कहाँका लालु, कहाँका रवि?

‘मिडिया एक्टिभिस्ट’का रूपमा रविका केही योगदानका तुलनामा सामाजिक न्याय, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावको लागि लालुका प्रयास अतुलनीय छन्।

असार २८ को उकालोमा सुजित महतले नेपालका रवि लामिछाने र भारतका लालुप्रसाद यादवको तुलना गर्दै लेखेको लेख प्रथम दृष्टिमै असंगतिपूर्ण लाग्यो। लालुको योगदानलाई रविसँग तुलना गर्नु अनुचित मात्र होइन, अपमानजनक हो। यसमा मेरा केही तर्क र सन्दर्भ छन्।

तुलना कसरी गर्ने भन्नेबारे एक सेर छ: 

“तुलना उनकी होती है, जो बराबर के हों,
समुंदर का मुकाबला, कभी बूंद से नहीं होता।"
(जो बराबर छन्, तिनीसँग तुलना हुन्छ। समुद्रको तुलना थोपासँग कहिल्यै हुँदैन।) 

दुईको राजनीतिक जीवन
लालुप्रसाद यादव र रवि लामिछानेको तुलनामा लालुको बचाउ गर्नुपूर्व यी दुईको प्रारम्भिक राजनीतिक जीवनको गहन अध्ययन आवश्यक छ। लालुको राजनीतिक यात्रा सामाजिक न्याय र परिवर्तनका पक्षमा संघर्ष गर्दै शुरू भएको थियो। पटना विश्वविद्यालयमा पढ्दाताका उनी छात्र संघको सदस्य थिए। सन् १९७३ मा पटना विश्वविद्यालयको छात्र संघ अध्यक्ष चुनिएसँगै उनको सक्रिय राजनीतिक शुरू भयो। 

लालुको प्रारम्भिक राजनीतिक जीवनको महत्त्वपूर्ण मोड सन् १९७४ मा आयो, जब उनले चर्चित समाजवादी नेता जयप्रकाश नारायणको नेतृत्वमा चलाइएको ‘सम्पूर्ण क्रान्ति’मा सहभागी भए। सो आन्दोलनले भारतमा भ्रष्टाचार, बेरोजगारी र सामाजिक अन्यायको विरोध गर्दै जनतामाझ व्यापक चेतना फैलायो। आन्दोलनमा लालुले साहस र नेतृत्वको क्षमता देखाए, जसले उनलाई राष्ट्रियस्तरमा चिनायो। सन् १९७७ मा लालुले पहिलोपटक लोकसभाको निर्वाचनमा जनता पार्टीबाट टिकट लिएर चुनाव लडेर जिते। चुनाव जितेसँगै लोकसभा र अन्य मञ्चमा समाजवादी विचारधारा र सामाजिक न्यायको पक्षमा बलियो आवाज उठाए। सन् १९९० मा उनी जनता दलकै तर्फबाट बिहारको मुख्यमन्त्री चुनिए। मुख्यमन्त्रीका रूपमा उनले पिछडा, दलित र अल्पसंख्यक समुदायको सशक्तीकरणमा काफी काम गरे।

यता, रविको प्रारम्भिक राजनीतिक जीवन सञ्चारमाध्यममा आधारित थियो। सामाजिक मुद्दामा आधारित कार्यक्रम चलाएर लोकप्रियता हासिल गरेका चर्चित टेलिभिजन प्रस्तोता थिए उनी। प्रारम्भिक पत्रकारिता जीवनले रविलाई जनतासँग प्रत्यक्ष जोड्न मद्दत गर्‍यो। खासगरी भ्रष्टाचार र राजनीतिक बेथितिविरुद्ध चर्को स्वर पार्दै त्यसविरुद्ध लड्ने छवि मिडिया र सामाजिक सञ्जालमार्फत उनले बनाए। ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रम (जुन सामाजिक सञ्जालमा पनि राखिन्थ्यो) मार्फत जनताका मुद्दा उठाउने मात्र होइन, आफैँ सहभागी भई मसिहा–शैलीमा समाधानको प्रयत्न गरे। झन्डै दुई वर्षअघि मात्र सञ्चारकर्मबाट राजनीतितर्फ मोडिएका रविले जनताको राम्रो समर्थन प्राप्त गरे।

उता, लालुको प्रारम्भिक राजनीतिक जीवन ठोस सामाजिक न्याय र सामाजिक परिवर्तनको पक्षमा संघर्ष गर्दै बित्यो। छात्र आन्दोलन र सम्पूर्ण क्रान्तिमा भाग लिएका लालु खास राजनीतिक उद्देश्यप्रति प्रतिबद्ध थिए। उनी पिछडा वर्ग र दलितको सशक्तीकरणमा अहिलेसम्म लागिरहेकै छन्। लालुको तुलनामा रविको राजनीतिक अनुभव अति सीमित थियो। रविको नेतृत्व–शैली धेरै हदसम्म मिडिया आकर्षण र तात्कालिक समस्या समाधानकेन्द्रित थियो, जबकि लालुको नेतृत्व–शैली दिगो सामाजिक परिवर्तनप्रति केन्द्रित। रवि सम्भवतः अहिले पनि नेपालका सामाजिक जटिलता र समस्या बुझ्छन् भन्नेमा शंका छ, जबकि सामाजिक न्यायका मसिहा लालुमाथि त्यस्तो शंका गर्नु नै अनर्थ हुन्छ।  

अल्पसंख्यकको च्याम्पियन भर्सेस लोक ‘लोकलुभावन’
सन् १९९० ताका भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीले अयोध्यास्थित राम जन्मभूमिमा मन्दिर निर्माणको समर्थनमा सोमनाथबाट अयोध्याका लागि रथयात्रा थाले। सो यात्रा (धार्मिक मुद्दा) राजनीतिक लाभका रूपमा प्रयोग गर्दै भारतभर साम्प्रदायिक तनाव बढाउन उद्धत थियो। रथयात्राले विभिन्न स्थानमा साम्प्रदायिक हिंसा भड्कायो, जसले अन्यत्रझैँ बिहारका मुस्लिम समुदायमा पनि डर र असुरक्षाको वातावरण सिर्जना गर्‍यो।

आडवाणीको रथयात्रा जब बिहार प्रवेश गर्ने तयारीमा थियो, त्यतिबेला बिहारका मुख्यमन्त्री रहेका लालुले साम्प्रदायिक हिंसा रोक्न साहसी कदम उठाए। आडवाणीलाई समस्तीपुरमा गिरफ्तार गर्ने आदेश दिँदै रथयात्रा रोकाइदिए। यस कदमले तात्कालिक रूपमा साम्प्रदायिक तनाव रोक्न मद्दत गर्‍यो र राज्यमा शान्ति, सुव्यवस्था कायम रह्यो। यसो गरेर उनले आफ्नो शासनमा कुनै पनि खालका साम्प्रदायिक हिंसा नसहिने सन्देश दिए। सो कदम भोटबैंकको राजनीतिका लागि पनि उनलाई लाभदायी रह्यो। सो कदमले मुस्लिम समुदायमा पनि लालुलाई एक नेता र रक्षकका रूपमा स्थापित गर्‍यो। 

सो कदम केवल साम्प्रदायिक हिंसा रोक्न सीमित थिएन, धार्मिक सद्भाव र सामाजिक न्यायको उनको प्रतिबद्धतालाई त्यसले थप प्रमाणित गर्‍यो। सो घटना लालुको राजनीतिक दर्शनको एक महत्त्वपूर्ण हिस्सा हो, जसले बिहारको राजनीतिमा स्थायी प्रभाव छोड्न सफल भएको छ।

छनलाई रविले पनि बेलाबेला जातीय भेदभावको अन्त्य र अन्तरजातीय विवाहको सामाजिक स्वीकृति बढाउन आह्वान गर्ने गरेका छन्। तर उनका ‘टेलिभिजन शो’ले कहिलेकाहीँ नेपाली हुनुको परम्परागत अवधारणालाई समर्थन गर्थ्यो, जसमा पहाडी संस्कृति, खस भाषा र हिन्दू धर्मको प्रधानता समावेश हुन्थ्यो। टेलिभिजन कार्यक्रममा सञ्चालनताका कुनै एउटा एपिसोडमा, ब्राह्मण रविले देशका एक मात्र मुस्लिम मुख्यमन्त्री मोहम्मद लालबाबु राउतसँग अन्तर्वार्ता लिँदै राज्य समारोहका लागि नेपाली झन्डाको एक कथित विकृत संस्करण किन प्रयोग गरेको भन्दै सोधे। राउतलाई सो प्रश्नले यति धेरै असहज र अपमानित महसुस गरायो कि उनले प्रत्यक्ष कुराकानीका क्रममा फोन नै राखिदिए। 

अर्को एपिसोडमा, ‘सिधाकुरा’ले इँटाभट्टामा काम गर्ने बौद्ध धर्मावलम्बी मजदुरले कुनै ब्राह्मण परिवारको ‘गाई चोरेर मारी खाएको’ घटनाको रिपोर्ट गर्‍यो। सोही एपिसोडमा रविले ‘गाईको मासु खान ठीक छ कि छैन भन्ने बहसमा कुनै पक्षलाई समर्थन गर्ने प्रयास गरिरहेको छैन’ भने पनि त्यस ‘कथा’ले धेरै दर्शकको साम्प्रदायिक भावना अवश्य उत्तेजित गर्‍यो।

विचारधारा बनाम द्रुत जित
लालुको राजनीतिक दर्शन सामाजिक न्याय, समानता र समावेशी विकासमा आधारित छ। उनका विचारले बिहारमा पछाडि परेका समुदायको सशक्तीकरण, जातिगत भेदभावको अन्त्य र समग्र सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य राख्छ। उनको राजनीतिक दर्शनको केन्द्रविन्दु नै सामाजिक न्याय हो। समतामूलक समाजका लागि सामाजिक न्याय अपरिहार्य रहेको कुरा लालुलाई राम्रोसँग थाहा छ। पछाडि परेका समुदायलाई सरकारी नीति र योजनामार्फत सशक्त बनाउनुपर्छ भन्नेमा लालु झनै प्रस्ट छन्। विकासको लाभ सबै वर्ग र समुदायमा समान रूपले पुग्नुपर्छ भन्ने लालुले ग्रामीण क्षेत्र, पिछडा वर्ग र दलितको विकासमा विशेष ध्यान दिए। समावेशी विकासले मात्र समाजको समग्र उन्नति सम्भव छ भन्नेमा उनको दृढ विश्वास छ।

उच्च जातिको प्रभुत्वलाई चुनौती दिँदै पिछडा वर्गलाई सशक्त बनाउने नीति लालुले अपनाए। जातिगत भेदभाव अन्त्य गरेर मात्र समाजमा वास्तविक समानता र न्याय स्थापित गर्न सकिन्छ भन्नेमा उनी अडिग थिए, छन्। स्थानीय शासनमा पिछडा वर्गको सहभागिता बढाउन उनले विशेष ध्यान दिए। लालुले जनतासँग प्रत्यक्ष सम्बन्धमा आधारित राजनीति गरे। मुख्यमन्त्री हुनाको व्यस्तता बाबजुद जनताका समस्या प्रत्यक्ष सुन्ने र समाधान गर्न प्रयास गरे। जनतासँग घनिष्ठ सम्बन्ध र उनीहरूको समस्याको समाधानमा सक्रिय सहभागिताका कारण नै जनताको नेताका रूपमा उनको पहिचान बन्यो। उनको जीवनशैली सरल र साधारण भएकाले पनि जनतासँगको निकटतालाई प्रतिबिम्बित गर्छ र तिनीहरूको समस्यासँग प्रत्यक्ष जोड्न मद्दत गर्छ।

लालु ग्रामीण क्षेत्रको विकास समाजको समग्र विकासका लागि अपरिहार्य ठान्छन्। सोहीअनुरूप उनले ग्रामीण पूर्वाधार सुधार, शिक्षा, स्वास्थ्य र रोजगारीमा ध्यान दिए। ग्रामीण विकासले समाजको आधारभूत संरचना मजबुत बनाउँछ र समग्र आर्थिक उन्नति सुनिश्चित गर्छ भन्ने मान्यता राख्छन् उनी। शिक्षा र स्वास्थ्य सेवाको पहुँचले मानिसको जीवनस्तर सुधार्न र आर्थिक स्थिति उन्नत गर्न महत्त्वपूर्ण भूमिका खेल्नेमा उनी विश्वास गर्छन्। 

भ्रष्टाचार समाजको समग्र विकासमा अवरोधक हो भन्ने मान्यता राख्ने उनले सरकारी भ्रष्टाचारको अन्त्य गर्न पहल पनि गरे। भलै पछि आफैँ भ्रष्टाचारमा संलग्न भेटिए, जसले उनको राजनीतिक विश्वसनीयतामा सबैभन्दा ठूलो धक्का दियो। ‘चारा घोटाला’मा उनी दोषी ठहरिए। उनको सामाजिक न्याय र समानताको लागि गरेको संघर्षलाई भ्रष्टाचार प्रकरणले छायामा पारिदियो। उनको नेतृत्व र राजनीतिक करियरप्रति जनताको विश्वासमा कमी आयो। 

रविको राजनीतिक यात्रा र कार्यशैलीमा स्पष्ट विचारधाराको अभाव छ। उनका कदम प्रायः तात्कालिक मुद्दा र व्यक्तिगत लोकप्रियता वरपर केन्द्रित देखिन्छन्। रविले भ्रष्टाचार र सामाजिक अन्यायविरुद्ध आवाज उठाए पनि उनीसँग कुनै गहिरो राजनीतिक दर्शन वा सिद्धान्त नभएको प्रस्ट छ। रवि आफ्नो लोकप्रियता बढाउन तात्कालिक जनआक्रोश र संवेदनशीलतामा खेल्ने प्रवृत्ति देखाउँछन् तर यो शैली दीर्घकालीन परिवर्तन र सुधारका लागि उपयुक्त देखिँदैन। 

रविको चर्को आवाज र भिजिलान्ते–शैलीको रिपोर्टिङले धेरै समर्थक त आकर्षित गर्‍यो, तर यसले सञ्चार वातावरण बिगार्ने काम पनि गरेको छ। रविको राजनीति प्रवेश मिडिया प्रसिद्धिमा आधारित थियो भने निरन्तर राजनीतिमा सहभागिता र आन्दोलनप्रतिको प्रतिबद्धताले लालु नेता बने। लालुको पहिचान नै सामाजिक न्यायप्रतिको गहिराई र प्रतिबद्धता हो, जबकि रविलाई त्यसको छिपछिपे ज्ञानसम्म होला कि भन्नेमा शंका छ। जबकि, स्टन्टबाजीले नेपाली समाजका प्रणालीगत समस्या समाधान गर्दैनन्।

राजनीतिक र सामाजिक सन्दर्भ
बिहार र नेपालका राजनीतिक परिदृश्य धेरै फरक छन्, जसले लालु र रविको प्रत्यक्ष तुलना अनुपयुक्त बनाउँछ। बिहारमा गहिरो जरा गाडेका जातिगत संरचनालाई चुनौती दिने र अर्थपूर्ण परिवर्तन ल्याउने नेताको आवश्यकता थियो। लालुका नीतिहरू त्यस सन्दर्भमा प्रत्यक्ष प्रतिक्रिया थिए, जसले प्रणालीगत परिवर्तनलाई लक्षित गर्थ्यो। नेपालमा रविका राजनीतिक क्रियाकलाप शहरी गुनासा सम्बोधन गर्न र भ्रष्टाचारको सामना गर्न बढी केन्द्रित छन्। ती प्रयास प्रशंसनीय भए तापनि लालुको व्यापक सामाजिक न्याय अजेन्डाजत्तिकै तौल या प्रभावका भने हैनन्। प्रणालीगत परिवर्तनको सट्टा लक्षणात्मक राहतमा केन्द्रित रविको दृष्टिकोणले यी दुई बीचको व्यापक फरक स्पष्ट गर्छ।

भ्रष्टाचार आरोप र परिणाम
लालु र रवि दुवैले भ्रष्टाचारका आरोपहरू सामना गरेका छन्, तर घोटालाका प्रकृति र परिणाम फरक छन्। चारा घोटालाले लालुको विरासतलाई धुमिल बनायो, तर सामाजिक न्यायमा गरेको योगदान समाप्त गरेन। उनका विचार र नीतिले बिहारको सामाजिक र राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन ल्यायो। यसैकारण, लालु नेतृत्वको राष्ट्रिय जनता दल बिहार विधानसभामा सबैभन्दा ठूलो पार्टी बन्न सफल छ। अर्कोतर्फ, रविका नागरिकता, पासपोर्ट र सहकारीका विवादले उनको राजनीतिक करियरमा सार्वजनिक विश्वास कमजोर पार्न थालेका छन्, जसले उनको अनुभवहीनता र अस्थिरतालाई झल्काउँछ।

निष्कर्ष
लालु र रविबीचको तुलना उनीहरूको राजनीतिक यात्रा र प्रभावबीचको मौलिक फरकलाई मूल्यांकन गर्न असफल हुन्छ। लालुको सामाजिक न्यायका च्याम्पियनका रूपमा बिहारमा रहेको विरासत कर्पूरी ठाकुर र नितिश कुमारसँगै राज्यको इतिहासमा एक महत्त्वपूर्ण अध्यायको प्रतिनिधित्व गर्छ। यसविपरीत मिडिया पृष्ठभूमिमा आधारित रविको राजनीतिक करियर फरक मुद्दाहरूमा केन्द्रित छ र लालुको राजनीतिलाई परिभाषित गर्ने गहिरो सामाजिक समानतामा प्रतिबद्धता छैन।

सामाजिक न्याय र समावेशी विकासका लागि लालुले गरेका योगदान नियाल्दा रविसँग उनको तुलना नाजायज लाग्छ। रविले मिडिया एक्टिभिस्टका रूपमा गरेका केही योगदानका तुलनामा लालुले समाजको तल्लो वर्ग र दलितको उन्नतिका लागि गरेका योगदान विशाल छ। सामाजिक न्यायका लागि संघर्ष, पिछडा वर्गको सशक्तीकरण र धार्मिक सद्भावका लागि लालुले गरेका प्रयास अतुलनीय छन्। दक्षिण एशियाली सामाजिक न्यायको लडाइँमा उनका योगदान कहिल्यै भुल्न सकिँदैन।

“सूरज से तुलना चाँद से होती है,
बादलों से तुलना आसमान की होती है।
मूर्खता से तुलना ज्ञान की नहीं होती,
मूल्यवान् की तुलना बेइमानी से नहीं होती।“

(सूर्यको तुलना चन्द्रमासँग हुन्छ
बादलको तुलना आकाशसँग हुन्छ
तर मूर्खताको तुलना ज्ञानसँग हुँदैन
मूल्यवान‍्को तुलना बेइमानसँग हुँदैन)

अतः लालुसँग रविलाई तुलना गर्नु ‘गुलाब राणा’ र बीपी कोइरालाबीच तुलना गर्नुजस्तै हो। लालुको योगदान र प्रभावलाई रविको सानो योगदानसँग तुलना गर्नु उचित हुँदैन।

(उकालोमा प्रकाशित विचार लेखकका निजी हुन्।)