‘सी–चेक’का लागि पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा ज्यान गुमाएका यात्रुका परिवारजन बीमाको अन्योल मात्र होइन, एयरलाइन्सको व्यवहारले समेत दुःखी बनेको बताउँछन्।
काठमाडौँ– गत साउन ९ गते नियमित मर्मतका लागि काठमाडौँबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टेक–अफ’ गरेलगत्तै दुर्घटनामा पर्यो। कल साइन ‘९ एन–एएमई’ भएको विमान नियमित रूपमा गरिने पूर्ण जाँच र मर्मत भनिने ‘सी–चेक’का लागि त्यस दिन बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पोखराका लागि उडेको थियो। तर धावनमार्ग छाडेको २० सेकेण्डमै विमान दुर्घटनामा पर्यो।
त्यो दुर्घटनामा परेका विमानमा सवार १९ यात्रुमध्ये क्याप्टेन मनिषरत्न शाक्य बाहेक सबै १८ जनाको घटनास्थलमै मृत्यु भयो। त्यसमध्ये एकजना यमनका नागरिक थिए। उनी सौर्य एयरलाइन्समा कार्यरत प्राविधिक रहेको दाबी एयरलाइन्सले गरेको छ। बाँकी सबै नेपाली थिए।
दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शुरूमा क्षतिपूर्तिको टुंगो नलागेसम्म मृतकको शव नबुझ्ने अडान लिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेसहित मृतकका परिवार र सौर्य एयरलाइन्सको व्यवस्थापनबीच भएको छलफलमा उचित क्षतिपूर्तिका लागि एयरलाइन्सले प्रतिबद्धता जनाएपछि मृतकका परिवार शव बुझ्न राजी भए।
नियमित जाँच र मर्मतका लागि लैजाँदै गरिएको जहाजमा सवार यात्रुहरूको दुर्घटनामा मृत्यु भएकाले उनीहरूको बीमाको सवाल के हुने हो भन्ने अन्योल मृतकका परिवारमा अहिलेसम्म पनि यथावत् छ। यही अन्योलका कारण शुरूमा उनीहरूले शव नबुझ्ने अडान लिएका थिए।
सौर्य एयरलाइन्सका डेपुटी जनरल म्यानेजर उमेश आचार्य भने उनीहरूको बीमा प्रक्रिया अघि बढिसकेको दाबी गर्छन्। “रि–इन्स्योरेन्सबाट आउनुपर्ने हो। उहाँहरू प्रोसेसमा हुनुहुन्छ। दुर्घटनामा मृत्यु भएका सबैको बीमा कभर हुन्छ,” उनले भने।
नियमित जाँच–मर्मतका लागि पोखरा जान लागेको विमानमा सम्बन्धित प्राविधिक टोलीबाहेक असम्बन्धित व्यक्तिलाई चढाएको भन्दै एयरलाइन्सको आलोचना हुँदै आएको छ। आचार्य भने विमानमा सवार नाबालक अधिराज शर्माबाहेक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी भएको दाबी गर्छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटना भएको दिन जारी गरेको विज्ञप्तिमा एयरलाइन्सका कर्मचारीका श्रीमती र छोरा पनि विमान दुर्घटनामा परेको उल्लेख गरेको थियो। नियामक निकायले जारी गरेको यो विवरण सही नभएको दाबी गर्दै सौर्य एयरलाइन्सले भने दुर्घटनामा परेका बालक अधिराजकी आमा (प्रिजा खतिवडा जो स्वयं दुर्घटनामा परिन्) एयरलाइन्सकै कर्मचारी भएको दाबी गरेको छ।
“बच्चाको आमालाई कसले बाहिरको मान्छे हो भन्यो तपाईंलाई? मैले मेरो स्टाफ हो भनेर भनिरहेको छु त। डकुमेन्टहरु छ। तपाईंले के भन्नुहुन्छ, मेरो सरोकारको विषय होइन। क्यानले के भन्छ भन्ने पनि उसको कुरा हो, तपाईं उसकै रेफरेन्स लिएर लेख्नु भए हुन्छ,” सौर्य एयरलाइन्सका डेपुटी जनरल म्यानेजर आचार्यले भने, “इन्स्योरेन्सले मानेको छ। तपाईंलाई आपत्ति छ भने लेखिदिनुस् न त।”
विमान दुर्घटनामा एयरलाइन्सका प्राविधिक कर्मचारी मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माको मृत्यु भएको थियो।
सौर्य एयरलाइन्सको सो विमान पोखरामा रहेको नागरिक उड्डयन प्राधिकरणको ह्यांगरमा लगिँदै थियो। ह्यांगरमा राखेर गरिने पूर्ण जाँच र मर्मतका लागि हुने यस्ता उडानलाई हवाई उड्डयन क्षेत्रमा ‘फेर्री फ्लाइट’ भन्ने गरिन्छ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार वायुसेवा कम्पनीले आफ्नो आवश्यकता अनुसार ‘फेर्री फ्लाइट’मा इन्जिनियर, प्राविधिक र आवश्यक अरू जनशक्ति लैजान सक्छन्। “कम्पनीले फेर्री फ्लाइटका लागि कति जनाको इन्स्योरेन्स गरेको छ, त्यही पोलिसी अनुसार नै बीमा के हुने भन्ने थाहा हुन्छ,” उनले भने, “प्रायः कम्पनीले प्राधिकरणबाट स्वीकृत उडान सबैको इन्स्योरेन्स गरेका हुन्छन्। त्यसमा ठ्याक्कै ५–१० जना वा यति नै जना हुनुपर्छ भन्ने त हुन्न। कति व्यक्ति आवश्यक पर्छन् भनेर कम्पनीले लैजाने हो।”
मृतकका परिवारका अनुसार दुर्घटना भएपछि सौर्य एयरलाइन्सले गरेको बेवास्ताले पनि प्रश्न उब्जाएको छ। दुर्घटना भएपछि सौर्य एयरलायन्सले मृतक परिवारलाई सम्पर्क नगरेको र १३ दिनको काजकिरिया सकेपछि आफूहरु नै एयरलाइन्सको सम्पर्कमा गएको मृतक प्रिजा खतिवडाका वुबा प्रकाश खतिवडाले बताए। “दुर्घटनापछि हामी आफन्तको काजकिरियामा लाग्यौँ। यसबीचमा एयरलाइन्सका तर्फबाट कुनै सम्पर्क गरिएन। धार्मिक रीतिरिवाजअनुसार काजकिरिया सकेपछि हामीले नै कम्पनीलाई सम्पर्क गरेका हौँ,” उनले भने, “इन्स्योरेन्स लगायतका विषयहरू प्रक्रियागत ढंगले पाउने विषय हुन्। अहिले हामी आवश्यक कागजपत्र तयार गर्दै छौँ।”
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले दुर्घटना भएको तेस्रो दिन बल्ल यसबारे विज्ञप्ति जारी गरेका थिए। विज्ञप्तिमा उनले मृतक परिवारमा समवेदना व्यक्त गरेका थिए।
खतिवडाका अनुसार पीडित परिवार अहिले मृतकको मृत्यु दर्ता प्रमाण–पत्र लगायतका आवश्यक काजगपत्र बनाउन लागेका छन्। तर तत्कालै दिनुपर्ने सेवामा वडा कार्यालयले पनि असाध्यै विलम्ब गरेको गुनासो उनले गरे। “म वडा कार्यालय धाउन थालेको तीन दिन भयो,” उनले भने, “कहिले सचिव हुँदैनन्, कहिले वडाका अध्यक्ष भेटिँदैनन्। सेवाग्राहीले सानो कामका लागि पनि कतिसम्म दुःख पाउने हो?”
सौर्य एयरलाइन्सको यो दुर्घटनापछि बुधबार मात्र काठमाडौँछेउकै रसुवाको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। त्यो हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी जाँदै थियो। काठमाडौँमै तीन साता नबित्दै भएका दुई हवाई दुर्घटनामा प्राधिकरणको भूमिका जिम्मेवार रहेको भन्दै यसलाई नियामक र सेवा प्रदायकका रूपमा अलग–अलग गर्नुपर्ने आवाज फेरि उठेको छ। यसअघि नियामक र सेवा प्रदायकका रूपमा प्राधिकरणलाई टुक्र्याउन बनाइएको कानूनको विधेयक संसद् पुगेर अलपत्र बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
