मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’
टाइगर हिल मुन्तिरको जोरबग्ला–जोरपोखरीबाट रसाउने ‘बालासन’ उत्तरी बंगालको महानन्द खोलामा गएर मिसिन्छ। पश्चिम बंगालमा दार्जिलिङ र खर्साङको बीचैबीच बहने बालासन हेर्नमा शान्त–सौम्य लाग्छ। तर, भेलमा यो बहुलायो भने असाध्ये हुन्छ। जस्तो—अस्ति भर्खरै सानो कुलेसोजस्तो लाग्ने नख्खु खोलाको रौद्र रूप देखियो, ठीक उस्तै। बालासनको बयान लेखक आइबी राईले जति लेखेर गरेका छन्, त्यति नै कलाकार टेकवीर मुखियाले बालासनको चित्र मनैभरि कुँदेर राखेका छन्।
“हो नि, त्यही बालासनले मेरा हजुरबालाई बगाएर लग्यो। फेरि कहिल्यै भेटिएन”, एकदमै छरिएका स्मृतिलाई बटुलबाटुल पार्न खोज्दै उमेरमा शताब्दी–मार्गमा हिँड्दै गरेका कलाकार टेकवीर मुखिया बिहिवार अपराह्न भैंसेपाटीस्थित निवासमा गफिँदै थिए।
आगत–विगत ‘बटुलबाटुल’ किन पनि भने त्यही बालासन बगरबाट सुरु भएको मुखिया जीवनमा माघ १० गते एउटा उत्सव–साइत थियो, उनी यही दिन अपराह्नबाट ९३ वर्षमा टेक्दै थिए। “म त उमेरमा १ सय पुग्न अब केही वर्ष मात्रै छ, त्यति त बाचौँला कि भन्ने छ”,मनमा लागेका केही कुरा सुन्न–सुनाउन तत्पर भएका मुखिया हँसमुख चेहरामा बोल्न थाले—“मेरो ज्यानमा छिसिक्क रोगब्याध छैन। यत्ति हो—घुँडा अलिक चल्दैन, दुख्छ। उमेरमा सय पो लाग्न लागें त...!”
यति भनेर मुखियाले आफ्ना केही थन्किएका पुराना पेन्टिङका थाक देखाए। त्यसपछि उहिलेदेखि साथै राखेको हवाइन गितार, स्केल–साइजका बाँसुरीहरू, माउथ–हार्मोनिका (पग), आयुर्वेद र तन्त्र विज्ञानका पुस्तकहरू एकपछि अर्को निकाल्दै गए। “केके पो सम्झने? केके पो देखाउने?”,श्रवण शक्ति अलिक कमजोर भए पनि बोलचालमा टाठो लाग्ने मुखिया भन्दै थिए—“म कहिलेकाहीँ सोच्छु क्या...मेरा बाबुबाजे ओखलढुङ्गाबाट दार्जिलिङ नगएको भए, म त्यहाँबाट कलकत्ता नगएको भए अथवा म फेरि नेपाल नआएको भए के हुन्थ्यो होला? शायद म उदय सुनुवार (जन्मको नाम) भएरै बालासनतिरै मिलिसकेको हुन्थें होला।”
⁎⁎
‘सोचेभन्दा बढी जीवन र भविष्य चियाका पत्तामा हुन्छ रे’ भन्ने सुनेपछि ओखलढुङ्गा, चेस्कुबाट आजभन्दा १ सय वर्षअघि दार्जिलिङ पुगेका कर्णवीर सुनुवारका छोराछोरीले थरमा मुखिया लेख्न थालेका थिए। खर्साङको धजे चियाकमान छँदै भारतीय सेनामा भर्ती भएका बाबु कर्णवीरले सेनामा जसै ‘मुखिया’ (पदअनुसार) थर लेखाए, त्यहीँबाट उदय सुनुवार पनि टेकवीर मुखिया बनेका थिए— नामथरमैं हेराफेरी।
पश्चिम बंगालको सैन्य भर्तीमा परेर राजधानी कलकत्ता जानु परेपछि बाबु कर्णवीरसँगै १७ बर्से उमेरमा टेकवीर पनि उतै लागेका थिए। चियाकमान छँदा जम्मा ८ कक्षासम्म पढ्न पाएका टेकवीरले कलकत्ता गएर पनि पढेनन्। बरु चित्रकला, होर्डिङ–बोर्ड, पोस्टर–मेकिङ र गितार, बाँसुरी वादनमा तनमन दिए। फिल्मी पोस्टर र पर्चा बनाएबापत आउने केही रुपैयाँ चना–चटपट खान र भएभरका हिन्दी फिल्म हेर्नैमा खर्चिए। “जिन्दगी त्यसरी नै बितिजाला भन्ने थियो। तर, कलकत्तामा नेपालबाट आइजाइ गर्ने नेपालीको कुरा सुनेर र गायक धर्मराज थापाका ‘नेपालीले माया मार्यो बरी लै’ टाइपका गीत सुनेपछि आवेशमा आएर म २०२२ सालमा आफैँ काठमाडौँ आएको थिएँ”,मुखिया सम्झिरहेका थिए—“त्यसपछि त म यताको यतै भएँ, बालासनबाट बागमतीको किनारमा आइपुगेँ।”
उमेरअनुसार सम्झनाहरू निकै विशृङ्खल बनेका छन्। कलकत्ताको कुरा गरिरहँदा जोरगणेश प्रेस पनि जोडिन सक्छ। हरदम सुपारी चपाउने विजय मल्लको कुरा झिक्नासाथै आफ्नो कलाकर्मको कदर गरेर १ लाख रुपैंया 'बक्सिस' दिने पशुपति शमशेरको सम्झना उत्रन सक्छ। छोरो समृद्ध मुखियाको यो साताबाट सिद्धार्थ आर्ट ग्यालरीमा सुरु हुने कला प्रदर्शनी (हु आर यु) को आकर्षक निम्तोपत्र देखाइरहँदा महिनौँदेखि आफूले नपाएको वृद्ध भत्ताको दुखेसो पनि जोडिन सक्छ।
“मजस्तै कलाकार लैनसिंह पनि खानपिनमा निकै स्वादे थिए। अरू साथीभाइ रामकुमार पाँडे र रामबाबु सुवेदी पनि निकै मनमिल्तीका थिए, अहिले कता गए गए। आफ्नै आँगन भयो बिरानोझैँ भएको छ”,उति शृङ्खलाबद्ध नभए पनि अनेक सन्दर्भहरू मुखिया सुनाइरहेकै थिए—“अहिले म बूढो भएपछि त यहाँ वरपर आउने भँगेरा, ढुकुर, रुपी र कागहरू पनि निकै पातलिएका छन्। भनेका बेलामा चारो–पानी पनि दिनै सक्दिनँ, त्यो ऊर्जा पनि छैन।”
मुखियालाई अहिले आएर आफ्नो जन्मकुन्डली, चिना र नागरिकता सहितका कागजातमा खुबै माया जागेको छ। कहिले चिना पल्टाएर र कहिले पुराना सादा तस्बिरको अल्बम छामेर रंगीन सम्झना गरिरहन्छन् उनी। जोरगणेश प्रेसदेखि साझा प्रकाशन र रत्न पुस्तक, एकता प्रकाशनबाट निस्किएका ६ हजारभन्दा बढी पुस्तकमा झण्डै आधा शताब्दीभर ‘गाताचित्र’ कोर्ने मुखिया ती कृतिमा यसरी बाँचेका छन्, अब ती ‘मुनामदन’, ‘बसाई’ वा ‘शिरीषको फूल’ अरू संस्करणमा छापिनै बन्द भए पनि आँखैमा छाउने ती गाताचित्र भने सदा बाँचिरहनेछन्। कलाकार एवं मुखिया–यारों रामकुमार पाँडेले कतै लेखेका छन्—“मुखियाको जीवनयात्राको सबै थोक चित्रकला भएको छ। मुखिया निराकारमा आकार र आकारमा निराकार रूपरंग दिन सिपालु र सिद्धहस्त कलाकार हुन्।”
⁎⁎
मुखिया एक अजीवका पात्र हुन्, दैनिकी र जीवनशैलीका हकमा। उनी आफैँ आयुर्वेदिक अनेक खालका औषधीमुलो घरमै बनाउँछन्। अक्युपंचर आफैँ गर्छन्। ‘चिनी भनेको रोग हो, सधैं सक्खर (गुण) खानू’ भनिरहन्छन्। यथार्थवादी चित्रको परख गर्न रमाउने उनी मुहार चित्र उतार्ने हकमा केही राष्ट्रिय चिनारी भएका साधकका निम्ति ‘जन्मदाता’समेत हुन्। जस्तो, प्रथम शहीद लखन थापादेखि मैथिल महाकवि विद्यापति र किराँती राजा यलम्बरसम्म पहिलो मुहारचित्रका निर्माता हुन् मुखिया। कतिपय तिनैका कृति पढेर वा कुनै विज्ञजनसँग कुराकानी गरेर र इतिहासको त्यो आलोकमा सोध–अनुसन्धान गर्नै पर्ने विषयमा केही महिना घोत्लिएपछि मात्रै ती मुहार चित्र बाहिर आएका हुन्, सर्वसम्मत ठहर्ने गरी।
एकदमै एकाग्र र झण्डै एकलकाँटे लाग्छन् मुखिया। कतिसम्म भने भैंसेपाटी घरैभरि भित्ता र बुइगलमा समेत अस्तव्यस्त छन् मुखियाका सिर्जना कर्म। कहिले गाताचित्र बनाउने धुन त कहिले सरकारले अर्हाएको विधायक प्रतीक–चिन्ह बनाउने तन्मयता! (राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र कालका तिनै कित्ताका सांसदहरूको प्रतीक–चिन्ह (लोगो) मुखियाले बनाएका हुन्।) यी अनेक तारतम्यमाझ मुखियाले कहिल्यै पनि एकल कला प्रदर्शनी गर्नै पाएनन्, भ्याएनन्। बरु बुबाकै बाटोमा हिँडेको ‘जेन–जी’ छोरा समृद्धले केही पटक एकल कला प्रदर्शनी गर्न भ्याएका छन्– पोष्टमोर्डन शैलीमा।
संगतका हिसाबमा मुखिया बालकृष्ण समदेखि अभि सुवेदी, लैनसिंह वाङ्देलदेखि रामबाबु सुवेदीसम्म जोडिएका छन्। कमल दीक्षितदेखि ऋद्धिबहादुर मल्ल सम्मलाई उनी भुल्न सक्तैनन्, चाहँदैनन्। ९० वर्षको उमेरमा पाएको जगदम्बाश्री सम्मानको ‘चिनारी’लाई उनले आफ्नो बैठक कोठामा शिरैमाथि सजाएर राखेका छन्। तर, जीवन भन्नु यो केही होइन, सबै भ्रम हो—मुखियालाई लाग्ने गरेको छ हिजोआज। उमेरका कारण घरबाट बाहिर निस्कन मुस्किल परेको दैनिकीमा अलिक निस्सारवादी बनेका छन्।
मुखियाले झण्डै ५० वर्ष जति पुरानो मोडलको एटलास साइकल कुदाएर काठमाडौँ उपत्यका चहारे। साइकल कुदिन्जेल कुदाए उनले। उमेर र साइकल दुवैले साथ नदिएपछि त्यो वाहन थन्क्याएका छन्, घरकै सिकुवामा। “अब त आफैँलाई थन्क्याउने बेला भएझैँ लाग्छ”,आफ्नो ९३ औं जन्मोत्सवको साँझमा भेटिएका मुखिया सधैँभन्दा बढी बोलक्कड उत्रिएका थिए—“अब रंग खेलाउन सक्दिनँ, कुची समात्दा पनि हात काँप्छ। विगतमा गरिएका कतिपय राम्रा काम सम्झेर र कति गरौँला भन्दाभन्दै थाती रहेका कामको सूची सम्झेर दिन कटनी गरिरहेछु।”
विशृङ्खल गफगाफकै माझ श्रीमती शुक्र मुखियाले श्रीमान् मुखियालाई बर्थडे केक काट्न लगाइन्। तर, चलनचल्तीझैँ मुखियाले मैनबत्ती भने निभाउन चाहेनन्। ‘एउटा वर्ष सकियो, बित्यो भनेर बितेको उमेरका नाममा क्यान्डल निभाउने गरिन्छ रे। तर, त्यसो होइन। आफैँ बल्दै र आफैँ सकिँदै गरेको क्यान्डल त बालिरहनुपर्छ नि, किन निभाउने?’, बर्थडे केक चाख्दै मुखियाले सुनाए—“म चाहन्छु, म १ सय वर्ष पुगिन्जेल मेरो जीवनको लालटिन बलिरहोस्।”
अचानक केही सम्झिएझैँ मुखियाले फेरि नजिकै बोलाए र, भने—“त्यसो होइन। बाँचिन्जेल यो धिप्री बलिरहोस् भन्ने कामना हो। के थाहा, मरेपछि के हुन्छ...मरेको भोलीपल्ट दुई दिन भन्छन् के रे !”
ह्यापी बर्थडे मुखिया सर!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
