प्रत्येक जघन्य अपराधपछि, पीडित शहरी क्षेत्रका, माथिल्लो वा मध्यम वर्गका हुँदा त्यसबारे धेरै आक्रोश व्यक्त हुने गर्छ। तर यस्तै घटनामा दलित, आदिवासी र अल्पसंख्यकको हकमा भने हामी निर्मम मौनता देख्छौँ।
प्रत्येक १६ मिनेटमा बलात्कार घटना रिपोर्ट गरिने भारतमा यो राजनीतिक अस्त्रको रूपमा प्रयोग गरिने विषय हो। तलदेखि माथिसम्म सबैतिर राजनीतिका मुख्य साझेदार रहेका भारतीय पुरुषहरूको एउटा अस्त्र हो बलात्कार। महिलालाई आफ्नो स्थिति वा 'औकात' देखाउन बलात्कारलाई अस्त्रका रूपमा प्रयोग गर्छन् पुरुष।
भारतमा वैवाहिक बलात्कारलाई कानूनी रूपमा बलात्कार मानिएको छैन। (नेपालमा भने कानूनी रूपमा वैवाहिक बलात्कारलाई स्विकारिएको छ।-स.) त्यसो हुँदाहुँदै पनि मेरो ११ वर्षे पूर्व वैवाहिक जीवनका मेरा पति बलात्कारको शक्तिबारे जानकार थिए। “तँ यति कुरूप छेस्, कसैले तँलाई बलात्कार गर्दैन। मलाई नै तँलाई बलात्कार गराउनुपर्ने हुन्छ,” त्यसो भन्थे उनी। उनको हकमा परिवारमा आफ्नो प्रभुत्व देखाउन, शक्ति हात पार्न र महिलालाई अधीनमा राख्न बलात्कारलाई हतियारको रूपमा प्रयोग हुन्थ्यो।
कोलकाता (भारत) को आरजी कर मेडिकल कलेज/अस्पतालकी डाक्टरमाथि भएको बलात्कारपश्चातको हत्या कुनै भिन्न घटना वा अपवाद होइन। हाम्रा दिमाग र समाजमा जरा गाडिएका बलात्कार-संस्कृतिको चरम परिणति हो। यसको मतलब यो घटना पनि अन्य बलात्कारजस्तै हो। यो अभ्यास हाम्रो भाषा, समाज, धर्म, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो राजनीतिबाट समर्थित/अनुमोदित छ।
यस घटनाले पुनः पीडितलाई नै दोषी ठान्ने अभ्यास (भिक्टिम सेमिङ) लाई उजागर गरेको छ। यसले पुरुषका बहाना र बलात्कारको 'न्यायोचित' कारणहरूलाई बाहिर ल्याइदिएको छ: छोटो लुगा लगाउनु, अबेर रातसम्म बाहिर बस्नु र केटा साथीहरू हुनुलगायत।
सरकारहरू पनि त्यसरी नै व्यवहार गर्छन्। प्रत्येक "ठूला प्रभावका" बलात्कारका घटनापछि सरकारले बलात्कारबाट बच्ने भन्दै 'सचेतनात्मक उपाय'हरू सुझाउँछ, जस्तोकि; ममता बनर्जी नेतृत्वको बंगाल सरकारले गर्यो। सम्भव भएसम्म महिलाका लागि रातको ड्युटी हुनुहुन्न भन्यो सरकारले। म जानाजानी यहाँ "ठूला प्रभावका बलात्कार" शब्द प्रयोग गरिरहेको छु, किनकि बलात्कारको विरोधहरूमा पनि हामी 'हाइरार्की'को ख्याल गर्छौं। बलात्कारका घटना छानीछानीकन त्यसप्रति हामीले आक्रोश प्रकट गर्नुले अन्य धेरै बलात्कारका घट्नाप्रति बेवास्ता भइरहेको छ। अपराधका घटनामा हामीले पीडितको जात, वर्ग, र लिंग विचार गर्दै आवाज उठाउने गरेका छौं।
तर हामी सधैँ सचेत रूपमा त्यसो गरिरहेका हुँदैनौं। गहिरो रूपमा हामीभित्र जरा गडेर बसेको पदानुक्रमवाला र ब्राह्मणवादी विश्वास प्रणाली–जुन अत्यधिक पितृसत्तात्मक पनि छ– त्यसले हामीलाई यसो गर्न बाध्य पार्छ। (धेरैजसो धर्म/परम्परा उही हुन्।) आफ्नो रक्षा केबल आफूले मात्रै गर्नुपर्ने जिम्मेवारी कुनै पनि तवरले पीडित महिलामाथि थोपरिन्छ। यसले बलात्कारमा समाजको संलग्नता अस्वीकार गर्छ र बलात्कारलाई केबल अपराधीको व्यक्तिगत कुकृत्यको रूपमा हेर्छ।
हाम्रा भाषा बलात्कारका सहयोगी हुन्
महिलाको रूपमा गाउँमा बस्दा र आफ्नो बाल्यकाल घुलमिलयुक्त समुदायमा बिताएका कारण बलात्कारलाई सामान्यीकरण गर्ने र समर्थन गर्ने सबै प्रकारका गालीगलौज सुनेको अनुभव मसँग छ। ती गालीगलौजले त्यसको प्रयोग हुने समाजका आर्थिक-सामाजिक परिस्थितिका प्रभाव समेट्छन्।
भारतमा, धेरै भाषा महिलाविरोधी छन्, तर पितृसत्तालाई भने महिमामण्डन गर्छन्। अंग्रेजीजस्ता विदेशी भाषा पनि यस रोगबाट पूर्ण रूपमा मुक्त छैनन्। धेरै अन्य कारकहरूसँगै बच्चाको मनमा पुरुषको श्रेष्ठताको अहंकार सिर्जना गर्न भाषाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। भारतमा सबैभन्दा बढी प्रयोग गरिने गाली महिलासँग सम्बन्धित छन् या बलात्कार संस्कृतिको सामान्यीकरणलाई प्रोत्साहन दिनेसँग सम्बन्धित छन्, जसले महिलालाई यौनसँग जोडेर अपमानित गर्छन्।
सबै भाषाले महिलाको इच्छा (खासगरी यौनेच्छा) लाई निन्दा गर्छन्। पुरुषहरू सहमति के हो भन्ने कुरा बिरलै बुझ्नछन्। स्त्रीविरोधी संवाद र आशय भएका स्त्रीद्वेसी ठट्टा/मजाकयुक्त संवाद राखिएका फिल्म यहाँ 'ब्लकबस्टर हिट' बन्छन्। महिलालाई अपमानजनक शब्द बोल्ने स्त्रीद्वेसी नेतालाई नै ठूलो मतान्तरले कानूनको निर्माता बनाइन्छ (सांसद पदमा जिताइन्छ।)
जस्तोकि डा. मधुमिता पाण्डे वर्णन गर्नुहुन्छ: पुरुष विशेषाधिकारका साथ हुर्किरहेको बच्चाले अन्ततः यो विशेषाधिकारलाई आन्तरिक रूपमै स्विकार्छ र महिलाहरूको 'जीवन यस्तै त हो नि!' भन्ने सोचका साथ चल्छ।
पुरुष-केन्द्रित शैक्षिक प्रणाली
भारतमा, 'साक्षर' र 'शिक्षित' शब्दबीचमा ठूलो अन्तर छ। यहाँका पुरुष-केन्द्रित पाठ्यपुस्तकका कारण बाल्यकालदेखि नै 'पुरुष नै मालिक हो' भन्ने श्रेष्ठताको भावना छात्र होस् या छात्रा सबैको मनमा गहिरो रूपमा रोपिएको हुन्छ।
सानैदेखि उनीहरू त्यस्ता पात्रहरूसँगै बाँच्छन् र बढ्छन्, जसले पुरुषको महिमा गाउँछ र महिलालाई चाहिँ 'बलियो लिङ्ग'को पिछलग्गुको रूपमा चित्रण गर्छन्। भारतमा, पाठ्यपुस्तकहरूमा पुरुष पात्र हाबी छन् र महिला पात्रको संख्या धेरै कम।
जेमको यो प्रतिवेदनअनुसार, पाठ्यपुस्तकहरूमा केवल ६% महिला पात्र देखाइने गरेका छन्। धेरै पाठ्यपुस्तकले महिलाको उपलब्धिलाई कम महत्त्व दिन्छन्। म बस्ने पश्चिम बंगालमा आठौँ कक्षाको तीन वटा पाठ्यपुस्तक (एउटा अंग्रेजी भाषा र दुई वटा बंगाली) मा कविता, कथा र निबन्ध गरी ५४ वटा पाठ छन्, तर अचम्मको कुरा, तिनमा केवल तीन पाठमात्र महिला लेखकद्वारा लेखिएका छन्!
हाम्रा पाठ्यपुस्तकमा यहाँका स्वतन्त्रता सेनानीहरूको जीवन, उपलब्धि र भूमिका आधारित धेरै पाठ समावेश छन्। तर यदि लैंगिक-संवेदनशीलताको दृष्टिले पाठ्यक्रम पल्टाउने हो भने महिला स्वतन्त्रता सेनानीहरूको कथा त्यहाँ उल्लेखनीय रूपमा अनुपस्थिति देखिन्छ।
नरेन्द्र मोदीको शासनकालका पछिल्ला केही वर्षमा, उग्र-मर्दांगी र मांसपेशी प्रदर्शनको राजनीति केन्द्रमा छ। दक्षिणपन्थी प्रणालीका केही उग्र समर्थकले मुस्लिम आवाजलाई 'लिलामी' गर्नकै लागि केही एप बनाएका छन्। पत्रकार राणा अय्यूब आफ्नो सामाजिक सञ्जाल खातामा प्राय: बलात्कारका धम्की आफूले कसरी पाएँ भन्दै आफ्ना कुरा स्यर गर्छिन्।
जब परम्परागत-पूर्वाग्रही प्रणालीविरुद्ध केही हुन्छ, त्यतिखेर बाम, दक्षिण र 'केन्द्रपन्थी'लगायत सबै विश्वास प्रणालीका भारतीय पुरुषले महिलालाई बलात्कारको धम्की दिने गरेका छन्। आफ्नो कामका क्रममा कहिल्यै बलात्कारको धम्की आएको थियो भनेर सोध्दा फिल्म निर्माता र कवि लीना मणिमेकलैले भनिन्, “लाखौं बलात्कारको धम्की। २० हजार ट्विट। आधाजसो देश मलाई हत्या गर्न चाहन्थ्यो, अरू आधा मलाई बलात्कार गर्न चाहन्थ्यो। मलाई कसरी बलात्कार गर्दै त्यसको प्रत्यक्ष प्रसारण गरिनेछन् भन्दै वर्णन गरिएका ट्विटहरू थिए।”
सास फेर्नै मुस्किल
भारतमा, पीडितलाई मृत्यु पछिसम्म पनि मुक्ति मिल्दैन। आरजी कार अस्पताल बलात्कार-हत्या काण्डको पीडितको कपडादेखि फरेन्सिक रिपोर्टसम्मका विषय चिया पसलदेखि डिनर पार्टीसम्म चर्चाका विषय बनेका छन्। उनको क्षतविक्षत शरीरका फोटा फोनहरूमा राखिएका छन्, जसले यौन-विकृत मानसिकता भएकाहरूलाई बढावा दिइरहेका छन्। यिनै पीडितबारे पोर्न साइटहरूमा 'सर्च' गरिएको भन्नेबारे समाचार बनाइका छन्, जुन आफैमा कहालीलाग्दो छ।
प्रत्येक जघन्य अपराधपछि, पीडित शहरी वा अर्ध-शहरी क्षेत्रको, माथिल्लो वा मध्यम वर्गका हुँदा त्यसबारे धेरै आक्रोश व्यक्त हुने गर्छ। तर यस्तै घटनामा दलित, आदिवासी र अल्पसंख्यकको हकमा भने हामी निर्मम मौनता देख्छौं। आरजी कार घटनापछि, केही संस्थाले रिक्लेम द नाइट (रात्रिकालमाथि महिलाले पुनः दाबी गरौं) नामको विरोध प्रदर्शन आयोजना गरे। यो राम्रो कदम हो, तर केवल सुरुआत हो। बंगालमा १४ अगस्टमा 'रात्रिकालमाथि पुनः दाबी गर्न' मध्यम वर्गका मानिस भेला भए।
ममता बनर्जीको शासनकालमा पछिल्ला केही वर्षमा, बेरोजगारी दर बढ्दै गएको छ। शहरी र अर्ध-शहरी मध्यम वर्गले डाक्टरको पेसालाई सुनौलो पेसाका रूपमा हेर्छ। किन बलात्कारले उनीहरूलाई आक्रोशित तुल्यायो भनेर कल्पना गर्न गाह्रो छैन। तर यी विरोध र्यालीहरूमा समेत ठूला दाइहरूले सडकका स्थान ओगटे। महिला, जो सचेत वा अचेत रूपमा पनि पितृसत्ताका वाहक नै हुन्, तिनले पुरुषलाई सडकका स्थान छोडिदिए। कोलकाताकी लेखक ताथ शिक्षक सरिता अहमदले पनि विरोध र्यालीमा भाग लिइन्। तर दुःखको कुरा, बलात्कार पीडितको न्यायका लागि गरिएको जुलुसमा सँगै रहेका केही पुरुषले उनलाई धकेल्ने र कुहिनोले घोच्ने काम गरे, यौन दुर्व्यवहार गरे।
त्यसैले, एक पटकको विरोध आह्वानले देशलाई बलात्कारबाट मुक्त गराउन सक्दैन। न्याय दिलाइनुपर्छ, तर दण्डात्मक न्यायले बलात्कार संस्कृति हटाउन सक्दैन। यसले केवल सत्तामा रहेका व्यक्तिलाई फाइदा पुर्याउँछ। हामीले बलात्कार-संस्कृतिलाई समर्थन गर्ने समाजका हरेक पक्षलाई प्रश्न गर्नुपर्छ। त्यसो हुँदा बलात्कारबाट मुक्तिका लागि धर्मदेखि राजनीतिसम्म परिवर्तनको आवश्यकता छ। त्यसका लागि हाम्रा पुरुषहरूले विषाक्त मर्दांगी र अनुचित विशेषाधिकार भुल्न आवश्यक छ। उनीहरूले महिलासँग गरिने व्यवहारमा के सहमति हो र होइन जान्न आवश्यक छ। महिलाप्रतिको सम्मान सिक्न आवश्यक छ।
( द वायरमा प्रकाशित मौमिता आलमको लेखको भावानुवाद। लेखक पश्चिम बंगालकी कवि हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
