दलित परिवारमा जन्मेकै कारण आफूले पढ्न नपाएकोमा बाआमा थकथकी मानिरहनुहुन्छ। मेरा बाआमालाई पढ्नबाट वञ्चित गरेर उनीहरूले जात जनाएका होइनन् र?
‘म कलाकार भएँ या भइनँ मलाई थाहा छैन, तर मेरो समाजमा म मान्छे कहिल्यै पनि हुन पाइनँ,’ यो प्रतिक्रिया/आक्रोश लोकगायक तथा सर्जक खेम सेन्चुरीले हालसालै कुनै अन्तर्वार्तामा दिनुभएको हो।
यस पटकको गायन ‘रियालिटी शो’ ‘द भ्वाइस अफ नेपाल’को सिजन–६ मा सेन्चुरी कोचका रूपमा छन्। समावेशिता/संवेदनशीलताको हिसाबले राम्रो अभ्यास/उदाहरण हो यो। गायन र वाद्य क्षेत्रमा उत्पीडित समुदाय तुलनात्मक रूपमा अघि छन्। चर्चाका रियालिटी शोमा हुने उचित प्रतिनिधित्वले नेपाली लोकदोहोरी क्षेत्रमा तिनको हिस्सेदारी प्रकट गर्छ।
तर 'खुट्टाले बजर थिचेर कुर्सी घुमाएको' भन्दै सेन्चुरीलाई समाज र सामाजिक सञ्जालका केही 'सज्जन'ले विवादमा ताने।
रियालिटी शोमा मूल विधाका अतिरिक्त अनेकन् हरकत गरिन्छन्। खासमा त्यस्ता हरकत चर्चा बटुल्नकै लागि आयोजकले प्राय: गराउने गर्छन्। टीआरपी र भ्युज बढाउन नै प्राय: यस्ता चटक गरिन्छन्। र, यो भ्वाइस अफ नेपालमा खुट्टाले बजर थिच्नु कुनै नौलो विषय थिएन। कुनै कोचले यस्तो गरेको पहिलो पटक त झनै थिएन। प्रमोद खरेल, राजेश पायल राई, अभया सुब्बा, आस्था राउत र मिलन नेवारलगायत यसअघिका कोचले खुट्टाले बजर थिचेकै हुन्। युट्युब, फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमा त्यो रेकर्ड भएर रहेको छँदैछ।
तर खुट्टाको विषय यसरी उछालियो कि पहिलो पटक त्यस्तो अपमानजनक हरकत सेन्चुरीले मात्रै गरे। खुट्टालाई तुच्छ र टाउको/मुखलाई श्रेष्ठ ठान्ने अवधारणा आफैँमा त्याज्य छ।
स्मरणीय छ, ऋग्वेदको यो श्लोक, जसलाई टेकेर समाजमा हजारौँ वर्षयता अनेकन् सोपान (हाइरार्की) विकाश गरिएको बताइन्छ: ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः। ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः॥ (ब्रह्मको मुखबाट ब्राह्मण उत्पन्न भए, बाहुबाट क्षत्री बने, उनको जाँघबाट वैश्य उत्पन्न भए र पैतालाबाट शूद्र उत्पन्न भए।)
शायद यही दृष्टिबाट दीक्षित–जनले रियालिटी शोमा प्रतिस्पर्धीका रूपमा सहभागी आफ्ना समुदायका व्यक्तिको अपमान ठान्दै सेन्चुरीलाई सामाजिक सञ्जालमा निशाना बनाए। ‘सेन्चुरीले जात देखायो’ भन्ने खालका घटिया टिप्पणी गरे। सामाजिक सञ्जालभर उनीलक्षित टीकाटिप्पण देख्दा लाग्छ– उनले ठूलै अपराध गरेका हुन्। मानिसहरू उनको अपराध करार गर्न कस्सिएर लागि परेका छन्।
सेन्चुरीको खुट्टाले अपराधै गर्यो, उनले ‘जात जनाए’ रे, त्यसो हो भने त्यस पहिले ठूला जात भनिने समुदायबाट आएका कोचले त्यही गरेर के जनाएका थिए? एउटै हरकत फरक समुदायका कोचले गर्दा पहिले गर्दा किन आक्रोश व्यक्त भएन र अहिले भयो? ‘अहिले त विभेद निमिट्यान्नै भयो, हटिसक्यो’ भन्न नछुटाउने भद्रभलाद्मीले उतिखेर चाहिँ किन कोकोहोलो नमच्चाएका? र, यस्तो 'इगो'युक्त प्रतिक्रियाको जरो कता छ भन्ने सहजै बुझिन्छ।
हामी त्यही समाजको उपज हौँ, जहाँ उत्पीडित समुदायको व्यक्तिले कुनै पद र प्रतिष्ठा प्राप्त गर्दा स्विकारिँदैन। पालिकाहरूमा उपप्रमुखका रूपमा महिला चुनिएर आउँदा पितृसत्ताको आन्द्रा पोल्ने गरेको उपप्रमुखलाई तिनले गर्ने व्यवहार (असहयोग) बाट अनुमान गर्न सकिन्छ। विवश भई ‘मानका खातिर मान’ प्रकट गर्नु अलग कुरा, तर नेतृत्वमा महिला अगाडि आउँदा पितृसत्ताको पेट कति पोलेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ।
त्यता पितृसत्ता, यता मनु महाराजको 'छुईछुई' सत्ता।
वडा सदस्यका रूपमा दलित प्रतिनिधि बैठकमा आएर नजिकैको कुर्सीमा कुम जोडेर बस्दा तिनको मथिंगल कसरी हल्लिएको होला?
आजका दिनमा नेपालको कुल जनसंख्याको १३.८ प्रतिशत जनसंख्या छ दलित समुदायको। धकेलेर भीरतिर पुर्याइएको यो समुदायलाई ‘मुखबाट जन्मेका’ले हजारौँ वर्षयता ‘पैतालाबाट जन्मेका’लाई खेदेको खेदै छन्। भीरबाट गुल्टाउँदासमेत पैतालाबाट जन्मेका भने आत्मसम्मानका लागि भिडिरहेछन्। पहिले–पहिले त जीवनकै भीख माग्दासमेत नपाइने स्तरको उत्पीडन थियो समाजमा।
यो समाज गुलामी र सलामीको जति भोको छ, उत्तिकै निपुण छ निन्दा र गालीमा। कसैलाई कमजोर बनाएर कजाउने र त्यसकै निन्दा बढी गर्ने यस समाजको चरित्र हो। पुरानो श्लोकले यसलाई पुष्टि गर्छ:
अश्वं नैव गजं नैव व्याघ्रं नैव च नैव च।
अजापुत्रं बलिं दद्यात् देवो दुर्बल घातकः॥
(घोडा, हात्ती र बाघ नभएर पाठोलाई बलि दिइने गरिन्छ, देवताहरूसमेत दुर्बलकै हत्या गर्छन्।)
यस्तो शक्तिपूजक समाजमा उत्पीडनमै परेको समुदायलाई अनेक रूपमा निन्दा गरिन्छ। बारम्बार जात काढिन्छ। 'जात जनायो' भन्ने टिप्पणी त्यसकै उदाहरण हो। जबकि, जातीय यो सोपान निर्माणमा हाम्रो कुनै भूमिका नै छैन। यो जात भन्ने जिनिस नै उत्पीडित समुदायले बनाएका होइनन्। ‘ब्रह्माको मुखबाट जन्मेका’ले नै यो जटिल र पीडक व्यवस्था बनाएका हुन्।
मेरी आमालाई घर भित्रदेखि वरपरको वातावरण अति सफा चाहिन्छ। सफा गर्नमा साह्रै लगाव छ उहाँमा। चिटिक्क भएर बस्न मन पर्ने। तर कसैको घर फोहोर हुँदा मुखवालाले सिधै मुख छाडेको सुन्छु, ‘दमैको घरजस्तो नि छैन।’ उसो त यी तिनको गाली भन्नु नै खास सम्प्रदाय विशेष लक्षित हुन्छ–दमाईंजस्तो, कामीजस्तो, सार्कीजस्तो। तराईमा यस्तो गाली डोम, चमार आदिप्रति लक्षित हुने गर्छ। उसो त कुनै पुरुषले अपेक्षाकृत परिणाम नल्याए र अलि सुस्त काम गरे वा मसिनो स्वरमा बोले ‘आईमाईजस्तो’ भनेर टिप्पणी गर्छन् उनीहरू। पित्तृसत्ता र जातीय सत्ताको निन्दक चरित्र उस्तै छ।
‘मुखवाला’ कसैले लगाएको कपडा धुलोमैलो र फोहोर हुँदा ‘कामीको धोती’जस्तै भनेर अपमानित गर्छन्। जबकि मन्दिरमा सजिने मूर्ति कुँद्दा फलाम, खरानी, धुलो र आगोसँग खेल्दा पसिना लतपतिएर कामीको कपडा रंगिएको हो भन्ने सोच राजा महाराजाका खोपीका कविमा पलाउन सकेन। देव स्तोत्र, महाराजाको बखान र दयालु महारानीका श्लोक र कथा चलाउने उपाध्याय र शर्माजीहरूले खासमा ‘दमाईं दाइ र दमिनी भाउजू’का सीपका कारण सिंगै देशको लाज छोपिएको यथार्थ मनन गर्दै तिनको सम्मान कविता र श्लोक लेख्नुपर्थ्यो, तर लेखेनन्। शर्माजीहरूले यसरी युगौँदेखि आफ्नो असली चरित्र (जात) देखाइरहे, आफ्नो मनभित्र भएको जातको मैलो व्यवहारले ओकलिरहे।
यस्तै ‘जात देखायो’ भन्दै दपेट्ने र जातकै कारण ‘ह्युमिलेट’ गरेकै कारण मेरा बाआमाले स्कुल शिक्षा पूरा गर्ने हिम्मत गर्नुभएन। अहिलेभन्दा झनै कष्टकर समयमा 'जात देखाउनेहरू'सँग अपमानित भएर एउटै कोठामा पढ्न कसरी सम्भव थियो? विद्यालयमा ‘दमै’ भनेर साथीहरूले हेपेर सँगै बेन्चमा बस्न नदिएकै कारण उहाँले कक्षा ३ भन्दा माथि पढ्न सक्नुभएन। आमा सधैँ कक्षामा प्रथम हुने र अक्षर उत्तिकै राम्रो। तर ‘दमिनी जान्ने भई!' भन्दै अपमान गरिएका कारण सात कक्षामै उहाँले पढाइ छाड्नुभो। दलित परिवारमा जन्मेकै कारण आफूले पढ्न नपाएकोमा बाआमा थकथकी मानिरहनुहुन्छ। भौतिक र मानसिक क्षतिपूर्ति मेरा बाआमा र मेरो परिवारले कहिले र कहाँ पाउने? मेरा बाआमालाई पढ्नबाट वञ्चित गरेर उनीहरूले जात जनाएका होइनन् र?
अरू त अरू, मेरो भाइले समेत आफूभन्दा ठूलो कक्षा विद्यार्थीले ‘दमै’ भनेर हेपेका कारण बुवा–आमासँग ‘म स्कुल जान्न’ भनी झगडा गरेको अझै सम्झन्छु। यस्तै विभेदका कारण हिमाल-पहाडदेखि तराईसम्म कति दलित विद्यार्थीले छाडेका होलान् स्कुल? सम्झिल्याउँदा यो व्यवस्था र व्यवहारलाई थुकिरहन मन लाग्छ। तर थुकेर घाउ बिसेक हुने होइन।
यो समस्या केवल शिक्षालय र शिक्षामा मात्र सीमित छैन; दलित समुदायका व्यक्तिको प्रगतिको बाटोमा निरन्तर रोकावट पैदा गर्ने प्रवृत्ति अझै जीवित छ। म आफ्नै घटना पनि सुनाउँछु:
कक्षा ८ पढ्दै थिएँ, बिहानै बुवासँगै घरको आँगन बढारिरहेको थिएँ। घरनजिकको चिया पसल धाउँदै गरेका एक 'उच्च जातीय' बाजेले बालाई अर्ति दिए, "तेरो छोरीलाई चाहिनेभन्दा धेरै नपढा है, तिमीहरूको जातले पढेर के हुन्छ?" मेरा बा सचेत मान्छे हुनुहुन्थ्यो र त्यस पीडकको प्रतिक्रियाविरुद्ध निरन्तर लाग्नुभयो। आफ्नो समुदायका हरेकलाई छोराछोरी पढाउनपर्छ है भनी सल्लाह दिइनै रहनुभयो।
'शूद्र'ले शिक्षा लिनुहुँदैन भन्ने ज्ञान ती पीडकले मनुस्मृतिका यिनै श्लोकबाट लिएका हुन्:
"वेदाध्ययनं अग्निहोत्रं दानं चैव विशेषतः।
विप्राणां क्षत्रियाणां च वैश्यानां च किलान्यतः॥"
(वेद अध्ययन, यज्ञ र दान विशेष रूपले ब्राह्मण, क्षत्रिय र वैश्यहरूको कर्तव्य हो।)
"श्रुति शूद्रस्य नाधेया" (शूद्रले वेद (श्रुति) सुन्नु हुँदैन।)
यी श्लोक लेख्नेहरूले आफ्नो जात जनाएका होइनन्?
बरु रङभेदविरुद्धका नायक नेल्सन मन्डेलाले शिक्षाको महत्त्वबारे अमेरिकाको एउटा हाई स्कुलमा सन् १९९० मा बताएका थिए, ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसले तिमी संसार बदल्न सक्छौ।’
सेन्चुरीले गोडाले बजर थिच्दा ‘जात जनाएको देख्ने’को हकमा त तिनको तथाकथित सर्वश्रेष्ठ जातीय अहंकारमा लात बज्रेकै हो। तर तथ्य यो पनि हो कि सदियौँदेखि शिक्षा र अवसरबाट वञ्चित गरिँदै आएको र वञ्चित नगरिएको समुदायको सार्वजनिक परिचय अलग देखिइन्छ र बुझिइन्छ, जसरी सम्भ्रान्त र मजदुर वर्गको परिचय अलग देखिइन्छ। पद हुने र नहुनेबीच, मोटो र दुब्लोबीच, खान पाउने र नपाउनेबीच, कालो र गोरोबीच, अमेरिकन र भारतीय/नेपालीबीच पनि यस्ता भेदहरू देखिन्छन्।
आखिर सुन्दरता भन्ने विषय आर्थिक/सामाजिक–वर्गीय/जातीय पनि हुन्छ। कोही मान्छेलाई देख्नेबित्तिकै कुन जातको, कुन थरी, पानी चल्ने कि नचल्ने भन्ने मनोविज्ञान त यही जातीय/धार्मिक सत्ताले बनाएको हो। यी तमाम व्यवहारका कारण दक्षिण एशियाली समाज ठुसठुस गन्हाइरहेको छ। र यो हामी (उत्पीडित जाति/समुदाय)ले बनाएका होइनौँ। हाम्रा पुर्खाले बनाएका होइनन्। श्रद्धेय ‘मुखबाट जन्मनुभएका’हरू, यहाँहरूले नै ‘जात जनाएकै कारण’ यो समाज नै आज बस्नलायक नरहेको हो।
हामीले त कहिले जात बनायौँ र यो जात जनाउने कुरा आयो? हामी त मान्छेको एउटै जात हुन्छ भन्दै जहिल्यै चिच्याइरहेछौँ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
