१८ वर्षअघि माओवादी छापामारको तन्द्राबाट निस्किँदै गर्दा मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो। खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।
मेरो भोगाइ र जीवनको आरोह–अवरोध त्यहीँबाट शुरू हुन्छ— जहाँ म जन्मिएँ, हुर्किएँ। १५ वर्षकै इलामको आठघरे गाउँबाट माओवादी छापामार भई घरबाट निस्किँदा म कता जाँदैछु, कुन गुफामा छिर्दैछु र अबको सपना–जपना के होला भन्ने पत्तै थिएन।
छापामार बनेको छोटै अवधिमा पाएको प्रताडना, मृत्यु नजिकै पुगेर गरेको जीवनबोध र कारागारमा बिताएका दिनरातको वृत्तान्त भरेर २०६७ को जेठमा ‘छापामार युवतीको डायरी’ प्रकाशन भएपछि मेरो चिनारी अर्कै बन्यो। आफूले थेगेको आफ्नो नामभन्दा बढी म छापामार युवती बनेँ।
आजभन्दा १८ वर्षअघि जब भर्खरै माओवादी छापामारको तन्द्राबाट निस्किँदै थिएँ, इलाममै भेटिनुभएका काठमाडौँका एक पुराना पत्रकारले मलाई एउटा गीतको कुरा सुनाउनुभएको थियो। पढाइमा माध्यमिक तह पनि नपुगेकी आलोकाँचो दिमागकी मेरा निम्ति धेरै कुरा बुझिनसक्नु थियो, खाली मान्छे मरे–मारेको कुरा मात्रै मलाई थाहा भयो।
पछि अनेक संयोगहरू जुधेकै कारण मेरो पुस्तक ‘छापामार युवतीको डायरी’ प्रकाशनमा आएपछि र त्यहाँ पत्रकार गिरीश गिरी दाजुको सानो भूमिका छापिएपछि मात्रै थाहा भयो कि त्यो गीत (कविता) त अमेरिकी लोकगायक बब डिलनको गीतको अंश पो रहेछ। अनि फेरि दोहोर्याउँदै र तेहर्याउँदै त्यो गीत पढिबसेँ। गीतमा भनिएको छ :
हो, कति पटक उसलाई हिफाजत चाहिन्छ
जबसम्म उसले आकाश हेर्न सकोस् !
हो, कोही एक जनालाई कति कानहरू चाहिन्छ
जबसम्म उसले मानिस रोएको सुन्न सकोस् !
हो, अझै कति मृत्युहरू चाहिन्छ उसलाई बुझाउनका निम्ति
कि, यहाँ धेरै मान्छेहरू मरिसके
मित्र,
यसको उत्तर हावामा गुन्जिरहेको छ
उत्तर हावामा गुन्जिरहेको छ।
संयोग के भने म छापामार बनेर, जेल–सजाय र उतारचढावका दैनिकी निर्वाह गर्दा मैले भावनाले भरिएको एउटा पुस्तक लेखेकी थिएँ– आफ्नोपनको बन्धन। तर, अर्को संयोग र आफन्तजनको सुझावमा डायरी पहिले प्रकाशन भयो, 'आफ्नोपन' कतै अल्झेरै बसिरह्यो। त्यो बेला मैले बाँच्नलाई लेखेका शब्दहरू अहिले ‘आफ्नोपन’ बनेर पुस्तकाकार रूपमा आएको हो।
मुलुकमा गणतन्त्र आएपछि (२०६३ वैशाख) को उन्मुक्त माहौलमा म जेलमुक्त त भएँ, तर म भने फेरि कुनै अँध्यारो कालखण्डमै छिरेकी छु झैं भान हुन थाल्यो। त्यो एक्लोपनमा साथी र आफन्त बने यी शब्दहरू, मन बाँध्नलाई आफूले आफ्ना लागि लेखेको सहानुभूतिका शब्दहरू।
मान्छेलाई बाँच्न र हाँस्न एउटा स्नेहको बन्धन चाहिन्छ नै। तर, त्यो समय मैले समाज, साथीभाइ, आफन्त कहींकतैबाट नपाएको साथ ‘आफ्नोपन’मा पाएँ। मैले आफ्नोपनकै पात्रहरू खोजें र, आफैंलाई प्रियबोध हुनेगरी जति लेखेँ, जस्तो लेखेँ, सबैसबै आफ्नै मन बाँध्न लेखेँ।
आज म आफ्नोपन सुमसुम्याउँछु, उति बेलाका पीडाहरू मुटुभित्र कताकता चहर्याउँछन्। बाँच्दै जाँदा मेरा कतिपय अति नै प्रिय लाग्ने हातहरू छुटे। फेरि कहीँ कतै तीभन्दा प्रिय लाग्ने साथहरू पनि भेटिए शब्दहरूकै कारण।
जीवनमा प्रिय लागेका कुराहरू कति पटक लुटिए पनि। पटक–पटक विश्वास गरेकाहरूबाटै ठगिएँ, सम्झिँदा मन बोझिलो बन्छ। ती तितोपनलाई मिठो बनाउन शब्दहरूको चास्नीमा म डुब्छु, अनि फेरि लेख्न मन लाग्छ। लेख्ने प्रयास जारी छ।
यहाँसम्म आइपुग्दा समेत सबैलाई मन पर्ने भने लेख्न सकिएन झैं लाग्छ र हो पनि।
लेखेकै आधारमा कतिपय सम्बन्ध चिसिएको पनि छ। संसारमा सबैको चित्त बुझाउन नसकिने रहेछ, यदाकदा आफ्नै त बुझाउन सकिन्न। लेखेकै शब्दले धेरै जना आत्मीयजन बनेर जोडिनु भयो भने कतिपयलाई ती फिटिक्कै मन परेनन्। कतिले त नसोचेका र स्वैरकल्पना झैं लाग्ने अनुमानहरू पनि सुनाउनुभयो। ६ कक्षा पढेकी एउटी केटीले के यो सबै कथा–मर्म उतार्न सकेकी होली?
हामी सबैलाई थाहै छ— भन्न कति सजिलो छ!
संसारमा सजिलो भनेकै ‘भन्नु’ रहेछ। मलाई सबैभन्दा बढी शब्दहरूले बाँच्न सिकाएको छ। जीवनका अत्यन्तै कठिन मोडमा पनि कहीँकतै कोही भरथेग गर्ने छ भने यही ‘आफ्नोपन’ छ। मेरा कतिपय जिज्ञासा र जवाफ पनि हावामै गुन्जिरहेका छन्।
मैले कोरेका कतिपय शब्द मेटिए होलान्। कति शब्दले अर्थ बुझाए होलान् भने कति शब्द बेअर्थी भए होलान्। कहिलेकाहीँ मेटिएका शब्दहरूको पनि खुबै माया लागेर आउँछ। सम्झन्छु– ती शब्दहरू फेरि पढ्न पाए, कति अर्थ बुझाउँथ्यो होला– मेरो जीवन र सपनाहरूको। तै पनि केही छैन, हराएका शब्दहरू कहीँ कतै भेटिँदा रहेछन्। तर, मेटिएका शब्दहरू कहिल्यै भेटिने छैनन्।
सबैभन्दा खुसी र प्राप्तिको क्षण बनेर आएको ‘आफ्नोपन’लाई पाठकमाझ ल्याउने काम गरिदियो साझा प्रकाशनले। प्रकाशन गृहले राखेको कृतिगत निचोड मेरा लागि अहिलेको सम्पूर्ण लेखनीको सारसंक्षेप समेत हो। त्यहाँ उल्लेख छ, ‘आफ्नाहरूको साथले दुःखलाई पनि सजिलै परास्त गर्न सकिन्छ र भविष्यको सुखद क्षण भोग्न पाइन्छ र जीवन सुखद हुन्छ। यस्तै मायाप्रेम, द्वन्द्व, विश्वास, समाज र क्रान्ति सबैको साङ्गोपाङ्गो जोड घटाउ बन्छ जीवन। यस्तै जीवन भोग्न चाहनेहरूले कति यातनापूर्ण जीवनलाई पनि सहजै भुक्तान गर्नुपर्छ र, प्रेरणा गर्नुपर्छ आफ्नाहरूलाई।’
फेरि पनि म सम्झन्छु मात्रै, कानमा बारम्बार गुन्जिरहने नारा झैं :
मित्र,
यसको उत्तर हावामा गुन्जिरहेको छ
उत्तर हावामा गुन्जिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
