आँपलाई प्राविधिक रूपमा एक वर्ष प्रशस्त फल्यो भने अर्को वर्ष कम फल्ने फल मानिन्छ। यो वर्ष आँपका लागि ‘अफ इयर’ हो। तर अफ इयरमा यसपटक किन आँपको उत्पादन घटेन?
काठमाडौँ– राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार यो वर्ष आँपको लागि ‘अफ इयर’ (कम फल्ने वर्ष) हो। अफ इयरमा फल कम लाग्ने र उत्पादन पनि कम हुने हुँदा बजारमा आँपको उपलब्धता कम हुनुपर्ने हो। तर अहिले बजारमा आँप प्रशस्त छ।
पर्साको जगरनाथपुर गाउँपालिकाका किसान सहरूम राउत गद्दी यसपालि आँप उत्पादन बढेको बताउँछन्। उनले चार बिघामा आँपको बगैँचा लगाएका छन्। “यसपालि राम्रो फल्यो, आफ्नो लागि खान र इष्टमित्रलाई बाँड्न अलिकति राखेर बाँकी रूखैमा एकमुष्ट बेचेँ,” उनले उकालोसँग भने, “सबै गरेर करिब ४ लाख रूपैयाँ आम्दानी भएको छ। पोहोर साढे २ लाख मात्र आएको थियो।”
आँपको बगैँचा भएका रौतहट वृन्दावन नगरपालिकाका किसान चन्द्रकिशोर तिवारी यो वर्ष आँप कम फल्ने साल भए पनि उत्पादन राम्रै भएको बताउँछन्। “आँपको उत्पादन पोहोरभन्दा घटेको लाग्दैन,” उनी भन्छन्, “बगैँचामा फलको आकलन गरी रूखमै बिक्री भइहाल्ने भएर बास्तविक परिमाण थाहा भएन, घटेको चाहिँ लाग्दैन।”
कीर्तिपुरस्थित राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल आँपको उत्पादन यो वर्ष राम्रो देखिए पनि तथ्यांक आइपुग्न बाँकी भएको बताउँछन्। “आँप एक वर्ष बिराएर फल्ने फल हो। प्राविधिक रूपमा यो वर्ष नेपालमा अफ इयर हो,” बराल भन्छन्, “यसको वैज्ञानिक कारण छ, आँपको सन्दर्भमा भएका रिसर्चहरू हेर्नुभयो भने विश्वव्यापी नै यस्तो देखिन्छ।”
बरालका अनुसार अफ इयरमा आँपको मूल्य उच्च हुन्छ। तर यो वर्ष उत्पादन नघटेको कारण उपभोक्ताले सस्तोमै किन्न पाएका छन्। गत वर्ष ४२ हजार ४४९ हेक्टर जग्गामा औसत प्रतिहेक्टर १२.११ टनको दरले आँप उत्पादन भएको थियो।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का लागि आँपको अध्ययन गरेका बागवानी वैज्ञानिक मनीष त्रिपाठी पनि आँप उत्पादन चक्रको दृष्टिकोणले यो वर्ष अफ इयर मानिए पनि उत्पादन राम्रै भएको बताउँछन्। नयाँ रूखमा फल लाग्दा र हावापानी परिवर्तनको प्रभावले पनि उत्पादन सन्तुलन भएको हुनसक्ने उनको भनाइ छ।
“आँपको अफ इयर र अन इयर भनेको रूखलाई उत्पादकत्वका लागि चाहिने पोषण पुग–अपुग हुने कुरा पनि हो। विगत केही वर्षमा लगाइएका नयाँ रूखहरू फल्ने भइसकेपछि उत्पादन सन्तुलन भएको हो, एउटा रूखको लागि यो फल्ने वर्ष हुनसक्छ भने अर्कोका लागि नफल्ने हुनसक्छ,” त्रिपाठी भन्छन्, “आउँदो सिजनमा पनि यसैगरी एउटाको लागि अफ र अर्कोका लागि अन हुन सक्छ।”
नेपालमा बढ्दो आँप बगैँचा
राष्ट्रिय फलफूल विकास केन्द्रले अध्ययन गरेको ‘फलफूल सम्बन्धी राष्ट्रिय तथ्यांक’मा २०७७ सालसम्मको अभिलेख छ। उक्त तथ्यांकअनुसार नेपालमा वार्षिक चार लाख ५३ हजार ४१६ मेट्रिक टन आँप उत्पादन हुन्छ। केन्द्रका सूचना अधिकारीसमेत रहेका बरालले उपलब्ध गराएको तथ्यांकअनुसार २०७९ सालमा नेपालमा पाँच लाख १३ हजार २०९ टन आँप उत्पादन भएको थियो।
त्यसको दुई वर्ष अगाडि २०७७ सालको तथ्यांकसँग तुलना गर्दा आँप उत्पादन १३ प्रतिशतले बढेको हो। केन्द्रको अभिलख अनुसार आँप खेती हुने क्षेत्र पनि बढेको छ। पोहोर ४० हजार ५७० हेक्टरमा आँप उत्पादन भएको थियो भने यो वर्ष ४२ हजार ३७९ हेक्टरमा उत्पादन भएको छ। नेपालमा आँप उत्पादन क्षेत्र, उत्पादकत्व र उत्पादन वृद्धि क्रमशः बढिरहेको छ।
“गाउँघरमा कृषि श्रमिकको अभाव हुन थाल्यो, युवाहरू वैदेशिक रोजगारीमा गएपछि परम्परागत कृषिमा पनि त्यसको असर स्वभाविक रूपमा देखिएको छ, मानिसहरूले त्यस कारण विकल्प खोज्दै आँपका रूखहरू लगाउन थालेका छन्,” बागवानीविज्ञ त्रिपाठी भन्छन्, “आम्दनी पनि मनग्य हुने देखेपछि आँपतिर कृषकको आकर्षण बढेको छ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी सप्तरी र सिरहामा आँप उत्पादन हुन्छ। सप्तरीमा पाँच हजार हेक्टरबाट ३५ हजार मेट्रिक टन र सिरहामा पाँच हजार हेक्टरबाट २० हजार मेट्रिक टन उत्पादन हुने गरेको छ। सप्तरी र सिरहामा तीन वर्ष गरिएको अध्ययनमा कृषकहरूले प्रतिकट्ठा साढे ३ लाख रूपैयाँसम्म आम्दनी गरेको त्रिपाठी बताउँछन्।
फलफूल विकास निर्देशनालयको २०७२ सालको स्रोत पुस्तिकामा तत्कालीन विकास क्षेत्रका आधारमा उल्लेख गरेअनुसार आँप उत्पादन प्रतिहेक्टर औसत ८.३ टनको दरले हुने गरेको थियो। निर्देशनालयको २०७९ सालको तथ्यांकअनुसार आँपको उत्पादकत्व प्रतिहेक्टर १२.११ टन पुगेको छ। यो भनेको झण्डै ४५ प्रतिशतले उत्पादकत्व वृद्धि हो।
हावापानीको दृष्टिकोणले तराईदेखि मध्यपहाडको बेँसीसम्म आँप खेती गर्न सकिन्छ। मन्त्रालयको तथ्यांकअनुसार आँप उत्पादन हुने प्रमुख जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली र कञ्चनपुर हुन्। उसो त, नेपालका ७० वटा जिल्लामा आँप उत्पादन हुन्छ।
नेपालमा उष्ण प्रदेशीय फलफूलमध्ये आँप प्रमुख फल हो। ‘एनाकार्डिएसी’ परिवारमा पर्ने आँपको वैज्ञानिक नाम ‘म्याङ्गिफेरा इन्डिका’ हो। फलफूल विकास निर्देशनालयले प्रकाशन गरेको ‘उष्ण प्रदेशीय फलफूल खेतीे प्रविधि पुस्तिका’मा लेखिएको छ, “पाकेको आँप पुनर्ताजगी गर्ने खालको र स्वादिष्ट हुन्छ जसमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ। आँपको उद्गम स्थान दक्षिण–पूर्वी एशिया, खासगरी मलायन द्वीप समूह मानिन्छ।”
नेपालीले रुचाएका आँपको जात
जेठदेखि भदौसम्म बजारमा विभिन्न जातका आँप आउँछन्। धेरैले रुचाउने फलको रूपमा रहेको आँप कुन जातको किन्दा कस्तो स्वाद हुन्छ भनेर कतिपयलाई अलमल हुन्छ। आँपको जात र जातीय विषेशताबारे ‘उष्ण प्रदेशीय फलफूल खेतीे प्रविधि पुस्तिका’मा उल्लेख छ। तीमध्ये कति किसिमका आँप नेपालमा उपलब्ध छन् भन्ने यकिन अध्ययन छैन।
व्यापारीहरूले भन्ने गरेको आँपको नाम नै धेरैजसो उपभोक्ताले चिन्ने नाम बनेको छ। तर कतिपय बिक्रेताले माल्दह, सबुजा, बम्बई, कलकतिया वा दशहरीजस्ता नाम बताएर बेच्ने गरेका छन्।
शुरूआतमै बजारमा देखा पर्ने आँप हो सबुजा। सुबुजको अर्थ बंगाली भाषामा ‘हरियो’ हुन्छ। मध्यम आकारको गहिरो हरियो रङको यो आँप काँचो खाँदा पनि धेरै अमिलो हुँदैन। सरकारी पुस्तिकामा यसलाई ‘ग्रिन बम्बई’ भनिएको छ। पाकेपछि असाद्धै गुलियो यो आँप सुगन्धित हुन्छ।
सबुजाकै समयमा आउने र त्यस्तै आकारको तथा स्वाद पनि लगभग मिल्दोजुल्दो आँप बम्बई हो। सबुजा हरियो हुन्छ भने बम्बई वा बम्बइया पाकेपछि पहेँलो हुन्छ। कतिपयले बम्बईलाई पहेँलो सबुजा र सबुजालाई हरियो बम्बइया पनि भन्छन्।
सबभन्दा बढी सुनिने र रुचाइने तथा बजारमा उल्लेखनीय मात्रामा उपलब्ध हुने आँप माल्दह हो। औसत रूपमा सबुजाभन्दा करिब डेढ गुणा ठूलो हुने माल्दह थोरै लाम्चो र पुष्ट हुन्छ। यो धेरै गाढा हरियो हुँदैन। पाकेपछि पनि थोरै मात्र रङ फेरेर पहेँलोपना ग्रहण गर्छ। आँपको स्वादका विभिन्न प्रकारका पेय पदार्थमा माल्दहसँग मिल्दोजुल्दो बास्ना मिसाइने हुँदा यसको सुगन्ध अधिकांशले चिन्छन्। माल्दहको बोक्रा पातलो, रेसा कम र कोया सानो हुन्छ।
नेपालमा अलि महँगो आँप भनेर जर्दालाई चिनिन्छ। अरू आँपको तुलनामा कडा सुगन्ध भएको जर्दा सानो आकारको हुन्छ। यसमा हलुका सुनौलो रङ चढिसकेपछि आकर्षक देखिन्छ। धेरैले रुचाउने अरू केही आँपहरूमा माल्दहलगत्तै आउने गुलाबखास पनि हो। यो पाकेपछि गाढा गुलाफी रङको हुन्छ। माल्दहभन्दा थोरै लाम्चो आकारको यो आँप पाकेपछि गाढा गुलाफी हुन्छ।
रेसा र रस अलि बढी हुने पुष्ट र लाम्चो आकारको चउसा सिजनको मध्यतिर आउने आँप हो। चउसाभन्दा अलि सानो आकारको दशहरी पनि उस्तै समयमा आउँछ। यो पातलो बोक्रा भएको गुलियो प्रजातिको आँप हो। दशहरीजस्तै आकृति तर आकारमा थोरै लामो अनि मोटो हुने आम्रपाली पछिल्लो समयमा नेपालमा रुचाउन थालिएको आँप हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
