चुक्तापुँजी कम रहेका कम्पनीको शेयर संख्या कम हुन्छ। एउटा व्यक्ति वा समूहले ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्दा मूल्य नियन्त्रित हुन्छ। पछिल्लो समय कतिपय कम्पनीको शेयर मूल्य यसरी अस्वभाविक बढेको छ।
काठमाडौँ– दुई साताअघि प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले ब्रोकर र लगानीकर्ताको मिलेमतोमा कतिपय कम्पनीको शेयर मूल्य अस्वाभाविक बढाएर बजारमा चलखेल भइरहेको दाबी गरे। बजारमा शंकास्पद कारोबार भइराखेको भन्दै सरकारले यसको नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।
पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पनि वित्तीय अवस्था कमजोर भएका र प्रतिफल दिन सक्ने क्षमता न्यून रहेको अवस्थामा पनि केही कम्पनीहरूको शेयर मूल्य बढिरहनु स्वाभाविक नभएको भन्दै संसद्मा प्रश्न उठाएका थिए। सामाजिक सञ्जालमा उनको भनाइको आलोचना भयो। लगानीकर्ताका संघसंस्थाले विज्ञप्ति नै निकालेर विरोध जनाए। कतिपयले सामाजिक सञ्जालमै महतको भनाइको समर्थन गर्दै सर्वसाधारणलाई शेयरबजारमा ‘फस्न’बाट जोगाउनुपर्ने पनि बताए।
पछिल्लो करिब डेढ महिनामा नेप्से परिसूचक ९७४ अंकले बढिसकेको छ। असार ३१ गते २२४० विन्दुमा रहेको नेप्से भदौ ६ गते २९७४ विन्दुमा पुगेको थियो। शेयर बजार हरियाली हुन थालेपछि कारोबार रकम र बजारको आकारले कीर्तिमान नै कायम गर्यो। गत साउन ३१ गते पुँजी बजारमा २९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भयो जुन हालसम्मकै उच्च हो। सोही दिन नेप्से परिसूचक पनि ३०००.८१ विन्दुमा पुगेर रोकिएको थियो।
बजार बढ्दा सरकारले गत साउनमा शेयर कारोबारबाट चार अर्ब २३ करोड पुँजीगत लाभकर प्राप्त गर्यो जुन अहिलेसम्मकै धेरै हो। शेयर बजार बढेसँगै पछिल्लो एक महिनामा ६८ हजारभन्दा बढी नयाँ लगानीकर्ता थपिएका छन्। बजार बढ्दा राम्रा कम्पनी मात्र नभई वित्तीय अवस्था कमजोर भएका कम्पनीहरूको शेयर मूल्यमा पनि उछाल आएको छ।
उदाहरणका लागि, दोस्रो बजारमा सूचीकृत नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य गत साउन १९ गते १४७ रुपैयाँ थियो, जबकि भदौ ६ गते उक्त कम्पनीको मूल्य २५४ पुग्यो। तर योकम्पनी दुई करोड ४९ लाख रुपैयाँले घाटामा छ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अधिकांश हाइड्रोपावर कम्पनी घाटामा छन्। कमजोर वित्तीय अवस्था भएका यी कम्पनीको शेयर मूल्य भने अस्वाभाविक तवरले बढेको छ।
साउन १ गते आँखुखोला जलविद्युत आयोजनाको शेयर मूल्य १६२ रुपैयाँ थियो। त्यसको एक महिनापछि शेयरको भाउ २५७ रुपैयाँ पुग्यो। उक्त कम्पनी एक करोड ४० लाख रुपैयाँले घाटामा छ। अर्थात् प्रतिशेयर आम्दानी १.७५ पैसाले ऋणात्मक छ र प्रतिशेयर नेटवर्थ पनि ६७ रुपैयाँ मात्र छ।
असार पहिलो साता ८३५ रुपैयाँ रहेको नेपाल वेयरहाउजिङ कम्पनीको शेयर मूल्य साउन २७ गते एक हजार २३० रुपैयाँ पुग्यो। उक्त कम्पनी पनि १४ करोड रुपैयाँले घाटामा छ। कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १७ पैसाले ऋणात्मक र प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ छ।
गत असार ४ गते नेपाल फाइनान्स लिमिटेड (एनएफएस)को शेयर मूल्य ६५८ रुपैयाँ थियो। गत साउन २३ गते यो कम्पनीको शेयर मूल्य दुई हजार ३०० रुपैयाँ पुग्यो। गत आर्थिक वर्षमा कम्पनीले एक करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चित नोक्सानी करिब २१ करोड र प्रतिशेयर आम्दानी २.४८ रुपैयाँ छ। उक्त कम्पनीको खराब कर्जा ९.११ प्रतिशत माथि छ। नेपाल फाइनान्सको चुक्तापुँजी करिब ७३ करोड छ।
पुँजीबजारका विज्ञ मुक्ति अर्यालका अनुसार पुँजीबजार पारदर्शी रूपले चल्ने हो भने राम्रो वित्तीय अवस्था भएका कम्पनीको मूल्य बढ्न ‘बुलिस ट्रेन्ड’ नै पर्खिनुपर्दैन। तर त्यसका लागि नियामक संयन्त्र बनाउनुपर्ने उनको तर्क छ। वित्तीय अवस्था कमजोर भएका कम्पनीको मूल्य अहिले जसरी बढ्नु अस्वाभाविक भएको उनी बताउँछन्।
“बजारको संरचना र नियामक संयन्त्र परिवर्तन गर्नुपर्छ। अहिले ठूला भनिएका लगानीकर्ताहरू मात्र छन्। अब संस्थाहरू धेरै चाहियो। संस्थागत लगानीकर्ताहरू धेरै हुँदा बजार स्वस्थ हुन्छ। नराम्रा कम्पनीहरू तलको तल बस्छन्,” उनी भन्छन्, “बुल अथवा जस्तोसुकै टेन्ड्रमा पनि राम्रा कम्पनीलाई उनीहरूको वित्तीय अवस्था, भविष्यको कार्यक्षमता लगायतले गाइड गर्छ।”
विशेषगरी न्यून चुक्ता र कम शेयर संख्या भएका कम्पनीको मूल्य तोडमोड गरेर अस्वाभाविक रूपमा घटबढ गराउन सक्ने शेयर जानकारहरू बताउँछन्। उनीहरूका अनुसार चुक्ता पुँजी कम रहेका कम्पनीको शेयर संख्या कम हुन्छ। सोही कारण एउटा व्यक्ति वा समूहले ठूलो परिमाणमा खरिदबिक्री गरेर मूल्यमा चलखेल गर्न सक्छन्। उच्च पुँजी भएका कम्पनीहरूको मूल्य यसरी बढाउन सकिँदैन।
पुँजी बजारविज्ञ मुक्ति अर्याल पनि कम चुक्ता पुँजी र शेयर संख्या भएका कम्पनीहरूको शेयरको मूल्य प्रभावित हुनसक्ने बताउँछन्। उनी भन्छन्, “केही कम्पनीको चुक्तापुँजी २०/३० करोड मात्र हुन्छ। त्यसमा पनि ६०/७० प्रतिशत प्रवर्द्धकसँग र बाँकी पब्लिकको हुन्छ। कुनै कम्पनीको पब्लिक शेयर दुई/तीन लाख कित्ताभन्दा हुँदैन। त्यति त एउटैले उठाइदिन्छ। सप्लाई नै हुन नपाउँदा शेयर हुने व्यक्तिले आफूअनुकूल मूल्य राख्न सक्छ।”
केही अत्यन्तै कमजोर कम्पनीहरूमा आएको उछाल अस्वाभाविक रहेको उनी ठान्छन्। “टाट नै उल्टिन लागेका केही कम्पनीहरू ‘बुल’ भनेर कुदिरहेको देखिन्छ। यी कम्पनी कहिले डुब्छन् भन्ने मान्छेहरूलाई थाहा हुँदैन,” उनी भन्छन्, “जस्तो श्रीराम मिल्स भोलि डुब्दैछ, अघिल्लो दिनसम्म कारोबार भएको थियो। त्यसलै केही कम्पनीमा स्क्याम, म्यानिपुलेसन भइरहेको छ।”
बजारमा चलखेल नियन्त्रण गर्न र वास्तविकता तलमाथि हुन नदिन नियामक निकाय चलाख हुनुपर्ने अर्याल बताउँछन्।
पुँजीबजारका अर्का विज्ञ गोपाल भट्ट नेपालमा लगानीकर्ताको विभिन्न संघ संगठन भएको र त्यस्ता समूहका व्यक्तिले बजार प्रभावित गर्ने सम्भावना हुने बताउँछन्। बाहिरी मुलुकमा भने व्यक्तिगत लगानीकर्ताहरू चिनिए पनि यस्ता संगठनहरू बाहिर नआउने उनको भनाइ छ। “यहाँ इन्साइडरहरूको कुनै विशेष नियम छैन। इन्साइडरहरूलाई नियमन गर्न बल्ल विशेष व्यवस्थाको प्रस्ताव गरिएको छ,” भट्ट भन्छन्, “नेपालको स्टक मार्केट आफैमा कुशल छैन। त्यस्तो मार्केटमा लगानीकर्ता र उनीहरूको समूहले प्रभाव पार्दैन भन्ने अवस्था रहँदैन। जबकि अरू देशमा यस्तो देखिँदैन।”
भट्टका अनुसार बजारमा लगानीकर्ता दुई किसिमका हुन्छन्– दीर्घकालीन लगानीकर्ता अर्थात् राम्रा कम्पनीमा लामो समयका लागि लगानी गरेर प्रतिफल खोज्ने र अल्पकालीन लगानीकर्ता। बजार बढ्दा अल्पकालीन लगानीकर्ता हाबी हुने हुँदा कमजोर कम्पनीहरूको पनि मूल्य बढ्ने उनको भनाइ छ।
“मार्केट बढ्दा अल्कालीन लगानीकर्ताहरू प्रशस्त आउँछन्। अहिले त्यस्ता लगानीकर्ताको बाहुल्य बढी हुँदा कारोबार धेरै भइराखेको छ। उनीहरूले छोटो समयमा फाइदा लिँदै–बेच्दै गरेका छन्। त्यसमा कुन कस्तो कम्पनी हो भनेर बिरलै हेरिन्छ,” भट्ट भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
