‘तपाईंले अब कहिले पनि आँखा देख्नुहुन्न’

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।

आउँदाआउँदै टेबलमा रहेको मोबाइल बजिरहेको थियो। मामाको फोन रहेछ, उठाएँ। मेरो गलाबाट शब्द निस्केन। ‘सन्चै छौ?’ भन्ने उहाँको प्रश्न सुन्नासाथ डाँको छोडेर रुन थालेँ। मामा आत्तिनुभयो। के, किन,  के भयो भन्ने उहाँका चासोको मैले जवाफ दिन सक्ने अवस्था थिएन। श्रीमान‍्ले फोन लिनुभयो र सबै यथार्थ बताउनुभयो।

त्यसपछि मलाई सम्झाउँदै मामाले भन्नुभयो, “ किन रुन्छौ? म मेरो भान्जीलाई संसारको जुनसुकै ठाउँमा लगेर पनि ठीक पार्छु, केही चिन्ता नगर। म अहिले नै डाक्टर सन्दुक रूइतसँग कुरा गरेर समय मिलाउँछु। उहाँ मेरो पहिल्यैदेखिको साथी हुनुहुन्छ,” त्यति भनेर मामाले फोन राख्नुभयो।

त्यही दिन साँझ ७-८ बजेतिर हामी न्युरोडमा रहेको डाक्टर रुइतको क्लिनिकमा गयौँ। अत्तालिइरहनुभएको मामाले मलाई सान्त्वना दिँदै भन्दै हुनुहुन्थ्यो, “डाक्टर सा’बले सब ठीक पारिहाल्नुहुन्छ। अब तिमी कुनै चिन्ता लिने होइन।”

डाक्टरले राम्रोसँग हेर्नुभयो र गम्भीर आवाजमा बिस्तारै भन्नुभयो, “आँखा पाकेर भित्रसम्म इन्फेक्सन भएको रहेछ। यो सामान्य उपचारबाट निको हुने समस्या भए पनि ढिलो गर्दा धेरैले दृश्य गुमाएका छन्। तिम्रो पनि ढिला भैसकेछ भान्जी, ढिला भैसकेछ। अब एक हप्ता यो औषधि प्रयोग गर अनि फेरि हेरम्ला।”

म, मामा र मेरो परिवारको सम्पूर्ण भरोसाका केन्द्र बन्नुभएका र विश्वले चिनेका डाक्टरले नै त्यति भनेपछि आशा गरेर जाने अर्को ठाउँ बाँकी छैन भन्ने लाग्यो। अनि त मेरो निभेको संसारमा फेरि उज्यालो फर्केला भन्ने आशाको त्यान्द्रो  छिनेर जीवनका सारा सपना क्षणभरमै चकनाचुर भए। त्यो क्षण निकै बेरसम्म हामी सबै निशब्द भयौँ। घर फर्कंदाका प्रत्येक पाइलामा मलाई भएभरका आशाको अन्त्येष्टि गरेर रित्तिएको एउटा मलामीझैँ महसुस भइरह्यो।

त्यसबेला हामी शान्तिनगरमा बस्थ्यौँ। अर्को दिन बिहानै श्रीमान‍्ले भन्नुभयो, “शान्तिनगरको लायन्स क्लब नजिकै छ। त्यहाँ पनि आँखाको जाँच र उपचार हुन्छ। हिँड, एक पटक जाऊँ।

मलाई लागिसकेको थियो, “अब  कहीँ गए पनि केही हुने होइन। तर पनि उहाँको बोली राख्न म गएँ। एकैछिनको पर्खाइपछि म डाक्टर रमेश प्रधानको अगाडि पुगेँ।

त्यसअघि भेटेका दुई डाक्टरको संवाद सम्झेर तेस्रो पटक पनि उही पीडा दोहोरिने भयले मुटुको धड्कन बढ्दै थियो। जिउ पूरै तातेर रन्किएको महसुस भयो। त्यसबेलासम्ममा मेरो आँखाको भिजन झन् खराब भइसकेको थियो।

डाक्टरले सोध्नुभयो, “किन आउनुभयो?” म बोल्नुभन्दा अगाडि नै आँशु आइसकेको थियो। त्यसअघि जाँचेका दुवै डाक्टरको प्रेस्क्रिप्सन् दिएँ र भनेँ, “डाक्टर, म अब देख्न सक्दिनँ।”

उहाँले मेरो आँखा राम्रोसँग जाँच्नुभयो र के के भएको हो सबै बिस्तारमा सोध्नुभयो। मैले सबै कुरा भनिसकेपछि डाक्टरले प्रश्न गर्नुभयो, “कहाँ बस्नुहुन्छ ?”

मैले मन्द स्वरमा जवाफ फर्काएँ, “यहीँ शान्तिनगर।”

“ल, नजिकै रहेछ। आँखामा राख्ने यो औषधि लिनुस्। मेरो विश्वास गर्नुस् र मलाई ६ महिनाको समय दिनुस्। त्यो समयमा तपाईंले सबैभन्दा ठूलो औषधि आत्मविश्वास र धैर्य गुमाउनुहुँदैन। तपाईंको भिजन १०० प्रतिशत फिर्ता आउँछ। तर मैले भनेबमोजिम गर्नुपर्ने हुन्छ र बोलाएको समयमा आउनुपर्ने हुन्छ,” डाक्टरका यी वाक्य मेरा लागि अपत्यारिलो सपनाजस्ता लागे।

उहाँलाई सुन्नासाथ श्रीमान‍्ले  ‘हामी गर्छौं डाक्टर साब’ भन्नुभयो। त्यो संवादले मनमा अलिकति आशाको टुसा पलाएको मैले महसुस गर्न सकेँ।

धेरै विश्वास लागेको थिएन। तापनि डाक्टरको सल्लाहअनुसार औषधिसँगै आत्मविश्वास र धैर्यमा कमी आउन नदिने संकल्प मनमा लिएँ। आफ्नो तर्फबाट १०० प्रतिशत दिन्छु भन्ने अठोटसहित घर फर्किएँ। त्यसपछि डाक्टरले दिएको औषधि हरेक दिन नछुटाई आँखामा राख्दै गएँ र उहाँले भनेझैँ मैले ६ महिनाभित्र पूरै देख्नेछु भन्ने भरोसा त्यागिनँ।

नभन्दै सुखद् आश्चर्य भयो। एक महिनामै मेरो ५० प्रतिशत भिजन आइसकेको थियो। अब म बिस्तारै मान्छे चिन्न सक्थेँ।

दुई महिनामा त मैले पहिलाको जस्तै देख्न थालेँ। त्यसपछि हामी बस्न भैंसेपाटीको अपार्टमेन्टमा सर्‍यौँ। त्यसबेलासम्ममा मेरो संसारमा अस्ताएको घाम फेरि उदाएको थियो। त्यसपछिका हरेक दृश्य अनुपम र अमूल्य लाग्न थाले। देख्न पाउनुको दुर्लभतालाई मैले पहिले कहिल्यै महसुस गर्न सकेको रहेनछु।

समय मिलाएर म डाक्टरलाई भेट्न गइरहन्थेँ। ६ महिना कटेर पनि केही दिन बितिसक्दा म अन्तिम पटक गएँ। मंसिरको महिना थियो। डाक्टरले जाँच गर्नुभयो र असीम खुशी हुँदै  मलाई भन्नुभयो, “ल बधाई छ, १०० प्रतिशत भिजन ठीक छ। त्यसबेलाको डाक्टरको सन्तुष्टि र मेरो भावनालाई व्यक्त गर्ने शब्दहरू नै थिएनन्। मेरो लागि उहाँ मानिस होइन, भगवान हुनुभएको थियो।

सायद यस्तै बिषम परिस्थितिहरूलाई चिर्ने भएर नै होला हामीले डाक्टरलाई भगवानको उपमा दिएको। “हजुरप्रति सदैव ऋणी रहनेछु डाक्टर साब,”  मैले मुस्कुराउँदै भनेँ, “डाक्टर साब अब म कहिले आऊँ?” डाक्टरले भन्नुभयो, अब तपाईंलाई कहिले पनि अस्पताल आउनु नपरोस्।”

जवाफमा मसँग बोल्ने  कुनै शब्द नै थिएन। नयाँ जन्म लिएर धरतीमा अवतरण भएको अनुभूतिले भरिँदै घर फर्किएँ। तिनै आँखाले आजसम्म मैले देखिरहेको संसार असाध्यै सुन्दर लाग्छ।