नेपालले विश्वकप फाइनल खेलेको खो–खोः उत्साह अझ बढेको छ

पहिलो विश्वकपमा फाइनल पुगेर उपवेजेतामा चित्त बुझाएका पुरुष र महिला खो–खो टोली तथा प्रशिक्षक पूर्वाधारमा लगानी मात्र भइदिए अर्को विश्वकपको उपाधि जित्न सकिने योजना बनाइरहेका छन्।  

काठमाडौँ– क्रिकेटबाट पछिल्लो समय विश्व खेलमञ्चमा दरिलो प्रभाव बनाएको नेपालले हालसालै खेलबाटै अर्को चर्चा बटुल्यो। तर त्यो खेल क्रिकेट थिएन। नेपाली पुरुष र महिला दुवै टोली पहिलोपटक आयोजित विश्वकपको फाइनलमा पुगेका थिए। त्यो विश्वकप थियो, खो–खो खेलको। 

गत माघ ६ गते विश्वकपको फाइनल हुँदै थियो। भारतमा आयोजित यो विश्वकप फाइनलमा पुरुष र महिला दुवै टोलीले उपाधिका लागि भारतकै सामना गर्दै थिए। नेपाल विश्वकपको उपाधि चुम्न त सफल भएन, तर फाइनलमा भारतसँग पराजित भएपछि नेपालका दुवै टोली उपविजेता बने।

पहिलो विश्वकपमा पुरुषतर्फ नेपालसहित भारत, पेरु, ब्राजिल, भुटान लगायत १५ राष्ट्रका टोली सहभागी थिए। महिलातर्फ नेपाल, भारत, दक्षिण कोरिया, इरान, मलेसियासहित १५ राष्ट्रकै टोली थिए। यस हिसाबले पनि नेपाली टोलीको फाइनल यात्रा आफैमा सम्झनलायक थियो। 

नेपाल खो–खो संघ राष्ट्रिय टिम तयारी समितिले कीर्तिपुरस्थित कभर्ड हलमा सञ्चालन गरेको बन्द प्रशिक्षणबाट पुरुष र महिला दुवै टोलीमा १५–१५ खेलाडी छनोट गरेर विश्वकपमा पठाएको थियो।

पुरुष टोलीमा हेमराज पनेरुको नेतृत्वमा जनक चन्द, समीर चन्द, विश्वास चौधरी, सुरज पुजारा, रोहितकुमार बर्मा, यमन पुरी, वेदबहादुर वली, झलक बिक, विकराल सिंह रत्गैया, विशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु र गणेश विश्वकर्मा थिए।

त्यस्तै, सरस्वती कडायतले नेतृत्व गरेको महिला टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कञ्चन चौधरी, पुनम थारू, सम्झना बिक, दीपाकुमारी बिक, खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले थिए।

विक्कीराज महर्जनले प्रशिक्षण सम्हालेको पुरुष टोली र लक्ष्मी नारायण प्रशिक्षक रहेको महिला टोली, दुवैले पहिलो विश्वकपमै फाइनल यात्रा तय गरेको खो–खो खेल नेपालमा कहाँबाट शुरू भयो? अनि विश्वकप फाइनल खेलेको नेपाल त्यो खेल विकासमा चाहिँ कहाँ छ त? 

चक्रव्यूहसँग तुलना गरिने खो–खो खेलको विकास
खो–खो खेल कहाँबाट कसरी उत्पत्ति भयो होला? तथ्यहरू केलाउँदा यसको उत्पत्ति भारतको महाराष्ट्रमा भएको देखिन्छ। ठ्याक्कै कहिलेदेखि खेल्न थालियो भन्न त कठिन छ, तर यो निकै पहिलेदेखि नै रथले खेलिने गर्थ्यो। त्यसताका यसलाई ‘राथेरा’ नामले पनि चिनिन्थ्यो। सम्भवतः त्यहीकारण पनि खो–खो लाई महाभारतको चक्रव्यूहसँग तुलना गर्ने गरिएको थियो। 

भारतमा यसलाई सबभन्दा लोकप्रिय परम्परागत खेलहरूमध्ये एक खेलका रूपमा लिइन्छ। यो खेलको आधुनिक शुरूआत भने धेरै पछि अर्थात् प्रथम विश्वयुद्धताका भएको थियो। त्यो सन् १९१४ ताकाको समय थियो। ओलम्पिक डट्कममा उल्लेख भएअनुसार यो खेलका नियमहरू महाराष्ट्र, पुनेको डेक्कन जिमखाना क्लबले बनाएपछि यसको विकास र चर्चा बिस्तार भएको हो। दक्षिण एशिया हुँदै अहिले यो अरू महादेशमा पनि बिस्तार भइसकेको छ। 

खेल खेल्दा प्रतिस्पर्धा गर्ने प्रत्येक टोलीमा नौ खेलाडी हुन्छन्, थप तीन जना खेलाडी ‘सब्स्टिच्युट’ राखिन्छ। प्रतिस्पर्धाका क्रममा एक टोलीले अर्को टोलीलाई लखेट्छ, लखेट्ने टोलीले भाग्ने टोलीका खेलाडीलाई घेराबन्दीमा पारेर ‘आउट’ गर्दै जान्छन्। 

खो–खो नेपालमा धेरै पहिलेदेखि खेलिँदै आएको मानिन्छ। खो–खो संघका टेक्निकल डाइरेक्टर प्रदीप महर्जनका अनुसार २०३८ सालदेखि विद्यालय तहको पाठ्यक्रममा शिक्षा विषयमा समावेश गरिएपछि यसको विकासक्रम शुरू भएको हो। त्यतिन्जेल तालिमप्राप्त प्रशिक्षक नहुँदा खेलको विकास भने हुन सकेन। २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो–खो संघ तदर्थ समिति गठन भएको, २०५२ सालमा यसले राष्ट्रिय खेलकुद परिषद्बाट संघको मान्यता पाएको थियो। 

तर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुन नसक्दा यो खेलले व्यावसायिक फड्को मार्न सकेन। २०६० को दशकपछि भने राष्ट्रिय प्रतियोगिता हुन थालेपछि खो–खोको विकास पनि हुनथाल्यो। संघले २०६४ सालदेखि राष्ट्रिय प्रतियोगिता आयोजना गर्नथाल्यो। 

विश्वकपअघि नेपालले खो–खोबाट दक्षिण एशियालीस्तरमा पदक जितिसकेको छ। सन् २०१६ मा भारतमा सम्पन्न १२औँ दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले कास्य पदक जितेको थियो भने त्यसको तीन वर्षपछि नेपालमा आयोजित १३औँ सागमा रजत पदक जित्यो। 

नेपाल खो–खो संघले सुदूरपश्चिम प्रदेश खो–खो संघसँग मिलेर गत चैतमा धनगढीमा प्रथम यू२१ राष्ट्रिय पुरुष तथा महिला खो–खो प्रतियोगिता नै आयोजना गर्‍यो। प्रतियोगितामा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका टोली सहभागी भएका थिए। 

राष्ट्रिय खेलकुद परिषद्को सूचीमा खो–खो अहिले ३६औँ नम्बरमा लिपिबद्ध खेल हो। तर विश्वकप फाइनल खेलिसकेको नेपालमा अहिलेसम्म यो खेल खेल्नै एउटा मैदानसम्म बनेको छैन। 

विश्वकपपछिको उत्साह जोगाउने चुनौती
राष्ट्रिय टोलीकी सदस्य अनिशा गोले सानैदेखि खो–खो खेलमा जोडिएकी हुन्। खेलमा रुचि बढ्दै जाँदा यसमै दत्तचित्त भएर लागेकी उनी खेललाई नै पहिलो प्राथमिकता दिइरहेको बताउँछिन्। तर प्रशिक्षण गर्ने राम्रो मैदानसम्म नहुँदा उत्कृष्ट प्रदर्शन गर्न नसकेको उनको गुनासो छ। विश्वकप फाइनल पुगेर उपाधि गुमाउनुको कारण उनले खेल्ने मैदान र पर्याप्त प्रशिक्षण अभावलाई मानेकी छन्। भन्छिन्, “खेल्न आवश्यक पूर्वाधार विकास गरेर खेलाडीहरूलाई प्रोत्साहन भयो र पर्याप्त प्रशिक्षण मिल्यो भने आउँदा प्रतियोगितामा हामी उत्कृष्ट नतिजा ल्याउन सक्छौँ।” 

पुरुष राष्ट्रिय टोलीका सदस्य राजन बल शुरूमा रमाइलो लागेर २०६९ सालतिर यो खेलमा प्रवेश गरेको बताउँछन्। “रमाइलोका लागि खेल्न जान्थेँ। जर्सी पनि पाएपछि खुशी लाग्थ्यो,” उनले सुनाए।

बिस्तारै उनलाई अरू खेल जस्तै यो खेलमा पनि राष्ट्रियस्तरका प्रतियोगिता हुने गरेको थाहा भयो। त्यहीँबाट उनी राष्ट्रिय खेलाडी बन्ने सपना बुन्न थाले। त्यसले उनलाई विश्वकपसम्म पुर्‍यायो। “विश्वकप खेलेर आएपछि चाहिँ खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्छन् कि भन्ने आशा जागेको छ,” उनले भने, “अहिले एउटै राम्रो खेल्ने मैदान छैन, एकेडेमी छैन, प्रशिक्षण गर्न निकै कठिनाइ छ। खेल्ने मैदान, एकेडेमी अनि प्रदेशस्तरमा पनि त्यस्ता गतिविधि हुने हो भने खेलाडीको लागि भविष्यमा धेरै राम्रो हुन्छ।” 

केही समयपछि भारतको दिल्लीमा प्रो–खो–खो लिग शुरू हुँदैछ। भर्खरै विश्वकप फाइनलमा भारतसँगै प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरू त्यो लिगमा अनुबन्धित हुने सम्भावना बलियो छ। बल भन्छन्, “यो लिगले नेपाली खेलाडीमा ठूलो आत्मविश्वास थप्नेछ भन्ने मेरो विश्वास छ।” 

खो–खो खेलेरै लामो समय बिताएका विक्कीराज महर्जन अहिले पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक छन्। नेपालमा धेरै पहिलेदेखि खेलिँदै आए पनि खो–खोबारे नेपालीले थाहा पाउन विश्वकपसम्म पर्खनुपरेको उल्लेख गर्दै उनले अब यसको व्यावसायिक विकासको सम्भावना पनि बढेको बताए। उनले भने, “मुख्य कुरा पूर्वाधार विकास र खेलाडीहरूमा लगानी हो, अब त्यो गर्ने समय आयो।” 

उनले विश्वकप फाइनलमा उपाधिबाट वञ्चित हुनुको कारण खेलमा लगानी नहुनु, समयमा प्रतियोगिता नहुनुलाई नै औँल्याए र थपे, “सरकारले लगानी गरोस्, हामी विश्वकपकै उपाधि जित्न सक्षम छौँ।”