दैनिक जीवनका धेरै विषय आमाछोरीका साझा छन्। ९ महिना गर्भमा राखेर सिर्जना हुने नयाँ जीवन छोरी हो, तिनै छोरी पछि आमा बन्छिन्। महिनावारीदेखि प्रसव पीडासम्म उनीहरूका अनुभूति साझा छन्।
काठमाडौँ– के तपाईं आफ्नी आमालाई चिठ्ठी लेख्न चाहनुहुन्छ? तपाईंले लेख्ने चिठ्ठीमा आमालाई केके भन्न चाहनुहुन्छ?
हुन त, विज्ञान र प्रविधिको युगमा मोबाइल कल वा भिडियो कलमार्फत संसारको जुनै कुनामा पनि तत्कालै कुराकानी सम्भव छ। भौतिक रूपमा भेटघाट नभए पनि भिडियो कलमार्फत आमाको ममताले भिजाउन सक्छ। चिठ्ठी लेखेर पठाउने, अनि जवाफमा आमाको माया कुरेर बस्नु पर्दैन।
चिठ्ठी लेख्न आधुनिक प्रविधि र साधन पनि चाहिँदैन। केही पाना कागज, मसी अनि मनभरिका भावना भए लेखिन्छ। यद्यपि, मनभित्र गुम्सिएर उकुसमुकस भएका भावना पोख्न धेरैलाई सहज नहुनसक्छ।
यस्तै दबिएका, गुम्सिएका भावनाले सजिएको छ बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको भित्तो। भित्तोलाई नाम दिइएको छ– आमालाई चिठ्ठी।
वैशाख १९ गतेबाट शुरू भएको ‘पेटका केही कुरा’ कला प्रदर्शनीको एक अंश ‘आमालाई चिठ्ठी’ हो। यो प्रदर्शनी जेठ २ गतेसम्म चल्नेछ।
आमालाई लेखिएका चिठ्ठी राखिएको भित्तोले अहिले प्रदर्शनीमा आउने धेरैको ध्यान खिचिरहेको छ। आमालाई प्रत्यक्ष रूपमा भन्न नसकिएका भावना भित्ताका कागजमा पोखिएका छन्। बाल्यकालमा आमा गुमाएकाहरूको भावना पनि यहाँ छन्।

प्रदर्शनीमा एक विदेशीले लेखेको पत्र पढ्न पाइन्छ, उनको नाम भने उल्लेख छैन। ती विदेशीले आफ्नी आमालाई ‘मिस’ गरेको पत्र भित्तामा छाडेका छन्। यो प्रदर्शनीको प्रयोगात्मक पक्ष भनेको, अवलोकनका लागि जाने जोसुकैले आफ्नी आमाको नाममा पत्र लेख्न सक्छन्। त्यसरी लेखिएका पत्र भित्तामा राख्न वा आफैसँग लिएर जान पाइन्छ। भित्तामा राखे अन्य अवलोकनकर्ताले पनि पढ्न पाउँछन्।
यो भित्तोमा आमासँग झगडा परेपछि माफी मागेका पत्र पनि छन्। आमाको ममताको बयान पनि छन्। आमाका सम्झनाका उकुसमुकस पनि छन्। भित्तोभरि आमाको न्यानोपन छ।
भित्ताको एक छेउमा पत्र मञ्जुष छ। उक्त पत्र मञ्जुषा भरिएको छ, मानौँ ती चिठ्ठी कुनै दिन उनीहरूको आमासम्म पुग्नेछन्।

दुई दशकअघिसम्म चिठ्ठीमार्फत नै सूचना आदानप्रदान हुन्थे। २०५० सालको दशकभर पनि हुलाकमार्फत चिठ्ठी पठाइन्थ्यो। २०६० सालको दशकदेखि इन्टरनेटको सुविधासँगै चिठ्ठी पठाउने चलन पातलियो।
प्रविधिको यो युगमा फोन वा भिडियो कलबाट आमासँग साट्न नसकिएको भावना चिठ्ठीमार्फत भन्दा साँच्चै मन हलुका हुन्छ कि! तपाईंलाई भित्तोले कुरिरहेको हुनसक्छ।
कस्ता कुरा, के कुरा?
पुस्तौँदेखिको आमा–छोरीबीचको सम्बन्ध र त्यसमा आइरहेको परिवर्तनको प्रस्तुति हो ‘पेटका केही कुरा’ कला प्रदर्शनी। परिचित र पारिवारिक परिभाषाभन्दा पर गएर आमा–छोरीले एकअर्कोलाई हेर्ने अभ्यास, महिला हुनुको साझा अनुभव केलाउन यस प्रदर्शनीले प्रयास गरेको आयोजकसमेत रहेकी कलाकार बुनु ढुंगाना बताउँछिन्।
दैनिक जीवनमा हेक्का नराखिने धेरै विषय आमाछोरीका साझा छन्। नौ महिना गर्भमा राखेर सिर्जना हुने नयाँ जीवन छोरी हो। तिनै छोरी पछि आमा बन्छिन्। महिनावारीदेखि प्रसव पीडासम्म उनीहरूका अनुभव र अनुभूति साझा छन्। “युगौँदेखि महिलालाई जोडिराखेको सम्बन्धको यो कडी कहिले खिचातानी, कहिले तनाव र अन्ततः ममताले भरिएको एउटा साझा जीवनयात्रा हो,” ढुंगाना भन्छ्न्।

आमालाई गरिएको देवत्वकरण पनि आमाछोरीको सम्बन्धमा आउनसक्ने तिक्तताको कारण भएको ढुंगानाको ठम्याइ छ। “उहाँ (आमा)लाई मानिसको रूपमा व्यवहार गर्नु पर्छ। उहाँलाई पनि आराम, स्याहार चाहिन्छ। तर हाम्रो समाजमा आमा र उनको मायालाई यति निस्वार्थी बनाइएको छ कि, उनले आफ्ना सबै रहर, चाहना मेटेर सन्तानका लागि मात्र मरिमेट्नु पर्ने हुन्छ,” उनी भन्छिन्, “त्यही मनोसामाजिक विचार छोरीमा सर्छ, जो आफ्नो हिस्साको स्वतन्त्र जीवन जिउन चाहन्छन्।”
‘श्रीमान्को मन जित्ने बाटो पेट हुँदै जान्छ,’ ‘आइमाईको पेटमा कुरा अड्दैन’ जस्ता भनाइबाट पनि समाजमा महिलाको स्थान बुझ्न सकिन्छ। नेपाली समाजमा यस्ता भनाइले मनोसामाजिक चिन्तन देखाउने र ‘पेटका केही कुरा’ प्रदर्शनीको सार्थकता त्यसैमा भएको आयोजकको भनाइ छ।
यस प्रदर्शनीमा बुनु ढुंगाना, तृप्ती तामाङ पाख्रिन, अस्मिता बादी, इरिना गिरी, उज्वला महर्जन, प्रतिभा तुलाधर, सृष्टि श्रेष्ठ, श्रद्धा देवकोटा तथा बेलायतकी रेचल लोवका सिर्जना देख्न सकिन्छ।
आमाको श्रमको सुगन्ध!
प्रदर्शनीकी एक सहभागी कलाकार तृप्ती तामाङ पाख्रिनको भिडियो सामग्रीमा एउटा वाक्य छ, “घर बनाउन धेरै खर्च लागेन, तर समय लाग्यो।”
यहाँ घरको अर्थ भौतिक संरचना नभई पारिवारिक सम्बन्धसँग जोडिएको छ। पाख्रिनकी आमासँग बिहे गर्नुअघि बाबुले जेठी श्रीमती भित्र्याइसकेका थिए, जसलाई उनी ठूलोेआमा भन्छिन्। दुई आमाबीच जेलिएको आफ्नो सम्बन्धकोे जटिल गुत्था, त्यसभित्र रहने अघोषित माया र तिक्ततालाई उनले सम्बोधन गरेकी छन्।

पाख्रिनले आफ्नी आमालाई सम्झदा आमाले चलाउने ‘होटल थाई’ सम्झन्छिन्। आफ्नी आमाको शरीरबाट आउने लसुन, धनियाँको गन्ध उनलाई थाहा छ। प्रदर्शनीको एक भागमा उनले टीभीमा आफ्नी आमाको भिडियो, अनि छेउमा बेल्ना, मःमःका आकृति, एक बाटा बेसार, रातो खुर्सानी, धनियाँलगायत सामग्री राखेकी छन्। जो कोही अवलोनकर्तालाई पनि ती सामग्रीले आफ्नी आमाको याद दिलाउँछ।
प्रदर्शनीकी अर्की सहभागी अस्मिता बादीले पनि आफ्नी आमाको अस्तित्व श्रमसँग जोडेकी छन्। बिहान बेलुना गिटी कुट्ने र बालुवा संकलनमा बित्ने आमाको जीवनमा उनका रहर र आकांक्षाभन्दा पनि सन्तानप्रतिको जिम्मेवारी बढी झल्कन्थे। अनि त्योभन्दा बढी आमाको ममता।
“आमा आफ्ना रहर, आकांक्षालाई दबाएर के जीवन बाँचिरहेकी छन्? या केवल सास फेरिरहेकी छन्?” उनको प्रदर्शनीको आशय हो।
‘ख्याल राख’
कोभिड महामारीमा भएको लकडाउनकोे झल्को दिने अर्को प्रदर्शनी हो कलाकार सृष्टि श्रेष्ठको– ख्याल राख।
कोभिडको समयमा अधिकांशले घरमा परिवारसँग समय बिताए। कलाकार श्रेष्ठ पनि घरमै बन्द थिइन्। यद्यपि, उनले गरेको अनुभूति फरक थिए। तर उनले आमा, काकी, हजुरआमा, दिदी, भाउजूको जीवनशैलीलाई नियाल्न पाइन्।

उनीहरूसँगै आइसक्रिम खानजाने, एकअर्कोलाई तेल मसाज गर्ने, कपालमा रङ लगाउने, बिरालो, कुकुरजस्ता पाल्तु जनावरसँग खेल्ने जस्ता काम गर्दा उनले त्यहाँ सम्बन्धको आधारशीला देखिन्। ती स–साना पललाई रङ र ब्रसको माध्यमले चित्रमा उतारिन्।
यस्ता ससाना पलले सम्बन्धको जरालाई मलजल गर्ने उनको बुझाइ छ। आमा मात्र नभई जुनै सम्बन्धलाई पनि महँगा उपहार, घुमघाममा मात्र बुझ्न नहुने र दैनिक जीवनको उतारचढावमा देखाइने स्नेहले सम्बन्ध मजबुत बनाउने उनको चित्रकलामा छनक पाइन्छ।
व्यस्त भागदौडमा महिलाका घरेलु दैनिकी र एक–अर्काप्रतिको सम्मान नै बास्तवमा सम्बन्धलाई बाँध्ने बलियो जरा भएको उनको ठम्याइ छ। जब उनले यो कुराको आत्मबोध गरिन्, तब आमाप्रति समर्पित हुँदै प्रदर्शनीमा आफ्नो कलाको नाम राखिन्– ख्याल राख।
हरेक मानिसले आमालाई भन्नुपर्ने दुई शब्द हो– ख्याल राख।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
