पश्चिमा देशहरूले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनिरहेका बेला राजधानी बेरुत र उत्तरी लेबनानमा रहेका नेपाली श्रमिकले अहिल्यै स्वदेश फर्किने सोच नबनाएको बताएका छन्। के छ लेबनानको पछिल्लो अवस्था?
काठमाडौँ– बेलायत, अमेरिकालगायत देशहरूले लेबनानमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट जतिसक्दो चाँडो बाहिर निस्कन आग्रह गरेका छन्। लेबनानमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई ‘उपलब्ध कुनै पनि टिकट’ बुक गर्न आह्वान गरेको छ। बेलायतका विदेश सचिव डेभिड लामीले पनि आफ्नो देशका नागरिकलाई तत्काल लेबनान छाड्न भनेका छन्। यीबाहेक फ्रान्स, इटाली, क्यानडा आदि पश्चिमा देशहरूले आफ्ना नागरिकलाई ‘सुरक्षा अवस्था’को कारण लेबनान यात्रा नगर्न आग्रह गरेका छन्।
साउदी अरेबियाको दूतावासले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै लेबनान छाड्न आह्वान गरिसकेको छ। उसले लेबनानमा पछिल्लो समय विकसित घटनाक्रमलाई नियाल्दै नागरिकहरूलाई लेबनान यात्रामा प्रतिबन्ध लगाउने तयारी थालेको छ।
छिमेकी देश भारतले आफ्ना नागरिकलाई तुरुन्तै लेबनान छाड्न निर्देशन दिइसकेको छ। उसले एक हप्ताअघि नै आफ्ना नागरिकलाई लेबनान छोड्न भनेको थियो। अर्को सूचना नआएसम्मका लागि लेबनानको यात्रा नगर्न पनि आग्रह गरेको छ।
इजरायलले एक साताअघि लेबनानको गैरसरकारी सैन्य समूह हिजबुल्लाहका कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। त्यसलगत्तै हिजबुल्लाहले इजरायलसँगको लडाइँ ‘नयाँ चरणमा प्रवेश गरेको’ जनाएको थियो। शुक्रको हत्या गरेको केही घण्टापछि इरानको राजधानी तेहरानमा रहेका हमास प्रमुख इस्माइल हानियाको पनि हत्या भएको थियो।
यी घटनापछि लेबनानमा युद्ध हुने सम्भावना बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलको सहयोगी अमेरिकाले पनि उक्त क्षेत्रमा गतिविधि बढाएको छ। अमेरिकाले त्यहाँ थप युद्धपोत र लडाकु विमान पठाउने तयारी गरेको छ।
यसबीच, त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे परिवारका सदस्यले चासो र चिन्ता लिन थालेका छन्। लेबनानलाई हर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार लेबनानमा करिब ११ सय नेपाली श्रमिक कार्यरत छन्।
दूतावासका अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये ९० प्रतिशत घरेलु कामदार र बाँकी होटल तथा निर्माण क्षेत्रमा कार्यरत छन्। तीबाहेक संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा ९०० नेपाली सेना पनि लेबनानमा छन्।
के छ नेपालको तयारी?
परराष्ट्र मन्त्रालयले साउन २१ गते विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न पूर्णरूपमा सचेत रहेको जनाएको छ। मन्त्रालयले हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि जनाएको छ। सहयोगको आवश्यकता परे सम्पर्कका लागि मन्त्रालयले टेलिफोन नम्बर पनि दिएको छ।
लेबनानको राजधानी बेरुतमा होटेल क्षेत्रमा काम गर्दै आएका मोरङका राजीव लिम्बू अहिले त्यहाँको अवस्था सामान्य नै भएको तर समाचारहरू हेर्दा भने डर लाग्ने गरेको बताउँछन्। “अहिले त केही छैन, सबै नर्मलै छ। फेसबुकतिर समाचार हेर्यो भने युद्ध भै नै पो हाल्छ कि जस्तो लागेर अलिकति डर लाग्दोरहेछ,” उनी भन्छन्, “तर यो मेन ठाउँ भएकाले युद्धको असर यहाँसम्म पुग्दैन कि भनेर ढुक्क भइएको छ अहिलेसम्म। पछि के हुन्छ, थाहा भएन।”
उनले नेपाली नियोगहरूसँग कुनै सम्पर्क नभएको बताए। अहिले तत्कालै नेपाल फर्किहाल्नेबारे पनि केही नसोचेको उनको भनाइ छ।
लेबनानको उत्तरी भागमा पनि युद्धको जोखिम नभएको त्यहाँ रहेका नेपाली बताउँछन्। त्यहाँ रहेका एक नेपालीसँग सम्पर्क गर्दा उनले कुनै प्रकारको खतरा महसुस नगरेको बताए। नाम खुलाउन नमानेका उनले भने, “यहाँ त्यस्तो कुनै पनि खतरा महसुस भएको छैन। कम्पनीमा ल्याउने पुर्याउने काम कम्पनीकै गाडीले गर्छ।”
इजरायलसँग लेबनानको दक्षिणी सीमाना जोडिएको छ। त्यसैले लेबनानका अन्य क्षेत्रमा भन्दा त्यस क्षेत्रमा युद्धको जोखिम बढी छ। लेबनानसमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालसँग दुई हप्ताअघि कुरा गर्दा दक्षिणी सीमाबाट चारदेखि पाँच किलोमिटर क्षेत्रमा जोखिम धेरै भएको बताएका थिए। युद्ध भइहाले इजरायलको सीमाबाट १०–१५ किलोमिटरसम्म असर पर्ने उनको भनाइ थियो।
तर राजदूत लम्सालसँग सोमबार सम्पर्क गर्दा उनले लेबनानमा परिस्थिति जटिल भएको बताए। “लेबनानमा परिस्थिति जटिल नै छ, सतर्कता अपनाउन आग्रह गरेका छौँ,” उनले भने “हामीले सम्पर्क गरेका नेपालीहरूले अहिले तत्कालै घर फर्किने योजना नरहेको बताए। यदि जान चाहने हो भने दूतावासले समन्वय गर्नेछ।”
लेबनानबाट केही नेपालीहरूले फोन गरेर ‘के गर्ने?’ भनेर सोध्ने गरेको पनि उनले बताए। “उहाँहरू आत्तिनुभएको छैन, हामी नियमित सम्पर्क गरिरहेका छौँ,” उनी भन्छन्।
इजिप्टस्थित नेपाली दूतावास र लेबनानको बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासले यही साउन १५ गते सूचना जारी गर्दै नेपालीलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको थियो। “लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध छ,” सम्पर्क नम्बरसहित कायरोस्थित नेपाली दूतावासबाट जारी सूचनामा उल्लेख छ।
लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिंकमार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ। नेपालबाट परराष्ट्र मन्त्रालयले पनि अहिलेलाई त्यहाँ रहेका नेपालीसँग नियोगहरूमार्फत सम्पर्क गरिरहेको जनाएको छ।
नियोगहरूसँग समन्वय गर्दा नेपालीहरू भएको क्षेत्र जोखिमपूर्ण नभएकाले तत्कालै फर्किन आह्वान नगरेको परारष्ट्र मन्त्रालयका सहप्रवक्ता ऋषिराज आचार्यले बताए। “हामी त्यहाँको अवस्थाबारे नियमित सम्पर्कमा छौँ, अहिले नै नेपाल फर्किहाल्न सूचना जारी गरेको छैन, अवस्था थप बिग्रिन थाल्यो भने सूचना जारी गर्ने नै छौँ,” उनले भने।
लेबनानस्थित नेपाली महावाणिज्य दूतावासले पनि नेपालीहरूको अवस्थाबारे बुझिरहेको जनाएको छ। महावाणिज्य दूत मोहम्मद घुजायलसँग सम्पर्क गर्दा ह्वाट्सअपमा यस्तो मेसेज पठाए, “अहिलेसम्म कुनै पनि कूटनीतिक नियोगले स्वदेश फिर्ती वा यात्राको लागि कुनै आह्वान गरेको छैन, यस क्षेत्रको अवस्था अस्पष्ट रहेको छ र हामी उपयुक्त निर्णयहरू गर्न समय लिइरहेका छौँ। नेपाली समुदाय सुरक्षित छन्। बेरुतमा हुन् या लेबनानको पहाडमा, तिनीहरूमध्ये धेरैजसो आफ्ना रोजगारदाताहरूसँग सुरक्षित क्षेत्रमा काम गरिरहेका छन्। हामी रोजगारदाताहरूसँग निरन्तर सम्पर्कमा छौँ।”
आक्रमणको डर!
गत हप्ता इरानको राजधानी तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्या भएको थियो। उनी बसेको घर नजिकै रहेको गेस्टहाउसबाट उनीमाथि छोटो दूरीको रकेट प्रक्षेपण भएको इरानले जनाएको छ।
हानियाको शुक्रबार कतारमा अन्त्येष्टि गरिएको थियो। हनिया विगत केही वर्षदेखि कतारमा बस्दै आएका थिए। हमास र इरानले उनको हत्याको लागि इजरायललाई प्रत्यक्ष रूपमा दोष दिइरहेका छन्, यद्यपि इजरायलले प्रतिक्रिया दिएको छैन।
हानियाको हत्या हुनुभन्दा केही घण्टाअघि हिजबुल्लाहका सैन्य प्रमुख फुआद शुक्रको पनि बेरुतमा हत्या भएको थियो। यी दुई हत्यापछि इरान र लेबनानले इजरायलमाथि बदला लिने चेतावनी दिएका छन्। लेबनान, यमन, इराक र सिरियाका इरान समर्थित गुटहरू इजरायल र हमासबीच गाजामा चलिरहेको युद्धमा प्रवेश गरिसकेका छन्।
अहिले लेबनान र इरानले इजरायलतर्फ आक्रमण गरिरहेका छन्, इजरायल पनि कडा प्रतिक्रियामा उत्रेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी जनता र इजरायलको सुरक्षाका लागि मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको बताएको छ। यससँगै अतिरिक्त ‘ब्यालेस्टिक मिसाइल’ले सुसज्जित जहाज र लडाकु विमानहरू पनि पठाइँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
