भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन

भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ। अचानक बेहोस भएपछि ९२ वर्षीय सिंहलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो।

“सबै प्रयासका बाबजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उहाँलाई मृत घोषित गरियो,” एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सन् १९३२ मा पन्जाबमा जन्मिएका सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री भएका थिए। 

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए। सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए। 

भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफूलाई दुखी तुल्याएको बताएका छन्। “भारतले आफ्ना एक सम्मानित नेता डा. मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उहाँले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाउनुभएको थियो,” मोदीले भनेका छन्।  

कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जली दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले भने, “मनमोहन सिंहजीले ठूलो बुद्धि र निष्ठाका साथ भारतको नेतृत्व गर्नुभयो। उहाँको नम्रता र अर्थशास्त्रको गहिरो ज्ञानले सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्‍यो।”