अमेरिकी राष्ट्रपतिको चुनावमा बाराक ओबामा बाइडेनको विपक्षमा

प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन्।

अमेरिकाका पूर्वराष्ट्रपति एवं डेमोक्रेट नेता बाराक ओबामाले आसन्न राष्ट्रपतिको चुनावमा जो बाइडेनले जित्न गाह्रो हुने बताएका छन्।

‘द वाशिंगटन पोस्ट’ का अनुसार ओबामाले आफ्ना सहकर्मीसँगको छलफलमा वर्तमान राष्ट्रपति बाइडेनले उम्मेदवारी त्याग्नु पर्नेमा जोड दिएका हुन्। जुन २८ मा राष्ट्रपतिको बहसमा डोनाल्ड ट्रम्पसँग बाइडेन पछि परेपछि ओबामाले उनीसँग एक पटक मात्रै कुरा गरेका छन्। 

ओबामाले बाइडेनको उम्मेदवारीबारे पुनः विचार गर्नका लागि आवश्यक रहेको पनि बताएका छन्। ट्रम्पविरुद्धको बहस पछि पार्टीभित्रै बाइडेनलाई राष्ट्रपतिको होडबाट हटाउने माग बढ्दै गएको छ। 

प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन्। एनओआरसी सर्वेक्षणका अनुसार ६५ प्रतिशत डेमोक्रेटिक मतदाता पनि बाइडेनको विपक्षमा छन्। ६७ प्रतिशत गोरा मतदाताले बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्नेमा जोड दिएका छन्।

अमेरिकाको ३३ करोड जनसंख्यामध्ये ६० प्रतिशत गोरा मतदाता छन्। पार्टीका नेता र सहयोगीको बढ्दो दबाबका कारण राष्ट्रपति बाइडेनले यस हप्ताको अन्त्यसम्ममा आफ्नो उम्मेदवारीबाट पुनर्विचार गर्ने सम्भावना  रहेको अमेरिकी समाचार पोर्टल ‘एक्सियोस’ले उल्लेख गरेको छ।

उपराष्ट्रपति कमला ह्यारिस बाइडेनको स्थानमा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीको अग्रपंक्तिमा छन्। राजनीतिक विश्लेषक टोनी एडमका अनुसार अब डेमोक्रेटिक पार्टीसँग कमलाको विकल्प छैन।

कमला यसअघि अमेरिकी सर्वोच्च अदालतमा वकिल भइसकेका छन्। कमलाले आफ्नो कार्यकाल ‘लो प्रोफाइल’ राखेर बिताइन्। जसका कारण प्रजातान्त्रिक पार्टीमा उनका विरोधी कम र समर्थक बढी छन्।