आखिर किन मानिस भोकभोकै पर्छन्? एफएओ भन्छ– ३० देखि ४० प्रतिशत खाद्यवस्तु खेर जान्छ। खाद्यान्न बाली भित्र्याउने, भण्डारण गर्ने, आपूर्ति गर्ने तथा खाने ढंग नपुग्दा खानेकुरा नष्ट हुन्छ।
विश्व खाद्य तथा कृषि संगठन (एफएओ)ले सन् २०२३ मा सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २००० र २०२१ बीच विश्वमा कृषि तथा वन क्षेत्रको आर्थिक योगदान ८४ प्रतिशतले वृद्धि भएको छ। उक्त क्षेत्रबाट विश्वले वार्षिक तीन हजार ७०० अर्ब अमेरिकी डलर आर्जन गर्छ। तर विश्वको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान भने चार प्रतिशतमा स्थिर छ। सन् २००० मा कृषि क्षेत्रले विश्वको ४० प्रतिशत जनसंख्यालाई रोजगारी प्रदान गरेको थियो भने सन् २०२१ मा आइपुग्दा उक्त संख्या घटेर २७ प्रतिशतमा झरेको छ। घट्दा उक्त वर्ष विश्वमा ८७ करोड ३० लाख मानिस कृषि क्षेत्रमा रोजगार थिए।
सन् २०२१ मा विश्वमा चार अर्ब ७९ करोड हेक्टर जमिनमा खेती गरिएको थियो। सोमध्ये दुईतिहाइ भागमा पशुपालनका लागि घाँस खेती गरिएको थियो। सन् २००० देखि २०२१ को बीचमा विश्वमा मुख्य खाद्यान्न बालीको उत्पादनमा ५४ प्रतिशतले वृद्धि भई नाै अर्ब ५० करोड मेट्रिक टन पुगेको थियो। यसमध्ये आधा हिस्सा मुख्य बाली उखु, मकै गहुँ र धानले ओगटेको छ। यसैगरी, उक्त अवधिमा मासु उत्पादनमा ५३ प्रतिशतले वृद्धि भई ३५ करोड ७० लाख टन पुगेको थियो। त्यसमा बंगुर र कुखुराको मासुको मात्रा सबैभन्दा बढी थियो। उक्त अवधिमा दुधजन्य पदार्थको उत्पादनमा ५८ प्रतिशतले वृद्धि भई ८८ करोड ४० लाख टन उत्पादन भएको थियो। यसैगरी दुई अर्ब टन फलफूल उत्पादन भयो। १८ करोड २० लाख टन माछा तथा समुद्री खाद्यवस्तु उत्पादन भएको थियो।
एफएओ तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तर्कअनुसार उमेरअनुसार एक व्यक्तिलाई सरदर दैनिक दुई हजारदेखि २५ सय किलो क्यालोरी ऊर्जा आवश्यक पर्छ। लिंगका हिसाबले हेर्दा महिलालाई १८ सयदेखि २४ सय क्यालोरी र पुरुषलाई दुई हजारदेखि तीन हजार क्यालोरी ऊर्जा आवश्यक पर्छ। सामान्यतः खाद्यान्नमा पाइने तत्त्वका आधारमा क्यालोरी फरक पर्छ, जस्तै: कार्बोहाइड्रेट र प्रोटिनमा प्रतिग्राम चार क्यालोरी ऊर्जा पाइन्छ भने बोसोमा प्रतिग्राम नाै क्यालोरी पाइन्छ।
सन् २०२३ मा विश्वको जनसंख्या आठ अर्ब नाघ्यो। राष्ट्रसंघकै तर्कअनुसार सो जनसंख्याका लागि वार्षिक दुई अर्ब २० करोड टन खाद्यान्न आवश्यक पर्छ। हाल उत्पादन भएको खानाले विश्वको जनसंख्यालाई पर्याप्त पुग्छ। राष्ट्रसंघकै अर्को निकाय विश्व खाद्य सुरक्षा तथा पोषण निकाय (सोफीको)तथ्यांक अनुसार अझै पनि विश्वमा ७३ करोड ३० लाख मानिस साँझमा खाना खान नपाई सुत्न बाध्य छन्। उक्त निकायले हरेक ११ जना मानिसमा एक जना भोकै परेको तथ्यांक प्रस्तुत गरेको छ।
आखिर किन मानिस भोकभोकै पर्छन्? एफएओ भन्छ, ३० देखि ४० प्रतिशत खाद्यवस्तु खेर जान्छ। फार्म टु फोर्क अथवा गोठदेखि ओठसम्म र आलिदेखि थालीसम्म पुग्नुअघि सो खानेकुरा खेर जान्छ। खाद्यान्न बाली भित्र्याउने, भण्डारण गर्ने, आपूर्ति गर्ने तथा खाने ढंग नपुग्दा खानेकुरा नष्ट हुन्छ।
खाना नष्ट गर्ने स्थलमध्ये पहिलो नम्बरमा घरपरिवार पर्छ। खेर फालिनेमध्ये सबैभन्दा बढी अथवा ६१ प्रतिशत खाना घरपरिवारबाट नष्ट हुन्छ। सत्र प्रतिशत खाना रेस्टुरेन्ट वा होटेल आदिजस्ता खाना ख्वाउने ठाउँबाट नष्ट हुन्छ भने १३ प्रतिशत खाना किनबेचका क्रममा नष्ट हुन्छ।
अमेरिका तथा युरोपका धनाढ्य परिवारमा प्रतिव्यक्ति वार्षिक ९५ केजी देखि १११ केजी खाना खेर फालिन्छ। अफ्रिका तथा एशियामा प्रतिव्यक्ति पाँचदेखि ११ केजी खाना फालिन्छ। संयुक्त राष्ट्रसंघीय खाद्य एवम् कृषि संगठन (एफएओ) को तथ्यांकअनुसार यसरी फालिने खानाको परिमाण वार्षिक एक अर्ब ३० करोड टन हुन्छ। खाना खेर जाँदा यसको क्षति यसले वातावरणमा पर्ने असरको मूल्य जोड्दा एक हजार अर्ब अमेरिकी डलर पर्छ। यदि फ्याँकिने यही खानामात्र संचित गर्न सके थप दुई अर्ब मानिसलाई वर्षभर खान पुग्छ।
खेर गएको खाना उत्पादनका लागि मात्र दुई लाख ५० हजार अर्ब लिटर पानी खर्च हुन्छ। यसैगरी उक्त खाना उत्पादन गर्न एक अर्ब ४० करोड हेक्टर जमिन ओगटिन्छ भने खेतीमा प्रयोग हुनेमध्ये ३० प्रतिशत ऊर्जा खर्च हुन्छ। सबैभन्दा डरलाग्दो विषय हो, यसैले मात्र आठ देखि १० प्रतिशतसम्म हरितगृह ग्यास उत्पादन गर्छ। समग्र कृषि क्षेत्रले भने ग्यास उत्सर्जनको ३० प्रतिशत हिस्सा ओगट्छ।
विश्वको जनसंख्या सन् २०१० कै अनुपातमा बढ्ने हो भने सन् २०५० मा १० अर्ब पुग्ने अनुमान छ। उक्त जनसंख्यालाई ख्वाउनका लागि सन् २०१० का तुलनामा ५० प्रतिशत खाद्यान्न वृद्धि गर्नुपर्छ। हालको हिसाबमा त्यस जनसंख्यालाई वार्षिक तीन अर्ब टन खानेकुरा चाहिन्छ। एकातिर यस्तो वास्तविकता छ भने अर्कोतिर माटोको गुणस्तर बर्सेनि बिग्रँदै गएको छ। राष्ट्रसंघको तथ्यांकले विश्वको ३३ प्रतिशत माटो बिग्रिसकेको बताउँछ। एफएओका अनुसार वर्षमा २५ अर्ब टन माटो बगेर वा क्षयीकरणबाट नष्ट हुन्छ। बालीनालीमा अनावश्यक रूपमा रसायन तथा विषादीको प्रयोग पनि माटो बिग्रनुको एउटा कारण हो। अस्वस्थ माटोले अझ बढी हरितगृह ग्यास उत्सर्जन गर्छ।
बढ्दो जनसंख्यालाई ख्वाउन र भावी पुस्तालाई स्वस्थ बनाउन विश्वका सरकारले स्मार्ट फुड प्रणाली विकास गर्नुपर्ने अध्येताहरूले सुझाव दिएका छन्। एफएओ र विश्व बैंकले संयुक्त रूपमा सन् २०२१ मा एशियाका द्रुत शहरीकरण हुँदै गरेका १७० वटा शहरमा गरेको अध्ययनले मात्र आठ प्रतिशतले स्मार्ट फुड अथवा चुस्त खाद्य प्रणाली विकास गरेको पाइएको थियो। दक्षिण एशियाका तीन वटा शहर कोलम्बो, पुणे र नयाँ दिल्लीले मात्र चुस्त खाद्य प्रणालीसम्बन्धी कानूनी व्यवस्था गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
चुस्त खाद्य प्रणालीमा खानाको दिगो छनोटलाई पहिलो प्राथमिकतामा राखिन्छ। यसभित्र स्थानीय खाद्य वस्तुलाई प्राथमिकता, ऋतु अनुसारका खाद्य वस्तुको उपभोग र वनस्पतिमा आधारित खाद्यवस्तु उपभोग गर्ने बानी बसाउनुपर्ने कुरा पर्छन्।
सन् १९७० अघि नेपालका ग्रामीण क्षेत्रमा आफ्नो घरमा जे छ, त्यही खाने बानी थियो। अन्यत्रबाट अन्न किनेर खानुलाई 'बेसाहा खाने' भनिन्थ्यो। त्यस्तो परिवारलाई समाजमा हेय दृष्टिले हेरिन्थ्यो। आफ्नै करेसाबारी र खेतमा सबै थोक उत्पादन गरिन्थ्यो। नुन, मट्टितेल र कपडामात्र बजारबाट किनेर ल्याउने प्रचलन थियो। बजारे खानेकुराको प्रयोग बढ्दै जाँदा स्थानीय उत्पादन बेवास्तामा पर्न थाल्यो। हाल आएर स्वास्थ्यका कारण पुरानो पुस्ताले आफैं उब्जाएर खान थाल्नेसमेत छन्, तर अनेकौँ कारणले गर्दा नयाँ पुस्ता यसप्रति उति आकर्षित हुन सकेको छैन।
'मंसिरमा काँक्रो खान पाए गति परिन्छ' भन्ने पुस्ता अझै बाँकी छ, तर अचेल बाह्रै महिना काँक्रा खान पाइन्छ। यसले हामीलाई ऋतु अनुसारका फलफूल तथा तरकारीमात्रै खान पाइने बाध्यताबाट मुक्त पारेको छ। तर के कुरा ख्याल गर्नुपर्छ भने जुन सिजनमा जे फल्दैन, सोही सिजनमा त्यही खाद्य वस्तु उत्पादन गर्न अप्राकृतिक तरिका अपनाउनुपर्छ, जो समग्र प्रकृति र मानव स्वास्थ्य दुबैका लागि उति उचित हुँदैन।
त्यस्तै, पशुपक्षीमा आधारित खाद्य वस्तुलाई प्रोटिन र फ्याटको मुख्य स्रोत मानिन्छ, यिनीहरूको उपभोग पनि घटाउन चुस्त खाद्य प्रणालीले सुझाव दिएको छ। विश्वको ७० प्रतिशत खेतीयोग्य जमिन पशुपालनमा खर्च हुन्छ भने यसले २० प्रतिशत हरितगृह ग्यासको हिस्सा ओगट्छ। सात केजी दाना खाँदामात्र एक केजी चौपायाको मासु उत्पादन हुने अध्ययनले देखाएको छ। त्यसैगरी उत्पादन मूल्य पनि फरक पर्छ। सय क्यालोरी ऊर्जा प्रदान गर्ने मासु उत्पादन गर्न तीन देखि १० अमेरिकी डलर र माछा उत्पादनमा १५ डलरसम्म खर्च लाग्छ भने सोही अनुपातमा सय क्यालोरी ऊर्जा दिने अन्न उत्पादन गर्न ४० सेन्ट, तरकारी उत्पादन गर्न बढीमा एक डलर तथा फलफूलका लागि दुई डलरसम्म खर्च लाग्छ। त्यसो हुँदा माछामासु खाने हुन् या शाकाहारी, आफूले खाने कुराबाट पाइने पोषण तत्त्वबारे बुझेर सन्तुलित भोजन खानु आवश्यक छ।
चुस्त खाद्य प्रणालीको अर्को विषय हो, खाना खेर जान नदिनु। वार्षिक खाद्य योजना बनाइ ठिक्क चाहिने मात्र खरिद गर्ने, उचित भण्डारण व्यवस्थापन गर्ने र बाँकी खानेकुरा नफाल्ने कुरा यसभित्र पर्छन्। खासगरी रेस्टुराँ तथा पार्टीहरूमा मानिसले खाना फालेको देख्दा चित्त दुख्छ। खाद्यवस्तु उत्पादन गर्न लाग्ने खर्च हिसाब गर्ने हो भने त्यस्ता मानिसलाई दण्डित गर्ने कानूनको आवश्यकता छ। यस्तो बानीका कारण भोकमरी सधैं रहिरहन्छ।
अर्को पक्ष हो, चेतनशील खुवाई। खानामा ध्यान केन्द्रित गरेर खाँदा सहज पाचन हुने बताइएकाले खाना खाँदा ग्याजेट हेर्ने, गफ गर्ने वा राम्ररी नचपाई खानु राम्रो मानिँदैन।
अर्को पक्ष हो, दिगो अभ्यास। यसअन्तर्गत जैविक खेती प्रणाली र नैतिक व्यवस्था पर्छन्। जैविक खेती प्रणाली अपनाउँदा माटोको उर्वरा शक्ति क्षय हुन रोकिन्छ। यसले उत्पादन मूल्य र वातावरण दुवैलाई सहयोग गर्छ। नैतिक प्रश्नअन्तर्गत प्राणी तथा पशुपक्षीमाथि गरिने व्यवहारसमेत पर्छन्। तराइबाट काठमाडौँ उपत्यकाभित्र राँगाभैंसी ल्याएको देख्दा हामी अझै पनि जंगली युगबाट माथि नउठेको प्रस्ट हुन्छ। यसबारे आजसम्म न त सञ्चार माध्यमले नै उचित स्थान दिएका छन्, नत सरकारले नै वास्ता गरेको छ। यसले पशुपक्षीलाई त दुःख दियो दियो, हेर्ने र सुन्नेको मन पनि खिन्न हुन्छ। मर्दैछु भन्ने जानकारी पाएर आत्तिएका या लामो यात्राले थकित पशुको मासु कम गुणस्तरको हुन्छ। यो छुट्टै चर्चाको विषय हो।
त्यस्तै, छिटो बढाउने निहुँमा वनस्पतिमा पनि अनावश्यक रसायनको प्रयोग गरे बिरुवा त बोल्दैन, तर त्यसले हाम्रो शरीरले पचाउन नसक्ने किसिमको खाद्यवस्तु प्रदान गर्छ।
पोषण तथा स्वास्थ्य शिक्षा अर्को विषय हो। यसअन्तर्गत खानेकुरासम्बन्धी ज्ञान र शिक्षा मुख्य विषय हुन्। कुन वस्तुमा के पाइन्छ र शरीरका लागि दैनिक के कति पोषक तत्त्व आवश्यक पर्छ भन्ने विषय यसअन्तर्गत पर्छन्। स्थानीय खाद्य वस्तुको छनोट यहाँ पनि जोड्नुपर्छ। 'भालुको मन खन्युमाथि' भन्ने एउटा भनाइ नै छ। खन्यु अथवा खनायो एक प्रकारले डाले घाँस हो। यसमा दाना लाग्छ, जो भालुले असाध्यै मन पराउँछ। यसको कारण हो, यसमा पाइने पौष्टिक तत्त्व।
हिमाल र सागरमा बस्नेबाहेक अन्य ठाउँका भालु सामान्यतः शाकाहारी हुन्छन्। आक्कलझुक्कल मात्र मासु खान्छ। त्यसैले उसले पोषणका लागि खन्युको दाना खोज्छ। यही खनायोबाट हाल अंजिर नामक फल विकास गरिएको छ। अंग्रेजीमा फिग भनिने यो फल निकै महँगो मानिन्छ। बजारमा पाइने फिग खानुको सट्टा बारीमा फलेको खनायो खानेबारे जानकारी पाए हामी सस्तोमा राम्रो फल खान पाउँछौं।
चुस्त खाद्य प्रणालीअन्तर्गत अर्को विषय हो, खाद्य शिक्षा तथा सामुदायिक बगैंचा। यसअन्तर्गत स्थानीय समुदायलाई खानासम्बन्धी शिक्षा प्रदान गर्ने आफूलाई आवश्यक पर्ने र आफ्नो ठाउँमा फल्ने अन्नबाली तथा फलफूल उत्पादन गर्नेबारे व्यवहारिक ज्ञान प्रदान गरिन्छ।
यसो गरे हामी भोकभोकै बस्नु पर्दैन। नत्र हामी पनि बिस्तारै भोकमरीको दुष्चक्रमा फस्छौं। भनिन्छ, अहिले एक बोरा अन्न बेचेर ग्याजेटमा प्रयोग हुने एउटा चिप्स किनिन्छ। कुनै दिन एक बोरा चिप्स बेचेर एक थैलो अन्न किन्ने बेला आउँछ।
नेपालको सन्दर्भमा यो दिन त्यति टाढा छैनझैं लाग्छ। खेतीप्रति अझ वितृष्णा बढ्ने र सरकारले कान ओछ्याएर बस्ने क्रम जारी रहे जति नै रेमिटेन्स आए पनि खानामै सो सकिन्छ। आज अरू देशले उत्पादन गरेको खाद्यान्न सहजै बजारबाट किनेर खान पाउँदा कसैलाई चासो छैन। कुनै दिन भारतले मात्र खाद्यान्न बन्द गरोस् त, अनि देखिन्छ हाम्रो औकात।
भारतले त्यसो किन पनि गर्नसक्ला भने खाद्यान्न उत्पादनमा ठुलो धनराशि खर्च हुन्छ। आफूले सहुलियत कर्जा र अनुदान प्रदान गरेर उत्पादन गरेको अन्न सस्तोमा किन दिने भनेर बन्द गर्ने या मूल्य बढाउने सम्भावना छ। भारतमा अहिले पशुपक्षी निर्यातमा रोक लगाइएको छ। यसैगरी खाद्यान्नमा लगायो भने हाम्रो हालत के होला? जब मानिस भोकाउँछ, त्यसपछि लुटपाट शुरू हुन्छ। कालान्तरमा यसै कारण देशको स्वाधीनता नै खतरामा पर्न पनि सक्छ।
(ओझाले कृषि सञ्चारमा विद्यावारिधि गरेका छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
