देवकोटाले उज्बेकिस्तानको तासकन्दमा आफ्नो जाज्वल्यमान एवं प्रवाहमय मन्तव्यमा साहित्य मुठ्ठीभर शोषकको विलासको साधन नभई जनजनको जागरणको अस्त्र हो भनी जन्ड उद्घोष गरे।
लक्ष्मीप्रसाद देवकोटासँग मेरो भेट भएको सानैमा हो। तीन–चार कक्षाको पाठ्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको ‘सुनको बिहान’ नामक बालकविता संग्रहमा देवकोटालाई भेटेको थिएँ। प्रेमिल देवकोटा त्यही कविताका हरफमार्फत भाका हालेर गाउँदै मछेउ आएका थिए, यसरी:
सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
०००
न टिप्नू हेर कोपिला
न चुँड्नू पाप लाग्दछ।
०००
पुतली सुन्दर कोमल काया
देख्दा तेरो लाग्दछ माया
दिलले भन्दछ टप्प समाउँ
मधुमय मुखमा म्वाइँ खाउँ।
पछि मैले 'बीए अनर्स'मा देवकोटाका समग्रजसो रचना पढ्नुपर्यो। त्यो बेला देवकोटाका हात लागेजति गतिला/अगतिला सबै कृतिहरू पढियो। देवकोटाको ‘चम्पा’ भन्ने ताई न तुईको उपन्यास पनि पढियो। सरकारी जाँच बुझाउन पढ्नै पर्यो त!
लयात्मक र गतिमय गद्यको निर्माणमा देवकोटाको ठूलो योगदान छ। कवितालाई छन्दको पिँजराबाट मुक्त गर्नसमेत उनको ठूलो भूमिका छ, यद्यपि, त्यसको मूल श्रेय पछि गोपालप्रसाद रिमाललाई दिइयो। कल्पनाको बिछट्टको उडान र चामत्कारिक अभिव्यक्ति देवकोटीय विशिष्ट विशेषता हुन्।
दृष्टिकोणको एक पाटोमा देवकोटा ईश्वरवादी एवं रहस्यवादी छन् भने अर्को पाटोमा मुखर रूपले सामाजिक यथार्थवादी छन्। ‘तरुणतपसी प्रदक्षिणा’का सर्जक लेखनाथ पौड्यालमा देवकोटाले बाज र भँगेराले मित लाएको देखे र उनले लेखनाथलाई समन्वयवादी र आफूलाई झर्रो भौतिकवादीका रूपमा अघि सारे।
‘गरिब’ कवितामा देवकोटाले गरिबीको अखण्ड महिमामण्डन गरे, उनै देवकोटाले ‘पहाडी पुकार’मा गरिब किसानलाई सामन्तका हातबाट भूमि कब्जा गर्न हातहातमा लाठी लिन आह्वान गरे। यसरी देवकोटाको चिन्तन र व्यक्तित्वका फरक आयामहरू उनका सिर्जनामा अभिव्यक्त भएका छन्। देवकोटामा एउटै संगतियुक्त दृष्टिकोण पाइँदैन। दृष्टिकोणको मामिलामा देवकोटा यताउता र जताततै छरिएका छन्। दृष्टिकोणको बहुलता समयसमयमा जीवनलाई बुझ्ने देवकोटीय पारा हो। असलमा दृष्टिकोणको द्वैधता नै देवकोटा हुन्।
कमरेड पुष्पलाल श्रेष्ठले देवकोटामा लोकमुखी यथार्थवाद र अनीश्वरवाद देखे। श्रेष्ठले त्यसको उदाहरण देवकोटाको ‘यात्री’ कविताको दिए। ‘यात्री’ कवितामा देवकोटाले मानिसलाई देवीदेवताका नाउँमा निर्जीव मूर्तिको पूजा गर्न छाडेर मानवको पूजा र सेवा गर्न अर्ती दिए। तर उनै देवकोटाका अनेक रचनामा यत्रतत्र अगोचर र अभौतिक ईश्वर देवकोटाको थेगोझैं प्रकट हुन्छ।
देवकोटाले कवितालाई जीवनतिर र साहित्यलाई जनजनको जागरणतिर फर्काउन चेष्टा गरे। देवकोटाले उज्बेकिस्तानको तासकन्दमा आफ्नो जाज्वल्यमान एवम् प्रवाहमय मन्तव्यमा साहित्य मुठ्ठीभर शोषकको विलासको साधन नभई जनजनको जागरणको अस्त्र हो भनी जन्ड उद्घोष गरे। 'प्रमिथियस' नामक काव्य देवकोटाको अर्को लोकहितमुखी उद्घोष हो।
मेरो गद्य भाषाको निर्माणमा नजानिँदो गरी अनेक गद्यकारको प्रभाव होला। प्रमुख प्रभाव देवकोटाको लयात्मक र प्रवाहमय गद्य, शंकर लामिछानेको प्रयोगशील गद्य र ताना शर्माको झर्रो गद्यको छ। देवकोटा, लामिछाने र शर्माका बिछट्टका गद्यलाई घोल्दा जे बन्यो, मेरो क्वाँटी गद्य त्यही हो। मेरो गद्य भाषा र शैलीका यी तीन स्मरणीय गुरू हुन्।
विचारको अखाडामा तानातान
देवकोटालाई अध्यात्मवादी र परम्परावादीहरूले रहस्यवादी, ईश्वरवादी, रोमान्टिक आदि वैचारिक पगरी गुथाउन गर्नुसम्म जिद्दी गरे। उता भौतिकवादी, प्रगतिवादीहरूले चाहिँ देवकोटालाई अनिश्वरवादी र समाजवाद उन्मुखको पगरी गुथाउन गर्नुविधि जिद्दी गरे। मृत्युनिकट घडीमा रुग्ण, शुष्क र गलित मनोदशामा देवकोटाले ‘आखिर श्री कृष्ण रहेछ एक’ भने।
परम्परावादी रहस्यवादीहरूले देवकोटाको यही कथनलाई सबुत बनाएर देवकोटा ईश्वरवादी थिए भनी आफ्नो जिद्दीलाई जिताउन पाखुरा सुर्किए। उता भौतिकवादी र प्रगतिवादीहरूले चाहिँ देवकोटाको मृत्युन्मुख क्षणको संस्कारजन्य कथन हो त्यो भनी जिद्दी गर्दै आफ्नो तर्कलाई माथि पार्न पाखुरा सुर्किए।
मेरो विचारमा यी दुवै हठवादी पाखुरा सुर्काइ हुन्। माथि नै भनियो, देवकोटा कुनै एक विचार वा दृष्टिकोणका बाहक किमार्थ होइनन्। देवकोटा त अनेक विचार वा दृष्टिकोणका क्वाँटी पो हुन्। विविध वैचारिक विशेषतायुक्त क्वाँटीमय देवकोटा जे हुन्, उनलाई त्यही मान्नु उनको सही विवेचना हो। देवकोटाको वैचारिकीप्रति गरिने उचित न्याय पनि, मलाई लाग्छ, यही हो।
महाकवि र मुनामदन
छटेल सामन्ती सत्ताले कविहरूका नामका अगाडि अलंकार गाँसेर तिनलाई आफ्नो स्वार्थका भक्तिमार्गी भरिया बनाउन खोज्छ। आदिकवि, जनकवि केशरी, राष्ट्रकवि आदि यस्तै अलंकार हुन्। महाकवि नामक अलंकार के हो नि? आकारमा ठूलो काव्यलाई महाकाव्य र त्यस्तो काव्यका रचनाकारलाई महाकवि भन्ने चलन छ। यो महाकवि चाहिँ कविले आफ्नो काव्यको आकारले कमाएको अलंकार हो भन्न मिल्ला कि?
देवकोटाको मुनामदनलाई जति उत्कृष्ट भनी चर्चा गरिन्छ, मलाई लाग्छ, त्यो त्यस्तो चिज होइन। बालकृष्ण सम र देवकोटा समकालीन थिए। सम शासक खलकका सन्तान थिए, देवकोटा जनसाधाणका सन्तान। स्वयम् एक शासक हुनाको कारण समका निधारमा विवादका केही कलंक लागेका थिए। शासक सम शासित देवकोटालाई हेप्छन् भन्ने एउटा मत थियो। त्यसैले समप्रति लोकको किञ्चित् अरुचि थियो, देवकोटाप्रति लोकको सहानुभूति ओइरियो। लोकको यो सहानुभूति देवकोटाको मुनामदनमा ह्वात्तै सञ्चार भयो। र, मुनामदनको अतिरिक्त वाहवाह भयो।
मुनामदन प्रायशः सरकारी शिक्षाको पाठ्यक्रममा कतै न कतै राखियो। र, यसको नित्य अतिरिक्त स्मरण र चर्चा भइरह्यो। यो अतिरिक्त महिमामण्डनले एउटा अन्धदृष्टिको निर्माण गर्यो। र, धर्मान्धका दृष्टिमा रुद्री वा चण्डीझैं आम पाठकका दृष्टिमा मुनामदन साहित्य फाँटको रुद्री वा चण्डीसरह बन्यो। मुनामदनको कथा देवकोटाको मौलिक होइन भन्ने विवाद उठेको थियो। यो विवादप्रति न देवकोटाले कुनै प्रतिक्रिया जनाए न यसलाई समालोचकहरूले गम्भीर रूपमा लिए। मानौँ देवकोटाजस्ता अप्रतिम प्रतिभालाई यस्तो विवादमा मुछ्नु पाप हो!
वर्गीय उद्भवका आधारमा देवकोटाको अधिमूल्यन र समको अवमूल्यन पो गरियो कि? यो प्रश्न गम्भीर छ र प्रश्न विचारणीय छ।
देवकोटा नेपाली वांमयका श्रेष्ठ व्यक्तित्व हुन्। देवकोटाले साहित्यका सबैजसो विधामा कलम चलाए। अंग्रेजी साहित्यका श्रेष्ठ कृति नेपालीमा र नेपाली साहित्यका श्रेष्ठ कृति अंग्रेजीमा अनुवाद गर्ने पहिलो व्यक्ति पनि शायद देवकोटै हुन्। देवकोटाको प्रतिभा विविध विधामा अभिव्यक्त भएको छ, र यी सबै विधामा देवकोटाको धेरथोर छाप छ।
देवकोटाको स्वभाव र व्यक्तित्वमा कपोलकल्पित लाग्ने अनेक कथा र किस्सा जोडेर उनलाई कतै सिल्ली र कतै अति मानव बनाउन खोजियो। त्यसैले देवकोटा यथार्थमा जे थिए, लोकछेउ उनलाई त्यही रूपमा प्रस्तुत गर्ने कार्य साहित्यका शोधकर्मीहरूका काँधमा आइलागेको छ।
देवकोटाको राष्ट्रवादमा उग्रता र नश्लीयताको गन्ध आउँछ भनी भुक्तभोगी मधेशी कोणबाट प्रश्न उठ्न थालेको छ। समयको क्रममा यो प्रश्न झनै प्रखर र मुखर रूपमा उठ्ने सम्भावना ज्वलन्त छ। आखिर हर प्रतिभाको यथार्थपरक र यथोचित मूल्यांकन गर्ने समयले त हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
