बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।
काठमाडौँ- फिल्म निर्देशक दीपेन्द्र के खनाल १० महिना अघिसम्म पनि उत्साहित थिए। उनी उत्साहित हुनुको एउटै कारण थियो, फिल्म ‘मेयर’को छायांकन। त्यति बेला फिल्मको छायांकन नेपाली सिनेमा जगतमै सबैभन्दा ठूलो समूह जम्मा पारेर गरिएको निर्माण पक्षको दाबी थियो। एउटा भाषणको दृश्यमा ११ हजार मानिस जम्मा पारिएको बताइएको थियो।
फिल्मको नामबाट खोलिएको फेसबुक पेजमा दिनहुँ 'एक्सन थ्रिलर' भिडियो र भिडभाडका दृश्य राखिन्थ्यो। निर्माण पक्षले छायांकनको शुरूआतदेखि नै फिल्मको प्रचार थालेको थियो।
उनै निर्देशक खनाल केही महिनायता निराश सुनिन्छन्। करिब ५० दिनसम्म चलेको छायांकन सकिएको नौ महिना नाघिसक्दा पनि सिनेमा पर्दासम्म पुग्न सकेको छैन। निर्देशक खनालका अनुसार अहिलेसम्म ‘पोष्ट प्रोडक्सन’को कामसमेत शुरू भएको छैन।
“अलिअलि पैसा खोजखाज पारेर फिल्म बनायौँ, तर अहिले पोष्ट प्रोडक्सनको काम गर्नलाई पैसा छैन। काम पनि हुन सकेको छैन,” निर्देशक खनाल भन्छन्, “त्यही भएर अड्किरहेको छ। हेरौँ अब कहिलेसम्म पोष्टको काम सकिएला।”

गएको फागुन १९ गते काठमाडौँस्थित मल्ल होटलबाट शुरू भएको छायांकन सर्लाहीको विभिन्न स्थानमा समेत गरी वैशाख १० गते सकिएको थियो। फिल्म सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवनमा आधारित छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरुद्ध भ्रष्टाचारका दुई वटा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। उनी निलम्बनमा परेपछि उनैमाथि आधारित फिल्मको काम पनि निर्माण पक्षले अघि बढाएको छैन।
यो पनि: फिल्म ‘मेयर’को क्लाइमेक्स छायांकन नहुँदै असली मेयर अख्तियारको फन्दामा
फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरेका छन्। मेयरकी श्रीमतीको भूमिकामा अभिनेत्री वर्षा राउत छिन्। फिल्ममा अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसीलगायतको अभिनय छ।
अख्तियारको मुद्दापछि बिग्रिँदै गएको ‘सिन’
छायांकन हुँदै गर्दा निर्माण पक्षले फिल्मको प्रचारमा पनि समय खर्चिरहेको थियो। काठमाडौँपछि फिल्म सर्लाहीका विभिन्न ठाउँमा छायांकन चलिरहेको थियो। छायांकनको ४०औँ दिनमा चैत २८ गते अख्तियारले मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्यो।
उनीविरुद्ध विशेष अदालतमा ५ करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियारले उनकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको छ।

थापा २०७४ र २०७९ सालका स्थानीय तह निर्वाचनमा बागमती नगरपालिकाको मेयरमा विजयी भएका थिए। सार्वजनिक पदमा आएपछि उनले गैरकानूनी तरिकाले आर्जित सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
२०७४ सालमा पहिलो पटक मेयर भएयता थापाले १३ करोड २० लाख ३ हजार ३९१ रूपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार गरेको र त्यसमध्ये ७ करोड ८६ लाख ५० हजार २०१ रूपैयाँ बराबरको मात्रै स्रोत खुलेको उल्लेख छ।
बायोपिकका 'असली नायक'माथि नै भ्रष्टाचार मुद्दा दायर भएपछि निर्माण पक्ष नै अलमलमा परेको थियो। मुद्दा दायर भएको १० दिनमै छायांकन सकिएको घोषणा भएको थियो।
यो पनि: फर्जी मतदाता खडा गरेर मेयर बनेका थिए भरत थापा
त्यतिबेला उकालोले अख्तियारको मुद्दाले फिल्म निर्माणमा प्रभावित भए/नभएको भनेर निर्देशक खनाललाई सोधेको थियो। उनले केही फरक नपरेको बताएका थिए। “अहिलेसम्म उनीमाथि (निलम्बित मेयर थापामाथि) लगाइएका निराधार आरोपहरू फिल्ममै देखाइसकेका छौँ,” खनालले भनेका थिए, “ती आरोपहरू हाम्रो सरोकारको कुरा भएन। फिल्म त जसमाथि पनि बन्छ नि। उहाँको कथा मलाई इन्ट्रेस्टिङ लाग्यो, त्यसैले फिल्म बनाउँदैछु। अर्को कुरा, फिल्मले देश बनाउने ठेक्का लिएको हुँदैन।”
छायांकन सकिएको डेढ महिनामै थापामाथि अर्को भ्रष्टाचारको मुद्दा पनि दर्ता भयो। भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियारले उनीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको अभियोग छ।

यी मुद्दापछि निर्देशक खनाल उक्त फिल्म मेयर थापाको बायोपिक भनेर बताउन हच्किन थालेका छन्। फिल्ममा थापाका केही कुराहरू मात्रै समावेश भएको खनाल दाबी गर्छन्। “यो उहाँमाथिको कम्प्लिट बायोग्राफी होइन। उहाँले गर्नु भएको दुईचार वटा कामलाई मात्रै देखाएका छौँ,” उनी भन्छन्, “अलिक कमर्सियल स्टाइलमा बनाएका छौँ। अब अहिले उनीमाथि केके मुद्दा चलिरहेको छ, चल्दै होला नि।”
मेयर थापाविरूद्ध दायर भएको दुवै मुद्दा विशेष अदालतमा विचाराधीन छन्। गैरकानूनी आर्जन गरेको मुद्दामा १० पटक सुनवाइ भइसकेको छ। सोमबार ११औँ पेसी छ। अर्को मुद्दामा भने सुनुवाइ भएको छैन।
यी मुद्दाहरूको कारण नै फिल्मका बाँकी काम स्थगित गरिएको त्यसमा संलग्न एक कलाकार बताउँछन्। फिल्म नै थापाको पैसाबाट बनेको र उनीविरुद्ध मुद्दा गएदेखि पोष्ट प्रोडक्सनको काम रोकिएको उनको भनाइ छ।
निर्देशक खनाल आफ्नो खल्तीको पैसा नहाल्ने अडानमा रहेका कारण बाँकी काम रोकिएको ती कलाकार बताउँछन्। “अब कि त भरत थापा चोखिएर आउनुपर्यो, कि फिल्मको कथा तोडमोड गर्नुपर्यो,” उनी भन्छन्, “यति नभएसम्म फिल्म रिलिज हुने छाँटकाँट छैन।”
निर्माण पक्षको 'फेरिएको बोली'
फिल्म ‘मेयर’को छायांकन सकिएको करिब नौ महिना हुँदा पनि पोष्ट प्रोडक्सनको काम शुरू भएको छैन। पोष्ट प्रोडक्सन थाँती राखेर निर्देशक खनाल नयाँ फिल्मको तयारीमा जुटेका छन्। उनी कलाकार हरिवंश आचार्यलाई मुख्य भूमिकामा राखेर ‘हरिबहादुरको जुत्ता’ फिल्मका लागि कलाकार अनुबन्ध गरिरहेका छन्।

यता ‘मेयर’को मुख्य भूमिकामा रहेका अभिनेता खगेन्द्र लामिछाने भने फिल्म कहिले रिलिज हुन्छ भन्ने आफूलाई थाहा नभएको बताउँछन्। आफू अन्य फिल्मको काममा बाहिरबाहिरै भएको हुँदा जानकारी नभएको उनको भनाइ छ।
“यो विषयमा दीपेन्द्रजीसँगै बुझ्नुपर्ला। अरू काम सबै सकिसकिएको छ। पोष्टको काम चलिरहेको छ। यति सुनेको छु मैले पनि,” लामिछाने भन्छन्, “रिलिज पनि अब चाँडै हुन्छ होला।”
अख्तियारले मुद्दा लगाउँदासम्म पनि थापाकै पक्षमा बोलिरहने लामिछाने अहिले भने निर्देशक खनालजस्तै थापाका केही कुराहरूबाट मात्रै प्रेरित भएर फिल्म बनेको भन्न थालेका छन्।
गएको वैशाख २२ गते रत्नराज्यलक्ष्मी क्याम्पसद्वारा आयोजित ‘डिस्कोर्ष डबली’को ‘सिनेमा र समाज’ शीर्षक सत्रमा एक विद्यार्थीले 'थापाजस्तो पात्रमाथि बन्न लागेको सिनेमा तपाईंजस्तो कलाकारले कसरी खेल्नसक्नुभयो' भनेर सोधेका थिए। जवाफमा लामिछानेले भनेका थिए, “मलाई गर्व छ कि, मैले फिल्ममा मेयर थापाको भूमिकामा खेलेँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
