मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।
अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार राति अमेरिकी खर्बपति तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग एक्समा प्रत्यक्ष अन्तर्वार्ता दिए। यो अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा निरन्तर चर्चा चलिरहेको छ। कुराकानीका क्रममा डोनाल्ड ट्रम्पलाई धेरै प्रश्न सोधिएको थियो। जसमा ट्रम्पको हत्याको प्रयासदेखि लिएर कमला ह्यारिससँग राष्ट्रपतिको चुनावी प्रतिस्पर्धासम्मका प्रश्नहरू थिए। ट्रम्पले पनि मस्कको हरेक प्रश्नको कतै सिधा त कतै घुमाउरो जवाफ दिए।
राष्ट्रपति पदका उम्मेदवार ट्रम्पमाथि पेन्सिलभेनियामा जुलाई १३ मा भएको घातक हमलाबाट एलन मस्कले अन्तर्वार्ताको शुरूआत गरेका थिए। यसमा ट्रम्पले आक्रमणकारीले आफूलाई निशाना बनाउने प्रयास गरेको तर ‘सेक्रेट सर्भिस’ले आक्रमणकारीलाई मारेको स्मरण गरे। ट्रम्पले त्यस घटनाले भगवानप्रतिको आफ्नो विश्वास अझ बढेको पनि बताए।
ट्रम्पमाथिको उक्त हमलामा गोली उनको कानबाट छुटेको थियो। यदि ट्रम्पले सही समयमा टाउको अलिकति नघुमाएको भए गोली उनको टाउकोमा लाग्ने विज्ञहरूको भनाइ थियो।
यस्तै, ट्रम्पले राष्ट्रपति पदको दौडबाट बाइडेनको उम्मेदवारी फिर्तालाई ‘कू’को रूपमा व्याख्या गरेका छन्। उनले जो बाइडेन एक कूको कारणले अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हट्न बाध्य भएका दाबी गरे। उनले भने, "मैले बाइडेनलाई बहसमा यति नराम्रोसँग पराजित गरें कि उनी दौडबाट बाहिरिए। यो अहिलेसम्मकै उत्कृष्ट बहस थियो। बाइडेन बाहिर हुनु, यो एउटा कू थियो।"
यस्तै, अन्तर्वार्तामा ट्रम्पले जलवायु परिवर्तन 'हावा कुरा' भएको तर्क गरे। रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले यसलाई अस्वीकार गर्दै भने, "ग्लोबल वार्मिङ (विश्व तापक्रममा वृद्धि) सबैभन्दा ठूलो खतरा होइन, किनभने आगामी ४०० वर्षमा प्रभावित क्षेत्रमा पानीको स्तर एक इन्चको एक आठौँ भाग मात्रै बढ्नेछ।" यसले समुन्द्र किनाराको सम्पत्ति मात्रै बढाउने उनको भनाइ छ।
ट्रम्पले अहिले मानवजातिले सामना गरिरहेको सबैभन्दा ठूलो संकट आणविक तापक्रम भएको बताएका छन्। उनले भने "पाँच देशसँग धेरै आणविक शक्ति छ र हामीले बाइडेन जस्ता मूर्ख मानिसहरूलाई केही नहोस् भनेर सुनिश्चित गर्नुपर्दछ।"
अन्तर्वार्ताका क्रममा ट्रम्पले रुसका राष्ट्रपति भलादमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको बारेमा पनि बोलेका थिए। उनले रुस, चीन र उत्तर कोरियाको प्रशंसा गरेका थिए। उनले यी तीन देशले राम्रोसँग काम गरिरहेका भन्दै अमेरिकालाई उनीहरूको सामना गर्न बलियो राष्ट्रपति चाहिने उल्लेख गरे। उनले भने, "भ्लादिमिर पुटिन, सी जिनपिङ र किम जोङ उन, जसलाई कहिलेकाहीँ तानाशाह भनिन्छ, उनीहरू आफ्नो देशलाई माया गर्छन्।"
अन्तर्वार्ताको क्रममा ट्रम्पले बाइडेनलाई 'स्लिपी जो' अर्थात् सुतिरहेको बाइडेन भन्दै रुसले उनलाई फोन गरेर युक्रेनमा आक्रमण गरेको आरोप लगाए। साथै आफूले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले नसुनेको पनि बताए।
उनले भने, "पुटिनसँग मेरो राम्रो सम्बन्ध छ र उनले पनि मलाई सम्मान गर्छन्। हामीले युक्रेनको बारेमा कुरा गर्याैँ। युक्रेन उनको आँखाको तारो थियो। तर मैले उनलाई यसबारे सोच्न पनि नहुने बताएको थिएँ।"
डेढ घण्टासम्म चलेकाे यस अन्तर्वार्ताको शुरूमा अनलाइन ट्राफिक जाम हुँदा केही समय पर धकेलिएको थियो। मस्कले यसका लागि साइबर आक्रमणलाई जिम्मेवार ठहर्याएका छन्। मस्कले यसलाई अनौपचारिक अन्तर्वार्ताको रूपमा वर्णन गरेका छन्। साथै यस वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्।
‘ट्विटर’मा फर्के ट्रम्प
यो अन्तर्वार्तासँगै ट्रम्प ३ वर्षपछि एक्स (तत्कालीन ट्विटर)मा फिर्ता भएका छन्। आगामी नोभेम्बरमा हुने चुनावअघि उनी एक्समा फिर्ता भएका हुन्। यसअघि सन् २०२१ मा यूएस क्यापिटल हिंसापछि, ट्रम्पको ट्विटर खाता दुई वर्षका लागि प्रतिबन्धित भएको थियो। त्यसपछि डोनाल्ड ट्रम्पले ट्रुथ सोसल नामको आफ्नै सोसल मिडिया प्लेटफर्म शुरू गरेका थिए। उसो त गत वर्ष ट्रम्पको एकाउन्ट 'रिस्टोर' गरिसकेपछि पनि उनले "चुनावी हस्तक्षेपले कहिल्यै आत्मसमर्पण गर्दैन" भन्दै स्टाटस राखेका थिए। त्यसबाहेक उनी यस सञ्जालमा सक्रिय थिएनन्।
मस्कले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने भएका छन्। उनले मंगलबार यसबारे जानकारी दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
