स्थानीयको विरोधका बाबजुद व्यवसायी चन्द्र ढकालले पाथीभरामा केबलकार निर्माण थालेपछि भिडन्त निम्तिएको छ। प्रहरी तैनाथ गरेर वैशाख ३१ गते राति २ बजे रूख कटान थाल्दा स्थानीय प्रतिकार गर्न पुगेका थिए।
काठमाडौँ– ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित बलेडाँडामा हरेक साँझ युवाहरूको एक समूह जम्मा हुन्छ। उनीहरू त्यहीँ खाना खान्छन् र जंगलमा गस्ती थाल्छन्। यसरी उनीहरूले गस्ती थालेको नौ महिना भइसकेको छ।
“यहाँ केबलकार बनाउने नाममा केही व्यक्तिको फाइदाका लागि जंगल, धर्म र संस्कृति मास्ने काम हुन थाल्यो, त्यसको पहरेदारीको लागि हामीले युवा दस्ता बनाएर काम गरिरहेका छौँ,” गस्ती तथा प्रतिकारका लागि स्थानीयले बनाएको समूहका कमान्डर पूर्ण पालुङ्वा भन्छन्, “केबलकारका नाममा यहाँका रूख काट्नेलगायत गतिविधि रोक्न हामी यो अभियान चलाउन बाध्य भएका हौँ।”
फुङलिङ–११ मा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७४ किलोमिटर लामो केबलकार निर्माणका लागि पाथीभरा दर्शन केबलकार प्रालिले काम थालेको छ। तर स्थानीयले विरोध गरेपछि कामले गति लिएको छैन। उक्त कम्पनीले प्रहरीको आडमा रूख काट्न थालेपछि स्थानीय काम बिथोल्न प्रतिकारमा उत्रिएका थिए। उक्त केबलकार कम्पनी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको हो।
प्रतिकार दस्ताका कमाण्डर पालुङ्वाका अनुसार गत वैशाख ३१ गते प्रहरी प्रशासन लगाएर वनमा रहेका गुराँस, चिमल, लोठसल्लालगायत विभिन्न प्रजातिका रूख काटिएका थिए। त्यसपछि थप रूख विनाश हुन नदिन स्थानीय प्रतिकारमा उत्रिए।
वैशाख ३१ गते राति २ बजेदेखि सशस्त्र र नेपाल प्रहरी तैनाथ गराएर केबलकारको बाटो पर्ने क्षेत्रमा करिब १२ हजार रूख काटिएका छन्। केबलकार निर्माणविरुद्ध संघर्षरत समितिका संयोजक श्री लिङ्खिमका अनुसार रातको समयमा रूख काट्न थालेको थाहा पाएपछि प्रतिकार गर्न पुगेका स्थानीयले कटानका लागि ल्याइएका मजदूरहरूलाई भगाएका थिए।

“गत भदौदेखि नै हामीले यस क्षेत्रमा दस्ता खडा गरेर पहरा दिइरहेका थियौँ। तर त्यस दिन उनीहरू हामीलाई झुक्याउन सफल भए। दुई दिनपछि हुने ताप्लेजुङ महोत्सव सफल पार्नुपर्छ भनेर त्यसतर्फ लाग्यौँ, त्यही मौकामा प्रहरी प्रशासनको आडमा केही रूख काट्न सफल भए,” उनी भन्छन् “थाहा पाएपछि हामीले सबैतिर खबर गर्यौं। गाउँबाट आउने हाम्रा मान्छेलाई प्रहरी लगाएर अगाडि बढ्न दिइएन। हिँडेर रूख काटेको ठाउँमा पुग्न केही ढिला भए पनि हामीले उनीहरूलाई लखेट्यौँ।”
यो पनि: पाथीभरा डाँडामा पनि चन्द्र ढकालको कम्पनी, केबलकार बनाउन सघाउँदै सरकारी निकाय
प्रहरी प्रशासनको आडमा रूख कटान गरिएपछि संघर्ष समितिले ताप्लेजुङसहित मेची तथा तमोर करिडोर चार दिनसम्म बन्द गराएर आन्दोलन गरेको थियो। केबलकारका नाममा कुनै पनि काम स्थानीयको जानकारीबिना नगर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको लिङ्खिम बताउँछन्।
कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौँमा २०७२ असोज ६ मा दर्ता भएको पाथीभरा दर्शन केबलकार कम्पनीमा शुरूका लगानीकर्ताका रूपमा ल्हाक्पा सोनाम शेर्पा र उनका भाइ आङछिरिङ थिए। हेलिकप्टर दुर्घटनामा आङछिरिङको मृत्यु भयो। त्यसपछि केबलकार निर्माण प्रक्रिया अघि बढ्न सकेन। डेढ वर्षअघि कम्पनीबाट ल्हाक्पा बाहिरिएपछि ढकालको प्रवेश भएको थियो। उनको प्रवेशपछि नै सरकारी निकायबाट ‘फाष्ट ट्रयाक’मा काम गराएर केबलकार निर्माणमा गति दिन थालिएको हो।
पेचिलो बन्दै मुद्दा
सार्वजनिक सम्पत्तिका रूपमा रहेका देशका सार्वजनिक वन तथा संरक्षण क्षेत्रमा रहेका आकर्षक पर्यटकीय गन्तव्यमा ढकालले केबलकार र होटेल निर्माणको अभियानै चलाइरहेका छन्। पाथीभरा क्षेत्रमा पनि सामुदायिक वन मासेर उनले केबलकार निर्माण थालेपछि स्थानीय आदिवासी प्रतिकारमा उत्रिएका हुन्। पाथीभरा मन्दिर सिम्बु पाथीभरा सामुदायिक वन क्षेत्रमा पर्छ।
केबलकार निर्माणका लागि सुरक्षा प्रदान गर्न पछिल्लो पटक सशस्त्र प्रहरी खटाइएको छ। त्यहाँ सशस्त्रको सुरक्षा पोष्ट स्थापनाको तयारी छ। गत चैतमा काफ्लेपाटीमा सुरक्षा पोष्ट राख्न खोज्दा स्थानीयले प्रतिकार गरेर सशस्त्र प्रहरीलाई फर्काएका थिए। प्रस्तावित केबलकारको तल्लो स्टेशन पनि काफ्लेपाटीमै तोकिएको छ।
शहरी योजना, भूमिहीन र सम्पदाबारे अनुसन्धान गर्ने सविन निङ्लेखुका अनुसार पुँजी लगानीका नाममा धार्मिक सभ्यता, जैविक विविधता र स्थानीयहरूको जीविकोपार्जनलाई असर गर्न मिल्दैन। पाथीभरामा केही व्यक्ति र समूहलाई फाइदा पुग्ने गरी केबलकार निर्माण थालिएपछि स्थानीय समुदायले यसलाई जीवनमरणको विषय मानेको उनी बताउँछन्।

मुन्धुम दर्शनअनुसार लिम्बूहरू पाथीभरा क्षेत्रलाई मुकुम्लुङ भन्छन्, जुन उनीहरूको धार्मिक आस्था र विश्वाससँग जोडिएको छ। अध्येता निङ्लेखुका अनुसार मुक भनेको शक्ति र लुङ भनेको ढुंगा हो। लिम्बूहरूले हजारौँ वर्षदेखि उक्त क्षेत्रलाई शक्तिका रूपमा पूजा गर्दै आइरहेका छन्। लिम्बूहरू अस्तित्वमा आएदेखि नै मुन्धुम दर्शन पनि अस्तित्वमा रहेको र आठदेखि १० हजार वर्ष पुरानो रहेको उनको भनाइ छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार पाथीभरा मन्दिर दर्शन गर्न हिन्दूसहित किराँत र बौद्ध धर्मावलम्बी गरी वार्षिक तीनदेखि चार लाख मानिस पुग्छन्। पाथीभरा जाने मानिसको यही चाप देखेर ढकालले केबलकार निर्माणमा जोड दिइरहेको संघर्ष समिति संयोजक श्री लिङखिम बताउँछन्।
पाथीभरा जाने दर्शनार्थीका कारण करिब १५ सयले प्रत्यक्ष रोजगारी पाएका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार गत वर्ष यहाँका ५१५ जना भरिया सूचीकृत गरिएको थियो। भरियाले सामान मात्र नभई मानिसलाई पनि बोकेर मन्दिरसम्म पुर्याउने र तल ल्याउने गर्छन्। एक पटकमा एक जनाले करिब २ हजार रुपैयाँ कमाउँछन्। उनीहरूले एक दिनमा तीन खेपसम्म गर्न भ्याउँछन्। यहाँका ४५ वटा होटल तथा रेष्टुरेण्टमा ४०० भन्दा बढीले रोजगारी पाएका छन्। त्यसबाहेक झोलापोका र नाङ्लोमा व्यापार गर्नेको संख्या पनि उल्लेख्य छ।

मुन्धुम सभ्यताका जानकार एव्म सानोठिमी क्याम्पस भक्तपुरमा अध्यापन गर्ने अमर तुम्याहाङका अनुसार एउटा समुदायको धार्मिक कार्य बिथोलिने हुनाले पाथीभरा क्षेत्रमा केबलकार बनाउन मिल्दैन। “तनको धागो जीवनसँग जोडिन्छ, तल रहेको कान्छीथानबाट डोरी टाँग्दै माथि पुगिन्छ। त्यो डोरी पोको पर्यो भने नराम्रो हुने मान्यता छ,” उनी भन्छन्, “केबलकार चल्यो भने पूजाको विधि पुग्दैन। पूजाको विधि नै बिथोलिन्छ।”
व्यापारीहरूले एकैपटक धर्म संस्कृति, पर्यावरण, गरिखाने किसान तथा मजदूरमाथि कसरी शोषण गर्छन् भन्ने उदाहरण पाथीभरा केबलकार भएको अध्येता निङ्लेखु बताउँछन्। “केही मानिसले केबलकार बन्ने विषयलाई विकाससँग जोडेर प्रस्तुत गरेका छन्। यो सरासर गलत हो,” उनी भन्छन्, “विकासले स्थानीयको आवश्यकता र उनीहरूलाई सहयोग पुग्ने खालको हुनुपर्छ।”
स्थानीय समुदायले उक्त ठाउँमा केबलकारको माग कहिल्यै नगरेको संघर्ष समितिका अध्यक्ष लिङ्खिम बताउँछन्। “सिंहदरबार र काठमाडौँमा व्यापारीहरूले सेटिङ मिलाएर केही मानिसका लागि ल्याइएको हो,” उनी भन्छन्, “विकास समुदायको मागका रूपमा स्थानीयको आवश्यकतासँग जोडिएर आउनुपर्छ र जनताले महसुस गर्नुपर्छ। तर केबलकारले समुदायको आस्था, धर्म र विश्वासमाथि ठूलो चोट पुर्याउँछ।”
समुदाय विभाजनको कारक
केबलकार बनाउन चन्द्र ढकाल ताप्लेजुङ प्रवेशपछि मिलेर बसेका विभिन्न जाति र समुदायमा विभाजन हुन थालेको छ। लिम्बू समुदाय पनि विभाजित भएको छ। खासगरी भाषा तथा धर्म संस्कृतिको विषयलाई उठान गरेर केबलकारको विरोध गर्नेलाई ‘पहिचानवादी कित्ता’मा पुर्याइएको छ। कांग्रेस, एमाले र माओवादीसहितका राजनीतिक दलमा आबद्ध नेता, जनप्रतिनिधि र व्यापारी केबलकार बनाउने लबिइङमा छन्।
लिम्बूहरूबीचमा विभाजन ल्याएर आफ्नो अभिष्ट पूरा गर्न रूख काट्ने काममा लिम्बू समुदायका मजदूरलाई नै प्रयोग गरिएको अध्येता निङ्लेखु बताउँछन्। “कुनै जाति विषेशको आन्दोलन होइन भन्ने बनाउन गैरलिम्बू र लिम्बूहरूको उत्तिकै दायित्व हुन्छ,” उनी भन्छन्, “सामान्य पृष्ठभूमिका मानिसहरू किन लागे? उनीहरूलाई राजनीति गरेर पदमा पुग्नु छैन। भावनात्मक रूपमा लागेका छन्।”
फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन भने केबलकार बनाउनुपर्ने पक्षमा छन्। जिल्लाका ९५ प्रतिशत जनता केबलकार बनाउनुपर्ने पक्षमा रहेको उनको दाबी छ। “बन्नु हुँदैन भन्नेहरू लारुम्बा बस्ने आत्मनन्द लिङ्देनका अनुयायी छन्। काटमार गर्नुहुँदैन भन्ने अहिंसावादी धर्मालम्बीहरू त्यो पथिभरा देवी होइन, आदिमकालदेखि लिम्बू जातिको मुन्धुमस्थल मुकुम्लुङ हो भन्छन्,” मेयर मादेनले भने, “पाथीभरा देवी जन्मिनुभन्दा पहिला त्यहाँ गएर लिम्बूहरूले पूजा गरेको इतिहास छैन। अहिले आएर हिन्दू अतिक्रमण भयो भनेर भनेका छन्। हामी प्रकृति पूजक हौँ, ती मन्दिरहरू हटाउनुपर्छ भन्नुको अर्थ पाथीभरालाई नामेट गरेर मुकुम्लुङ लेख्नुपर्छ भन्नु हो।”

भरियाको पेसा खोसिन्छ भनेर सन्तान दरसन्तानसम्मलाई भरिया नै बनाउन खोजिएको उनले बताए। “बाबुले भारी बोक्यो भन्दैमा छोराले भारी बोक्छ त! बाटो हिँड्नेलाई अप्ठ्यारो, भयो खाजापानीका लागि होटल गर्नेले करोडौँ कमाइसकेका छन्। रूख मासिसकेका छन्,” मेयर मादेनले भने, “होटलवालाहरूले मुकुम्लुङवालाहरूलाई पैसा दिएर केबलकार बन्नुहुँदैन भनेर मुद्दा उठाएका हुन्।”
तर संघर्ष समिति संयोजक श्री लिङ्खिम वातावणीय तथा सामाजिक प्रभावबारे अध्ययन अनुसन्धान गर्ने र स्थानीय समुदायका गुनासो सुन्ने काम नगरिएको बताउँछन्। “फिल्डमा गएनन्। सार्वजनिक सुनुवाइ पनि गरेनन्। त्यसो गरेको भए हामी ठाउँको ठाउँ रोकिहाल्थ्यौं। टेबलमा बसेर काम गरे,” उनी भन्छन्।
२०८० वैशाख ८ गते वन तथा वातावरण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट वन तथा भू–संरक्षण विभागका सहसचिव नवराज पुडासैनीको संयोजकत्वमा अध्ययन समिति बनेको थियो। समितिमा कोशी प्रदेशका वन निर्देशक धनञ्जय लामिछाने, वन तथा वातावरण मन्त्रालयका उपसचिव बाबुकाजी डल्लाकोटी र कानून अधिकृत पुष्पराज धिताललगायत सदस्य थिए।
समितिले उक्त क्षेत्रको स्थलगत अध्ययन गरी बुझाएको प्रतिवेदनमा समेत स्थानीयको माग सम्बोधन गर्न सुझाव दिइएको छ। प्रतिवेदनमा समुदायको सांस्कृतिक हक र अधिकारमा प्रचलित मूल्य र मान्यता विपरीत कुनै कार्य गर्न नहुने, पाथीभरा देवीको मन्दिरमाथि स्थानीय समुदाय र विभिन्न धर्मावलम्बीले अवलम्बन गरेका संस्कृति, परम्परा तथा चलिआएका मान्यता विपरीत कुनै गतिविधि र भौतिक पूर्वाधार निर्माण गर्न नहुने उल्लेख छ।
तर यी सबैको बाबजुद ढकाल जसरी पनि उक्त ठाउँमा केबलकार बनाउन लागेका छन्। उनलाई राजनीतिक दलका नेता र व्यापारीले साथ दिएका छन्। स्थानीय भने निर्माण रोक्ने अभियानमा लाग्दा भिडन्तको स्थिति आएको छ। “हामीले रूख काटिएका ठाउँमा जेठ ३१ र ३२ गते २५ हजार बिरुवा रोप्दैछौँ,” संघर्ष समिति संयोजक लिङ्खिम भन्छन्, “यहाँ हुने कुनै पनि भिडन्त र क्षतिको जिम्मेवार चन्द्र ढकाल हुनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
