फ्लाइओभर निर्माणमा लापरबाहीले सर्वसाधारणलाई जोखिम (तस्वीरसहित)

निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्। 

ललितपुर– इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधै त्यहीबाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन्। काममा जाँदा आउँदा उनलाई सधै एक कुराको पीर भइरहन्छ।

ग्वार्को चोकमा निर्माणाधीन फ्लाइ-ओभरको अव्यवस्थित निमार्ण सामग्री र सवारीजामले आफूलाई सधैँ पिरोल्ने गरेको उनी बताउँछन्। "दैनिकी ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नुपर्ने हुन्छ। फ्लाइ-ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरूले गर्दा निकै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ," उनले सुनाए।

जाम खुल्दा सार्वजनिक सवारीहरू पेलिएर आउँदा झनै डराउँदै हिँड्नुपर्ने उनी बताउँछन। उनी जस्तै साना सवारी होस् या ठूला सवारी चलाउनेहरू सबै त्यसरी नै जोगिँदै हिँड्नुपर्ने बाध्यता छ। रड मात्र नभई फ्लाइ-ओभर निर्माणस्थलमा ढाकिएका जस्ताका पाताबाट निस्किएका निर्माण सामग्रीमा ठोक्किए चोटपटक लाग्ने जोखिम पनि छ।

निर्माणस्थल फलाम र जस्ताले ढाकिएको छ। त्यहाँबाट फलामका रडहरू बाटो नै छेक्ने गरी बाहिर निस्केका छन्। कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका छन्। यस्तो अवस्थामा जोगिएर हिँड्नुपर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो छ।

निर्माणका क्रममा सडकबाट निकालिएका फलामे बारहरू पनि बेवारिसे अवस्थामा छन्।

काठमाडौँ चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाइ-ओभर निर्माण कार्य गरिरहेको हो। फ्लाइ-ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ।

निर्माण कार्य भई राख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ। त्यसैमाथि वैकल्पिक बाटो साँघुरो र निरन्तरजसो भइरहने जामले गर्दा निर्माणस्थल हुँदै हिँड्नुपर्ने बाध्यता छ।

–फोटो लाइब्रेरी