जुद्धोदय स्कुलको जग्गामा सञ्चालित सटर काठमाडौँ महानगरले बन्द गरायो (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ। महानगरको टोलीले सोमबार जुद्धादय माध्यमिक विद्यालयको भवन क्षेत्रमा निर्माण गरिएका सटरहरू बन्द गर्न लगाएको हो।

जुद्धोदय पब्लिक स्कुलका तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले विद्यालयमा बालबालिका खेल्ने खेल मैदानसमेत नराखी १६ वर्षअघि विद्यालयको जग्गा व्यापारी एवं ठेकेदार मनोज मिश्रको कम्पनी ‘तरुण निर्माण सेवा प्रालि’लाई लिजमा दिएका थिए। जग्गाको लिज सम्झौता र त्यसमा निर्मित कम्प्लेक्सलाई काठमाडौँ महानगरको छानबिन समितिले गैरकानूनी ठहर गरेको छ। 

शैक्षिक क्रियाकलापका लागि प्रयोग गर्नुपर्ने जग्गामा भौतिक संरचना बनाएर भाडामा दिएको पाइएपछि महानगरले सटर तथा टहराहरू खाली गराइरहेको छ। यसअघि आइतबार चार सामुदायिक विद्यालय क्षेत्रमा बनाइएका ६१ वटा सटरमा महानगरले ताला लगाएको थियो। 

महानगरको शिक्षा विभागका अनुसार महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर या विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ। यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइने विभागले जनाएको छ।