वृहत्तर न्यायका लागि सामाजिक चेतना पुनर्निर्माण

अन्धविश्वास, रुढीवाद र पुरातन विश्वास फ्याँक्नुपर्छ। सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ।

दार्शनिक प्लेटो भन्थे, ‘जुनसुकै समाजको नयाँ पुस्ता आफ्ना अग्रजहरूले बनाइदिएको समाजको तत्कालीन ढाँचाभित्र सन्तुष्ट भएर बस्न सक्दैन, उसले नयाँ समाज खोज्छ, नयाँ बाटो बनाउँछ। तसर्थ, ऊ आफ्नै अग्रजसँग विद्रोह गर्छ अर्थात् हरेक पुस्ताले हरेक पटक समाजको ढाँचा बदल्छ।” 

इतिहासका हरेक कालखण्डमा समयसापेक्ष पुस्ताको चेतनास्तरमा विकास हुन्छ, नयाँ चेतनायुक्त अग्रगामी समाज देखा पर्छ। इतिहास निर्माण र संक्रमणको यो स्वाभाविक चरित्र हो।

विडम्बना! नेपाली समाज यतिबेला समयसापेक्ष चेतनास्तर उचालिएको अग्रगामी सामाजिक पद्धति र संरचना निर्माण गर्नभन्दा पनि इतिहासको पश्चगामी गौरव गाथामा बरालिएको देखिएकाले यसमा केही बोल्नु उचित देखियो।

हाम्रो विश्वविद्यालयको शिक्षणशैली, प्राज्ञिक ज्ञान उत्पादन–अनुसन्धान र वितरणको सामाजिक ढाँचा, दार्शनिक एवं बौद्धिक व्यक्तिको भजन मण्डली दस्ता, राजनीतिज्ञको पाखण्डीपन, सत्तामुखी कुसंस्कार र आलोचनात्मक चेत हराएको (सांस्कृतिक लम्पसारवाद) भीडतन्त्रका कारणले समाजमा उच्च तहको चेतना निर्माणमा अवरोध भइरहेको छ। त्यसका बाबजुद पनि नागरिक स्तरमा संज्ञानात्मक इच्छाशक्ति प्रबल भएकाले कम्तीमा पत्रपत्रिका, रेडियो टिभी, वाचनालय तथा सामाजिक सञ्जाल, सभा समारोह र चिया–अखडामा भइरहने नारदीय मीमांसा एवं विचार–अन्तरक्रियाले थोरै नै सही, समाजभित्र निरन्तर प्रश्नोत्तर र संवाद भने चलिरहेको देखाउँछ। यसले सामाजिक चेतना परिस्करण भइरहेको बताउँछ।

अर्कोतिर, यस्ता अखडामा हुने संवादमा महागफाडीहरूको जमघट, चर्को र कर्कश आवाज धेरै सुनिने हुँदा वर्तमान समाजको मूल समस्याउपर कमजोर तार्किकता र समाधानका छद्म उपायहरू पनि प्रस्तुत गरिने गर्छन्। त्यसले हाम्रो सामाजिक चेतनालाई थप प्रतिगामी बनाउँछ। प्राज्ञिक ज्ञानको हुर्मत लिने यस खाले अवैज्ञानिक, गफाडी र कर्कश अज्ञानलाई हटाउँदै वैज्ञानिक, प्रगतिशील तथा अग्रगामी चेतना बिस्तारमा सचेत तप्काले हातेमालो गर्न आवश्यक छ।

के हो सामाजिक चेतना?
मानव सभ्यताको प्रारम्भमा सबै खाले समाजको बाह्य परिस्थिति साँघुरो घेराभित्रै थियो। हाम्रा पुर्खा पृथ्वीभित्रको कतै कुनामा जीवनयापन गर्थे, जहाँ एउटा सानो परिस्थितिसँग अन्तरक्रिया-संघर्ष गरे पुग्थ्यो, त्यति बेला आफ्नो वरपर रहेका पदार्थ र प्रणालीको सानो जानकारी भए पुग्ने थियो।

कृषि युगपछि जनसंख्या बढ्न लाग्यो, मानव समुदाय संसारभर फैलिँदै गयो, जीवनयापनार्थ स्रोतसाधन बढी चाहियो अनि मानवको अन्तर्क्रियाको क्षेत्र र तह (कन्टिनम) पनि बिस्तार हुँदै गयो। आफू र वरपरको वृहत् वातावरणीय प्रणाली एवं पदार्थहरूको पनि उत्पादन–पुनरुत्पादनबारे जानकारी हुनै पर्ने भयो। त्यस बेला मानिसलाई चेतनाको जरुरी भयो।

अब आफू के हो, वातावरण के हो? सृष्टि र चराचर के हो? पदार्थ र प्रणाली के हुन्? यिनीहरूको अस्तित्व  किन छ? यी पदार्थ कसरी पैदा भए? यिनको परिवर्तनशीलता र गतिशीलताको नियम के हो? कतै दैवी शक्तिले अथवा यिनीहरूकै द्वन्द्वात्मकता र अन्तर्विरोधले यिनलाई चलायमान र विकसित बनाउँछन् त?

इलेक्ट्रोन वा प्रोटोन/क्वार्कजस्ता सूक्ष्मभन्दा सूक्ष्म अणु पदार्थसँगै यत्रो विशाल ब्रह्माण्डको गति र सन्तुलनको कारण के होलाजस्ता चराचर जानकारी मानवलाई आवश्यक हुने देखियो र यसप्रति उस/उनको जागरण पैदा हुन गयो। निरन्तर मस्तिष्कको मन्थन, श्रम–उत्पादन सम्बन्ध विकास गर्दै र हुँदै मान्छे उन्नत रूपले यीबारे जान्ने बुझ्ने भयो। ह्वात्तै र एकैचोटि नभएर बिस्तारै र क्रमशः यस्तो चेतना मानिसमा विकाश भयो। मानव जाति र समग्र चराचरको प्रणालीबद्ध रहस्यलाई के, कुन, कसरी, कहिले र किनजस्ता प्रश्नमाथि उभिएर उत्तर खोज्न थालेयता नै चेतना निर्माणको प्रक्रिया प्रारम्भ भयो।

प्रकृति र पदार्थमाथिको खोज–अनुसन्धानका बखत प्रतिक्रिया स्वरूप  (रिपरकर्सन) जन्मिएको विज्ञान नै चेतना निर्माणको औजार र साधन भयो। विज्ञानले मानिसलाई प्रामाणिक ज्ञान प्राप्ति र विकास गर्न अभिप्रेरणा दियो। विज्ञानले दिएका प्रमाणको जगमा मानिसहरूले आफ्नो चेतनाको थप बिस्तार गर्दै गए र अस्तित्वबारे नयाँ नयाँ कुरा जान्दै गए। सरलताबाट चेतना जटिलता बुझ्नेतर्फ उकालो लाग्यो।

व्यक्तिगत रूपमा हुने ज्ञान र चेतनालाई 'सेल्फ कन्ससनेस' भनियो भने सामाजिक तवरमा समाजको ढाँचा, रीतिरिवाज, संस्कृति, नैतिकता, सामूहिक आचरण, सामाजिक प्रथा, धर्मकर्म, राजनीति वा यस्तै धेरै खाले सामाजिक तत्त्व र परिघटनाको विकासमाथि हुने अन्तरक्रियात्मक चेतनालाई 'सोसल कन्ससनेस' भनियो।

कुनै बस्तु, पदार्थ, प्रणाली, कालखण्ड वा घटना–परिघटनाबारे बुझ्न सक्ने क्षमता नै चेतना हो। व्यक्ति विशेषको चेतनालाई कन्ससनेस (पूर्ण चेतना)  र सब–कन्ससनेस (अवचेतना) भनेर पनि छुट्टाउने गरिन्छ। खासमा जनावरको झैँ चेतनालाई सब कन्ससनेस ठानिन्छ। जनावरले प्रकृतिको उत्पादनमा आश्रित रहेर के खाने र कसरी बाँच्ने भन्ने कुरा जाने पनि आफैँ उत्पादन गर्न जान्दैन। यसै कारण धेरैजसो पशुपक्षी हजारौँ वर्षयता मान्छेको पासो जालोमा परेर नियन्त्रित जीवन बाँचिरहेका छन्।

अर्कोतिर, मानिस आफै श्रम, उत्पादन गर्छ। बलवुद्धि र ज्ञानले खोजी गर्छ। के ठीक के बेठीकको परिभाषा बनाउन सक्छ। यसैले मान्छे चेतनशील हो, तापनि यही मानिस आफैले बनाएको सामाजिक पद्धतिभित्र अन्याय, अत्याचार, शोषण र दमनमा पनि पर्छ। कसैले कुनै व्यक्ति वा समुदायको उत्पादन लुटेर लैजाँदा यसप्रति तिनको विद्रोह र चेतनालाई सामूहिकताका मापदण्डबाट हेरिन्छ।

तत्कालीन अवस्थामा सो राज्य र समाजको संरचना, इतिहासको गति, जागरणको अवस्था, उत्पादन पद्धति र साधनहरूको सम्बन्ध एवं वितरण, वर्ग संरचना, सामाजिक–सांस्कृतिक तत्त्वहरूको प्रभाव, आर्थिक विभेदको स्तर, जातपात, धर्मसंस्कार, लैगिंकताजस्ता सामाजिक प्रचलन र रुढीवादको प्रभाव, शिक्षा र प्राज्ञिक चेतना स्तरजस्ता सोसल आयामहरूभित्र यिनको परीक्षण गर्दै उक्त समाजमा रहेको सामाजिक न्याय, नैतिक मूल्य र वैज्ञानिक चिन्तन प्रणाली समेतका आधारमा त्यस समाजको चेतना अग्रगामी छ छैन भनेर लेखाजोखा गरिन्छ।

विवेकशील (चेतनशील) समाजले अनैतिकता, गफाडीपन, अवास्तविकता, अवैज्ञानिकता, अन्धविश्वासलाई हमेसा अस्वीकार गर्छ। प्राज्ञिकता र आलोचनात्मक चेतनाको स्तर जति तिखो हुन्छ, त्यो समाज उति नै सभ्य, विकसित र सुसंस्कृत हुन्छ।

तर्कवाद र अनुभववाद
आदर्शवादी (ईश्वरवादी) सामाजिक चेतनाबाट भौतिकवादी चेतना स्तरतर्फ समाज जति जति संक्रमण गर्छ, त्यसले जगतको बोधगम्यता र वैज्ञानिक ज्ञान प्रणाली त्यसरी नै अँगालेर अगाडी बढ्छ। प्राचीन दार्शनिकहरू थेल्स, प्लेटो, अरिस्टोटल, सोक्रेटस, डेमोक्रेटीस, इपिकुरस, पाइथागोरस, स्पिनोजा, कोपर्निकसलगायत धेरैले बस्तुवादी ज्ञान निर्माणले नै समाजको चेतना र प्रगतिको स्तर बढ्ने कुरा राखे।

चेतना र ज्ञान निर्माण सदैव गतिशील र सापेक्षिक हुन्छ न कि स्थिर र निरपेक्ष भन्छन् दार्शनिकहरू। मानिसका इन्द्रियले जसरी बाह्य घटना र बस्तुको स्वभावलाई मस्तिष्कमा लगी प्रशोधन गर्छन्, त्यसबारे हाम्रो दिमागले सही चित्रांकन (विचार र प्रतिबिम्ब) बनाउँछ, त्यो नै बस्तुवादी ज्ञान हो। तर हाम्रो समाजमा कैयौँ रहस्यमय विचारहरूले अझै पनि मानिसको चेतनालाई अन्धकारमय बनाइरहेको छ।

दैवी शक्ति, जडवाद र रहस्यमय अन्धताका पछि समाजको भीड अझै पनि लागिरहेकै देखिन्छ। यसले समाजमा भ्रम पैदा गर्न र मानिसलाई थप दुःखमै राख्न योगदान पुर्‍याउँछ। पन्ध्रौँ र सोह्रौँ शताब्दी आसपास जब विज्ञान र आविष्कारहरू सुरु हुन थाले, तब मानिस किन चेतनशील हुनपर्छ, चेतनशील हुन व्यक्तिले कसरी ज्ञानको निर्माण गर्नुपर्छ भन्नेबारे महान् दार्शनिकहरू रेने देकार्त, इमानुअल कान्ट र हेगेलले आफ्ना कृतिहरूमा धेरै विमर्श गरे।

देकार्तको प्रख्यात भनाइ छ, "मानिस हमेसा चिन्तनशील रहनुपर्छ अर्थात् चेतनशील बन्नुपर्छ जसबाट उसलाई म सोच्छु, त्यसै कारण मेरो अस्तित्व छ (आइ थिंक देयफोर आइएम्) भन्ने संज्ञान प्राप्त हुन आउँछ।" उनले डिस्कोर्स अन मेथड (१६३७) मा लेख्छन्– मानिसहरूको प्रगतिका लागि दिमाग त राम्रो हुनु पर्छ नै, तर त्योभन्दा बढी उक्त दिमाग सिर्जनशील र उपयोगी पनि हुनु पर्छ। द क्रिटिक्स अफ पियोर रिजन (१७७८) मा कान्ट लेख्छन् कि स्वयं चेतनाको अवस्था भनेको भित्री र बाहिरी अनुभवको एकत्व हो। यसले मानिसलाई सामाजिक मानकहरू र नैतिकतासँग जोड्छ। समाज बुझ्नु नै चेतनशील हुनु हो भन्ने उनको बुझाइ देखिन्छ।

हाम्रा संज्ञानहरू सेन्स (सिन्ने) बाट उत्पन्न हुन्छन्, बुझाइ (भर्सटान्ड) मा रूपान्तरित हुन्छन् र कारण (रिजन अर्थात् भर्नुफ्ट) ले अन्त्य हुन्छन्। यसर्थ, हाम्रो ज्ञान भित्रैबाट प्रदीप्त भई अवधारणामा विकास भएपछि विचार (आइडिया) बन्न जान्छ भन्ने आशय कान्टको हो।

प्रवोधनकालीन (इनलाईटमेन्ट) समयावधिमा आएको सर्वश्रेष्ठ आदर्शवाद (ट्रान्सेन्डेन्टल आइडियलिजम एन्ड आइडिया अफ रिजन) भन्दै कान्टका विचार यति प्रभावशाली भए कि विचार नै मान्छेको सबभन्दा ठुलो सम्पत्ति हो भनियो। कुनै पनि वस्तु र घटनालाई किन हुन्छ भन्ने अवधारणाबाट सोको कारण (रिजन) जान्नु नै चेतनशीलताको उत्तम उदाहरण हो भनिएको छ यहाँ।

कान्टले ज्ञान निर्माणको खास औजार भनी श्रेष्ठतम तर्कवाद र निगमन विधि (ट्रान्सेन्डटल लजिक एन्ड इन्डक्टिभ मेथड) लाई मुख्य मानेका छन्। वास्तवमा कान्टकै जस्तो विचार हजार वर्ष पहिले गौतम बुद्धले दिएको देखिन्छ। बुद्ध पनि दार्शनिक थिए र समाजलाई नैतिक विचारसँग जोड्न चाहेका थिए। पछि कान्टसँग अलिकति फरक मत राख्दै डेभिड हुमले ज्ञान र चेतना निर्माणको स्रोत अनुभववाद (इम्पेरिसिजम्) हुने बताए। यता, फ्रेड्रिक नित्सेको मान्यता छ कि तर्कवाद र अनुभववादको मेलले मात्रै सही चेतना निर्माण गर्छ।

यो पनि: 'साइत' र 'कुसाइत' : मुलुक हाँक्नेहरूले अन्धविश्वास नफैलाउन्

“यतिखेर शासक र शक्तिशाली मानिसले मात्रै सामाजिक सत्य बनाएका छन्, यसर्थ यो एकलकाँटे छ भ्रमित छ र यो दिग्भ्रम मात्रै हो यो, यथार्थ होइन,” नित्सेले भने। शासकहरू हामीलाई अझै पनि सूर्यले पृथ्वी घुमेजस्तो लाग्ने कुतर्क गर्दै सम्मोहनको स्थिति बनाउँछन्, जनतालाई भेडा बनाउँछन्, यो दिग्भ्रम हो। अतः पृथ्वीले मात्र नभएर धेरै ग्रहले सूर्यको परिक्रमा गर्छन्। तसर्थ, एक मात्र सत्य असम्भव पनि छ किनकि सत्य बहुल (प्लुरल) हुन्छ। त्यसैले होला उनले इतिहास निर्माणको एकल सत्य अस्वीकार गरिदिए र ठोकुवा गरे कि–देअर इज नो सुपरनेचर (प्रकृतिभन्दा बाहेक कुनै अलौकिक शक्ति छैन।) यो सामाजिक चेतना संक्रमणका लागि ठूलो क्रान्तिकारी विचार थियो। ज्ञान–चेतना शासकले होइन, जनताले निर्माण गर्छन् भन्थे नित्से। यसर्थ, उनी त्यस समयका क्रान्तिकारी पनि ठहरिए।

चेतनालाई द्वन्द्ववादी (डायलेक्टिकल) अवधारणामा विश्लेषण गर्ने श्रेय जीडब्ल्यूएफ हेगेललाई जान्छ। उनी जर्मन आइडियोलोजीका संस्थापक विद्वान पनि हुन्। हेगेलका अनुसार चेतना निर्माणको प्रक्रिया थेसिस–एन्टिथेसिस– सिन्थेसिस हो। जसअनुसार विपरीत स्वभावका चिन्तन र विचारहरूको घर्षण/मन्थनले नै नयाँ विचार पैदा गर्छ। फेनेमोलोजी अफ स्पिरिट (१८०७) मा उनले मानिसका दिमागमा उत्पन्न भावनाहरूको आकार प्रकारको मदानी मन्थनबाटै सुद्ध ज्ञान (पीअर नलेज) पैदा हुन्छ भनेका छन्। उनका अनुसार निम्नकोटी ज्ञान चेतनाको अवस्थाबाट श्रेष्ठतम र उच्चतम अवस्थामा जान थेसिस–एन्टिथेसिस–सिन्थेसिसकै प्रक्रिया चाहिन्छ। ‘मास्टर–स्लेभ’को उदाहरण दिँदै उनी भन्छन् कि विपरीत वस्तु एकत्वमा रहन्छन् र संघर्षमा पनि रहन्छन्। जो यथार्थ हो र यस बेला द्वन्द्वात्मकता (डायलेक्टिकल) उत्पन्न भएको छ र यो अन्तर्विरोध नै सत्य हो। यो नै चेतना हो। इतिहासको विकास यसै सत्य (मानव चेतना) ले अगाडी बढाउँछ भन्छन् हेगेल।

दार्शनिक कार्ल मार्क्सले हेगेलको यो विचारलाई उच्च सम्मान दिएर, सोही जगमा उभिई द्वन्द्वात्मक भौतिकवाद (डायलेक्टिकल मटेरेलिज्म) को दर्शन विकसित तुल्याए। मार्क्सले पदार्थवादी अवधारणामा रहेर मानव श्रम र उत्पादन साधनहरूको सम्बन्धले सामाजिक स्वरूप र सोको क्रियात्मकता निर्धारण गर्दै त्यसै आधारमा सामाजिक चेतनाको निर्माण एवं विकास गर्छ भन्नेमा जोड दिए।

उनका अनुसार सामाजिक चेतना भौतिक चेतना पनि हो। यो पुँजी निर्माण र वितरणप्रतिको चेतना पनि हो। सर्वहारा वर्गले पुँजीवादी उत्पादन प्रणालीमा आफ्नो श्रम शोषण भइरहेको र आफूलाई निरन्तर अलगाब (एलिनेसन) पारिएका कारण तन्नम र दरिद्र भएको थाहा पाउनु आवश्यक रहेको बताउँछन् मार्क्स। यिनै कारण, पुँजीवादी उत्पादन प्रणाली तथा सम्बन्ध फ्याल्न आन्दोलन गर्नुपर्छ भनी बोध गर्नु नै सामाजिक चेतना हो भन्ने विश्लेषण मार्क्सले दिएका छन्। यस्तो सामाजिक ज्ञान अनुभवजन्य पद्धतिबाटै विकसित हुन्छ भन्छन् उनी।

मार्क्सले यहीँनेर सचेत गराएका छन् कि कसरी बुर्जुआ पुँजीपति वर्गले आफ्नो शोषण सत्ता टिकाइराख्न झुटो/भ्रमपूर्ण चेतना (फल्स कन्ससनेस) बिस्तार गर्छन्। विचारमाथि नियन्त्रण राख्न त्यस्ता ढोँगी संस्कारहरू त्यस वर्गले निरन्तर उत्पादन गर्छन् भन्ने मार्क्सको भनाइलाई थप चिरफार गरी एन्टिनीयो ग्राम्सीले सांस्कृतिक प्रभुत्ववाद (कल्चरल हेजेमनी) विरुद्ध 'काउन्टर हेजेमनी' बनाउन सक्ने चेतना नै सही मानेमा सामाजिक चेतना हो भनेको पाइन्छ। यस मानेमा ग्राम्सीले अझै सशक्त विचार दिएका छन्।

शासकहरू हमेसा कामदार वर्गलाई आफ्नो स्वतन्त्रता, प्रजातन्त्र, उदारता वा 'फ्रिविल' भन्नेजस्ता काल्पनिक 'फेन्टम'मा राखेर बुर्जुआ जीवनशैली, ढोंगीपन र आडम्बरी चालचलन पछ्याउन सांस्कृतिक प्रभुत्ववाद/अधिपत्यता (कल्चरल हेजेमनी) को सिर्जना गर्छन्। त्यसको माया जालभित्र कामदार वर्ग र सँगसँगै सर्बाल्र्टन वर्ग पर्छ। फलस्वरूप, समाजमा क्रान्तिकारी/आलोचनात्मक चेतनाले भजनमण्डलीकृत रूप हुँदै विसर्जनवादको बाटो लिन्छ। यसर्थ, नागरिक समाजलाई सामाजिक चेतना निर्माणमा चाहिने रणनीतिक बाटो अर्थात् काउन्टर हेजेमनीका लागि अघि बढाउनुपर्छ भन्ने भनाइ ग्राम्सीको रहेको छ।

लोकप्रियतावाद, संरक्षणवाद, पुनरुत्थानवाद, नवफासिवाद वा नवउदारवादजस्ता भीमकाय शोषण प्रणालीका विविध पुँजीवादी प्रारूपहरू युरोप र अमेरिकामा यही सांस्कृतिक प्रभुत्ववादको जगमा फैलिरहेका छन्। यसो हेर्ने हो भने शहरीया कामदार वर्गले आन्दोलन र संघर्षप्रति यसरी अरुचि देखाएको पाइन्छ कि कतै श्रमजीवी वर्गलाई यो सांस्कृतिक प्रभुत्ववादले आत्मसमर्पण गर्न बाध्य बनाएको त छैनजस्तो लाग्छ। शहरमा यो अवस्था चिर्न सक्ने काउन्टर हेजेमनीको उन्नत चेतना फैलाउन अहिले जरुरी देखिन्छ। बुद्धिजीवी वर्ग र नागरिक समाजलाई यति बेला गतिशील बनाउँदै यो अन्तर्विरोध जान्ने र काउन्टर हेजेमनी चेतनाको निर्माणको बाटोमा हिँडाउन पर्ने प्राज्ञिक दायित्व थपिएको छ।

अहिलेका प्रबुद्ध दार्शनिक नोम चोम्स्की भन्छन् कि बुद्धिजीवी वर्गले प्रतिगामी शासक र सर्वसत्तावादी प्राधिकारीलाई हमेसा चुनौती खडा गर्ने हो, न कि उनको दासत्वभित्र बस्ने वा चाकरी गर्ने! चोम्स्की तिनै हुन्, जो निरन्तर अमेरिकी सैन्य प्रभुत्ववादसँग अमेरिकामै रहेर निरन्तर लडिरहेका छन्। कर्कश र चर्को 'मिडिया कपट'मार्फत शासकहरूले यति बेला सामाजिक स्वीकार्यता बढाइरहेका छन्। ठुला मिडिया हाउसहरूमार्फत समाजमा झुटो चेतना फैलाएको बताउँछन् चोम्स्की।

सेपियन्स र नेक्सस पुस्तकमार्फत लोकप्रिय बनेका लेखक युवल नोआ हरारीको विचारमा कृत्रिम बौद्धिकता अर्थात् एआईले जैविक चेतनालाई गलत दिशामा लैजाने बताएका छन्। मानिसले दुख र पीडाप्रति प्रतिक्रिया, प्रतिरोध र संघर्ष गर्छन्। यो चैतन्य नै सामाजिक पीडा र दुख हटाउने औजार रहेको युवलको भनाई छ। उनी पनि शोषक वर्गको सांस्कृतिक प्रभुत्वविरुद्ध नै खडा भएका छन्। बुद्ध, सांख्य, चार्वाक, कणाद् र ताओलगायत धेरै प्राचीन पूर्वीय दर्शनमा पनि सामाजिक चेतना गतिशील र परिवर्तनशील रहने मानिएको छ।

यी दर्शनले शासकको एकल सांस्कृतिक शोषणविरुद्ध काउन्टर हेजेमनीको सत्य आत्मसात् गरेको देखिन्छ। यसर्थ, सामाजिक चेतना निर्माणको प्रभावशाली औजारका रूपमा ग्राम्सीको काउन्टर हेजेमनि रणनीति पनि अनुभववादजन्य अग्रगामी विचारका रूपमा देखिन्छ।

नेपालमा सामाजिक चेतनाको पुनर्निर्माण जरुरी
नेपाली समाजमा पनि दुःख, पीडा र उच्च तहको शोषण छ। यहाँको अर्थराजनीति सामन्तवादको साङ्लो चुँडालेर पुँजीवादको घोडामा सवार गर्दै छ, त्यो पनि नवउदारवादको खेल मैदानमा। यसले आम जनतालाई कुल्चिँदै परिवर्तनको अभ्यास गर्दै छ। आम जनता गरिबी, अशिक्षा, बेरोजगारी, कमजोर आम्दानीमा पिल्सिँदै गर्दा शासकहरू भने सबै खाले उत्पादनका साधन र राजनीति पद्धति नै कब्जामा लिई प्रतिदिन धनाढ्य बन्नेतिर जाँदै छन्।

यसले तीव्र असमानता र अन्याय भएको 'डिस्टोपियन सोसाइटी'तिर हामीलाई लगिरहेको छ। नेताहरूका आसेपासे (क्रोनी र ओलिगार्च)ले उद्योग, कृषि, शैक्षिक संस्था, बैंक, प्राकृतिक स्रोतजस्ता सबैजसो उत्पादनका साधन कब्जा गरिरहेका छन्।

हरारीले भनेझैँ नेपालमा पूराका पूरा मानिसले एक्युट सफरिङ (गहिरो दुख र पीडा) मात्रै पाएका छन्। यसप्रति रियाक्ट (प्रतिक्रिया), रेसिस्ट (प्रतिरोध) र स्ट्रगल (संघर्ष) नगरी नहुने भएको छ। यो चेतना वा आत्मबोध हामीलाई भएको छ। तसर्थ, हामी सबैले बस्तुवादी, भौतिकवादी र यथार्थवादी अवधारणाभित्र रही अबको अर्थ राजनीतिक रूपरेखा र राजनीतिक प्रणाली छनोटमा चेतना बढाउनुपर्ने पर्ने देखिन्छ। अन्धविश्वास, रुढीवाद र पुरातन विश्वासजस्ता सांस्कृतिक प्रभुत्वका औजारहरू फ्याँक्नुपर्छ। त्यस्तै, सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ। समाजमा फैलिरहेका अन्याय र विभेदप्रति सामूहिक चेतना निर्माण, पुनर्निर्माण र प्रकट (मेनिफेस्ट) गर्ने बेला आएको छ। 

यो पनि: झिल्केका उत्थान र पतन: एक ‘राजनीतिक’ तमासा

सबै न्यायका लागि सामाजिक चेतना पुनर्निर्माण
यसका लागि माथिका दार्शनिक मन्थनहरूले सुझाएका विचारलाई संश्लेषण गरी निम्न तीन पक्षमा सोसल कन्ससनेसको निर्माण र पुनर्निर्माण बढाउने गरी नेपाली समाजको जागरण अभियान अघि बढाउन उपयुक्त देखिन्छ। यो चेतना बढाउने कामको अभिभारा नेपाली क्रान्तिकारी र प्रगतिशील बौद्धिक वर्गको हो भने यो चेतना छिटो फैलाउन वर्तमानका 'जेनेरेसन जेड र अल्फा' समूहका युवा पुस्ताले सक्रिय भाग लिन सक्छन् नै। पुरानाको खासै आस नगर्दा राम्रो।

क) सामाजिक–आर्थिक चेतनाको पुनर्निर्माण
नेपाली समाजले पटक पटक आन्दोलन, क्रान्ति र जनविद्रोहको बाटो लिँदै हिजोका सामन्तकालीन उत्पादन सम्बन्धलाई विच्छेदन गरे पनि पुँजीवाद र नवउदारवादको अन्याय र चक्रव्यूहमा यो पर्न गइरहने भयो। २००७, २०४६, २०६३ का आन्दोलनले अपेक्षित क्रान्तिकारी परिणाम ल्याउन सकेनन्। यस प्रवृत्तिले एकातिर समाजको उत्पादन साधन (नेपाली श्रम, पुँजी र प्राकृतिक स्रोत) हरू दलाल पुँजीपति, भ्रष्टाचारी एवं नवधनाढ्य र विदेशी बहुराष्ट्रिय कम्पनीको हातमा सुम्पँदै गएको छ भने अर्कोतिर आयातित र परनिर्भर अर्थतन्त्रले चर्को जनशोषणलाई मलजल गरेको छ।

जनताको निरन्तर शोषण गर्ने प्रौढ पुस्ताको नियन्त्रण रहेको राजनीतिक प्रणालीप्रति विद्रोह गर्ने चेतना हामीलाई अब आवश्यक छ। मक्किएका र धमिरा लागेका जन्जिरहरू चुँडाल्दै राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउने, स्वदेशी आर्थिक तथा औद्योगिक–कृषि क्रान्ति गर्ने, रोजगारी र आम्दानी बढाउने अनि न्याय र समानताको नयाँ व्यवस्था निर्माणप्रति जागृत गर्नै पर्ने देखिएको छ। अर्थात् हामीलाई विद्यमान अनुत्पादक, भ्रष्ट र अन्यायी 'क्लेप्टो ओलिगार्की' राजनीतिक प्रणाली भत्काउनै पर्ने चेतना चाहिएको छ। युवाले सयौँ वर्षदेखिको यस्तो सामाजिक–आर्थिक उत्पीडनप्रति विद्रोह गर्नै पर्छ।

ख) सांस्कृतिक/नैतिक चेतनाको पुनर्निर्माण
सांस्कृतिक बहुलतामा हामी अगाडी छौँ। हाम्रा ज्ञानहरू पनि फराकिला र सृजनात्मक छन्। जातपात, उचनिच र दलनको वर्णाश्रम व्यवस्था र पितृसत्तात्मक मध्यकालीन र सामन्ती अवशेषयुक्त चलनलाई हामीले तत्कालै हटाउनुपर्छ। ढोँगी, आडम्बरी, अमानवीय र अनुत्पादक प्रचलन हटाउनुपर्छ। वैज्ञानिक र सामुदायिक शिक्षा पद्धतिले यिनको सांस्कृतिक उन्नतिकरणमा सघाउ पुर्‍याउँछ। विडम्बना! अहिलेको राज्यले नै हाम्रो शैक्षिक चेतनालाई भ्रष्टीकरण गर्दै हाम्रा कतिपय राम्रा सांस्कृतिक मूल्यमान्यता पुँजीवादी बजारमा बेच्दै छ।

संस्कृति प्रबलीकरण गर्ने संस्थामध्ये स्कुल, एकेडेमी र विश्वविद्यालयमा शिक्षक–विद्यार्थी संवाद र प्राज्ञिक चेत छैन। केबल फोहरी राजनीति छ। शिक्षा लिनु भनेको पैसा कमाउनु हो भन्ने मन्त्र घोकाइएको छ र धेरै होनहार प्राध्यापक एवं विद्यार्थी विदेश हिँडेका छन्। सामूहिक चेतनाको सम्मिश्रण गर्ने, नयाँ आविष्कार गर्ने, आलोचनात्मक ज्ञान बढाउने, मिलीजुली बस्ने, एक आपसमा सहयोग गर्ने, वृद्ध वृद्धा, असहाय र बालबालिकाप्रति विशेष माया गर्ने एवं आदर गर्नेजस्ता हाम्रा पढाइलेखाई विधि (पेडागोजी) नै हराएको छ। बिहे भोजमा अनावश्यक खर्च गर्ने, धनको दुरुपयोग गर्ने चलन बढेको छ।

मानिसहरू पनि प्रकृति, सिर्जनशीलता र सहकार्यमा रमाउने भन्दा पनि एकलकाँटे भए। मोबाइल र गाडीमा रमाउने भए। मान्छेहरूसँगको अन्तर्क्रिया छाडेर हामी फलाम र स्टिलमा रमाउने पो भयौँ। यति बेला रैथाने र आदिवासी संस्कृतिमा रहेका सबल पक्ष सिक्नु र जर्गेना गर्नुभन्दा संस्कृतिको बजारीकरणमा राज्य नै लागेको छ। सांस्कृतिक बजारवादले नै महिलाको शोषण, दमन गरेको छ। यसर्थ, हामीले हाम्रा कतिपय (सबै होइन) सुन्दर सामाजिक मूल्य जोगाउँदै उपभोक्ता बजारमा संस्कृति बेच्ने राज्य प्रणालीविरुद्ध लाग्नु पर्ने भएको छ।

ग) वातावरणीय चेतनाको पुनर्निर्माण
हामीकहाँ प्रशस्त प्राकृतिक स्रोत छन्। पानी, नदीनाला, पहाड हिमाल, वनजंगल जीवनयापनका दैनिक स्रोतसँगै आर्थिक र सांस्कृतिक बस्तु पनि हुन्। तर नवउदारवादी राज्य संयन्त्र र सरकार यी प्राकृतिक स्रोतको उच्च दोहन र लिलाम बिक्री कार्यमा निर्लज्ज संलग्न छ। सरकार चुरे बेच्दै छ, निकुञ्ज बेच्दै छ। कर्णाली, गण्डकी, तमोर, त्रिशूलीजस्ता नदीहरू या त दलालहरूले किनिसके या त कमिसनको पैसामा विदेशीलाई बेच्दै छन्। बहुमूल्य खनिज क्षेत्र कौडीको भरमा बेचिएको छ। समग्र राज्यप्रणाली नै प्रकृति दोहन र सोको संकट ल्याउने ठेक्कामा लागेको छ। उदाहरणका लागि हेर्नुस् तः कालीगण्डकी नदीमा ढुंगागिट्टीको दोहन व्यापक भएको छ, लालची डोजर र क्रसरहरू पहाड फोर्देछन्, फेवाताल र रारा ताल भन्नूस् कि अन्य खोलानाला वा सार्वजनिक जग्गा, जतासुकै भू–माफिया पसेका छन्।

यस्तै ताल रहे केही वर्षपछि हामीले पानी खान पाउने छैनौँ। नदी वनजंगल, पूजास्थल, पुरातत्त्वस्थल र मठमन्दिर दलालहरूकै होलाजस्तो छ। प्रकृति त सामाजिक सम्पत्ति पो हो। राज्य, बजार र शासक कसैको हुँदै होइन। अझै मन्त्री, सांसद र नेताको गिद्धे दृष्टि यसैमा तीव्र छ। लुटतन्त्रले यी स्रोतहरू नेताको बपौती बनाइएको छ। यसप्रति पर्याचेतना (इकोलोजिकल कन्ससनेस) र उच्च जागरण हुनैपर्छ। प्रकृति त सबै मान्छेको मात्र नभई सबै जीव प्राणीको हो। वातावरणीय, जलवायु परिवर्तनेदेखि प्लास्टिक प्रदूषणका समस्याप्रति समाजले अब नयाँ खाले वातावरणीय चेतना पुनर्निर्माण गर्नै पर्छ।

चेतना निर्माणका लागि द्वन्द्ववाद र आलोचनात्मक सोच
समाजमा घटने अनेक घटनालाई वस्तुवादी (पदार्थवादी) र द्वन्द्ववादी धारणाबाट हेर्दा इतिहास सदैव पुरानोको विघटन गर्दै नयाँ अवस्थातिर बढेको पाइन्छ। यस्तो गतिशीलताले समाजको ढाँचा परिवर्तन हुँदै आएको हो। समाजभित्र रहेका दुई पक्ष बीचको अन्तर्विरोधबाट पैदा भएको गतिशीलता (संर्घषले गति पैदा गर्दा) मार्फत यस्तो भएको हो।

हेगेलले यस्ता विचार थेसिस–एन्टिथेसिस–सिन्थेसिस प्रक्रियाबाट आउँछन् भनेझैँ मार्क्सले नेगेसन एन्ड नेगेसन (निषेधको निषेध) ले आउँछन् भनेका हुन्। दुवैका तर्क समान छन्। जे भए पनि पुरानो समाज विस्थापन हुन्छ र नयाँ समाज आउँछ। समाज विकासको अनिवार्य नियम हो यो। यस्तो चेतना यही द्वन्द्ववादले दिन्छ। समाजमा केही पनि स्थिर र अपरिवर्तनीय रहन्न, दुई वा सोभन्दा धेरै पक्षबीच निरन्तर अन्तर्विरोधहरू भइरहेका हुन्छन्। यसका कारण परिवर्तन पनि भइरहेका हुन्छन् भन्ने कुरा सबैले बुझौँ र यसैलाई वैज्ञानिक चेतनाको जगका रूपमा लिऔँ।

कतिपय प्राचीन ऋषिजनले पनि विचार निर्माण र शास्त्रार्थ गर्दा यो तथ्य पत्ता लगाएका थिए। त्यति हो कि उनीहरू आध्यात्मिक र आदर्शवादी थिए। त्यसबखत भौतिकवादको विकास उन्नत भइसकेको पनि थिएन र श्रम–उत्पादन सम्बन्धलाई अर्थ राजनीतिक दर्शन मानिएको पनि थिएन। विज्ञानको विकास यतिखेर बृहत‍्बाट  सूक्ष्म रूपले क्वान्टम भौतिकी र पार्टिकल साइन्सजस्ता विधामा पुगेको छ। विज्ञान र प्रविधि मानव समाजको हितार्थ प्रयोग हुन जरुरी छ भन्दै वैज्ञानिकहरूले घटना र समयको मापन पारमाणविक स्केल वा भनौँ अट्टो सेकेन्ड (बिलियन्थ पार्ट) स्केलसम्ममा नाप्न सक्ने बनाएका छन्।

भन्नुको अर्थ हो, समाजका घटना पनि प्रत्येकले यसरी सूक्ष्म रूपले बुझ्न सक्ने हुनुपर्छ। ब्रह्माण्ड वा हाम्रा वरिपरि हुने साना ठूला सबै घटना र परिवर्तन चार बल/शक्ति (गुरुत्वाकर्षण शक्ति, विद्युत्–चुम्बकीय शक्ति, कमजोर आणविक शक्ति र बलियो आणविक शक्ति)ले घटित तुल्याउने यतिखेरको विज्ञानले भनेको छ। यसर्थ, अब दैवी रहस्य आफैँमा कुनै रहस्य रहेन।

हाम्रो चेतनालाई सिद्धान्ततः कसरी समयानुकूल बनाउने र कस्ता ज्ञान समाजका लागि उत्पादन दिने भन्नेमा पनि जाऔँ। कुनै पनि घटना, वस्तु, प्रणाली वा सोको व्याख्या (इन्टरप्रिटेसन) गर्ने सिद्धान्त के गरी परख गर्ने? हाम्रो खुबी र चेतना कसरी उन्नत र धारिलो बनाउने? प्रा. कार्ल पोपर (१९०२–९४) को थ्योरी अफ क्रिटिकल थिंकिङलाई त्यस्तो औजारका रूपमा सर्बस्वीकार्यजस्तै छ।

थ्योरी अफ क्रिटिकल थिंकिङलाई थ्योरी अफ फल्सिफिकेसन पनि भन्छन्। कार्ल पोपरले वैज्ञानिक विचारधारा र अवैज्ञानिक विचारधारा छुट्टाउन सकिने परीक्षण विधि विकास गरेका छन्। यसरी परीक्षण गर्दा तीन वटा जाँच आधार (टेस्टिमनी) लिइएको छ, जसमा उक्त सिद्धान्तको प्रयोगात्मक पक्ष र ज्ञान समाजका लागि उपयोगी छ कि कस्तो छ? उक्त सिद्धान्तको ज्ञान (इपिस्टोमोलोजी) मीमांसाको आधार विज्ञानजन्य छ कि कस्तो छ? र उक्त सिद्धान्तको सामाजिक/सांस्कृतिक प्रभाव अवलोकन गर्दा सो मापनयोग्य भयो भएन त भन्नेलाई आधार लिइएको छ, जसलाई ट्रायल एन्ड इरर प्रक्रियाबाट दोहोर्‍याइरहनुपर्छ।

यस्तो विधिबाट प्राप्त नतिजा परीक्षण र मापन गरी लेखाजोखा गर्न सकिएन भने यी सिद्धान्त अवैज्ञानिक भई अस्वीकृत हुन्छन्। पोपरको यो विधि ऐतिहासिक र ऐतिहासिक–अनुभववादी स्कुलले अपनाउने गर्छन्। यसलाई तर्कवादीले भने केही आलोचना गर्छन्। दार्शनिक अर्थर सोपेन्हर (१७१८) पनि चेतना निर्माण चार प्रक्रियाभित्र हुनेमा जोड दिन्छन्।

जसमा (१) नियमित प्रश्नोत्तर, (२) आलोचनात्मक छलफल, (३) बलियो तर्क, (४) ज्ञानको व्यवस्थित प्रस्तुति नै ज्ञानको निर्माण विधि हो भन्ने भनाइ छ। उनको सिद्धान्तलाई ‘पर्याप्त कारणको सिद्धान्त’ पनि भनिन्छ। पर्याप्त कारणको खोज नै चेतना हो भन्छन् उनी। कुनै वस्तु वा घटना किन हुन्छ, किन जानिन्छ, किन रहन्छ र किन क्रियात्मक हुन्छ भनेर जान्यौँ भने हामी चेतनशील भयौ भन्ने तर्क उनको छ।

अब नयाँ पुस्ताले उन्नत सामाजिक चेतना निर्माण गर्नका लागि सैद्धान्तिक औजारको रूपमा द्वन्द्ववाद, सापेक्षतावाद, आलोचनात्मक सोच, पर्याप्त कारणको सिद्धान्त र तार्किक बहसलाई पनि अध्ययन–अध्ययन प्रक्रिया (पेडागोजिकल प्रोसेस)भित्र समावेश गर्दै आफू र समाजलाई यसैमा जोडेर अघि बढौँ। यसरी अग्रगामी सामाजिक चेतना निर्माण र पुनर्निर्माण प्रक्रिया तीव्र बनाऔँ। चेतना र ज्ञान समाज परिवर्तनका शक्तिशाली औजार हुन्। यिनको महत्त्व बुझाउँदै जाऔँ। यसो गर्दा हाम्रै पुस्ताले समाजको प्रगतिशील ढाँचा र प्रणालीसमेत निर्माण गर्न सक्छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)