अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।

तस्वीर: रोयटर्स

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अफ्रिकामा मन्कीपक्स (एमपक्स) को वृद्धि भएपछि विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा घोषणा गरेको छ।

यस विषयमा डब्ल्यूएचओले बुधबार १६ जना विज्ञको बैठक गरेको थियो। विज्ञले यस रोगलाई अत्यधिक संक्रामक रोग भनेका छन्।

यो रोग प्रजातान्त्रिक गणतन्त्र कंगोबाट मध्य र पूर्वी अफ्रिकाका भागमा फैलिएको छ। वैज्ञानिकहरू यस रोगको नयाँ संस्करणको फैलावट र उच्च मृत्यु दरको बारेमा चिन्तित रहेको बीबीसीले जनाएको छ। 

प्रकोप बढेसँगै अफ्रिकी संघले आफ्नो क्षेत्रमा यसअघि नै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ। 

एमपक्स प्रजातान्त्रिक गणतन्त्र कंगोमा व्यापक फैलिएको छ। यो भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीँबाट अन्य देशहरूमा फैलिएको छ। 

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको बताए। 

यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउने विज्ञले बताएका छन्।