राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत १९ सिटका लागि बिहीबार सम्पन्न मतदानको परिणामअनुसार सत्ता गठबन्धनका १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका एक उम्मेदवार विजयी भएका छन्। सत्तारूढ दल कांग्रेसले १०, माओवादी केन्द्रले पाँच र नेकपा एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक सिट जित्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि एक सिट जितेको हो।
सबै प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने ठानिए पनि कोशी प्रदेशमा महिला क्लस्टरमा एमालेबाट उम्मेदवारी दिएकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्। उनले सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गरिन्। यहाँ ‘फ्लोर क्रस’ भएका कारण एमालेकी कोइराला विजयी भएका हुन्।
कोशी प्रदेशबाट अन्यतर्फ भने सत्तारुढ दल नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भए। एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेल पराजित भए।
लुम्बिनी
लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका दुवै उम्मेदवार विजयी भए। लुम्बिनीमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
महिलातर्फ सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी हुन्। एमालेकी केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन्। त्यस्तै, अन्यबाट सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए। उनका प्रतिस्पर्धी क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे।
मधेश
मधेश प्रदेशबाट दुई सिटमा पनि गठबन्धनका उम्मेदवार विजयी भए। अन्यमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र महिलामा जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएका हुन्।
ढुंगानाले सात हजार ३७० मतभार र जसपाकी चौधरीले सात हजार ९२९ मतभार ल्याएर निर्वाचित भएका हुन्। मधेशमा एमालेका तर्फबाट उषादेवी थरुनी र विजेता झा र जनमत पार्टीबाट रामाशंकर महासेठलाई उम्मेदवार थिए।
गण्डकी
गण्डकी प्रदेशमा पनि गठबन्धनकै तीनै उम्मेदवार विजयी भएका छन्। अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्।
श्रेष्ठले तीन हजार ८०८, परियारले तीन हजार ७७९ र शर्माले तीन हजार ६६० मतभार ल्याएर विजयी भएका हुन्। तीनै क्लस्टरमा उम्मेदवारी दिएका एमालेका उम्मेदवार चक्रबहादुर पराजुली, हेमन्द्र शेरचन र सम्झना देवकोटा पराजित भए।
कर्णाली
कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार विजयी भएका हुन्।
एमालेबाट अन्यतर्फ डिल्लीप्रसाद भट्ट, महिलातर्फ विमलाकुमारी शाही, दलिततर्फबाट हिक्मतबहादुर विक उम्मेदवार थिए।
बागमती
बागमती प्रदेशमा पनि सत्तारुढ गठबन्धन नै चारवटै सिटमा विजयी भएको छ। महिलातर्फ नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी, अन्यतर्फ जीतजंग बस्नेत, अपांगता/अल्पसंख्यकतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ समाजवादीबाट घनश्याम रिजाल विजयी भएका हुन्।
पुडासैनीले ६ हजार ६२२, बस्नेतले ६ हजार ५३१, अधिकारीले ६ हजार ३८३ र रिजालले ६ हजार ५१२ मतभार ल्याएर विजयी भएका हुन्। एमालेबाट रोचकुमारी चौलागाईं, ध्रुवराज विक, त्रिलोचन निर्मल पौडेल र विवेक देवकोटा उम्मेदवार थिए। उनीहरू पराजित भए।
सुदूरपश्चिम
सुदूरपश्चिममा सत्ता गठबन्धनकै तीनै जना उम्मेदवार विजयी भए। अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा र महिलातर्फ नेकपा माओवादी केन्द्रकी रेणु चन्द विजयी भए। बोहरा चार हजार ३२८ मतभारसहित विजयी भएका हुन् भने चन्द चार हजार ४५३ मतभारसहित विजयी भइन्।
अल्पसंख्यक/अपांगतातर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्ट चार हजार ४१९ मतभारसहित विजयी भए। एमालेका तर्फबाट तीन सिटका लागि रामचन्द्र जोशी, सावित्रा घिमिरे र ईश्वरीप्रसाद खनाल उम्मेदवार थिए। उनीहरू पराजित भए।
सातै प्रदेशमा प्रदेशसभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १ हजार ४९७ जना मतदाता रहेकोमा एक हजार ४८६ जनाले मतदान गरेका थिए। सबै प्रदेशतर्फ कुल दुई हजार ४६ मतदातामा दुई हजार ३२ जनाले मतदान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
