‘लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ सुनिन्छ।’
काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्व पछिल्लो समय झन् चर्केको छ। दुई छिमेकी देश इजरायल र लेबनानले एकअर्काको भूमिमा निरन्तर आक्रमण गरिरहेका छन्। अघिल्लो वर्षको अक्टोबर ७ मा गाजाबाट हमासले इजरायलमा रकेट आक्रमण गरेपछि बल्झेको युद्धमा लेबनानको हिजबुल्लाहले शुरूदेखि नै इजरायललक्षित आक्रमण गर्दै आएको थियो।
गत हप्ता लेबनानको राजधानी बेरुतनजिकै दाही भेगको सियाबाहुल्य क्षेत्रमा भएको इजरायली हमलामा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहसहित संगठनका धेरै नेता मारिए। उनीहरूबाहेक हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरू पनि त्यसअघि मारिएका थिए। आफ्नो संगठन प्रमुख मारिएपछि हिजबुल्लाहले इजरायललाई त्यसको जवाफ दिने बताएको छ। इजरायलले पनि लेबनानबाट हिजबुल्लाहलाई सखाप पार्ने प्रतिबद्धता जनाएको छ। सोही प्रतिबद्धताअनुरूप लेबनानमा निरन्तर हवाई आक्रमण गरिरहेको इजरायलले स्थल आक्रमण पनि थालेको छ।
लेबनानमा १२ लाख मानिस विस्थापित भएका छन्। विगत दुई हप्ताको अवधिमा इजरायली सेनाको आक्रमणमा परेर लेबनानभर एक हजार २०० जनाको ज्यान गइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बिहीबार मात्र लेबनानमा ४६ जनाको मृत्यु हुनुका साथै १५१ जना घाइते भए। शुक्रबार पनि ठाउँठाउँमा आक्रमण भइरहेका छन्।
यसरी निरन्तर जारी हिंसाका बीच त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो र चिन्ता बढेको छ। वैदेशिक रोजगारीका क्रममा लेबनानमा हजारौँको संख्यामा नेपालीहरू कार्यरत छन्।
जापान, अस्ट्रेलिया, जर्मनी, भारतलगायत कतिपय देशले आफ्ना नागरिकलाई त्यहाँबाट स्वदेश फर्काइरहेका छन्। नेपालीहरूको भने उद्धार हुने/नहुने कुनै निश्चित छैन। लेबनानलाई इजिप्टको कायरोस्थित नेपाली दूतावासले हेर्छ। दूतावासका अनुसार लेबनानमा ११ सय जना नेपाली श्रमिक कार्यरत छन्। अवैधानिक भएका तथा कागजातविहीनहरूको संख्या पनि जोड्दा अझै धेरै हुनसक्ने दूतावासको अनुमान छ। यस्तै, शान्ति सेनामा ९०० जना जति छन्।
त्यहाँको पछिल्लो अवस्थाबारे लेबनानमा कार्यरत नेपालीहरू के भन्छन् त? प्रस्तुत छ लेबनानका विभिन्न स्थानबाट ह्वाट्सएपमार्फत सम्पर्कमा आएका चार श्रमिक र त्यहाँकाे मामिला हेर्ने नेपाली राजदूतले उकालोसँगको कुराकानीमा बताएको ताजा वृत्तान्त जस्ताको तस्तैः
घर पनि हल्लियो, मुटु पनि हल्लियोः जुनु आले, रामेछाप
म सन् २००९ देखि लेबनानमा कार्यरत छु। बेरुत एअरपोर्टनजिकै अस्रफीमा बस्छु।
यहाँ आएदेखि अहिलेसम्म एउटै घरमा काम गरिरहेकी छु। हामी बसेको क्रिस्चियन क्षेत्र हो। मेरो साहुनीले डराउनुपर्दैन क्रिस्चियन क्षेत्रमा आक्रमण गर्दैनन् भनेर सम्झाउनुभएको छ। तर मलाई भने डर लागेर निद्रा पनि परेको छैन। काम गर्ने घर अग्लो छ। हिजो त बमको आवाजले घर पनि हल्लियो, मुटु पनि हल्लियो।
मेरो साहुको दाही भन्ने ठाउँमा अफिस थियो, हिजो त्यहाँबाट सारेर घरमै ल्याइएको छ। म बस्ने ठाउँबाट गाडीमा १० मिनेट लाग्ने क्षेत्रमा ठूला विष्फोटहरू भएका छन्। विष्फोटपछि हामी बस्ने ठाउँमै धुवाँको मुस्लो आइपुग्दा सास फेर्न गाह्रो भएको थियो।
बेरुतनजिकै बस्ने एक जना बहिनी हुनुहुन्छ– देविका अधिकारी। उहाँको त घरको ढोका र सिसा नै फुटेको छ रे। डरले हातखुट्टा लुलो भयो भन्दै हुनुहुन्थ्यो। हामीले फोन गरेर सम्झाएका छौँ।
युद्ध शुरू भएसँगै महँगी पनि निकै बढेको छ। कति साथीले त आफू काम गर्ने कम्पनी बन्द हुँदा रोजगारी नै गुम्यो भनेर चिन्ता गरिरहेका छन्। कति त चिन्ताले बिरामी पनि भएका छन्। यहाँ कागजातविहीन भएर बसेका बहिनीहरू पनि धेरै छन्। उनीहरू घर जाने भनेर लागिरहेका छन्। तर जहाज बन्द जस्तै छ। दूतावासले पनि हामीलाई सम्पर्क गरेको छैन।
धान खाने मुसा चोट खाने भ्यागुतो भन्छन्, लेबनानमा बसेका हामी नेपालीको अवस्था पनि त्यस्तै हुने हो कि भन्ने लागेको छ।
अवस्था नाजुक छः अप्सरा खनाल
म लेबनान बसेको १९ वर्ष भयो। बेरुत एरपोर्टनजिकै बस्छु। यहाँ केयरगिभरका रूपमा काम गरिरहेकी छु। यहाँको अवस्था तपाईंहरूले समाचारमा सुनिरहनुभएजस्तै हो। अवस्था एकदम नाजुक छ। सुरक्षित बसौँ भने कहाँ जानु, कहीँ सुरक्षित ठाउँ छैन। इजरायलले गाउँदेखि शहरसम्म जता पनि हानिरहेको छ। जुनसुकै बेला जे पनि हुनसक्छ।
यी आक्रमणमा अहिलेसम्म नेपाली परेका भन्ने त सुनेको छैन, तर अफ्रिकी देशका केही महिला घरेलु कामदारको ज्यान गयो भन्ने सुनेकी थिएँ। यस्तो भद्रगोल अवस्था छ, के पो हुने हो भन्नै सकिन्न, भाग्यको भरमा छौँ भन्नुपर्यो।
मसँग नेपालीहरू त्यति धेरै सम्पर्कमा छैनन्। यहाँ मैले जसको हेरचाह गरिरहेकी छु उहाँहरू बाहिर जानुभयो भने मात्र म बाहिर जाने हो, नत्र घरभित्रै बसिन्छ। म खासै बाहिरतिर जाँदिन।
लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ भएको सुनिन्छ। यसरी बम आक्रमण भएको पहिलो पटक सुनेको हो मैले।
युद्ध रोकिने कुनै संकेत छैन। बरु अझै लम्बेला जस्तो छ। दुई महिनाको छुट्टीमा नेपाल बसेर भर्खर आएको, फेरि फर्किहाल्नुपर्छ कि भन्ने सोचेको छैन।
गाउँतिर भएका साथीहरूलाई खासै डर छैन। बेरुतमै भएका र विमानस्थलको नजिक भएकाहरूको हकमा भने सतर्क हुनुपर्ने अवस्था छ। अहिले त यहाँ जहाजहरू पनि चलिरहेका छैनन्। पछि त्यस्तै अवस्था भयो भने नेपाल फर्किनुपर्ने पनि होला।
ठीक छ तर ठीक छैन– रूपेश गौतम, झापा
हामी बेरुतमै छौँ। यहाँ मैले चिनेका अरू तीन जना नेपाली पनि हुनुहुन्छ। म फ्रेन्च सेफको रूपमा रेस्टुरेन्टमा काम गर्छु। पाँच महिना जति भयो साउदीबाट यहाँ आएको।
अहिले युद्ध झन् चर्किएको छ। टिकट पाइयो भने फर्केर आउने हो। यहाँबाट एक घण्टाको मात्र बाटो पर्ने दाहीमा युद्ध भइसकेको छ। त्यो सियाबाहुल्य क्षेत्र पनि हो। हामी बसेको क्षेत्र क्रिस्चियन इलाका भएर सुरक्षित छौँ।
काम पनि बन्द छ। स्थानीय श्रमिकहरू युद्धपछि आफ्नो घरपरिवारलाई भेट्न गएका छन्। अहिले हामी रोजगारदाताकै संरक्षणमा छौँ। बस्ने बन्दोबस्त कम्पनीले गरेको छ। खाने खर्च आफ्नै हो, महँगी बढेको छ।
डर त किन नलाग्नु र! बेलुका सुतिरहेको बेला ब्वाङ्ग आवाज सुनिन्छ। नेपाल जान पाए हुन्थ्यो भन्ने त लाग्छ नि! अब सोच्नुपर्छ चाँडै। दिनमा तीन–चारचोटि परिवारमा सम्पर्क भइराख्छ, घरपरिवारबाट पनि नेपाल आउन भनिरहेका छन्। नेपाल बसेर पनि बेरोजगार भइन्छ, परदेशमा आयो भने यस्तै–यस्तै समस्या भोग्नुपर्छ। त्यसैले के भनौँ, ठीक छ भनौँ कि ठीक छैन भनौँ।
मरे यहीँ मरिन्छ, बाँचे फर्कौंला– बुद्धु तामाङ, सिन्धुपाल्चोक
म सन् २०१२ देखि लेबनानमा छु। म बस्ने ठाउँ राबिया भन्ने पहाडी क्षेत्र हो। बेरुतभन्दा अलिकति टाढा नै पर्छ।
म त्यति धेरै डराएकी त छैन। यहाँ आएपछि पहिलो पटक यति ठूलो युद्ध भएको हो। सन् २०१५/१६ तिर एक–दुई आक्रमण भएका थिए। तर यति साह्रो त कहिल्यै भएन। अहिले फर्किन सक्ने अवस्था छैन। मेरो साहु विदेशी र साहुनी यतै लेबनानकै हुनुहुन्छ। उहाँहरूले मलाई पासपोर्ट दिइसक्नुभएको छ। केही भइहाल्यो भने तुरुन्तै उद्धार गर्न सजिलो होस्, फ्लाइट लिन सजिलो होस् भनेर।
टाठाबाठा र धनीहरू त लेबनान छाडेर विदेश गइसके। यहाँ कतिपय देशका श्रमिकहरू पनि गइसके भन्ने सुनिन्छ, उनीहरूलाई आफ्नै देशले उद्धार गरेर लगिसक्यो।
युद्ध चर्किंदै गयो भने त कुनै ठाउँ पनि सुरक्षित रहन्न होला। त्यसपछि त मर्नुभन्दा अर्को विकल्प नै रहन्न। भाग्यकै भरमा बसिएको छ अहिलेसम्म त। मरे यहीँ मरिन्छ, बाँचे फर्कौैंला।
सुशीलकुमार लम्साल– इजिप्टका लागि नेपाली राजदूत
आक्रमण भएका धेरै ठाउँहरू हिजबुल्लाहको हतियार भण्डारण र सियाबहुल इलाका हो। नेपाली कार्यरत क्षेत्र क्रिस्चियन र सुन्नि समुदायको बाहुल्य रहेको उत्तरी लेबनानमा पर्छ। ती क्षेत्रमा इजरायली सेनाले आक्रमण गरेको छैन। त्यसकारण नेपालीसँग हामीले सम्पर्क गर्दा आफूहरू सुरक्षित नै रहेको बताउनुभएको छ। तर कतिपय ठाउँमा बाहिर निस्किने अवस्था नरहेको उहाँहरूको भनाइ छ।
बेरुतबाट कमर्सियल फ्लाइट कमै भए पनि कतिपय नेपाली चल्नचाहिँ चलिरहेको पाएका छौँ। कतिपयले टिकट काटेर नेपाल र अन्यत्र जाने व्यवस्था पनि गर्दै हुनुहुन्छ। नेपालीसँग हामी निरन्तर सम्पर्कमै छौँ। अनलाइन पोर्टल पनि बनाएका छौँ। उद्धार गर्नुपर्ने अवस्था भएकाहरूले त्यसमा रजिस्टर गर्न सक्नुहुन्छ। अहिलेसम्म १०० जनाले रजिस्टर गरिसक्नुभएको छ। नेपालीले सम्पर्क गरेर आफ्नो अध्यावधिक सूचना पठाइरहनुभएको छ। अहिलेको अवस्थासम्म उहाँहरूलाई त्यति ठूलो खतरा भएको जस्तो लाग्दैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
