परिवार विघटनका केही घटनालाई लिएर महिलालाई बढी दोषी देखाउन खोजिन्छ, त्यो सही होइन। महिलालाई लाञ्छित गर्नुको मूल कारण समाजमा गहिरोसँग गाडिएर रहेको पितृसत्तात्मक सोच हो।
हाम्रोजस्तो समाजमा महिलालाई जन्मेदेखि नै यस्तो साँचोमा ढालिन्छ कि आजका दिनमा समेत 'महिलाका सहारा केबल पुरुष हुन्' झैं सोच छ, जबकि पूर्ण समतामूलक समाज हुन्थ्यो भने जोसुकै मान्छे सहजै स्वनिर्भर र स्वाभिमानी बन्न पुग्थे। कसैले कसैको सहारा खोज्नेभन्दा पनि आफ्नो बुतामा आफ्नो 'करियर' या व्यक्तित्व चम्काउने कुरा हुन्थ्यो। सम्पूर्ण रूपमा त्यही नभएकै कारण अहिले पनि समाजमा स्थापित हुन या केन्द्रीय राजनीतिमा आफ्नो छवि बनाउन खोज्दा महिलाका अघि कैयौँ घरायसी, सामाजिक र सांस्कृतिक तगारा तिनका अगाडि आइपर्ने गरेको छ।
त्यसका अलावा अधिकांश घरपरिवारमा आफ्नै घरभित्र र नातेदारबाट महिलाले हिंसा भोग्छन्। अफिस, कलकारखाना, बसपार्क र बजारजस्ता क्षेत्रमा महिलालाई गिद्धेदृष्टिले अझै हेरिइन्छ। महिलामाथि हुने दुर्व्यवहार एवं हिंसाका समाचार हामी अनेकन् मिडियामा सुनिरहेकै छौँ। सबैतिरबाट यसरी दबाब र तनाव झेल्नुपर्दा महिलाहरू दिग्भ्रमित हुन पुग्छन्। त्यसपछि 'लौ, यस्तै रहेछ जुनी' भन्दै परम्परागत जीवनशैली बाँच्न कतिपय महिला बाध्यसमेत हुन्छन्।
यी सबैका बाबजुद पनि पखेटा फुकाएर बाँच्न चाहने महिला भने छन्। ती स्वाभिमानी र स्वतन्त्र महिला हुन्। खासगरी शिक्षा, यातायात र आधुनिक मान्यता र जीवनशैलीका कारण पहिलेभन्दा महिलाले आफ्नो भूमिका र स्थान बढी खोज्न थालेका छन्। 'परम्परागत थिचोमिचो'बाट उम्केर पुरुषसँग कुम जोडेर कतिपय ठाउँमा प्रतिस्पर्धामा समेत उत्रिएका छन्।
केही दशक अघिसम्म नेपाली समाजका सबै घरका 'स्वामी' लोग्ने नै हुन्थे, जायजेथा सबै तिनकै नाममा हुन्थे। परिवारका महिला र बालबच्चासमेत घरखेत र पशुपालनका काममा लाग्दा पनि लोग्नेकै कमाइले पालिएको कथन सबैतिर चल्थ्यो। 'लोग्नेले स्वास्नी पाल्ने' भनिन्थ्यो। अब त्यो समय रहेन।
धेरैजसो गाउँले अब शहरको चरित्र ग्रहण गर्न थालेका छन्। त्यसो हुँदा सबै परिवार पालिन खेतीपाती र पशुपालनले सम्भव हुने या एक जनाको नियमित कमाइले नधान्ने अवस्था सिर्जना भएको छ। सोही कारण पनि महिलाहरू घरबाहिरसमेत पुगेर कमाएर ल्याउन थालेका छन्। अहिले त कतिपय परिवारमा 'स्वास्नीले लोग्ने पाल्ने'समेत अवस्थासमेत सिर्जना भएको छ। यद्यपि, त्यस्ता पुरुष अझै छन्, जो आफ्ना श्रीमती या दिदीबहिनी घरबाहिर नजाउन् भन्ने चाहन्छन्। 'महिला स्वतन्त्र भए बर्बाद हुन्छ' भन्ने रूढीग्रस्त र प्रतिगामी धारणा बोक्छन्।
परिवारभित्रको कलहको मूल जड संस्कार, व्यवहार, शक्ति र यौनसमेत हुने गरे पनि मूल विषय आर्थिक नै हो। पतिपत्नी र सासूससुरासँग बुहारीको सम्बन्धमा पनि आर्थिक सम्बन्ध पक्कै जोडिन्छ। अर्को कुरा, 'खाली दिमाग सैतानका घर' भनेझैं मान्छेहरू बेकार बस्न थालेपछि पनि घरमा झगडा बढ्न जान्छ। अतः खाली हात नबस्ने अभ्यास एउटा 'सबै रूपमा स्वस्थ्य परिवार'का लागि आवश्यक छ। अतः छोरी हुन् या बुहारी, परिवारका सबै शारीरिक र मानसिक रूपमा सक्षम व्यक्ति कुनै नै कुनै रूपमा सक्रिय रहनु या जागिरमा हुनु राम्रो हो।
जागिर धेरैका लागि आर्थिक गर्जो टार्ने माध्यम हो। केहीका लागि आफूलाई शारीरिक र मानसिक रूपमा सक्रिय राख्ने उपाय हो भने कतिका लागि सामाजिक प्रतिष्ठाको विषय। अनुभव र व्यवहारले देखेको कुरा, जागिरे महिला भएका घरमा कलह स्वतः कम हुन्छन्। स्वयं जागिरे महिलामा पनि आत्मसम्मान र गर्वको भाव ज्यादा हुन्छ। जुन घरका आमाहरू हिम्मतिला र साहसी छन्, त्यस घरका सन्तान स्वतः उत्तिकै आत्मविश्वासी हुन्छन्।
९० को दशकपछि कृषि छाडेर धेरै युवा शहर छिरे। त्यसकै दशक र पछि युवा बिदेसिन पनि थाले, जसमा अहिले आएर महिलाको शंख्या पनि उल्लेख्य देखएको छ। स्वदेशमा रोजगारी कम भएपछि विदेश जानु धेरैको बाध्यता हो। अहिले त संस्थागत रूपमै सरकारले १११ मुलुकमा तथा व्यक्तिगत रूपमा १७८ देशमा वैदेशिक रोजगारी खुला गरेको छ। जसमध्ये फरक फरक आर्थिक वर्गका मान्छेका गन्तव्य मुलुक पनि फरक फरक छन्।
विदेश जाने महिलाका कोटीसमेत फरक–फरक छन्, कोही कमाएर घरपरिवार पाल्नका लागि त कोही 'सान'का लागि विदेश जाने छन्। यस्तै आर्थिक रूपमा स्वतन्त्र हुनकै लागि, घरेलु हिंसाबाट बच्न र 'आफ्नै मर्जी'को जीवन जिउन बिदेसिनेहरू पनि छन्। फेरि पनि सत्य के हो भने धर्तीको कुनै पनि कुनो महिलाका लागि त्यति सुरक्षित छैन, जति पुरुषका लागि छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक तीनमध्ये एकजना महिला आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा हिंसाबाट प्रताडित हुन्छन्। वैदेशिक रोजगारीमा जाने महिलामा पनि प्रायः घरेलु कामदारको रूपमा जाने महिला बढी जोखिममा पर्ने गरेका छन्।
वैदेशिक रोजगारीले समेत महिला अथवा पुरुषको आर्थिक स्वतन्त्रतामामा ठूलो योगदान गरेको छ। दम्पतीमध्ये एक विदेशमा रहँदा नेपालमा रहेका पति या पत्नीले अन्यसँग भावनात्मक र पारिवारिक सम्बन्ध गाँस्दा यदाकदा पारिवारिक सम्बन्धहरू बिग्रेको समेत देखिन्छ। तर यसैलाई वैदेशिक रोजगारीको समग्र परिणाम मान्न हामीसँग गम्भीर अध्ययन र प्रमाण छैनन्।
महिला हुनु या पुरुष हुनु कसैको रोजाइ होइन। यो प्रकृतिले पहिल्यै तय गरेको कुरा हो, तर वैदेशिक रोजगारीका कारण हुने गरेका परिवार विघटनका केही घटनालाई लिएर आम रूपमा महिलालाई नै बढी दोषी देखाउन खोजिन्छ, तर त्यो सही होइन। महिलालाई नै लाञ्छित गर्नुको मूल कारण समाजमा गहिरोसँग गाडिएर रहेको पितृसत्तात्मक सोच हो।
नेपालले ठूला राजनीतिक आन्दोलनहरू भोगेको छ। अनेकन् वाधा व्यवधानका बाबजुद ती आन्दोलनहरूमा महिलाको उल्लेख्य सहभागिता रह्यो। त्यस्ता आन्दोलनहरूले समाज बदल्न केही योगदान पक्कै गरेको छ, तर शैक्षिक, सामाजिक, राजनीतिक या आर्थिक परिवर्तनमा महिलाले धेरै पहिलेदेखि पुर्याएको योगदानको अनुपातमा प्राप्त अधिकारले महिलालाई अझै पूर्ण न्याय दिन सकेको छैन।
आजका थोरै मात्र नेपाली महिलाले उस जमानाकी विद्रोही योगमाया न्यौपानेबारे थाहा पाएझैँ लाग्छ। महिलाका अधिकार तथा धार्मिक सुधारका लागि योगमाया न्यौपानेले राणाशासकहरूसँग माग गरिन्, राणाहरूले उनको कुरा नसुनेपछि १९९८ असार २२ मा आफ्ना केही अनुयायीसहित अरुण खोलामा जिउँदै बगेर प्राण त्यागिन्। अँध्यारो युगमा आफ्नो ज्यान फालेर शासकसँग उनले गरेको विद्रोह इतिहासका उल्लेख्य धेरै महान् विद्रोहमध्ये एक हो।
महिला हक र अधिकारको कुरा गर्दा अहिले पनि योगमायाले झैं ज्यानै फाल्नु त नमिल्दो भयो, किनकि परिवर्तनको वेग पहिलेभन्दा धेरै छिटो छ अहिले। तर सन्देश र सारमा चाहिँ अहिले पनि योगमायाको विद्रोहको सार बुझेर महिला सशक्तीकरण बढाउन आवश्यक छ। त्यसो हुन सक्दा महिला स्वयं हिंसा र शोषणको डटेर सामना गर्न सक्षम हुनेछन्। अहिले उदाहरणीय बनेका कतिपयले झैं स्वतन्त्र र निर्भीक बनेर जीवन जिउनेछन्। समाजलाई समतामूलक बनाउन भूमिका खेल्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
