विश्वकर्मा पूजा नजिकिएसँगै सुनसरीमा मूर्ति बनाउने चटारो

कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी मूर्ति बनाउन थालिएको हो।

इनरुवा– विश्वकर्मा पूजा आउन केही दिन बाँकी रहँदा मूर्तिकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइ नभ्याइ छ। सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा पूजाका लागि मूर्ति बनाउनमा व्यस्त भएका हुन्। 

विशेषगरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ। त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो। विश्वकर्मा पूजा आउन ६ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ। 

मूर्तिकार विनोद यादवले मूर्तिको माग बढेपछि व्यस्तता पनि बढेको बताए। “माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइ नभ्याइ छ। हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ,” उनले भने।  

विश्वकर्माको विशेष पूजाआराधना गर्दै उत्सव मनाउने गरिएकाले ग्रामीण तथा शहरी क्षेत्रमा चहलपहल बढेको मूर्तिकार मिथलेश झाले बताए। मूर्तिकारले दुई हजारदेखि पाँच हजार रुपैयाँसम्मको कलात्मक मूर्ति बनाएका छन्। 

सुनसरीमा पाँच हजारको संख्यामा विश्वकर्माको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ। इनरुवामा मात्र पाँच ठाउँमा मूर्ति निर्माण गरेर बिक्री भइरहेका छन्। माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको मूर्तिकारले बताएका छन्।