खेलप्रतिको मायाले मलाई कहिल्यै आफूअनुरूप हुन दिएन। खेलले मलाई विशेष मान्छे बनाउँछ वा नयाँ आकार दिन्छ भनेर खेलेकी थिइनँ, मलाई त बस् खेलसँग प्रेम थियो।
सानो छँदा रमाइलोको लागि म जे गरिरहेकी हुन्थेँ, त्यसलाई ‘खेल’ भनिन्छ भन्ने पत्तै थिएन। मैले कहिल्यै सोचेकी थिइनँ आखिर त्यही खेलले मलाई भलाईको बाटोमा डोर्याउन सक्छ।
म अझै पनि आफूलाई एक गाउँले केटीको रूपमा स्पष्ट सम्झन्छु, जो कागज र झुम्राले भरिएको मोजाको बल खेल्ने गर्थी। ६/७ वर्षको उमेर थियो होला, समूहमा मबाहेक केटी साथीहरू कोही हुन्थेनन्। केटाहरूलाई हराउनु, गोल गर्नु र आफ्नै लागि ताली बजाउनु आज मसँग भएका सबैभन्दा मिठा सम्झनाहरूमध्ये केही हुन्।
त्यस बेला मलाई खेलमा लिंगले पनि भूमिका खेल्छ भन्ने थाहा थिएन। तर सामाजिक परिवेशले त्यसो हुन बाध्य पार्दो रहेछ। एक दिन आमाबुवाले मलाई सम्झाउँदै भने, “केटीहरूले केटाले जस्तै बाहिर खेल्नु हुँदैन, भान्सामा काम गर्नुपर्छ।”
उहाँको कुरा नमानेमा गाली र थप्पड खानुपर्ने बाध्यता एकातर्फ, अर्कोतर्फ खेलप्रतिको मेरो मायाले मलाई कहिल्यै आफूअनुरूप हुन दिएन। खेलले मलाई विशेष मान्छे बनाउँछ वा नयाँ आकार दिन्छ भनेर खेलेकी थिइनँ, मलाई त बस् खेलसँग प्रेम थियो।
सन् २०१४ मा सोलुखुम्बुको सानो पहाडी गाउँबाट सरकारी छात्रवृत्तिमा बुढानीलकण्ठ स्कुल (बीएनकेएस)मा कक्षा ५ मा भर्ना नभएसम्म मैले खेलकुदको वास्तविक मूल्य बुझ्न पाएकी थिइनँ। झन् काठमाडौँ आएर म शहरका प्रतिभा र फरक संस्कृतिको भिडमा हराएँ। तर बीएनकेएसमा विभिन्न 'प्यारालल हाउस'हरू बीचको मौसमी खेल प्रतियोगिताले मलाई ‘ममा पनि केही क्षमता छ है’ भन्ने आभास गराएको थियो।
म अझै पनि बुढानीलकण्ठ स्कुलमा भएको मेरो पहिलो कबड्डी प्रतियोगिता सम्झिन्छु। मेरो त्यो पहिलो प्रतियोगिता थियो होला तर हाम्रो टिम विजयी भयो। गाउँमा हुँदा गरेको अभ्यासले प्रतियोगिता जित्नमा ठूलो सहयोग गर्यो। गाउँमा विद्यालय वरपरका बाँझा खेतहरूमा ‘टिफिन ब्रेक’ बिताउन हिउँदको समयमा हामी यस्तै खेल खेल्थ्यौँ। त्यसरी नै सिकेको खेलले मलाई शहरमा च्याम्पियन बनायो।

खेलकुदमा नेतृत्वको मेरो यो पहिलो अनुभव थियो, किनकि मलाई टोलीको कप्तान नियुक्त गरिएको थियो। म केवल आफ्नै लागि खेलिरहेकी थिइनँ बल्कि टोलीको लागि निर्णय गर्न, टोलीका साथीहरूलाई सिकाउन, प्रेरित गर्न र विजय सुनिश्चित गर्न जिम्मेवार थिएँ। यस भूमिकाले मलाई जिम्मेवारीको भार र हेरचाहका साथै नेतृत्वको महत्त्व महसुस गरायो।
त्यसपछि मैले खेलकुदमा मेरो क्षमता पत्ता लगाउन र आफूलाई अब्बल बनाउनमा ध्यान दिएँ। अरूले मलाई एक कुशल खेलाडीको रूपमा चिने। समय बित्दै जाँदा, मेरो ध्यान केवल खेल्नेबाट नेतृत्व गर्नेमा सरेको थियो। बीएनकेएसमा मलाई धेरै टोलीहरूको कप्तानीको जिम्मा दिइएको थियो र सन् २०१८ मा मेरो हाउस (साइपाल हाउस)का लगभग ८० केटीहरूको कप्तान बनेँ। यो भूमिका सबैभन्दा पुरस्कारदायी अनुभवमध्ये एक थियो। यसले मेरो जिम्मेवारीको भावनालाई बलियो बनाउँदै र मेरो आत्मविश्वास बढाउँदै लग्यो। साथै त्यहाँबाट मैले निष्पक्षताको लागि लड्न, आफ्नो टोलीलाई समर्थन गर्न र सहानुभूतिपूर्वक नेतृत्व गर्न पनि सिकेँ।
यद्यपि, म अझै लजालु थिएँ। त्यसैमाथि विशेष गरी मेरो सीमित ज्ञान र भाषा दक्षताका कारण धेरै क्षेत्रहरूमा आत्मविश्वासको कमी थियो। त्यहीबीच खेलकुद मेरो व्यक्तिगत विकासको लागि माध्यम बन्यो। खेलमा कप्तान बनेपछि, मलाई पछि २०१८/१९ मा तिलिचो हाउसमा उप-हाउसका लागि डिपुटी हाउस कप्तान र ईसीए समन्वयकका रूपमा नियुक्त गरियो। पछि २०१९/२० मा ७५ केटीहरूको छैटौँ हाउसको लागि पहिलो हाउस कप्तान नियुक्त गरिएको थियो। यी नेतृत्व भूमिकाहरू मार्फत मैले हरेक व्यक्तिको आवाज बन्न, करुणा र निष्ठासहित नेतृत्व गर्न जस्ता महत्वपूर्ण पाठ सिकेँ।
कोभिड–१९ महामारीले २०२० मा सबै कुरामा रोक लगाएको थियो। तर कोरोनाकै बेला २०२२ मा मैले एउटा नयाँ अवसर पाएँ। अमेरिकी राज्य विभाग र नेपालस्थित अमेरिकी दूतावासले आफ्नो खेलकुद भ्रमण कार्यक्रममार्फत युवा महिला सशक्तीकरणका लागि पाँच युवा महिलाहरूमध्ये एक जना मलाई पनि छनोट गरेको थियो।

न्यु जर्सीमा आयोजित दुई हप्ताको उक्त कार्यशालाले विश्व खेलकुद र खेल नेतृत्वको नयाँ संसारमा मेरो आँखा खुलाइदियो। जुली फाउडी र तामिका क्याचिङ जस्ता प्रसिद्ध एथलिटहरूको मिटिङ हल र जुली फाउडी स्पोर्ट्स लिडरसिप एकेडेमी (जेएफएसएलए)का प्रशिक्षकहरूले नेतृत्व गरेका कार्यशालाहरूमा भाग लिँदा नेतृत्वप्रतिको मेरो बुझाइ पुनर्गठित भयो। उक्त एकेडेमीको सहकार्यमा आयोजित ती कार्यशालामार्फत केटीहरू बीच खेलकुदको विकासबारे थप जान्न अवसर पनि मिल्यो। एकेडेमीको प्राथमिक लक्ष्य खेलकुद र नेतृत्व तालिमलाई जोडेर केटीहरूलाई मैदानमा तथा बाहिर सशक्त बनाउनमा मद्दत गर्नु हो।
एकेडेमीले खेलकुद तालिमलाई व्यक्तिगत विकास, टीमवर्क र सामाजिक उत्तरदायित्त्वसँग जोडेर कम उमेरदेखि नै नेतृत्व कौशल निर्माणमा जोड दिन्छ। विश्वभरका अद्भुत प्रशिक्षकहरूसँगको अनुभव र स्थायी सम्बन्धका साथ अनुभव रूपान्तरणकारी थियो। मैले त्यहाँ ‘नेतृत्व पदस्थ होइन, व्यक्तिगत हो’ भन्ने कुरा सिकेँ। त्यहाँ उपस्थित खेल क्षेत्रका विशिष्ट व्यक्तिहरूसँग आफ्ना कथा साझा गर्दै म गाउँमा महिलाहरूको वकालत गर्नुपर्छ भन्नेमा झन् दृढ भएँ।
कार्यक्रमपछि, हामीलाई अमेरिकी राज्य विभागद्वारा कार्य योजना परियोजनाहरू सिर्जना गर्ने अवसर दिइयो। त्यहाँबाट छनौट गरिएका परियोजनाहरूलाई २,५०० डलरको फन्डिङ प्राप्त भयो। सौभाग्यवश, मेरो परियोजना मनोनित गरिएको थियो। मैले सोलुखुम्बुको मेरो गाउँ नेचा सल्यानमा युवा खेलाडीरूको विकासमा केन्द्रित खेलकुदको क्षेत्रमा योगदान पुर्याउने योजना बनाएकी थिएँ। यसरी नेपाल फर्कंदा, मैले जिम्मेवारीका साथै नयाँ नेतृत्व कौशल र अनुभवको गहनता महसुस गरेँ।
उक्त फन्डबाट मैले स्थानीय सरकार र नेचासल्यान तेक्वान्दो डोजाङसँग समन्वय गरेकी छु। हामीले मिलेर युवा खेलाडीहरूलाई तालिम दिनमा भएका चुनौतीहरूको बारेमा पनि छलफल गर्यौँ, जसमा सहभागी र स्रोतहरूको कमी समावेश छ। फन्डका साथै मैले आर्थिक अवस्था कमजोर भएका खेलाडीहरूलाई पूरक प्रशिक्षण सामग्री र तेक्वान्दो पोशाकहरू पनि प्रदान गरेँ। साथै आर्थिक अवस्थाका कारण कोही पनि खेल्नबाट बञ्चित नहुन् भनेर हामीले स्थानीय सरकारसँग प्रशिक्षकको तलबमा अनुदान दिने सम्भावनामा पनि छलफल गरेका थियौँ।
मैले १५ दिनसम्म तालिम सत्रहरू पछ्याएको छु, खेलाडीहरूलाई आत्मानुशासन, प्रतियोगिताका बेला बलियो मानसिकता राख्ने, मानसिक स्वास्थ्य, निरन्तरता र खेल भावना सिकाउँदै छु, जुन मैले अमेरिकामा सिकेकी थिएँ। थप रूपमा, मैले युवा महिला खेलाडीहरूसँग स्वच्छता र महिनावारी स्वास्थ्यको महत्त्व र खेलकुदमा समान सहभागिता जस्ता विशेष सत्रहरू पनि आयोजना गरेकी छु।
जब म बुझ्ने थिइनँ, त्यतिबेला गरेका गल्तीहरूले मलाई बलियो बनायो। समग्रमा यी अनुभवबाट मैले कसैलाई वास्तवमै समर्थनको आवश्यक पर्दा समुदायलाई फिर्ता दिने मूल्यमान्यता सिकेकी छु।
यसो पछाडि फर्केर हेर्छुं, मैले प्राप्त गरेका अवसरहरू खेलकुदमा मेरो लुकेको क्षमता र बुढानीलकण्ठ स्कुलमा पाएको मान्यताबाट उत्पन्न भएका हुन्। आज म जे छु त्यसलाई विगतमा मैले लिएका जिम्मेवारीहरूले आकार दिएको हो भन्ने मलाई लाग्छ। त्यसैले ती जिम्मेवारीहरूको लागि म अत्यन्तै आभारी छु।
सोलुको गाउँबाट आएर शहरको नयाँ संस्कृति र भाषाको बीचमा हराएको महसुस गरिरहेको बेला खेलकुद मेरो आत्मविश्वास र नेतृत्व निर्माणको कुन्जी बनिदियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
