सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।
काठमाडौँ- डियर स.वि.
जीवन यस्तो होस्
तिमीलाई सम्झिने मात्र काम होस्
माया यस्तो होस्
भित्ता-भित्तामा तिम्रो नाम होस्।
काठमाडौँ महानगरका प्रमुख बालेन शाहले केही दिनअघि लेखेको स्टेटस हो यो। सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले बिजुलीका पोलमा स.वि. (सडक विभाग) लेख्न शुरू गरेपछि शाहले यस्तो लेखेका थिए।
पछिल्लो समय काठमाडौँ महानगरपालिका र सडक विभागबीच तिक्तता सतहमा आएको छ। खासगरी, सडक विभाग मातहतको न्युरोडमा फुटपाथ बढाउन महानगरले जेठ १२ गते सडक खुम्च्याउने प्रयास गरेपछि तिक्तता बढेको हो। सडक बढाउन नदिन सडक डिभिजन काठमाडौँले हस्तक्षेप गरेको थियो। उक्त हस्तक्षेपको प्रतिवादमा त्यही दिन महानगरका गाडीले डिभिजन कार्यालय र विभागअघि धुलो थुपारिदिएका थिए।
महानगर प्रमुख शाहले भने धुलो झारेको विषयलाई कलंकी-महाराजगन्ज सडकको अव्यवस्थासँग जोडेर फेसबुक स्टेटस लेखेका थिए। उक्त सडक विस्तार सुस्त हुँदा नागरिकले सास्ती पाएको उनको भनाइ थियो।

"माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नुपरेको छ," सडक विभागमा धुलो थुपारिदिएपछि शाहले फेसबुकमा लेखेका थिए, "काठमाडौँमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ।"
सडक डिभिजन कार्यालय काठमाडौँ अन्तर्गत जिल्लाभरि ४७२ किलोमिटर सडक पर्छ। काठमाडौँ महानगरभित्र भने सडक डिभिजन अन्तर्गत १८० किमि सडक छ। महानगरसँग तिक्ततता बढेपछि ती सबै सडकका बिजुलीको पोलमा सडक विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेको जनाउन स.वि. लेखेको छ।
सडक विभागले महानगरलाई लक्षित गरेर नभई आफ्नो सडक पहिचानका लागि मात्र पोलमा स.वि. लेखेको सडक डिभिजन काठमाडौँका सूचना अधिकारी प्रमोद खतिवडा बताउँछन्। त्यस्तो लेखिनुमा ‘बालेन फ्याक्टर’ नभएको उनको भनाइ छ।
“खासमा पोलहरूमा स.वि. लेख्ने हाम्रो योजना गत वर्ष कात्तिकदेखिकै हो। अहिले मान्छेहरू यो विषयलाई अनावश्यक रूपमा बालेनसँग जोडिरहेका छन्,” खतिवडा भन्छन्, “काठमाडौँको जुन सडकमा पनि समस्या आएमा मान्छेहरूले हामीलाई फोन गरेर गाली गर्न थालेपछि उनीहरूको ध्यानाकर्षणका लागि मात्रै त्यसरी लेख्न थालेका हौँ। अरू कुनै उद्देश्य छैन।”

आफ्नो क्षेत्राधिकारभित्र नपर्ने सडकको समस्या पनि विभागतिर देखाउने र आफूले गरेको कामको जस पनि विभागले नपाउने भएपछि क्षेत्र छुट्याउन यसो गरिएको सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारी बताउँछन्। आफू मातहतको सडकको जिम्मा लिन र बाँकी महानगरको भएको जनाउन डिभिजन कार्यालयले 'स.वि.' लेख्ने निर्णय गरेको हो। यो निर्णयमा सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन नभएको डिभिजन प्रमुख भण्डारीको भनाइ छ।
“हाम्रो सडकमा कतै खाल्डाहरू छैनन्। तर मान्छेहरूले हामीलाई नै फोन गरेर त्यसको भारी बोकाइरहेका थिए। मैलेसमेत मेरो सडक चिन्न सकेको थिइनँ,” भण्डारी भन्छन्, “अब जनता र महानगरलाई सजिलो हुने भयो। कमसे कम कन्फूयजन त दूर भयो।”
उनले सडक विभागको क्षेत्रमा पर्ने सडकमा खाल्डा नभएको बताए पनि बुधबार नयाँ बजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल खसेर केही बेर हराएको थियो। चालक र यात्रु तुरून्त खाल्डोबाहिर निस्कन सके पनि मोटरसाइकललाई पछि सशस्त्र प्रहरीले क्रेनको सहाराले निकालेको थियो। उक्त सडकको पोलमा पनि 'स.वि.' लेखिएको छ।

यो घटनापछि धेरैले सामाजिक सञ्जालमा व्यंग्य गरे। फेसबुक प्रयोगकर्ता मनोज पन्तले एउटा स्टेटसको कमेन्टमा महानगरका प्रमुख शाहकै शैलीमा 'प्रिय सवि तिमी बिजुलीको पोलमा मात्र कति बस्छौ? सडकमा जनताको यस्तो हालत भैसको' लेखेका छन्।
उता महांकाल-रामहिटी-तिनचुली सडकका प्रयोगकर्ता शुभक महतोले पनि खाल्डाखुल्डी भएको भनेर सामाजिक सञ्जाल एक्समा व्यंग्य गरेका छन्। उनले लेखेका छन्, “डियर सवि, तिमी पोल पोलमा स.वि. मात्रै लेख्छौ कि सडक पनि बनाउँछौ? महांकाल-रामहिटी-तिनचुली स.वि. खण्ड।”
कतिपयले स.वि. लेख्नुको साटो त्यो बजेटले सडक बनाउनुपर्थ्यो भन्ने टिप्पणीसमेत गरेका छन्। तर कसैलाई ठेक्का नदिई आफ्नै कर्मचारी खटाएर पोलहरूमा स.वि. लेख्न लगाएको सडक डिभिजन काठमाडौँका प्रमुख भण्डारी बताउँछन्। पोलहरूमा लेख्न ठूलो रकम नलागेको र आफ्नै १८० जना श्रमिक खटाइएको उनको भनाइ छ।
यता महानगरका प्रवक्ता नवीन मानन्धर सडक विभागले पोलहरूमा स.वि. लेख्नु स्वाभाविकै भएको बताउँछन्। “हाम्रो मेयर साबले शुरूमा अलिक रिस पोख्नुभयो तर पछि स्वाभाविक रूपले नै हेर्नुभएको छ," मानन्धर भन्छन्, “अहिले सडक विभागले आफ्नो जिम्मेवारी बुझेकोमा महानगर खुशी नै छ। यसैगरी विद्युत् प्राधिकरणले पनि आफ्नो जिम्मेवारी बुझेर तारहरू हटाउला भन्नेमा आशावादी छौँ।”
एक महिनादेखि आमनेसामने
न्युरोडको फुटपाथ बढाउन सडक काट्न थालेदेखि नै काठमाडौँ महानगर र सडक विभागबीच विवाद चर्किएको थियो। महानगरको टोलीले इन्द्रचोकदेखि जुद्ध शालिकसम्म सडक काटेपछी सडक डिभिजन काठमाडौँको टोली गएर अवरोध गरेको थियो।

सडक डिभिजनको टोलीले अनुमतिबिना काटेको भन्दै सडक काट्ने औजार नै जफत गरेको थियो। लगत्तै सडक डिभिजनले काटेको सडक टालिदिन काठमाडौं महानगरलाई पत्र पठायो। महानगरले बेवास्ता गरेपछि जेठ २१ गते डिभिजन सडक कार्यालयले नै कालोपत्रे गर्न आवश्यक सामग्रीसहित इन्द्रचोक पुगेको थियो। सडक डिभिजनको टोली आएको खबर पाउनेबित्तिकै काठमाडौं महानगरले नगर प्रहरी प्रमुखसहितको टोली त्यहाँ पठाएको थियो।
दलबलका साथ न्युरोड पुगेका नगर प्रहरी प्रमुख राजु पाण्डेले विभागका कर्मचारीलाई महानगरको काममा हस्तक्षेप नगर्न आग्रह गरेका थिए। तर सडक विभागका इन्जिनियरहरूले आफूहरूले सडक विभागको निर्देशनअनुसार काम गर्ने जवाफ दिएका थिए। सुरक्षाका लागि खटिएका नेपाल प्रहरीले सडक कालोपत्रे गरिने हुँदा त्यहाँबाट फर्कन नगर प्रहरीलाई आग्रह गरेको थियो। नेपाल प्रहरीको आग्रहपछि नगर प्रहरी फर्किएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
