजर जेडएक्स गाडी खरिदको क्रममा रहेको खुलेको सीआईबीले जनाएको छ।

यस्तै, उनले क्रस फायर बाइक, ३९० सीसी केटीएम ड्युक, यामाहा रे जेड आरसमेत ४ वटा मोटरसाइकल प्रयोग गर्ने गरेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अधिकारीले बताए। साथै उनको साथबाट टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका ल्यापटप, आईप्याड, मोबाइल, तीनओटा मोटरसाइकलको बिलबुकहरू, पेन्ड्राइभ तथा कागजात बरामद गरिएको छ।