मैले पहिचानको संकट भोगेँ र त्यसैलाई कथाको विषय बनाएँ : रञ्जन अडिगा

‘भारतबाट नेपाल आएको र नेपालबाट अमेरिका गएकोले मसँग अदरिङको ठूलो अनुभव छ। मेरो मनमा बारम्बार ‘मेरो घर कहाँ हो?’ भन्ने प्रश्न आउँछ। पहिचानको संकट मलाई जहिले पनि भइरह्यो।’

तस्वीर: मनीष पौडेल/उकालो

दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।


रञ्जन अडिगाको ‘लिच’ कथासंग्रह भर्खर बजारमा आएको छ। पेनगुइनले प्रकाशन गरेको अंग्रेजी भाषाको यो पुस्तकमा १० वटा कथा समेटिएका छन्। अमेरिका बस्दै आएका अडिगा युटाह राज्यस्थित वेस्टमिनिस्टर विश्वविद्यालयमा साहित्यका प्राध्यापक हुन्। उनका रचनाहरू न्युयोर्क टाइम्स, हफिङ्टन पोष्टलगायत पत्रिकामा समेत प्रकाशित छन्। उनको अमेरिका बसाइ र लेखनीका विषयमा उकालोका लागि किरण दहालले गरेको कुराकानीः 

केही समयअगाडि पेनगुइन प्रकाशनले तपाईंको कथासंग्रह ‘लिच’ प्रकाशित गर्‍यो। यो पुस्तकबारे केही बताइदिनु न!
छोटो कथाका पुस्तक तयार पार्दा केही चुनौती हुन्छन्। कथाहरू भिन्दाभिन्दै भए पनि मूल विषय एउटै हुनुपर्छ। नत्र विषय छरिन्छ। कथासंग्रह फूलको मालाजस्तै हो, हरेक फूल बग्लाबेग्लै हुन्छन् तर एउटै धागोमा उनिन्छन्। यो संग्रहका हरेक १० वटा कथा र पात्र भिन्न भए पनि एउटा खास विषय वरिपरि घुम्छन्।

मैले प्रायः कथा कोभिड–१९ महामारीको समयमा लेखेको हुँ। ‘हेयर कट’ शीर्षकको कथाचाहिँ अलिक पुरानो हो, १० वर्षजति अगाडी लेखेको हुँ। यी कथाको मुख्य विषय डिसप्लेसमेन्ट हो। बसाइँसराइ हुँदा डिसप्लेसमेन्ट देखिनसक्छ। एउटा नेपाली नेपालभित्र बस्दा पनि मूलधारबाट विस्थापन भइरहेको हुनसक्छ। कथाका अधिकांश पात्र सीमान्तकृत छन्। हरेकले समाजबाट आफूलाई अलग सम्झिएका छन्। उनीहरू समाजमा मिसिन चाहन्छन् र चाहनाले कथा बनेको हो।  

किताबको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ?
प्रतिक्रिया राम्रो छ। दुई महिनाअघि प्रकाशन भएको हो। तर मलाई कतिपयले भारतीय लेखक हो कि भनेर शंका गर्छन्। म विभिन्न पुस्तक पसल गइरहेको हुन्छु। मेरो पुस्तक देखाएर पाठकहरू पसलेलाई ‘यो भारतीय लेखक हो?’ भनेर सोध्छन्। कहिलेकाहिँ म आफैँ ‘मेरो पुस्तक हो, म नेपाली हुँ’ भन्छु। थरको कारणले यस्तो भएको हो जस्तो लाग्छ। वितरकहरूले पुस्तकको माग सन्तोषजनक रहेको बताइरहेका छन्। कार्यक्रमहरूमा जाँदा कतिपयले ‘तपाईंको किताब पढिरहेको छु’ भन्छन्, खुशी लाग्छ।

यी कथामा तपाईंको व्यक्तिगत अनुभव कति समेटिएका छन्?
म सुविधासम्पन्न समुदायमा पर्छु। म मध्यमवर्गीय परिवारमा हुर्केको हुँ। सेन्ट जेभियर स्कुलमा पढेँ। पुरूष हुँ। मेरो हजुरबुवा भारतबाट आएर पशुपतिको मूलभट्ट हुनुभयो। पशुपति नेपालको एउटा सांस्कृतिक ‘आइकन’ हो। म धेरै हिसाबले प्रिभिलेज्ड छु।

म सीमान्तकृत पनि हुँ। भारतबाट नेपाल आएको र नेपालबाट अमेरिका गएकोले मसँग अदरिङको ठूलो अनुभव छ। मेरो मनमा बारम्बार ‘मेरो घर कहाँ हो?’ भन्ने प्रश्न आउँछ। अमेरिका गयो, नेपालको याद आउँछ, नेपाल बस्यो अमेरिकाको याद आउँछ। अमेरिका मेरो देश हो भनेर भित्रदेखि सोच्न सक्दिनँ। यसकारण, पहिचानको संकट मलाई जहिले पनि भइरह्यो। मेरो हजुरबुवा भारतीय भए पनि म भारतीय हैन। मसँग भारतको कुनै परिचयपत्र छैन। म राम्रो हिन्दी जान्दिनँ। मलाई भारतका अन्य स्थानीय भाषा पनि आउँदैन। भारतका लागि पनि म विदेशी हुँ। मेरा कथाका विषय पनि यस्तैयस्तै हुन्। कथा भनेको अनुभव र अवलोकनको मिसावट त रहेछ। 

तपाईंको कथालेखन कहिलेदेखि शुरू भयो? अथवा, कथासँग कसरी सम्बन्ध जोडियो?
म ८/९ वर्षको हुँदा थाइल्यान्ड गएँ। त्यहाँ तीन वर्ष बसेँ। मलाई थाई भाषा आउँदैन थियो, अंग्रेजी पनि झुर थियो। म कहाँ आइपुगेँ भनेर तनाव हुन थाल्यो। थाईसँग घुलमिल हुन एकदम गाह्रो पर्‍यो। तर बिस्तारै म त्यही समाजअनुसार सोच्न थालेँ।

पछि म काठमाडौं फर्किएर सेन्ट जेभियर्समा भर्ना भएँ। मलाई फेरि संकट आइलाग्यो। थाइल्यान्डमा सानो स्कुलमा पढेको, यहाँ एउटा क्लासमा १०० जना विद्यार्थी थिए। आफ्नै कक्षाका साथीलाई चिन्न पनि मुस्किल पर्थ्यो। त्यही समयदेखि मभित्र पहिचानको संकट शुरू भएको हो। त्यसपछि म समाजसँग घुलमिल हुनेभन्दा पनि पुस्तकमा समय बिताउन थालेँ। जे–जे भेटिन्छ, पढ्न थालेँ। मान्छेसँग भन्दा बढी किताबसँग समय बिताउन थालेँ। गिटार बजाएर गीत गाउन थालेँ। लेख्न पनि शुरू गरेँ। नाटक लेखेँ। भाइबहिनीहरूलाई बोलाएर बेलाबेला नाटक गराउथेँ। कविता लेख्थेँ।

लेखनमा बुवाबाट पनि म प्रेरित भएँ होला। मेरो बुवा इन्जिनियर हुनुहुन्थ्यो तर उहाँको रूचि लेखनमा पनि थियो। उहाँले अल्बर्ट कामुको ‘स्ट्रेन्जर’ भन्ने पुस्तक नेपालीमा अनुवाद गर्नुभएको छ, त्यो प्रकाशित पनि भएको छ। उहाँ र मेबीचको फरक भनेको म लेखक बन्छु भनेर लागेँ, उहाँले इन्जिनियरिङलाई मूल पेसा बनाउनुभयो।

म १५ वर्षको हुँदा वेभ म्यागजिनमा मेरो पहिलो कथा छापिएको थियो। त्यतिबेला क्या खुशी लागेको थियो। अहिले मसँग त्यसको ‘कपी’ छैन। मैले पछि ‘काठमाडौँ पोष्ट’मा इन्टर्नसिप गर्दा पनि केही कथाहरू छापियो। ‘नेपाली टाइम्स’मा पनि प्रकाशित छन्।  

तपाईंको पुस्तकको शीर्षक कथा ‘लिच’ मा एकजना धनी पहाडे महिला र गरीब मधेशी पुरूषबीच फाटो ल्याउनुपर्ने जरूरी किन पर्‍यो?
द्वन्द्वबिना कथा बन्दैन। त्यहाँ एकजना महिला पात्र छे– जुनेली। अर्को पुरूष पात्र छ– राम। जुनेली असल पात्र हो। तर, उसको सुविधा वा सम्पन्नताका कारण रामलाई बुझेकी छैन। रामलाई प्याचप्याच जे पनि भनिरहेकी हुन्छे। तर पनि सम्बन्ध चलिरहेको हुन्छ। रामले एउटा समयमा जुनेलीको पैसा चोर्छ। केटाले पैसा चोर्‍यो भनेर थाहा पाएपछि केटीलाई पनि विश्वासघातजस्तो महसुस भयो। त्यसपछि सम्बन्धमा बसिरहने बाटो रहँदैन। केटा र केटीबीचको त्यो असहजता कति समयसम्म रहला! त्यो तिक्तताबीच कसरी सम्बन्ध जोगिएला! त्यस्तो सम्बन्ध टिक्छ जस्तो मलाई लाग्दैन। तर पनि कथामा त्यसबारे केही पनि भनिएको छैन। 

तपाईंले एउटा मधेशी केटालाई पहिचान दिएर आफ्नै साथीको पैसा चोर बनाइदिनु भयो। यसले त कुनै निश्चित समुदाय नै खराब हुने जस्तो अर्थ जाँदैन?
मलाई लाग्छ– जाँदैन। रामलाई चोर भन्न मिल्दैन। एउटा बाध्यतामा अचानक उसले केही पैसा उसको साथीको पर्सबाट निकाल्यो। पैसा निकाले पनि उसले पश्चाताप गर्छ। उसले बारम्बार पैसा निकालेको पनि हैन। ऊ आर्थिक संकटमा छ। आर्थिक कारणले दबाबमा पनि छ। पैसाका कारण नाकमा पसेको एउटा किरा समेत निकाल्न सकिरहेको छैन। पूरा कथा पढियो भने रामको साङ्गोपाङ्गो थाहा हुन्छ। मधेशको एउटा गरीब किसान परिवारमा जन्मेहुर्केको राम काठमाडौँमा पढिरहेको छ, संघर्ष गरिरहेको छ, वकिल बन्ने सपना देखिरहेको छ। ऊ गतिशील छ।

एउटा कथा छ– स्टुडेन्ट भिसा। यस कथामा भिसा नपाएका नेपालीको मनोदशा मात्र देखाउन खोजेको हो कि अरू पनि केही कारण छ?
सञ्जय अमेरिका जान खोजिरहेको छ। यसमा उसको व्यक्तिगत इच्छा मात्र छैन, परिवारको दबाब पनि छ। आमाबा जसरी पनि उसलाई पठाउन चाहन्छन्। यो बोझ हो, जुन धेरै आमाबाले आफ्ना छोराछोरीलाई बोकाएका छन्। थाहा पाएर र नपाएर पनि बोकाएका छन्। यो मलाई लामो समयदेखि चित्त बुझिरहेको थिएन। 

मैले अमेरिकन ‘सिस्टम’लाई पनि अलिकति आलोचना गर्न खोजेको हो। मान्छेले पर्यटन भिसा लिन पनि वर्षौँ कुरिरहेका छन्। यस्तो गर्न मिलेन नि! यो त उनीहरूले नेपाललाई हेपेको हो। अमेरिकाले नेपालजस्तो सानो मुलुकलाई जसरी हेपेको छ, त्यसलाई कथामा देखाउन खोजेको हो। भिसा अफिसरले सञ्जय काविल केटा हो भनेर थाहा पाउँछे। तर पनि भिजा दिन अस्विकार गर्छे। त्यसलाई पनि आलोचना गर्नुपर्छ भन्ने लाग्यो।

कथा पढ्दैगर्दा कतिपयले सबै युवा अमेरिका जान लालायित छन् भन्ने अर्थ पनि लगाउलान्। तर त्यस्तो हैन। सबै युवापुस्ता पासपोर्ट बोकेर विदेश जान ठिक्क परेका छैनन्। यहाँ बसेर मिहिनेत गर्नेहरू पनि छन्। तर मैले भेटेका कतिपय युवा विदेश जान खोजिरहेका छन्। सञ्जय एउटा त्यस्तै पात्र हो, उसले धेरै युवाको प्रतिननिधित्व गर्छ।

भिसा पाएर अमेरिका पुगिसकेका नेपालीको अवस्था थोरबहुत ‘डेन्भर’ कथाले भन्छ। एकातिर राज र माया जस्ता धनी परिवारका सदस्य छन्, अर्कातिर समीरको परिवार छ जो ठिकठिकै मात्र खर्च गर्न सक्छ। अमेरिकामा रहेका यस्ता परिवारलाई थप विश्लेषण गरिदिनु न!
अमेरिकामा विभिन्न किसिमका नेपाली देखिन्छ। राज र माया जस्ता व्यावसायिक रूपमा एकदम सफल पनि छन्। समीर र पूजाजस्ता आर्थिक संकटमा बसेका परिवार पनि छन्। भर्खर डीभी परेर मिहिनेत गरिरहेकाहरू छन्। विद्यार्थी छन्। शरणार्थी छन्। गैरकानूनी रूपमा बसेका पनि छन्। त्यहाँ वर्गीय द्वन्द्व धेरै देख्छु। यस्तो द्वन्द्व विशेषगरी दशैँजस्ता चाडपर्वमा बाक्लो देखिन्छ। धनीमानीले कार्यक्रम आयोजना गर्छन्। त्यस्ता ठाउँमा जानुपरिहाल्यो। तर कसले कुन गाडी चढेर आयो, कसको घर कत्रो छ, कुन कम्पनीमा काम गर्छ भन्ने आधारमा मान्छेको मूल्यांकन गर्छन्। आर्थिक रूपमा उच्च हैसियत बनाएकाहरूको रवाफ बेग्लै हुन्छ। उनीहरू अंग्रेजीमा कुरा गरिरहेका हुन्छन्, भर्खर नेपालबाट गएकाहरू नेपालीमा कुरा गर्छन्। त्यहीँ फरक पर्छ। अमेरिकामा नेपाली–नेपाली बीचमा ठूलो खाडल देख्छु।  

प्राय: कथामा नेपाली विषयबस्तु छान्नु भएको छ। के कारणले हो?
जुन समाजलाई बुझिएको हुन्छ, त्यहीबारे कथा लेख्ने हो। अमेरिकनको बारेमा म खासै लेख्न सक्दिनँ। आफूले बुझेको, अनुभव गरेको कुरा लेख्ने हो। 

कथाका पात्रले अमेरिकामा विभिन्न समस्या झेलेका छन्। तपाईंले आफ्नै जीवनमा यिनै कथाका पात्रजस्तै केही समस्या झेल्नु भएको छ? 
म एउटा घटना सुनाउँछु। अमेरिकाको युटाह राज्यको कुरा हो। रातको साढे १० बजेको थियो। जिमबाट फर्किदै थिएँ। सेभेन–इलेभेन भन्ने पसलमा पानी किन्न पसेँ। त्यहाँ मैले खोजेको ब्राण्डको पानी रहेनछ। पसलको काउन्टरमा ८० वर्ष जतिका मानिस थिए, ‘गुड नाइट’ भनेर निस्किएँ। तर त्यो मान्छे मेरो पछिपछि आयो। उसले सोध्यो– ‘त्यो पानीको पैसा कसले तिर्छ?’ मैले भनेँ– ‘कुन पानीको पैसा? मैले पानी लिएको छैन।’ उसले थप्यो– ‘तैँले पानीको बोतल चोरिस्, तेरो गोजीमा पानीको बोतल छ।’

उनको दिमाग ठीक ठाउँमा रहेनछ जस्तो लागेर म सरासर गाडीतिर लागेँ। ती मानिस गाडी ढक्ढकाउन आए। बाहिर निस्किन भने। मलाई पसल लिएर गएर गाडीमा पानीको बोतल लुकाएको आरोप लगाए। त्यो पानीको बोतललाई १ डलर पर्थ्यो होला। त्यसपछि उनले ९११ मा फोन गरेर पुलिसलाई बोलाए। पुलिसले उसलाई मेराबारे सोधेछ क्यारे, उसले जवाफ दियो– ‘मध्यपूर्वबाट आएको मुस्लिमजस्तो देखिन्छ।’

मलाई डर लाग्न थालिसकेको थियो। एकैछिनमा दुई वटा गाडी लिएर ७/८ जना पुलिस आइपुगे। त्यति बेलासम्म थरथर भइसकेको थिएँ। पुलिसले समात्यो भने भिसा रद्द गरिदेला भन्ने चिन्ता लाग्यो। मेरो वर्किङ भिसा थियो। पुलिसले मेरो खानतलासी लियो, केही भेट्टाएन। उनीहरूले गाडी हेर्न खोजे। मलाई फेरि डर लाग्यो, कतै त्यही कम्पनीको पानीको बोतल यसअघि राखेको छु कि! रक्सीको बोतल छ कि! मनमा अनेक तर्कना आए। धन्न केही रहेनछ। पुलिसले मलाई ‘सरी’ भन्यो र छाडिदियो। तर म भोलिपल्ट बिहान पुलिस स्टेसन जानुपर्ने भयो, रेकर्डबाट नाम मेटाउन। त्यो पनि डरलाग्दो कुरा हो। केही कारणले म जान नपाएको भए, अथवा बिर्सिएको भए मेरा नाम सिस्टममा बसिरहन्थ्यो। भोलिपल्ट मैले सेभेन–इलेभेनको मालिकलाई फोन गरेर पसलमा बस्ने ती व्यक्तिबारे बताएँ। पछि थाहा पाएँ– तिनको जागिर गएछ।