बेलायत, फ्रान्सको चुनावी नतिजा: विश्व थप अराजकतातिर!

पश्चिमा शक्ति र सभ्यता बिस्तारै पतनको दिशातिर उन्मुख छ। यी चुनावी परिणामले पनि पश्चिमा देशहरू झनै अव्यवस्था, अराजकता/लथालिंगको स्थितितिर उन्मुख छन् भन्ने देखिन्छ।

बेलायतमा १४ वर्षयता कन्जर्भेटिभहरूको शासन थियो। उनीहरूको आर्थिक नीति अभिजातमुखी थियो। तिनले सरकारी खर्चमा अलि धेरै कटौती गरे। जनताले पाउने आधारभूत सेवामा समेत कटौती गरे। त्यसले गर्दा गरिबी र बेरोजगारी बढ्यो। अपराधको दर बढ्यो। त्यसका कारण सामाजिक आक्रोश फैलँदै गयो। 

त्यससँगै समाज र राजनीतिमा ध्रुवीकरण बढ्दै गयो। यिनै कारणले गर्दा राजनीतिमा उग्रदक्षिणपन्थीहरूको उदय भयो। उग्रदक्षिणपन्थीको जमातलाई व्यवस्थापन गर्नका लागि ब्रेक्जिटको जनमतसमेत गराइयो। त्यसमा ब्रेक्जिट पक्षधरकै विजय भयो। ब्रेक्जिटको विषयले बेलायतमा थप उथलपुथल मच्चियो, जसका कारण बेलायतमा प्रधानमन्त्रीहरू लामो समय नटिक्ने हुन थाल्यो। यी सबैका कारण बेलायतमा पपुलिजम हाबी भयो।

पपुलिजम हाबी भएपछि कन्जर्भेटिभहरूले त्यसैलाई भजाएर बीचमा दुईवटा चुनाव जिते पनि। तर तिनका नीति जनपक्षीय हुन नसक्दा जनता आक्रोशित हुँदै गए। त्यो आक्रोश विस्फोटको स्थितिमा पुग्न लागिसकेको थियो। यसबीच तोकिएभन्दा ६ महिना पहिले नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले गत जुलाई ४ का लागि आमचुनाव घोषणा गरे। उनले अलि छिटै चुनाव घोषणा गराउनुको मक्सद पनि लेबरलाई हराउन सकिन्छ कि भन्ने नै थियो।  चुनावले लेबरका पक्षमा प्रचण्ड बहुमत दिलाएको छ। कन्जर्भेटिभले पहिलेभन्दा लगभग साढे दुई सय सिट कम प्राप्त गरेका छन्।

आम रूपमा लेबर पार्टीलाई वामपन्थी, लेफ्ट लिनिङ र कन्जर्भेटिभलाई राइट लिनिङ ठानिन्छ। तर अहिले राइट र लेफ्टको फरक पनि खासै व्यवहारमा देखिँदैन। अहिलेका नवनियुक्त बेलायती प्रधानमन्त्री कियर स्टार्मर अमेरिकाप्रति नरम,  नवउदारवादवादी, बजारमुखी र सम्भ्रान्तहरूकै पक्षधर देखिन्छन्। 

त्यसो हुँदा लेबर पार्टीका तर्फबाट प्रधानमन्त्री भएका स्टार्मर खासमा जनताका पक्षधर होइनन्। लेबर पार्टीका प्रमुख पहिले जेरेमी कोर्बिन थिए। उनीचाहिँ व्यक्तिगत स्तरमै सादा जीवन अपनाउने गर्छन्। उनी भने झन्डै साम्यवादी कोटीका व्यक्ति हुन्। स्टार्मर गुटले कोर्बिनलाई पार्टीबाटै निस्कन बाध्य बनाए। तिनले पनि स्वतन्त्र उम्मेदवारी दिँदै चुनाव जितेर आफ्नो सिट अहिले सुरक्षित गरेका छन्।

स्टार्मर पहिले सरकारी वकिल थिए। बेलायत सरकारका लागि काम गर्दा उनले अमेरिकाको हितमा धेरै काम गरे। अमेरिकी युद्धअपराधको खुलासा गर्ने जुलियन असान्ज कैयौँ वर्ष बेलायतको जेलमा बस्न पर्‍यो, त्यसका लागि स्टार्मरले पनि धेरै ठूलो भूमिका खेलेका छन्। यिनी धेरैजसो अमेरिका भ्रमणमा जान्थे। 

त्यसो हुँदा जुलियन असान्जको मुद्दा लम्ब्याउन र दुःख दिन उनको भूमिका धेरै छ। स्टार्मर इजरायल र प्यालेस्टाइन विवादमा इजरायलको पक्षमा रहेका व्यक्ति हुन्। हामी नेटोको पक्षधर हौँ भन्ने खालका व्यक्ति हुन् स्टार्मर। स्टार्मरको नीति हो नवउदारवाद। त्यसो हुँदा जतिसुकै ’फूलबुट्टे’ कुरा गरे पनि यिनको शासनकालमा पनि भुइँतहका मान्छेको हित हुने कुनै सम्भावना छैन।

अझ चाखलाग्दो कुरो, उग्रदक्षिणपन्थीहरूले बेलायतमा भोट प्रतिशत बढाउँदै गएको देखिन्छ। भलै नाइजल फराजको रिफर्म युके पार्टीले पाँच सिट जित्यो, तर यसपालि तिनको भोट शेयर १४ प्रतिशतभन्दा बढी छ। यिनीहरू आप्रवासीप्रति विषवमन गर्छन्, नवउदारवादलाई झनै कठोर तरिकाले लागू गर्ने, धनीहरूको करकटौती गर्ने, गरिबलाई सरकारले दिने सुविधा खोस्ने यिनको नीति रहन्छ। यता पश्चिमको सुप्रिमेसी कायम राख्ने, गोराहरू महान् हुन् र अरूहरू तल्लो दर्जाका हुन् भन्ने खालको चिन्तन र सोच यस्ता उग्रदक्षिणपन्थीहरूमा रहन्छ।

यति धेरै भोट उग्रदक्षिणपन्थीहरूले ल्याएका कारण पनि कन्जरर्भेटिभ (टोरी) हरूको भोट काटिदिए। त्यसका अलावा टोरीका आफ्ना कतिपय गलत नीतिका कारण पनि सरकारबाट बाहिरिन बाध्य भएका हुन्।  

कुरा गरौँ फ्रान्सको। अहिलेका फ्रान्सका राष्ट्रपति म्याक्रोँ मध्यमार्गी धारका हुन्। न पूरै वामपन्थी न पूरै दक्षिणपन्थी खालका मध्यपन्थी। तर म्याक्रोँ अभिजातवादी हुन्। यी धनीका छोरा हुन्, धनी स्कुल र कलेजमै पढेका। राजनीतिमा आउनुअघि उनी इन्भेस्टमेन्ट बैंकर थिए। त्यसो हुँदा यी मान्छेले कहिले पनि गरिबका बारे सोचेनन्। यिनी राष्ट्रपतिमा चुनिएयता ठूला विरोध प्रदर्शन भए। बढ्दो गरिबी, महँगीको सम्बोधन गर्न आह्वान गरिएका प्रदर्शनलाई यिनले वास्ता गरेनन्। गरिबको कल्याणका लागि काम गर्छु भनेर वाचा गरे पनि धनीहरूलाई पोस्नतिरै लागे यिनी।

म्याक्रोँकै नीतिका कारण पनि जनतामा आक्रोश बढिरहेको थियो। फ्रान्समा पनि दक्षिणपन्थीहरूको उदय भइराखेकै थियो। मरिन ल पेँ भन्ने नेता छिन्, जसको नेसनल र्‍याली भन्ने उग्रदक्षिणपन्थी पार्टी छ। पहिले मरिनको पार्टी अति नै चर्का कुरा गर्थ्यो। चुनाव आउँदै गर्दा जित्ने उद्देश्यसाथ तिनीहरूले आफ्नो चर्को स्वरलाई अलि मत्थर पारेका थिए। तैपनि आप्रवासीलाई खेद्नुपर्छ, तिनलाई रोजगारी दिनुहुँदैन भनी यिनीहरू कराइरहेका हुन्छन्। इजरायलले प्यालेस्टाइनमा गरिरहेको नरसंहारलाई समर्थन गर्छन् यी दक्षिणपन्थीहरू। यिनीहरूको एउटा फरक मत के छ भने ‘रुस र युक्रेनको युद्ध कसैले पनि नजित्ने भएकाले रुसीहरूसँग शान्तिवार्ता गर्नुपर्छ’ भन्छन् यिनीहरू।

यसबीचमा के भयो भने युरोपेली देशहरूको एउटा साझा संसद् पनि छ। त्यहाँ २–३ महिनाअघि चुनाव भएको थियो। त्यसमा समेत सबै देशका उग्रदक्षिणपन्थीहरूले राम्रो सिट हासिल गरे। मरिन ल पेँको पार्टीले पनि राम्रो सिट ल्यायो। चुनावमा दक्षिणपन्थीहरू बलियो भएको देखेर म्याक्रोँ आत्तिए। त्यसो त फ्रान्समा नियमित चुनाव हुनकै लागि तीन वर्ष बाँकी थियो। तर २०२४ मै म्याक्रोँले चुनावको घोषणा गरे। हतारहतार चुनाव घोषणा गरेपछि दक्षिणपन्थीहरूले चुनावी रणनीति पनि बनाउन पाउँदैनन् भन्ने म्याक्रोँको सोच थियो, त्यसो हुँदा दक्षिणपन्थीहरू हार्लान् भन्ने तिनको अनुमान थियो।

तर आफूले दाउ खेल्दा आफैँ संकटमा आइपरे म्याक्रोँ। यस चुनावी परिणाममा त्यहाँ कसैको बहुमत आएन। म्याक्रोँको पार्टीले पहिलाको भन्दा कम सिट ल्यायो । सानासाना वामपन्थी दलहरूको गठबन्धन बनेको थियो, त्यो प्रथम भए पनि बहुमत ल्याउन सकेन। तर म्याक्रोँ र वामपन्थीहरूबीच दक्षिणपन्थीहरूलाई सत्तामा रोक्न एकखालको अघोषित एकता भएको थियो। त्यसो हुँदा फ्रान्समा सरकार कसैले पनि बनाउन सक्ने स्थिति छैन। जबकि म्याक्रोँ उग्रदक्षिणपन्थी र उग्रवामपन्थी कसैसँग पनि मिल्दिनँ भनिरहेका छन्। यसरी कोही कसैसँग नमिले कसरी सरकारी बनाउने? यसरी गत जुन ३० मा भएको त्यहाँको आमचुनावले उल्टै राजनीतिक पक्षाघातको स्थिति निम्तेको छ।

उता, अमेरिकाका बहालवाला राष्ट्रपति र पूर्वराष्ट्रपतिबीच केही हप्ता पहिले सार्वजनिक बहस भएको थियो। बहसमा बाइडनको प्रदर्शन एकदमै खराब रह्यो। बाइडन ज्येष्ठ र उनको स्वास्थ्यले पनि खासै साथ नदिएको देखिएकाले त्यसो भएको हो। बाइडनविरुद्ध पार्टीभित्रै र डेमोक्रेटिक पार्टीलाई चन्दा दिने डोनर पनि आवाज उठाइरहेका छन्। उनको ठाउँमा कमला ह्यारिसलाई उठाउनुपर्छ भन्ने आवाज उठिरहेको छ। तर बाइडन ‘मैले सन् २०२० मा ट्रम्पलाई हराएका कारण अहिलेको २०२४ को चुनावमा पनि म नै ट्रम्पविरुद्ध लड्छु’ भनिरहेका छन्। चुनाव आउन चार महिना मात्रै बाँकी हुँदा डेमोक्रटिक उम्मेदवारबारे यस्तो छिनाझपटी हुँदा कस्तो सन्देश जाने हो? त्यसो हुँदा यसपालि ट्रम्पलाई चुनाव जित्न सहज होला भन्ने अनुमान अमेरिकामा छ।

राष्ट्रपतिमा ट्रम्प दोहोरिए भने उनले पहिले गरेका बहुलठ्ठीपन दोहोरिनेछन्। उनलाई अर्को चुनाव जित्नुपर्ने टन्टा नरहेकाले पहिलेभन्दा बढी अराजकता देखाउने डर छ। उनको पुनरागमनले विश्व राजनीति थप उथलपुथल हुनेछ। चीनसँग ट्रम्पले व्यापारयुद्ध गर्ने निश्चितजस्तै छ। भविष्यमा त्यो हतियार युद्धमै परिणत हुने खतरा पनि रहन्छ। उनले प्यालेस्टिनीको नरसंहार गर्ने इजरायलीलाई थप सहायता गर्नेछन्। तर रुस र युक्रेनबीचको युद्ध भने शायद अन्त्य गराउनेछन्।

जनतालाई बेवास्ता गर्ने, सरकारी नीतिलाई सम्भ्रान्त र अभिजातमुखी बनाउने कारणले गर्दा विश्वभर जनता आफ्ना आक्रोश पोखिरहेका छन्। पश्चिमा शक्ति र सभ्यता नै बिस्तारै पतनको दिशातिर उन्मुख छ। यी निर्वाचन परिणामले पनि पश्चिमा देशहरू झनै अव्यवस्था, अराजकता/लथालिंगको स्थितितिर उन्मुख छन् भन्ने देखिन्छ।

(कुराकानीमा आधारित। दहाल वैदेशिक मामलाका जानकार हुन्।)