युरोपमा रोजगारीका लागि जानेहरूले कानूनी प्रक्रिया नपुर्याउँदा र सम्बन्धित देशको कानूनी व्यवस्था नबुझ्दा समस्यामा पर्ने गरेका छन्। उनीहरूलाई सेवा दिन र पिरमर्का बुझ्न अधिकांश देशमा दूतावाससमेत छैन।
काठमाडौँ– गत अप्रिल ६ (चैत २४ गते) मा पोर्चुगलको समुद्रमा ‘सी फुड’ खोज्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु भयो। मोन्तिजोस्थित समुद्रमा पसेका धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ कटुन्जेका धनबहादुर तामाङ र टेकबहादुर तामाङको मृत्यु भएको हो।
पोर्चुगलका समुद्रमा सी फुड खोज्नु अवैधानिक मानिन्छ। राति लुकेर सी फुड खोज्न गएका उनीहरू समुद्रको चाल थाहा नपाउँदा डुबेका हुनसक्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दीपा काफ्लेले बताइन्।
“यहाँ सी फुड खोज्नु इलिगल (गैरकानूनी) मानिन्छ, इलिगल भएर बसेका धेरै नेपाली दाजुभाइ यस्तो कार्यमा लागेका देखिन्छन्। कतिपय यसरी नै खर्च जोहो गर्छन्। यस्तो समस्या बिकराल छ,” उनले भनिन्।
काफ्लेका अनुसार गत महिना पोर्चुगलमा दुई नेपालीले आत्महत्या गरे भने एक जनाको हत्या भयो। खाने बस्ने ठेगान नभएर त्यहाँका सडकमा अलपत्र पर्ने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेको छ। “यहाँका सडकमा दुई तीन सय नेपाली अलपत्र हुनुहुन्छ। न बस्ने ठेगान हुन्छ, न त खाने नै,” उनी भन्छिन्।
युरोपकै अर्को देश रोमानियाबाट गत डिसेम्बरमा एक जना नेपालीको उद्धार गरियो। पाँच महिनासम्म अलपत्र परेका सिन्धुलीका बालकुमार कटुवाललाई त्यहाँको ‘नेपाली समाज यास रोमानिया’ले उद्धार गरेर नेपाल फर्काएको थियो।
बालकुमारका अनुसार उनी नेपालबाट एजेन्टका भरमा रोमानिया पुगेका थिए। त्यहाँ पुगेर पनि एजेन्टकै फन्दामा पर्दा अलपत्र भए। नेपाली समाज यास रोमानियाले शेयर गरेको भिडियोमा उनी भन्छन्, “एजेन्टको लापरबाहीका कारण मैले यहाँ धेरै दुःख कष्ट भोग्नुपर्यो, जेलनेल अड्डाअदालत धाउन नसकेर नेपाल फर्किनुपर्ने भयो।”
गत हप्ता मात्रै रोमानियामा एक नेपाली महिलाले आत्महत्या गरेको समाचार बाहिरियो। ‘नेपाल तामाङ घेदुङ रोमानिया’ले आफ्नो फेसबुक पेजबाट बुकरेस्टको अफी मल नजिक डाक्टर केयर कम्पनीमा कार्यरत सिन्धुपाल्चोककी स्याङताङ तामाङले आत्महत्या गरेको खबर शेयर गरेको थियो।
यद्यपि मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले भने आफूले पनि यो खबर सुनेको तर कुन घरको मान्छे हुन् भनेर पत्ता लाग्न नसकेको बताए। “हामीले खबर पाएका छौँ। ४ नम्बर वडा भनिएको छ, तर कुन घरको हुन् यकिन हुनसकेको छैन। खोजी गरिरहेका छौँ,” मेयर तामाङले भने।
रोमानियामा पनि नेपालीहरू समस्यामा पर्ने, आत्महत्या गर्ने क्रम बढेको त्यहाँ रहेका नेपालीहरू बताउँछन्। ६ वर्षदेखि रोमानियामा बस्दै आएका ओबेस गुरुङका अनुसार केही वर्षयता धेरै नेपालीले दुःख पाइरहेका छन्। यही कारण डिप्रेसनमा जाने तथा आत्महत्या गर्ने पनि धेरै भइरहेको उनको भनाइ छ।
“पहिलेभन्दा अहिले धेरै दाजुभाइ दिदीबहिनीहरूले विविध खालको दुःख भोग्नुपरेको छ,” गुरुङ भन्छन्, “कतिपय नेपालबाटै एजेन्टको जालोमा परेर दुःख पाउने गरेको र कतिपयले यहाँ आइपुगेपछि आफ्नै र कार्यरत कम्पनीको कारण दुःख खेपिरहनुभएको छ।”
पछिल्लो समय युरोपका क्रोएसिया, साइप्रस, माल्टा, पोल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स, सर्बियालगायत देशमा पनि रोजगारीका लागि नेपाली श्रमिक जाने क्रम बढिरहेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८७९ मा झन्डै २४ हजार नेपाली रोजगारीका लागि युरोपका विभिन्न देश पुगेका थिए। आव २०७९८० मा उक्त संख्या बढेर ४३ हजार पुगेको थियो। यस्तै चालु आवको नौ महिनामा यी देश जानेको संख्या ३१ हजार २७७ पुगेको छ। तर यो संख्या श्रम स्वीकृति लिएर जानेहरू हो।
भिजिट भिसा तथा युरोपका फ्रान्स, बेलायत, स्पेन, जर्मनी आदि देशमा अध्ययनको लागि जाने पनि छन्। भिजिट भिसामा जाने र अध्ययनमा जानेले अध्ययन सकिएपछि वा बीचैमा पनि काम गरेर बसेका छन्। यति धेरै नेपालीहरूको गन्तव्य बनिरहेको युरोपमा उनीहरूले भोगिरहेका समस्याका चाङ धेरै छन्।
अनेक समस्या
लामो समयदेखि फ्रान्स बस्दै आएका पत्रकार तथा लेखक ददि सापकोटा युरोपका देश आएर अलपत्र पर्ने नेपालीको संख्या धेरै रहेको बताउँछन्। ‘दुखेको युरोप’सहित विभिन्न पुस्तकका लेखक सापकोटाका अनुसार युरोपमा समस्यामा पर्ने नेपाली बढिरहेका छन्।
युरोपमा फ्रान्स, जर्मनी, स्पेन जस्ता देशमा अध्ययनका लागि नेपाली पुग्छन्। उनीहरूमध्ये ७० प्रतिशतभन्दा बढी पढाइ छाडेर रोजगारीमा संलग्न हुन्छन्। त्यसले गर्दा अनेक झमेलमा पर्ने गरेका छन्। ‘शैक्षिक दलालबाट ठगिएर युरोप छिर्दा दुःख पाउनेहरू’ धेरै भएको सापकोटा बताउँछन्।
“नेपालबाट शैक्षिक एजेन्टहरूले झुक्याएर पठाउने गर्छन्। २३ घण्टा कलेज जाने हो बाँकी समय काम गर्ने भनेर झुक्याएको हुन्छ। तर यहाँ उनीहरूलाई एजेन्टले भने जस्तो सहज हुँदैन,” सापकोटा भन्छन्, “त्यसैले बीचमै पढाइ छोड्छन् र अवैधानिक भएर काम गर्न थाल्छन्, कोही ईयूकै अर्को देश प्रवेश गर्छन्। त्यस क्रममा उनीहरू प्रहरी कारबाहीमा पर्नेदेखि दलालहरूको फन्दामा पर्ने गरेका छन्।”
युरोप पढ्न जान कतिपयले नेपालमा ऋण गरेका हुन्छन्। पढ्दै कमाएर ऋण तिर्ने सोच हुन्छ। तर भनेजस्तो नहुँदा डिप्रेसनमा जाने समस्या भयावह भएको सापकोटा बताउँछन्। बिनाकागजपत्र युरोपेली युनियन (ईयू)को एक देशबाट अर्को देशमा प्रवेश गर्दा प्रहरीको यातनादेखि काराबाससमेत हुने गरेको छ।
प्रहरीको यातनाबाट एक नेपाली महिलाले गरेको हर्कतले आफू अचम्ममा परेको सापकोटा बताउँछन्। ती महिलाबारे दूतावासका एक अधिकारीलाई उधृत गर्दै उनले भने, “ती महिला रोमानियाबाट पोर्चुगल जान खोजिछन्। आफूसँग कागजात नहुँदा प्रहरीले समातिहाल्छ, त्यसैले हिरासतमा भन्दा अस्पतालमै बस्नु ठीक भनेर एजेन्टको सल्लाहअनुसार ढुंगाले हानेर आफ्नै दाँत भाँचिछन्।”
सुन्दा हास्यास्पद लाग्ने यस्ता अनेक घटना युरोपमा भइरहने उनी बताउँछन्। नेपालीहरू समस्यामा पर्ने कारण सीप र भाषाको ज्ञान नहुनु पनि हो। युरोपमा बेलायतबाहेक अन्य देशमा अंग्रेजी कम बोलिन्छ। स्पेन, इटालीमा त अंग्रेजी भाषा सामान्यतः बोलिँदैन। जर्मनी, पोर्चुगल, रोमानियामा पनि स्थानीय भाषाको प्रयोग बढी हुन्छ।
“युरोपमा अंग्रेजी बोलिन्छ भन्छन् तर यहाँ अंग्रेजी बोल्ने कुनै देश छैन। सबै देशका आआफ्नै भाषा छन्। यहाँ आएर भाषा नजान्दा नेपालीहरूले समस्या भोग्छन्,” पत्रकार सापकोटा भन्छन्।
छैनन् दूतावास
युरोपियन युनियनका मात्रै २७ सहित समग्र युरोपमा ४८ देश छन्। तीमध्ये बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, रूस, बेलायत र स्पेन गरी सात वटा देशमा रहेका दूतावासले आसपासका देशहरू भाग लगाएर हेर्ने गरेका छन्। नेपाली श्रमिकको मुख्य आकर्षण बन्दै गएका रोमानिया, पोर्चुगल, पोल्यान्ड आदि देशमा नेपाली दूतावास छैन।
पोर्चुगलमा सरकारले गत कात्तिकमै दूतावास खोल्ने र राजदूत खटाउने निर्णय गरेको थियो। गएको माघमा सरकारले सुनील नेपाललाई पोर्चुगलका लागि राजदूत नियुक्त गरेको थियो। तर त्यहाँ दूतावास नखोल्दा उनले कार्यभार सम्हाल्नै पाएका छैनन्।
नेपालीहरूको अर्को युरोपेली गन्तव्य क्रोएसियामा पनि दूतावास स्थापनाका लागि त्यहाँ रहेका नेपालीले माग गर्दै आएका छन्। गत शुक्रबार मात्रै दावा लामाले एनआरएनए क्रोएसिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै राजदूतावास खोल्नका लागि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाएका थिए।
युरोप जाने नेपालीहरूको संख्या बढे पनि त्यहाँ नेपाली दूतावास भने दुई दशक पहिलेकै संख्यामा कायम छन्। यसको असर त्यहाँ रहेका नेपालीहरूमा पर्ने गरेको छ। एउटा दूतावासले पाँचभन्दा बढी देशमा रहेका नेपालीलाई हेर्नुपर्छ। उनीहरूले पाउनुपर्ने ‘कन्सुलेट’सम्बन्धी सेवाका लागि पनि नेपाली एजेन्टको भर पर्नुपर्दा धेरै नेपाली ठगिने गरेका छन्।
“दूतावास नहुँदा एजेन्टहरूको बिगबिगी छ, हामीले सरकारसँग कति पटक आग्रह गर्दा पनि राजदूत खटाउनुभएको छैन,” एनआरएनए पोर्चुगलकी वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले भन्छिन्, “देशको अस्थिर राजनीतिको असर विदेशमा बसेका नेपालीहरूले पनि भोगिरहेका छन्। रोमानिया, साइप्रसलगायत युरोपका अरू देशमा पनि यस्तै हालत छ।”
दूतावास नहुँदाखेरि केही भवितव्य आइपरे व्यवस्थापनका प्रक्रियाहरू गर्न झन्झटिलो हुने काफ्लेको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
