रुसी सेनामा भर्ती भएका १२४ नेपाली एक वर्षदेखि छैनन् सम्पर्कमा, खबर पर्खिरहेछन् परिवार

मानव तस्करले रुसी सेनामा भर्ती गराएका १२४ नेपाली युवा कम्तीमा एक वर्षदेखि परिवारको सम्पर्कमा छैनन्। युद्धभूमिमा हराइरहेका उनीहरूका परिवार अहिलेसम्म प्रियजन सकुशल रहेको खबर आउने प्रतीक्षामा छन्।

तस्वीर : पीडित परिवारबाट सौजन्य।

काठमाडौँ– धादिङकी ओमा काप्री (४८) रुसी सैनिकको पोसाक लगाएका छोराको तस्वीर धेरैबेर हेर्न सक्दिनन्। सैन्य पोसाकमा ठाँटिएका छोराको कलिलो मुहार हेर्दा आँखाका छेउकुना रसाउँछन्, मन भारी हुन्छ। मानव तस्करहरूले रुस पुर्‍याएका ओमाका छोरा गौतम (२४) एक वर्षदेखि सम्पर्कमा छैनन्। उनी रुस–युक्रेन युद्धग्रस्त क्षेत्रबाट हराइरहेका छन्।

१२ कक्षाको पढाइ सकेपछि उनी मानवतस्करका एजेन्टको सहयोगमा २०८० मंसिर ३ गते रुस गएका थिए, आमालाई ढाँटेर। विदेश जान्छु भनेर घरबाट निस्केका उनी एकैपल्ट रुस पुगेर सैनिक पोसाकमा ठाँटिएका तस्वीर पठाएपछि मात्र आमाले छोरो रुसी सेनामा भर्ती भएको थाहा पाएकी थिइन्। “अरू नै देश जान्छु भन्थ्यो, ढाँटेर रुस पुगेछ। युद्धमा जान लागेको थाहा पाएको भए रोक्ने थिएँ,” ओमा भन्छिन्।

गौतम रुस पुगेको चार–पाँच महिनासम्म आमाको कुरा भइरहन्थ्यो। प्रत्येकपल्ट कुरा हुँदा उनी छोरालाई घर फर्क भन्थिन्। “युद्धमा मर्ने बाँच्ने भर हुन्न, भागेर भए पनि घर आऊ भनेर सम्झाएँ,” ओमाले भनिन्, “उसले यहाँ आएपछि फर्कन मिल्दैन आमा भन्थ्यो।” 

वैशाख पहिलो साता गौतमले ह्वाट्स्एपमा फोन गरेर उनलाई युक्रेनी भूभागमा पर्ने युद्ध क्षेत्रमा लैजान लागिएको सुनाए। “युद्धमा लड्न जाँदै छु। १० दिन जति फोन लाग्दैन होला, फर्केपछि फोन गर्छु भनेको थियो,” उनले सुनाइन्। यही नै छोरासँगको अन्तिम कुराकानी थियो। त्यसपछि गौतम सम्पर्कमा छैनन्।

गौतम।

त्यसपछिका केही महिना छोराको फोन आउने पर्खाइमै बसेकी ओमा महिनौँ बितेपछि आत्तिइन्। छोराको खबर बुझ्न श्रीमानलाई काठमाडौँ पठाइन्। युद्धमा हराएको छोरा खोजिदिन अनुरोध गर्दै बुबा थुप्रै सरकारी अड्डा पुगे। परराष्ट्र मन्त्रालयदेखि रुसी दूतावाससम्म धाए। कन्सुलर सेवा विभाग पुगेर पनि निवेदन दिए। तर केही भएन। 

“१० महिनादेखि केही खबर आएको छैन, कहाँ गयो होला भनेर मन अत्तालिन्छ,” ओमा भन्छिन्। यसबीचमा रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएका खबर तारनतार आउन थालेपछि उनका दिन र रात प्रायः छोरा सम्झेर रोएरै कटिरहेका छन्।

१३ महिनादेखि हराइरहेका दिनेश
पञ्चकन्या, नुवाकोटका रामजी राई मोबाइल स्क्रोल गर्दा आउने रुस–युक्रेन युद्धका समाचार नछुटाई हेर्छन्। यिनै सामग्री धेरै हेर्ने भएकाले होला, सोसल मिडियाको अल्गोरिदमले पनि उनलाई धेरैजसो यस्तै सामग्री अगाडि ल्याइदिन्छ। समाचारका हरेक अक्षरमा उनी रुस–युक्रेन युद्धमा हराएका छोरा दिनेश (२३) को नाम खोजिरहेका हुन्छन्। 

दिनेश।

रुसी सेनामा भर्ती भएका छोरासँग रामजीको सम्पर्क टुटेको करिब १३ महिना भयो। २०८० पुस २४ गते उनले छोरासँग अन्तिम पटक कुरा गरेका थिए। त्यसबेला दिनेशले आफूलाई युद्ध क्षेत्रमा लैजान लागिएको छ भनेका थिए। “युद्ध क्षेत्रमा फोन लाग्दैन, फर्किन कति समय लाग्छ,थाहा छैन भन्थ्यो,” रामजीले उकालोसँग भने, “त्यसपछि ऊ सम्पर्कमै आएन।”  

छोरासँग सम्पर्क टुटेको केही महिनासम्म त उनले ‘युद्धमा भएकाले समय पाएन होला’ भनेरै मन बुझाए। फोन आउला भन्ने आसमा बसिरहे। महिना हुँदै वर्ष बित्दा पनि दिनेश सम्पर्कमा नआएपछि उनी आत्तिएका छन्।  

दिनेश २०८० कात्तिक पहिलो साता घरबाट हिँडेका थिए। रुस पुगेपछि दुई महिनासम्म उनी परिवारसँग नियमित सम्पर्कमा थिए। फोनमा कुरा हुँदा त्यहाँ चलिरहेको युद्धबारे सुनाइरहन्थे। “पहिले त कुरा भइरहन्थ्यो,” रामजीले भने, “युद्धमा जाँदै छु भनेको दिनदेखि ऊ सम्पर्कमा छैन। अहिले कहाँ, कुन अवस्थामा पो होला?” 

रुस–युक्रेन युद्धबारे सञ्चारमाध्यममा तारनतार अप्रिय खबर आइरहेका छन्। तिनले अरू जस्तै रामजीलाई पनि विक्षिप्त बनाउँछन्। ‘यतिका समय हुँदा कुनै न कुनै खबर त आउनुपर्ने हो, कतै अप्रिय घटना पो घट्यो कि?’ छोरासँग सम्पर्क टुटेको दिनदेखि उनको मनमा यस्तै कुरा खेलिरहेका छन्। छोराको सुर्ताले कैयौँ रात ननिदाएरै छर्लङ्ग हुन्छन्।  

रुस–युक्रेन युद्धक्षेत्रमा हराइरहेको छोराको अवस्था पत्ता लगाइदिन याचना गर्दै उनले गुहार्न बाँकी ठाउँ छैन। छोराको तस्वीर बोकेर उनी काठमाडौँस्थित रुसी राजदूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाइसके। विभिन्न पार्टीका नेतादेखि मन्त्रीहरूलाई भेटेर याचना गरिसके। “छोराको खबर बुझ्न कहाँ पो गइनँ होला?” रामजीले भने, “यतै नजिकै कतै भए त आफै खोज्न जान्थेँ होला, परदेशमा, त्यति टाढा पुगेको छोरालाई खोज्न कहाँ जाऊँ?” 

‘खबर नआउनु पनि अर्को खबर रहेछ’
दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २, भुस्पुका लक्ष्मण सिंह डोकर एक वर्षदेखि युद्ध भूमिबाट हराइरहेका भाइ ललितको खबर आउने प्रतीक्षामा छन्। 

दार्चुलाबाट पढाइका लागि काठमाडौँ आएका ललित काठमाडौँमै बस्थे। पढेर केही गरोस् भन्ने परिवारको चाहना थियो। तर उनलाई पढाइभन्दा रुसी सेनामा आकर्षक जागिर छ भन्ने मानव तस्करहरूको लोभले ज्यादा लोभ्यायो।  

ललित।

“दशैँकै मुखमा घरबाट निस्कियो। भाइले पढेको हेर्ने हाम्रो चाहना थियो, तर उसले अर्कै बाटो रोज्यो,” भाइ रुसी सेनामा जान लागेको थाहा पाएपछि रोक्न खोजेको उल्लेख गर्दै लक्ष्मणले भने, “युद्ध हो, जे पनि हुन सक्छ भनेर धेरै सम्झायौँ, तर उसले मानेन। साथीभाइको लहलहैमा लगेर ऊ हिँड्यो।” 

ललित रुसी सेनामा भर्ती हुन लोभिनुको कारण चाहिँ मानव तस्करका एजेन्टले देखाएको प्रलोभन थियो। रुसी सेनामा मासिक ३ लाख तलब हुने, त्यहाँको स्थायी बसोबास अनुमतिपत्र (पीआर) पाइने लोभसम्म उनलाई देखाइएको थियो। प्रत्यक्ष युद्ध लड्नु नपर्ने, युद्ध लड्न जाने फौजलाई सघाउने काम मात्र हो भनेपछि उनले एजेन्टलाई ९ लाख रुपैयाँ बुझाएर रुस यात्रा तय गरेका थिए। र २०८० कात्तिक पहिलो साता दुबई हुँदै मस्को पुगेका थिए। 

रुसी सेनामा भर्ती भएको तीन महिनामै उनलाई युद्ध लड्न ‘फ्रन्टलाइन’मा पठाइयो। 

लक्ष्मणलाई पुस १९ गते बेलुका ७ बजे ह्वाट्एपमा ललितको फोन आयो। फोनमा उनले आफू युद्धमा जान लागेको बताएका थिए। त्यसपछि दाजुभाइको दोहोरो संवाद भएन। 

दिन, हप्ता हुँदै महिना बितेपछि ललितको परिवार खोजीनितीमा जुट्यो। उनीसँगै रुस पुगेका साथीहरूसँग सम्पर्क गर्ने प्रयास गर्‍यो। तर न सम्पर्क भयो, न केही खबर आयो। बरु रुसबाटै युद्धमा ललितको मृत्यु भएको भन्ने अपुष्ट खबरहरू आउन थाले। परिवार झन् अत्तालियो। तर यस्ता अपुष्ट खबर आधिकारिक रूपमा पुष्टि हुन सकेनन्।  

रुसी सेनामा भर्ती भएका नेपाली युवा।

ललित कहाँ छन्, कुन अवस्थामा छन्, केही थाहा छैन। केही महिनाअघि मस्कोस्थित नेपाली राजदूतावासले परिवारको ‘डीएनए स्याम्पल’ मागेको थियो। “हामीले मागेअनुसार स्याम्पल पठाइदियौँ,” लक्ष्मणले भने, “खबर आएको भनेको यत्ति हो, त्यसपछि थप केही खबर आएन।” 

झन्डै १३ महिनादेखि ललितको केही खबर नआए पनि परिवारले उनी सकुशल रहेको खबर आउला भन्ने आस मारिसकेको छैन। “जे जस्तो भए पनि खबर मात्र भए पनि आइदियो हुन्थ्यो,” लक्ष्मणले भने, “खबर नआउनु पनि अर्को खबर पो हो कि?”

पीआरको लोभले निम्त्याएको विपत्ति
रुस र युक्रेनबीच युद्ध शुरु भएको तीन वर्ष पुग्न लाग्यो। लम्बिँदै गएको युद्धलाई अवसर ठानेर सक्रिय भएका मानव तस्करहरूले थुप्रै मुलुकबाट रुसी सेनामा ‘भाडाका सैनिक’ आपूर्ति गर्न शुरु गरे। त्यही जालोमा परेर नेपाली युवा पनि रुसी सेनामा जान थालेका हुन्। 

मानव तस्करहरूको यो संगठित जालोमा लपेटिएर रुसी सेनामा भर्ती भएका नेपालीको संख्या कति छ, उनीहरूको अवस्था के छ भन्ने यकिन विवरण उपलब्ध छैन। तर रुसबाटै सम्पर्कमा आएकाहरू, उनीहरूका परिवार रुसी सेनाबाट भागेर फर्केकाहरूले दिएको जानकारी अनुसार करिब १५ सय नेपाली रुसी सेनामा भर्ती भएको आकलन छ। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरू पनि लगभग यस्तै संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अनुमान गर्छन्। 

युद्धको त्रासद देख्दादेख्दै पनि यति धेरै नेपालीलाई रुसी सेनामा भर्ती हुन के कुराले अग्रसर बनायो? त्यहाँ भर्ती भएका नेपाली र उनीहरूका परिवारसँग कुरा गर्दा मानव तस्करका एजेन्टहरूले झुक्क्याएको र विभिन्न प्रलोभनमा पारेको देखिन्छ। कतिपयलाई ‘युद्ध लड्नु पर्दैन’ भन्दै झुक्क्याएर लगेको देखिन्छ। 

एजेन्टहरूले रुसी सेनामा भर्ती भएको एक वर्षमा पीआर पाइन्छ भनेर देखाएको लोभले सबभन्दा धेरै आकर्षित गरेको देखिन्छ। वैदेशिक रोजगार आकर्षक पेसा बनेका बेला पीआर पाइने, मासिक तलब नै ३ लाख रुपैयाँ हुने र ‘फ्रन्टलाइन’मा युद्ध लड्नु पनि नपर्ने भनेर एजेन्टहरूले देखाउने लोभमा नेपाली युवा परेका छन्। 

रुसका तर्फबाट युद्ध लड्न पुगेका नेपाली युवा युक्रेनको युद्धभूमिमा।

यस्तै प्रलोभनमा परेर रुस पुग्नेमध्ये हेटौँडा, मकवानपुरका रामकुमार प्रधान पनि हुन्।  

रामकुमार युनाइटेड अरब इमिरेट्स (यूएई) को आबुधाबीमा काम गर्थे। त्यहाँ प्रहरीको जागिर छोडेर २०७९ सालमा उनी घर फर्केका थिए। यतै केही समय बसेपछि उनी एक जना एजेन्टको सम्पर्कमा पुगे। ती एजेन्टले रामकुमारलाई रुसी सेनामा भर्ती खुलेको सुनाए। भर्ती भए के के फाइदा हुन्छ भनेर लोभ्याए।

“रुसी सेनामा भर्ना भएको एक वर्षमै पीआर पाइन्छ, मासिक ३ लाखसम्म कमाइ हुन्छ भने भनेर दाइलाई दलालले लोभ देखाएछन्,” रामकुमारका भाइ बाबुकाजीले भने, “फ्रन्टलाइनमा युद्ध पनि लड्नुपर्दैन भनेर दलालले हौस्याएपछि दाइ पनि हौसिनुभयो। तर दलालले झुक्क्याएछ।” 

२०७९ असारमा रामकुमार तिनै दलाललाई ८ लाख बुझाएर दुबई हुँदै रुस पुगेका थिए। त्यहाँ पुगेपछि पो थाहा भो, दलालले भने जस्तो रहेनछ। युक्रेनसँग रुसको युद्ध चर्किइरहेको थियो। अनि रुसी सेनाले नेपाली जस्तै बाहिरबाट ल्याइएका ‘भाडाका सैनिक’लाई बन्दुक बोकाएर युद्धको फ्रन्टलाइनमा पठाइरहेको थियो। १५–२० दिन तालिम गरेपछि रामकुमारलाई पनि युद्ध क्षेत्रमा पठाइयो।  

रामकुमार।

रुस पुगेको तीन महिनासम्म राजकुमार परिवारको सम्पर्कमै थिए। ह्वाट्सएपमा कुरा गरिरहन्थे। त्यसपछि भने उनी अनलाइन देखिन छाडे। अन्तिमपटक २०७९ असोजमा घरमा कुरा हुँदा उनले आफूलाई ‘युद्धमा लगिँदै गरेको’ बताएका थिए। 

त्यसयता रामकुमार सम्पर्कमा छैनन्। कुनै खबर पनि छैन। दुई वर्षदेखि केही खबर नपाएपछि परिवार पीडामा छ। श्रीमती र ३ वर्षको छोरा उनको बाटो कुरिरहेका छन्। भाइ बाबुकाजी भन्छन्, “जस्तो अवस्थामा भए पनि खबर मात्र आइदिए हुन्थ्यो।”  

कास्कीको रूपा गाउँपालिका–४, मूलपानीका कञ्चन खत्री (२३) लाई पनि पीआरकै लोभले डोर्‍याएर रुसी सेनासम्म पुर्‍याएको हो। रुस–युक्रेन युद्ध चलिरहँदा २०८० सालमा ‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका कञ्चन त्यहाँ पुगेपछि पढाइतिर लागेनन्। बरु रुसी सेनाले खोलेको सैन्य भर्तीतर्फ लागे। 

कञ्चन।

परिवारका अनुसार २० दिन आधारभूत सैन्य तालिम लिएपछि उनलाई युद्ध क्षेत्रमा खटाइएको थियो। त्यसपछि उनको केही खबर छैन। छोरासँग सम्पर्क टुटेको वर्ष दिन पुगिसक्दा पनि उमेर ढल्किसकेका बाबु र आमा छोरा फर्कने आसमा बसिरहेका छन्। त्यो सम्भावना भने झिनो बनेको छ। किनभने कञ्चनसँगै रुसी सेनामा भर्ती भएका उनका साथीहरू युद्धमै अस्ताएको खबर आएको छ। 

खोजी र उद्धारको संघर्ष, दर्ता भएका ३४३ निवेदन
रुसी सेनामा भर्ती भएका कति नेपाली कुन अवस्थामा छन् र कति युद्ध क्षेत्रमा हराइरहेका छन् भन्ने यकिन आँकडा सरकारसँगै छैन। सरकारको सम्पर्कमा आएका रुसी सेनामा भर्ती भएकाका परिवारको संख्या र मोटामोटी सरकारी आँकडा केलाउँदा रुस–युक्रेन युद्ध क्षेत्रमा करिब डेढ सय नेपाली हराइरहेको देखिन्छ। उनीहरु परिवारको सम्पर्कमा नआएको अधिकतम दुई वर्षसम्म समय बितिसकेको छ।

रुसमा हराइरहेका आफन्तको खोजी गरिदिन दबाब दिन आमरण अनशनमा बसेका परिवारका सदस्य। तस्वीर : आभास/उकालो

उनीहरूका परिवारजनले रुसमा हराइरहेका प्रियजनको खोजी गरिदिन दबाब दिँदै विभिन्न चरणमा आन्दोलन गरे। संघीय सरकारको प्रमुख मुकाम सिंहदरबार, कन्सुलर सेवा विभागदेखि काठमाडौँस्थित रुसी राजदूतावास अघिल्तिर धर्ना दिए। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटरै पटक–पटक ज्ञापन–पत्र बुझाए। त्यति गर्दा पनि पीडा नसुनेको भन्दै परिवारजन २०८० माघमा १८ दिनसम्म आमरण अनशनमै बसे। 

युद्धमा हराइरहेका आफ्ना नागरिक खोज्न सरकारले गम्भीरता नै नदेखाएको परिवारजनको गुनासो छ। “एक वर्ष भन्दा लामो समयदेखि हाम्रा मान्छे युद्धमा हराइरहेका छन्,” नाम उल्लेख गर्न नचाहने पीडित परिवारकी एक सदस्यले भनिन्, “राज्य हाम्रा मान्छे खोज्न तयारै छैन, जान हुन्न भन्ने ठाउँमा किन जान दिएको भनेर उल्टै हपार्छ।” 

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागमा रुसी सेनामा भर्ती भएर हराइरहेको भन्दै खोजी तथा उद्धारका लागि परिवारजनका ३४३ निवेदन दर्ता भएका छन्। तीमध्ये खोजीका लागि मात्र १२४ निवेदन परेका छन्। घाइते अवस्थामा रहेका वा अन्यको उद्धारका लागि भनेर थप १७१ निवेदन परेका छन्। 

मन्त्रालयका सहायक प्रवक्ता सुभाङ्ग पराजुलीका अनुसार निवेदन केलाउँदा रुस–युक्रेन युद्धमा हराइरहेका नेपाली कम्तीमा ६ महिनादेखि बढीमा दुई वर्षदेखि सम्पर्कविहीन छन्। खोजीका लागि १२४ निवेदन दर्ता भए पनि यो संख्या अझ धेरै हुन सक्ने उल्लेख गर्दै उनले भने, “यो विभागमा आएका निवेदनको मात्र संख्या हो। लामो समयदेखि हराएर सम्पर्कमा नआएका अरू थुप्रै होलान्।” 

नेपालबाट रुसी सेनामा भर्ती भएकाका परिवारलाई एकीकृत गरिरहेको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’मा मात्र रुस–युक्रेन हराएका ३ सय नेपालीका परिवार सम्पर्कमा छन्। अभियानकी संयोजक कृतु भण्डारीका अनुसार तीमध्ये केहीको मृत्यु भएको खबर आएको छ। उनी रुस–युक्रेन युद्धमा हराएका नेपालीको संख्या १५० देखि २०० सम्म हुनसक्ने बताउँछिन्। 

परराष्ट्र मन्त्रालयका सचिव अमृत राई रुस–युक्रेन युद्धमा हराइरहेका नेपालीको खोजीका लागि कूटनीतिक प्रयास भइरहेको बताउँछन्। “युद्धमा हराएकाहरूको खोजतलास गरिदिन हामीले रुसलाई पत्र पठाएका छौँ,” उनले भने, “युद्धमा हराएकाले खोजी गर्ने विषय जटिल छ, तैपनि हामीले प्रयास गरिरहेका छौँ।”