विवादले घेरिरहने बेलायती राजपरिवार, के हो पछिल्लो विवाद?

जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।

तस्वीर: एएफपी

हाल विश्वका ४३ देशमा राजसंस्था कायम छन्। अधिकांशको हैसियत संवैधानिक वा आलंकारिक छ भने, ६ वटा देशमा सक्रिय राजतन्त्र छ। संवैधानिक राजतन्त्रमध्ये संयुक्त अधिराज्यको राजपरिवार औपनिवेशिक इतिहास, सामाजिक–आर्थिक प्रभावको निरन्तरता र बेलाबखत भइरहने विवादलगायत कारण अझै अरूभन्दा चर्चित रहँदै आएको छ।

अहिले विश्वराजनीतिमा साउदी ‘हाउस अफ अल-साउद’को अपेक्षाकृत रूपमा बढी प्रभाव भए पनि ‘पप-कल्चर’ (लोकप्रियता) र जनचासोका आधारमा बेलायतको ‘हाउस अफ विन्ड्सर’ नै बढी चर्चित छ। यस परिवारको निरन्तर रूपमा चर्चामा रहिरहने एउटा प्रमुख कारण हो– विवाद। 

बेलायती शाही परिवारमा हरेक दशक कुनै न कुनै विवाद भइरहेको देखिन्छ। पछिल्लो शताब्दीको कुरा गर्दा राजा एड्वर्ड आठौँले अमेरिकी प्रेमिका वालिस् सिम्प्सनका लागि गद्दी त्याग गर्नु इतिहासको रोचक मोड थियो।

सम्बन्धविच्छेद भइसकेकी सिम्प्सनसँग विवाह गर्न बेलायती साम्राज्यका शासक र चर्च अफ इंग्ल्यान्डका प्रमुख रहेका एड्वर्डले सरकारबाट अनुमति पाएनन् र अन्ततः उनले प्रेमका लागि गद्दी परित्याग गरे। उक्त घटनाक्रमको फलस्वरूप एड्वर्डका भाइ जर्ज छैटौँले गद्दी सम्हाल्न पुगे र उनको निधनपछि एलिजाबेथ द्वितीयले। यी दुई बाउ-छोरीको शासनकालका दौरान साम्राज्यवादको विस्तारदेखि पतन, विश्वयुद्ध र ब्रिटेन-अर्जेन्टिना (फल्कल्यान्ड) युद्ध जस्ता घटना घटे।

एलिजाबेथका उत्तराधिकारी चार्ल्सकी प्रथम पत्नी पूर्वयुवराज्ञी डायनाको असामयिक मृत्यु बकिङ्हम-इतिहासको अँध्यारो अध्याय थियो। डायना-चार्ल्स सम्बन्धलाई प्राय: सधैँ विवादले घेरिरह्यो। डायनाको लोकप्रियताले संयुक्त अधिराज्यको सिमाना नाघेर विश्वभर फैलिएको थियो। उनको लोकप्रियताले चार्ल्समा पलाएको ईर्ष्या, उनीहरूको जीवनमा कमिल्लाको पुन: प्रवेश, सम्बन्धमा चिसोपनादेखि सम्बन्धविच्छेद, ‘द रोयल्स भर्सेस डायना’ लगायतका किस्सा सधैँ बेलायती ‘ट्याबलोइड’का मुख्य शीर्षक भइरहे। डायनाको कार दुर्घटना बकिङम दरबारले गराएको भन्नेसम्मका अफवाह पनि चले। उनको अन्त्येष्टिअघिको शोक अवधिमा राजपरिवारले संवेदनशीलता नदेखाएको भनी चौतर्फी विरोध भयो।

बकिङमको ‘जग हल्लिएको’ खबरहरू माझ महारानी एलिजाबेथले पहिलो पटक प्रोटोकल तोड्दै सार्वजनिक कार्यक्रममा सर्वसाधारण भइसकेकी डायनाको पार्थिव शरीर सामुन्ने शिर झुकाएकी थिइन्। त्यसपछि पनि विरोधका स्वर थामिएनन्। चार्ल्स ‘लाइन अफ सक्सेसन’बाट हटेर सिधै विलियम एलिजाबेथको उत्तराधिकारी हुनुपर्ने आवाज दरबार बाहिर र भित्र उठ्न थाले। ट्यब्लोइडका मुख्यस्रोत भनिने ‘रोयल एक्स्पर्ट’हरूका अनुसार दरबारभित्रबाट चार्ल्सलाई गद्दीच्यूत गराउने गुटको पर्दापछाडिको नेतृत्व गरिरहेका थिए राजकुमार एन्ड्रयु।

तिनै एन्ड्रयु जो बालयौन दुराचारी जेफरी एप्सटाइनसँगको सम्बन्धका कारण बदनाम छन्। एलिजाबेथका चार सन्तानमध्ये उनको सबैभन्दा प्रिय भनिने एन्ड्रयुविरुद्ध भर्जिनिआ गिफ्रेले सन् २००० को शुरूआतमा आफूमाथि धेरै पटक यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन। उनीहरूले यो मुद्दा अदालत बाहिर सल्टाएको खबर बाहिरिएको फलस्वरूप, एन्ड्रयुले आफ्नो शाही उपाधि र विभिन्न अधिकार गुमाएका थिए। उनीसँग सम्बन्धविच्छेद भइसकेकी पूर्वपत्नी सारा फर्ग्युसन पनि विवादमुक्त थिइनन्। यसैगरी महारानीका कनिष्ठ सुपुत्र एड्वर्ड र उनकी पत्नी सोफी पनि सन् २००१ को स्टिङ-अपरेसनमा मुछिएका थिए।

राजपरिवारको पछिल्लो पुस्ता वर्तमान समयमा अर्को विवादमा फस्न पुग्यो र यो नयाँ लडाइँको दुई ध्रुवमा देखिए दाजुभाइ युवराज विलियम र राजकुमार ह्यारी।

विन्ड्सर परिवारमा ‘हेर-स्पेर’ को प्रत्यक्ष-अप्रत्यक्ष द्वन्द्व सधैँ चल्यो। एड्वर्ड-जर्ज, एलिजाबेथ-मार्गरेट, चार्ल्स-एन्ड्रयु/ चार्ल्स-एनको पुस्तामा दाजु-भाइ दिदी-बहिनीबीच देखिएको प्रभावको लडाइँबाट यो पुस्ता पनि उम्किन सकेन। विलियम र ह्यारीबीच विभिन्न कारणले तिक्ततापूर्ण सम्बन्ध छ। बेलायती सञ्चारमाध्यमका अनुसार यी दुई दाजुभाइको सम्बन्ध बोलचाल रोकिएको विन्दुमा छ।

ह्यारी र उनकी पत्नी अमेरिकी अभिनेत्री मेगन मार्कलले राजपरिवारको सक्रिय सदस्यता त्याग गरेपछि उत्कर्षमा पुगेको विवाद सतहमा आएको थियो। मेगन र ह्यारी बेलायतमा रहँदा त्यहाँका ट्याबलोइडले सधैँ मेगनको खेदो गरिरहे। उनको लवाइदेखि हिँडाइबारे अनावश्यक टीकाटिप्पणी भइरहे। यसअघि पनि सञ्चारमाध्यममा यदाकदा उल्लेख गरिरहने तनावबारे ‘मेग्जिट’पछि मेगन र ह्यारीले ओप्रा विन्फ्रेसँगको अन्तर्वार्तामा खुलेरै कुरा गरे र विन्ड्सर परिवारले आफूहरूमाथि भेदभाव मात्र होइन, रंगभेद गरेको आरोप लगाए (जसलाई पछि ह्यारी आफैले खण्डन गरेका थिए)।

एलिजाबेथको ‘नेभर कम्प्लेन, नेभर एक्स्प्लेन’ भनाइलाई मूलमन्त्र बनाएको राजपरिवारका लागि यो अन्तर्वार्ता डायनाको मार्टिन बशिरसँगको अन्तर्वार्ता जतिकै अनपेक्षित थियो। त्यसपछि ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ प्रकाशित गर्दै अनेक विवादास्पद दाबीहरू गरे। फलस्वरूप ह्यारीको आफ्नो परिवारका अधिकांश सदस्यसँग सम्पर्क टुट्यो। दुई दाजुभाइबीच चिसिएको सम्बन्ध त लगभग अन्त्य भयो नै सामाजिक सञ्जालमा यी दुईका प्रशंसकहरू पनि वेल्सेस् र ससेक्स-स्क्वाड भनिने दुई आक्रामक र परस्पर विरोधी खेमामा बाँडिए।

बकिङमले सामना गरिरहेका समस्यामा थपियो सन् २०२४ को स्वास्थ्य संकट। सन् २०२२ को अन्त्य तिर एलिजाबेथको मृत्यु भएको थियो जसपछि चार्ल्स गद्दीसीन भएका थिए। राज्याभिषेकको केही महिना नबित्दै २०२४ को उत्तरार्धतिर राजा चार्ल्सलाई क्यान्सर भएको बकिङमले सूचना जारी गर्‍यो। लगत्तै युवराज्ञी क्याथरिनलाई पनि केही गम्भीर स्वास्थ्य समस्या भएको खबर दरबारले सार्वजनिक गरेपछि ‘रोयल वाचर्स’माझ केही समय अन्योल जस्तै भयो। क्याथरिन आफैले सञ्चारमाध्यममार्फत क्यान्सर भएको र उपचार गराइरहेको खबर पुष्टि नगर्दासम्म विलियम-क्याथरिनको वैवाहिक सम्बन्धमा दरार आएकोदेखि उनको मृत्यु भइसकेको जस्ता अफवाह फैलिए।

विभिन्न कारणले चर्चामा रहिरहने भएकाले पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालले विन्ड्सर परिवारको गतिविधि पच्छ्याइरहेको हुन्छ। उक्त संस्थाको लोकप्रियता उनीहरूबारेको चासोको अर्को कारण हो। यदाकदा गणतन्त्रको माग सतहमा आए पनि बहुमत बेलायती अझै संवैधानिक राजतन्त्रको पक्षमा देखिएका छन्। बेलायती संर्वेक्षण संस्थान यु-गभका अनुसार सन् २०२४ मा भएका तीन  सर्वेक्षणले दुई-तिहाइ बेलायतीहरू राजतन्त्र चलिरहोस् भन्ने मतका भएको देखाएका छन्। यी सर्वेक्षणका अनुसार संयुक्त राज्य भर सबैभन्दा रुचाइने १० सार्वजनिक व्यक्तित्वमध्ये ६-७ शाही परिवारका छन्, जसमा स्वर्गीय महारानी पहिलो नम्बरमा छिन् भने डचेस क्याथरिन दोस्रो। यहाँँसम्म कि संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ह्यारी र उनकी अमेरिकी नागरिक पत्नीभन्दा क्याथरिन, त्यसपछि विलियम अमेरिकामा बढी मनपराइएको त्यहीँका केही सर्वेक्षणले देखाएका छन्।

यही चर्चित परिवार सम्बन्धित पछिल्लो विवाद भने मूलाधारका बेलायती सञ्चारमाध्यमले त्यति प्रकाशमा ल्याएनन्।

के हो बेलायती राजपरिवार मुछिएको पछिल्लो विवाद?
बेलायतबारे केही समाचार पढ्न–हेर्न त्यहाँको सञ्चारमाध्यम (विशेषतः छापा) हेर्ने हो भने दुई किसिमका मिडियाको सामग्री बढी रुचाइने देखिन्छ। परम्परागत पत्रकारिता गर्ने बीबीसी, द टाइम्स, द गार्डिअनजस्ता प्रकाशनगृह एकतर्फ छन् भने सनसनीखेज खबर बनाएर पस्कने द सन, डेली मिरर, द मेललगायत ट्याबलोइड एकतिर। विशेषगरी ट्याब्लोइडहरूले विन्ड्सर परिवार सम्बन्धित खबरलाई महत्त्व दिएर प्रकाशन गरिरहेका हुन्छन्। ह्यारी र मेगनको सामान्य दिनचर्याको पनि एक पृष्ठ लामो आलोचना गर्ने यी छापाले विलियम मुछिएको ‘काण्ड’ खासै प्रकाशमा ल्याएनन्।

केही महिनाअगाडि बेलायती मिडिया च्यानल फोरको डिस्प्याचेससन्डे टाइम्सले संयुक्त रूपमा एउटा अनुसन्धानमूलक वृत्तचित्र प्रकाशित गरेका थिए। वृत्तचित्रमा बताइएअनुसार चार्ल्स र विलियमका ‘डची’, जो उनीहरूका निजी सम्पत्ति हुन्, ले विभिन्न सार्वजनिक निकाय र परोपकारी संस्थासँग भाडा सम्झौता (रेन्ट कन्ट्र्याक्ट) गरेका छन्। शाही परिवारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र सशस्त्र बलहरूबाट भाडामा लाखौँ पाउन्ड आम्दानी प्राप्त गर्ने गरेको जानकारी उक्त रिपोर्टमा उल्लेख छ।

प्रिन्स विलियमको डची अफ कर्नवालले न्याय मन्त्रालयसँग डार्टमूर जेल भाडामा दिने सम्झौता गरेको छ भने चार्ल्सको स्वामित्वमा रहेको ल्यान्कास्टरले आफ्नो लन्डनको गोदाम भाडामा दिने गाइज एन्ड सेन्ट थोमसको एनएचएस ट्रस्टसँग सम्झौता गरेको छ। यी र यस्तै अरू सम्झौताबाट ल्यान्कास्टर र कर्नवालले लाखौँ रकम प्राप्त गरेको दाबी रिपोर्टमा छ। 

उक्त अनुसन्धानका अनुसार यी एस्टेटले ६४ मिलियन अमेरिकी डलर कमाउने अनुमान गरिएको छ। चार्ल्स र विलियमले आफू संरक्षित परोपकारी संस्थाका माध्यमबाट आर्थिक फाइदा उठाइरहेको सोही अनुसन्धानको दाबी छ। डची अफ कर्नवालले क्यामेलफोर्ड हाउस कम्प्लेक्समा तिरेको भाडाको अंशबाट २००५ देखि कम्तिमा २८ मिलियन अमेरिकी डलर प्राप्त गरेको रिपोर्टले खुलासा गरेको छ।

यसैगरी, डिस्प्याचको रिपोर्टले के पनि आरोप लगाएको छ भने चार्ल्स संरक्षक रहेको गैरनाफामूलक संस्था सेन्ट जोन्स एम्बुलेन्सले डची अफ कर्नवाललाई भूमि प्रयोगबापत लगभग ६४ हजार अमेरिकी डलर भुक्तान गरेको थियो। त्यसैगरी, उक्त एस्टेटले गाइज एन्ड सेन्ट थोमसको एनएचएस ट्रस्टसँगको सम्झौतामार्फत इलेक्ट्रिक एम्बुलेन्स भण्डारण गर्न १४.६ मिलियन डलर प्राप्त गरिरहेको छ। यसैबीच, डची अफ कर्नवालसँग डार्टमूर जेल २५ वर्षका लागि न्याय मन्त्रालयलाई भाडामा दिन ४७ मिलियन अमेरिकी डलर सम्झौता भएको बताइएको छ।‍

अनुसन्धानका अनुसार डची अफ कर्नवालले भाडामा लिएका घरहरूमध्ये १४ प्रतिशत र डची अफ ल्यान्कास्टरका १३ प्रतिशत घरहरूले सरकारले बनाएको न्यूनतम ऊर्जा दक्षता आवश्यकता पूरा गरेका छैनन्। जलवायु परिवर्तन र वातावरण संरक्षणका मुद्दामा वकालत गर्ने चार्ल्स र विलियमका एस्टेटहरू आफै विवादास्पद ‘माइनिङ’का अभ्यासमा संलग्न रहेको पनि उक्त रिपोर्टले उल्लेख गरेको छ।

जनताको करमा पालिएको संस्थाले आफ्ना निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि यो रिपोर्टले गम्भीर प्रश्न चिह्नहरू खडा गरेको छ भने, विभिन्न राजनीतिक–सामाजिक व्यक्तित्व र संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।

डिस्प्याचेसका आरोपको प्रतिक्रियाअनुरूप डचीका प्रवक्ताले भने यी एस्टेटले सबै सान्दर्भिक कानून र नियामक मापदण्डको पालना गरेको बताएका छन्। चार्ल्स र विलियम अपेक्षा गरिएझैँ राजपरिवारको परम्परागत मन्त्र 'डोन्ट स्पिक, डोन्ट रिएक्ट' अनुसरण गर्दै यस मामिलामा केही प्रतिक्रिया नदिई दैनिक कार्य सञ्चालन गरिरहेका छन्। बेलायती ट्याब्लोइड र अन्य केही सञ्चारमाध्यमले पनि यो विषयमा कर्मकाण्डी सामग्री प्रकाशित गरेर मुद्दा रफादफा गर्न खोजिएको देखिएको छ।