राष्ट्रियताको अर्थमा पुस २७ को बयान

नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास भइसकेको हो। त्यसले पूर्णता पाएन। पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो।

बीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूभागको ढुंगो, माटो, खोलानाला र साँधसीमा मात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो।’ यतिखेर राष्ट्र र राष्ट्रियताको खुब चर्चा हुने गर्छ तर बीपीले भनेका यी भनाइको सार खिचेको पाइन्न। बीपीले भारत निर्वासनबाट नेपाल फर्किँदा लिएको बीपीको ‘राष्ट्रिय मेलमिलाप नीति’ पनि दिवसको रूपमा वर्षौंदेखि मान्ने चलन छँदैछ। यो दिवसको प्रसंगमा पनि राष्ट्रियताको चुरो खुट्टिएको होइन।

पञ्चायतकालको शुरूआतदेखि पुस २७ गतेलाई ‘श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’का रूपमा मनाउने अनिवार्य चलन थियो। पञ्चायत व्यवस्थाले लगाएको यो ‘ह्विप’ ०४७ पछिको बहुदलीय कालखण्डमा पनि दिवसकै रूपमा कायमै थियो। दोस्रो जनआन्दोलनपछि यो दिवसको सान्दर्भिकताको अन्त्य औपचारिक रूपमै गरियो। यो दिनको सान्दर्भिकताबारे केहीको पौराणिक अनुराग छँदै थियो। तिनले बर्सेनि सिंहदरबार अगाडिको पटाङ्गिनीमा यो दिवस मनाउँदै आएका थिए। तर, दोस्रो गणतान्त्रिक निर्वाचन परिणामको गणितले यसलाई पुनर्स्थापित गर्न सरकारी बिदा दिने हदमा पुर्‍याएको हो। गएका वर्षहरूमा पुस २७ गते यो दिवसलाई जबरजस्त पुनर्स्थापित गर्ने प्रयास गरियो। 

पानी बहस
यहाँ पुस २७ गतेसँगको आग्रह–पूर्वाग्रहमा कुनै लेनदेन छैन। राष्ट्र र राष्ट्रियताको पूर्ण परिभाषा नहुन्जेल यस्ता दिनमा ‘श्राद्धमा बिरालो बाँध्ने परम्परा’कै निरन्तरता हुनु अस्वाभाविक लाग्दैन। केहीले यो दिनलाई पृथ्वीनारायण शाहको जन्मदिनसँग सम्बन्धित भएकोले ‘कालो’ र अर्का थरीले राजा र राजतन्त्रसँग जोडिएको अर्थमा उज्ज्वल दिन मानेका हुन्। वास्तवमा पुस २७ गतेको पछिल्तिर लागेर राष्ट्रिय एकताको सर्वस्व ठान्नु र त्यसकै विरोधमा स्वर उछालिरहनु पछिको कुनै तुक छैन, किनकि सत्यतथ्य अझै यकिन भइसकेको छैन। यसले नेपाली राष्ट्रियताको साँचो बहस माग गरेको छ भिन्न रूपमा ।

नेपालको यो स्वरूप कसरी बन्यो होला? नेपालको यो भौगोलिक स्वरूप बन्दाको दन्त्य कथा हालेर मात्र नेपालको राष्ट्रिय एकताको जग बस्दैन। तत्कालीन बेलायती साम्राज्यद्वारा स्थापित भारतको इस्ट इन्डिया कम्पनी र अर्को भोट–चीन साम्राज्यको ‘टेलिपेथिक’ सन्तुलनद्वारा यो भौगोलिक स्वरूपको निर्माण भएको हो। इस्ट इन्डिया कम्पनी र भोट–चीनसँग युद्ध गरेर, जितेर यो भूगोलको रक्षा गरेको भए ‘सुगौली’, ‘केरुङ’, ‘बेत्रावती’ र ‘थापाथली’ सन्धि गर्ने नौबत नै आउने थिएन। आधुनिक हतियारले लेस इस्ट इन्डिया कम्पनीसँग युद्ध घुएँत्रो हानेर, भीरबाट ढुंगो लडाएर र भिरमौरी टोकाएर रोकेको रटान केबल रोमान्टिक कहानी हो। यसरी कथेको कथाले राष्ट्र र राष्ट्रियता जोगाएको अर्थ कति अर्थपूर्ण होला? यो पानी बहसको विषयजस्तो भयो।

नेपाली राष्ट्रियताको चुरो
नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको राजनीति विज्ञानसम्मत परिभाषा नहुन्जेल यस्ता अमुक दिन जबरजस्त ‘राष्ट्रिय एकता दिवस’ भइरहन्छन्। इतिहासमा पुस २७ का दिन कुन ऐतिहासिक काम भएको थियो? सुगौली सन्धि भएको थियो या नेपालको साँधसिमाना छिमेकी मुलुक बेलायत–भारत र भोट–चीनले लालमोहर लगाइदिएको थियो? तत्कालीन बाइसी–चौबिसी, उपत्यका र उपत्यकापूर्वका चौदण्डीसहित ५२ गणराज्यले अमेरिका बनेझैँ ‘फिलेडेल्फिया’ सम्मेलन गरेर नेपाल नामको देश निर्माण गरेका थिए कि? यसको सटिक उत्तर नआइन्जेल नेपाली राष्ट्रियताको चुरो भेटिँदैन र यस्ता दिवसको पनि अर्थ छैन। के भएको थियो, के भएको थियो, तर पुस २७ गते राष्ट्रिय एकता दिवस हो भनेर मात्र हुन्छ?

राष्ट्र बन्न आवश्यक तत्त्वबारे दार्शनिकले अनेक परिभाषा गरेका छन्। तर ती सबै परिभाषामा मतैक्यता पाइन्छ। स्टालिनले भनेका छन्, ‘ऐतिहासिक रूपले विकसित स्थिर मानव समुदाय हो राष्ट्र, जुन साझा भाषा, साझा भूभाग, साझा आर्थिक जीवन र मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ।’ यो परिभाषाअन्तर्गत नेपाल एउटा राष्ट्रका रूपमा विकसित भइसकेको छ? प्रश्न यहीँनेर आएर गम्भीर हुन्छ। एउटा सिंगो राष्ट्र बन्न चाहिने शर्त पूरा नहुन्जेल ती राष्ट्र र त्यसअन्तर्गतको राष्ट्रियता अन्तरिम हुन्छ। यो परिभाषाअन्तर्गत नेपाल, राष्ट्रोन्मुख अन्तरिम राष्ट्र र विविध राष्ट्रियताको साझा मोर्चा मात्र हो।

मार्क्स–एंगेल्सले ‘कामदारको कुनै देश हुँदैन, हामी तिनीबाट त्यो कुरा लिन सक्दैनौँ, जुन कुरा उनीहरूले प्राप्त गरेकै छैनन्’ भनेका छन्। उनीहरूले सर्वहारा वर्गलाई राष्ट्रको रूपमा उभ्याउन अपिल पनि गरेका छन्। यो वाक्यमा एउटा गहिरो अर्थ लुकेको छ। समुदायको मनोभावनामा पनि यो कुरा हुन्छ। माथि बीपीले समुदायको संस्कृति, सभ्यता र मनोभावना नै राष्ट्र भनेझैँ हरेकमा त्यो कुरा प्रतिबिम्बित हुनुपर्छ। लेनिनले राष्ट्र र राष्ट्रियता मार्क्सवादको प्रकाशपुञ्जमै व्याख्या गरे। उनले राष्ट्र र राष्ट्रियता अवधारणाको विकास उदाउँदो पुँजीवादी युगसँगै हुने ठहर गरे। यसरी अहिले सामन्ती युगको सामन्तवादी राष्ट्र र राष्ट्रियताको जबरजस्त व्याख्या गरेर त्यसैमा अलमलिने/अलमल्याउने कि उदाउँदो पुँजीवादी युग सुहाउँदो राष्ट्र र राष्ट्रियताको व्याख्या गर्ने विषयको यो विवाद हो।

राष्ट्र बन्ने अभियान
यसरी नेपाल राष्ट्र बन्ने अभियानमा छ। पृथ्वीनारायण शाहले ‘असिल हिन्दुस्थान’ (एकल हिन्दु धर्मतन्त्रात्मक राष्ट्र) निर्माण गर्ने आधारमा यो भूगोलको ‘एकीकरण’ गरेका हुन्। यो क्रमको निरन्तरता राणा–पञ्चायत हुँदै पछिल्लो बहुदलीय कालखण्डसम्म निरन्तर रह्यो। २०१९ सालको संविधानले हिन्दू अधिराज्य संवैधानिक रूपमा कायम गरेको वैधानिक बुँदालाई ०४७ सालको प्रजातान्त्रिक संविधानले पनि लालमोहर लगायो। एक जाति (नेपाली), एक भाषा, एक भेष, एक धर्म, एक देशको अवधारणाको जबरजस्त राष्ट्र र त्यसै अन्तर्गतको राष्ट्रियता निर्माण गर्ने कोशिश गरियो। चलनचल्तीको भाषामा जसलाई ‘मण्डले’ वा ‘महेन्द्रीय राष्ट्रवाद’ भन्ने गरिन्छ।

यसरी नेपाललाई एक धार्मिक, एक जातीय र एक भाषिक राष्ट्र बनाउने राजनीतिक तथा प्रशासनिक अभ्यास विगतमा भइसकेको हो। तर यो अभ्यासले पूर्णता पाएन। यदि पूर्णता पाएको भए पुस २७ वा यस्तै कुनै तारिख नेपाल राष्ट्र निर्माण ऐतिहासिक दिन ‘राष्ट्रिय एकता दिवस’ हुने थियो। यसमा अन्यथा मान्नु पर्ने थिएन। संसारमा यस्ता परिघटना भएका थुप्रै उदाहरण छन्। नेपालमा भने अढाई सय वर्षको अभ्यासले पनि एउटा सबल राष्ट्रको रूपरेखा आउन सकेन। कसैले माने पनि नमाने पनि यो तितो यथार्थ हो।

राष्ट्रहरू कहिले माथिबाट निर्माण हुन्छन्, कहिले तलबाट। बेलायती उपनिवेशबाट मुक्त भएपछि तलबाट निर्माण भएको राष्ट्र हो अमेरिका। फिलेडेल्फिया सम्मेलनमार्फत तलबाट अमेरिकी राष्ट्रको जन्म भयो। विस्मार्कको नेतृत्वमा युद्धद्वारा माथिबाट बनेको हो जर्मनी राष्ट्र। पृथ्वीनारायण शाहले पनि कतै युद्ध र कतै सम्झौताद्वारा माथिबाट नेपाल राज्य बनाए। 

तर, उनले माथिबाट बनाएको माथि उल्लेखित विशेषताको राज्यमा आम आदिवासी, जनजाति, मधेशी, दलित, अल्पसंख्यक, सीमान्तकृत र श्रमजीवी वर्गले यतिका वर्षपछि पनि अपनत्व महसुस गरेनन्। उनीहरूले आजका मितिसम्म पनि परम्परागत राष्ट्र र राष्ट्रियताको परिभाषाभित्र आफूलाई नपाएकोमा गुनासो गरेका छन्। जर्मनको एकीकरणलाई जर्मनीले अपनत्व ग्रहण गरे। त्यसरी नेपालको यो स्वरूप बनेकोमा एकमत रहेन। यद्यपि, विकसित परिस्थितिमा यतिका वर्षपछि पृथ्वीनारायण शाहले गरेको ‘बलात भौगोलिक एकीकरण’लाई मानेर जानु बाध्यात्मक परिस्थितिको सहज निकास हुनेमा दुई मत राख्नुहुन्न।    

यसर्थ, अब नेपाल राष्ट्र निर्माणको अभ्यास तलबाट पनि थाल्नुपर्छ। माथिबाट बनाउन गरिएको प्रयास स्वरूप प्राप्त भूगोललाई तलमाथि गर्ने सम्भावना टरेर गएको छ। सिक्काको दुई पाटो भनेझैँ तलबाट राष्ट्र निर्माणको प्रक्रिया थालेर पूर्णता दिनु सर्वश्रेष्ठ उपाय हुनेछ। अहिलेसम्म भएका आन्दोलन र दोस्रो जनआन्दोलनले बढी प्रस्ट पारेको जनादेश त्यही हो। बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौतादेखि अन्तरिम संविधान र २०७२ सालमा जारी भएको नेपालको संविधानसम्मका लिखतमा यही विषय परेको छ। राज्यको पुनर्संरचनाको अपरिहार्य आवश्यकता र राज्य पुनर्संरचना गर्दा ठगिएका समुदायलाई क्षतिपूर्ति दिएर राष्ट्रमा उनीहरूको मनोभावना, संस्कृति र सभ्यतालाई सम्मान गर्ने निधो गरिएको थियो। तर राज्य पुनर्संरचना गर्दा त्यसो हुन सकेन। वास्तवमा नेपालको संविधान २०७२ मा राष्ट्रको परिभाषा जसरी गरिएको थियो, त्यसरी नै राज्यको निर्माण हुनुपर्थ्यो। यस्तो भइदिएको हुन्थ्यो भने साँचो अर्थमा नेपाल राष्ट्रको निर्माण पूरा हुन्थ्यो। परम्परागत ढंगबाट परिभाषित हुँदै आएको राष्ट्र र राष्ट्रियताको परिभाषा विपरीत प्रगतिशील ढंगबाट हुने थियो। राष्ट्रिय एकता दिवस कसैले मान्ने कसैले दुत्कार्ने नै अवस्था सिर्जित हुने थिएन।

रहलपहल
संविधानतः परिभाषित राष्ट्रको परिभाषाअनुसार राज्य निर्माण गर्दा मात्र आन्तरिक औपनिवेशीककरणको अन्त्य हुन्छ। राष्ट्रमा पछाडि पारिएका वा परेकाहरूले पहिचानमार्फत बीपीले भनेझैँ राष्ट्रको सार सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन्। यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिब हुँदैन। आन्तरिक औपनिवेशीकरणको अन्त्यबिना समग्र राष्ट्रियताको विकास र समृद्धिको कल्पनासम्म गर्न सकिन्न। नेपाली जनताबीचको आधारभूत अन्तरविरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो। यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशेढुंगा साबित हुनेछ।