Friday, July 05, 2024

-->

कसरी असफल भयो दाहालको ‘म्याजिक नम्बर’?

समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका प्रधानमन्त्री दाहालले संसद्का दुई ठूला पार्टीलाई पालैपालो ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।

कसरी असफल भयो दाहालको ‘म्याजिक नम्बर’

काठमाडौँ– “सबै परिस्थिति र तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। हामीसँग जादुवाला नम्बर छ। जादुले अनेक गरेर मिलाइहाल्छ,” असार ८ गते पार्टीनिकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए। 

दाहालले उक्त धारणा सार्वजनिक गरेको नौ दिनमै राजनीतिक समीकरण नयाँ ढंगले विकसित भएको छ। २०७९ को निर्वाचनबाट संसद्को पहिलो दल बनेको नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच प्रतिनिधिसभाको बाँकी अवधिमा सत्ता सहकार्य गरेर जाने सहमति सार्वजनिक भएको छ।

दाहालले आफ्नो पार्टीसँग जादुयी नम्बर भएको र परिस्थिति अनुकूल भएमा पूरै अवधि सरकार चलाउने बताए पनि नयाँ समीकरणले उनको सरकार ढल्ने निश्चित देखिएको छ। २०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहाल नेतृत्वको सरकार १८ महिनामा चलिरहेको छ। यसै अवधिमा दाहाल स्वयंले तीन पटक समीकरण फेरेका थिए। 

चुनावअघि कांग्रेससहितका दलहरूसँग उनको सहकार्य थियो। चुनावलगत्तै नेकपा एमालेसहितका दलसँग सहकार्य गरेर सरकारको नेतृत्व गरे। त्यो समीकरण लामो समय टिक्न सकेन। दुई महिना एमालेसँग मिलेर सरकार चलाएका दाहालले लगत्तै चुनावअघिकै समीकरण बनाएर सरकारको नेतृत्व गरे। 

सरकारमा कांग्रेससहितको सहकार्य पनि धेरै लम्बिन सकेन। गत फागुन २१ मा एकाएक पुनः कांग्रेससँगको सत्ता साझेदारी तोडेर दाहालले नेकपा एमाले लगायतका दलहरूसँगको सहकार्यमा आफ्नो सरकारलाई निरन्तरता दिइरहेका थिए। डेढवर्षे अवधिमा यसरी तीन पटक समीकरण फेर्दै निरन्तर पदमा रहिरहेका दाहालले संसद्का दुई पार्टीलाई एकपछि अर्को गर्दै ‘हात लिएर’ निरन्तर सरकार चलाइरहने योजना बनाए पनि सोमबार कांग्रेस–एमालेको सहमतिले त्यो योजना भत्काइदिएको छ।

प्रधानमन्त्रीले भन्दै आएको ‘म्याजिक नम्बर’ यसपटक भने असफल भएको छ। कांग्रेस–एमाले दुवै २०७९ मंसिरको निर्वाचनपछि दाहाल नेतृत्वको सरकारमा सहभागी भए पनि अहिले भने त्यसलाई विस्थापित गर्ने समीकरण तयार भएसँगै दाहालको सरकारमा पूर्णबिराम लागेको छ। 

निर्वाचनपछि दुई वर्ष नपुग्दै माओवादीबाट पालैपालो धोका पाएका संसद्का दुई ठूला दल संविधान संशोधनको अजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएपछि आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने दाहालको योजना रोकिएको हो। 

माओवादीलाई सरकारको नेतृत्व दिइरहँदा स्थिरता आउने अवस्था नदेखिएपछि अन्ततः दुई ठूला दल मिलेर सरकार निर्माण र अन्य विषयमा सहमति भएको नेताहरु दाबी गर्छन्। दाहाल नेतृत्वको सरकारले स्थायित्व दिन नसक्ने देखिएपछि दुई दल एक ठाउँमा आउनुपरेको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल बताउँछन्। 

“प्रधानमन्त्रीको ध्यान सत्ता जोगाउने र बाहिर बस्नेहरूको ध्यान प्रधानमन्त्री बदल्नेभन्दा बढी भएन। निराशा बढ्दै गयो। त्यसलाई चिर्नुपर्ने थियो,” उनले भने, “सत्ता परिवर्तनका रूपमा मात्र अहिलेको समीकरणलाई बुझ्दा गलत हुन्छ। असाधारण परिस्थिति थियो। त्यसको निकासका लागि कांग्रेस र एमाले मिल्नुपरेको हो।”

निर्वाचनलगत्तै पहिलो पटक प्रधानमन्त्री भएपछि कहिले कांग्रेससँग मिलेर एमालेलाई धोका त कहिले एमालेसँग मिलेर कांग्रेसलाई धोका दिँदै निरन्तर आफू नेतृत्वको सरकार चलाइरहेको आरोप दाहालमाथि लागेको थियो। यसैगरी ‘बार्गेनिङ’ गर्दै बाँकी कार्यकाल पनि पूरा गर्ने रणनीतिका साथ उनी अघि बढिरहेको कांग्रेस र एमालेका केही नेताहरूको मूल्यांकन थियो। 

दुवै ठूला दलले फरक–फरक समयमा दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन सघाए पनि दाहालको कार्यशैलीबाट भने उनीहरू सन्तुष्ट थिएनन्। त्यही भएर पनि उनीहरूले भित्रभित्रै नयाँ समीकरण बनाएर जाने विषयमा छलफल चलाई नै रहेका थिए। शीर्ष तहमा भने त्यो छलफल भइसकेको थिएन। पछिल्लो एक महिना यताबाट मात्र देउवा र ओलीबीचको छलफलले निरन्तरता पाएको थियो। त्यसकै परिणामस्वरूप सोमबार मध्यरातमा समीकरण तय हुन पुगेको हो।

दिल्लीबाट दाहाल फर्केपछिको तरंग
गत जेठ २७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत गएका थिए। उताबाट फर्केलगत्तै उनले राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै नेपाली कांग्रेससँग संवाद अघि बढाए। दाहालको त्यो कार्यशैलीबाट कतै उनले फेरि समीकरण बदल्ने कसरत त गर्न लागेका होइनन् भन्ने आशंकासहित एमाले चनाखो बनेको थियो। यसपटक दाहालले त्यो प्रयास गरे पनि कांग्रेस भने तत्काल सहमत भइहाल्ने अवस्था थिएन, किनभने दाहालले तीन महिनाअघि मात्रै सहकार्य तोडेर एमालेसँग समीकरण बनाएका थिए।  

यता बजेट निर्माणमा अर्थमन्त्रीले खेलेको भूमिका र सरकारको कार्यशैलीबाट एमाले असन्तुष्ट बनेको थियो। त्यहीबीचमा दाहालले राष्ट्रिय सहमतिको सरकारको नारा दिँदै फेरि आफूलाई ‘बाइपास’ गरेर अघि बढ्न लागेको आशंकासँगै ऊ सचेत बनेको थियो। यिनै पृष्ठभूमिमा एमाले र कांग्रेसका नेताहरूबीच संवाद शुरू भयो। 

“भारतबाट फर्केपछि उहाँ (प्रधानमन्त्री) को बोली अलि फेरिनुका साथै बजेट निर्माण लगायतका विषयमा पनि केही असमझदारी देखिएको थियो। त्यही भएर पनि कांग्रेस र हाम्रो बीचमा संवाद अघि बढेको हो,” एमालेका एक पदाधिकारी भन्छन्, “३२ सिटको बलमा उहाँले कहिले हामीलाई त कहिले कांग्रेसलाई खेलाएर निरन्तर सरकार चलाउने प्रयास गर्ने देखिएपछि राजनीतिक स्थायित्व दिन संविधान संशोधन गरेरै अघि बढ्ने विषयमा हामी सहमतिमा पुगेका हौँ।”

कतिपयले पछिल्लो समीकरण दुई ठूला पार्टीका नेतासम्बद्ध केही मुद्दाको अनुसन्धान अघि बढ्ने भयबाट प्रेरित रहेको भनी टिप्पणी गरे पनि त्यसमा सत्यता नभएको उनी दाबी गर्छन्। अहिलेको समीकरणको अभ्यास एक महिनाभन्दा अघिदेखि नै शुरू भएको ती पदाधिकारीले बताए। कांग्रेस नेता रिजाल पनि मुलुकलाई स्थाययित्व दिन र संविधान संशोधनमार्फत् समस्या समाधान गरेर अघि बढ्न पछिल्लो समीकरण बनेको बताउँछन्।

“दुई कम्युनिष्ट पार्टी सत्तामा बस्ने वा उनीहरू दुवै सत्ताभन्दा बाहिर जाने राजनीति नेपालमा सहज भएको छैन। कांग्रेस सहभागी नभई कुनै परिवर्तन हिजो पनि सम्भव भएको थिएन, भोलि पनि सम्भव हुने अवस्था हुन्न,” रिजाल भन्छन्, “संविधानले बनाएको लिक अलिकति तलमाथि भएको थियो। त्यसलाई साइजमा ल्याउनका लागि पनि कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने थियो। अहिले त्यही भएको हो।”

अर्कोतर्फ अहिलेको समीकरण बन्नुको पछाडि भू–राजनीतिको प्रभाव पनि रहेको कतिपयको बुझाइ छ। प्रधानमन्त्री दाहालले बीआरआईमा भारतसँग दोहोरो चरित्र देखाएर खेल्न खोजेपछि भारतले नै कांग्रेस र एमालेलाई एक ठाउँमा ल्याउने वातावरण मिलाएको एक कांग्रेस नेता बताउँछन्। ओलीलाई प्रधानमन्त्री स्वीकार्न पछिल्लो समय भारत तयार भएपछि कांग्रेस–एमाले समीकरण बनेको उनको बुझाइ छ। “नेपालको राजनीतिमा भारतले जहिले पनि खेल्दै आएको छ। अहिले पनि खेलेको नै देखिन्छ,” उनी भन्छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भने भू–राजनीति वा अन्य विषयभन्दा पनि यतिखेर दुई ठूला दलले आफ्नो स्वार्थका लागि सत्ता समीकरण बनाएको दाबी गर्छन्। “दुई दल एक ठाउँमा आउनु अस्वाभाविक होइन, आए। तर अस्वाभाविक के भयो भने सबैलाई गुमराहमा राखेर आए। आउने तौरतरिका रहस्यमय देखिन्छ,” उनले भने, “केही विषय बाहिर आउँदै थिए। छानबिनका विषय भइरहेका थिए। यी सबै कुरालाई सामसुम पार्न हतार र गोप्यरूपमा समीकरण बनाउने काम भयो।”

माओवादीको नेतृत्वमा सरकार बन्न दिने वातावरण कांग्रेस र एमालेले नै बनाएको भन्दै उनले दुई दल मिल्नु नै थियो भने पहिले नै किन नमिलेको भन्दै प्रश्न गरे। “भू–राजनीति भन्ने हो भने केपी ओलीलाई भारतले स्वीकार नगर्ने खालको अवस्था हो। चीनले गर्ने कुरा नै आएन,” उनले भने, “यो केही होइन, दुई दलको सत्तास्वार्थ हो। छानबिन भइरहेका विषयबाट जोगिनका लागि गरिएको सहमति हो।”

नेकपा माओवादी केन्द्रका एक नेता पनि अहिले ‘प्रचण्ड’ नेतृत्वको सरकार विस्थापित गरेर कांग्रेस–एमालेलाई एक ठाउँमा ल्याउन भारतको कहीँ न कहीँ भूमिका रहेको दाबी गर्छन्। “सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएर एकपछि अर्को ठूला काण्डको अनुसन्धान अघि बढाइरहेको थियो। कांग्रेस–एमालेलाई यो सैह्य भएको थिएन। त्यही भएर सरकार ढाल्ने काम भयो,” उनले भने।

नयाँ समीकरणको सहमति भएसँगै नेकपा एमालेले त मंगलबार औपचारिकरूपमै प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिसकेको छ। तर सत्ताको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले भने राजीनामा नदिई संसद‍्बाट विश्वासको मत लिन प्रयास गर्ने रणनीति तय गरेको छ। 

कांग्रेस–एमालेबीच सहमति भएसँगै मंगलबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए। “प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न। विश्वासको मतका लागि तयारी गर्नुहुन्छ। पदाधिकारी बैठकले पनि यही सुझाव दिएको छ,” उनले भने, “रातारात भएको सहमति स्वाभाविक छैन। दुई पार्टी बसेर सहमति गर्ने र अहिले सहमतिको सरकार बनाऊँ भन्ने कुरा षडयन्त्र मात्र हो।”


सम्बन्धित सामग्री