बेलायती राजकुमारको टुसा मेन्यु : चिकेन–च्याँख्ला!

गजब त के भने, विशिष्ट पाहुना राजकुमार एडवार्डसहितले सबै अतिथिले आफू सामु आएको खान्की चाटीचुटी खाएका थिए। बेलायती राजदूतले त खुशी भएर ‘लास्टै मीठो छ’ भनेका थिए, रौसिएर।

भक्तपुर— फेब्रुअरी पहिलो साता नेपाल भ्रमणमा आएका बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एडवार्ड तथा डचेस सोफीले घुमघाम गरेका खबर समाचारमा नियमित छाइरहे। तर उनै विशिष्ट पाहुना एडवार्डका लागि यो औपचारिक तालिकाबाहेक एउटा विशेष स्वाद सम्झाउने भ्रमण र खानपिनको तयारी भने दुई महिना अघिदेखि चलिरहेको थियो भन्ने धेरैले पत्तै पाएनन्।

स्वभावतः विश्वसम्पदाको एउटा चिनारी थलो भक्तपुर आउने तालिकामै थियो। तर यही भक्तपुरमा पनि सम्पदाको छोटो मीठो नयाँ रुट बनाउने जिम्मेवारी पाएका थिए— सम्पदाविद् रवीन्द्र पुरीले। पुरीले झन्डै ४५ मिनेट पैदल घुमेरै पूरा गर्न सकिने एउटा रुट बनाए— भक्तपुर दरबार स्क्वायरदेखि दत्तात्रेय स्क्वायरसम्मको सम्पदा रुट।

यो रुटमा थियो—भक्तपुर दरबार स्क्वायरदेखि तमौडी स्क्वायर। नमूना घरदेखि दत्तात्रेय स्कवायरसम्म। टोनी हागन हाउसदेखि नेपाल भोकेसनल एकेडेमी र मन्जुबहासम्म। र अन्त्यमा वासुकि घरभित्रको टुसा। झन्डै दुई शताब्दी पुरानो मौलिक घर (जहाँ पछिल्ला वर्षमा कुखुरा पालिन्थ्यो)लाई मल्लकालीन वास्तु सम्पदाले भरिएको ‘नमूना घर’ बनाएर युनेस्को अवार्ड(२००४) जितेका उनै कलाप्रेमी पुरीले विशिष्ट पाहुना हिँड्ने रुटको अन्तिम बिसौनीमा जोडेका थिए— टुसा।

‘नयाँ शुरूआत’को अर्थमा बुझिने ‘टुसा’ नेपाली मौलिकता र अपनत्वले भरिएको यस्तो खानपिनको थलो हो जहाँ नेपालभित्रका सबै जातीय, सांस्कृतिक र जैविक विविधतामाझ चिनिएका खान्कीको स्वाद लिन सकिन्छ।

उनै सम्पदाविद् पुरीले बनाएको वासुकि घर (नागपोखरी)स्थित वास्तुकलायुक्त घरभित्र एक वर्षयता सञ्चालनमा आएको ‘टुसा’को चुलिँदो ख्यातिका कारण काठमाडौँस्थित बेलायती दूतावासले यसबारेमा सोधपुछ थालिसकेको थियो।

“हामी पनि शुरूमा त छक्कै पर्‍यौँ,” टुसाका सेफ सागर श्रेष्ठले उकालोसँग भने, “दुई महिनाअघि नै भीभीआईपी पाहुनाको एलर्जिक र प्रेस्क्राइब्ड खाना के–के छ भनेर सूचना आइपुग्यो। हामीले पनि सूचीअनुसार, तीन वटा भिन्न मेन्यु बनाएर पठायौँ। अनि मात्रै राजकुमारको रोज्जा स्वादको टुंगो भयो।”

राजकुमार एडवार्डसहित बेलायतका राजदूत रब फेन (सपत्नी) विशिष्ट पाहुना लिएर पुरी स्वयं टुसा पुगेका थिए— पथप्रदर्शकझैँ। “टुसाभित्र आएर यहाँ राखिएका काठका टेबल–कुर्सी हेर्दै र अरू एम्विएन्स हेर्नमा राजकुमार एडवार्ड उत्सुक बन्नुभएको थियो,” सेफ सागरले सुनाए, “हामीले सुन्तलाको फ्रेस जुसबाट स्वागत गर्‍यौँ, अनि हाम्रै स्टाइलमा आफ्नोपना चिनाउने खानेकुराको थोरै ब्रिफिङ गर्दै खानपिन शुरू भइहाल्यो।”

राजकुमारकै छनोटमा शुरूमा उनले बारा–अन्डा खाएका थिए। मासको बाराको छेवैमा भाँग र टमाटरको अचार थियो। त्यसपछि मेन्युमा थियो, पनौतीको लोकल कुखुरा। कुखुराको साँप्रो, छातीसँग च्याँख्लाको ‘आइटम’! साथमा, त्यही कुखुराको मासु र हड्डीको सुप अनि, अलिकति रायो सागको ‘क्रिस्पी’! निकै रमाइलो मानेर विशिष्ट पाहुनाले त्यो खान्की खाए, छिनभरमै। नेपालको हिमाल–पहाडमा धेरैजसो खाइने च्याँख्लाको यो स्वाद स्पेनिस ‘पोलेन्टा’सँग पनि मिल्ने गर्छ।

त्यसपछि ‘फुड–प्ल्याटर’को पालो थियो। नुवाकोटमा बनेको बेलकोट चिज (हार्ड, सेमी–हार्ड र सफ्ट चिज), जंगली मह (कोरी पहाडमाथिको), मनाङको एप्पल–जाम र मौसम अनुसारकै फलफूलको प्ल्याटर थियो। “हामीले यी खान्की सालको पात र पहाडी कागजमा पस्केर दिएका थियौँ, प्रेजेन्टेसनको अर्ग्यानिक दृश्यका लागि छेवैमा फुच्चे–खुकुरी राखिएको थियो, हाम्रो पहिचानको शोभा बढाउने गरी,” सागरले भने।

गजब त के भने, विशिष्ट पाहुना राजकुमार एडवार्डसहितले सबै अतिथिले आफू सामु आएको खान्की चाटीचुटी खाएका थिए। बेलायती राजदूतले त खुशी भएर ‘लास्टै मीठो छ’ भनेका थिए, रौसिएर।

मौलिक टुसामा ‘अपनत्व’
नागपोखरी आडैको वासुकि घरमा रहेको ‘टुसा’मा हरेक दिनका मेन्यु फरक हुन्छन्, त्यो पनि सबै नेपाली चिनारीका। कहिले मधेशमा पाइने बाम माछा, कहिले–कहिले सिस्नुको केक! मुढेको आलु त भइहाल्यो, कहिलेकाहीँ किम्बु र बटुक चुकाउनी! मकै या कोदोको रोटी त भइहाल्यो, आइला–कोम्बुचा पनि यहाँ पाइन्छ। एउटै आइटम थपिथपी खानेभन्दा पनि मेन्युको ८/१० कोर्स पूरा गर्नैपर्ने रमाइलो तालिका छ यहाँ।

दालभात या ममभन्दा परतिर पनि नेपाली मौलिक स्वादका दर्जनौँ खान्की छन् है भन्ने चिनाउन आफैँ खानेकुराको विविधता पहिल्याउँदै देशभर ‘रेकी’मा निस्कने टुसा–कालिगड परशुराम पाठक, सागर श्रेष्ठ, रुपेश बोहोरासहितको टिम उस्तै ऊर्जावान् देखिन्छ। अस्ट्रेलिया, डेनमार्क, यूएई(दुबई)मा अन्तर्राष्ट्रिय ब्रान्डका रेस्टुराँमा वर्षौं काम गरेपछिको अनुभव र आफ्नोपनको खोजीमा निस्केको यो टोलीले सम्पदाविद् पुरीको वासुकि–घरलाई आफ्नो सपना र योजनालाई स्वादिलो बनाएर देखाउन (चखाउन) थालेको हो। यीमध्ये परशुराम हाल अस्ट्रेलियामा रहे पनि उनको कुकिङ कौशल र जनसम्पर्कका कारण टुसा स्थापित बन्न सकेको हो।

राजकुमारलाई पुरानो भक्तपुर दरबार स्क्वायर, संग्रहालय हुँदै दत्तात्रेय चोक र त्यहाँबाट नजिकैको गछें गल्लीस्थित टोनी हागन हाउसमा पनि पुरीले घुमाएका थिए। यो घरको ऐतिहासिकतामा जोडिँदै सन् १९६० को शुरूआतमै यो घर बनिँदा सिमेन्टको उपयोग भएको क्षणलाई तस्वीरसहित भूगर्भविद् टोनी हागनले आफ्नो चर्चित पुस्तक ‘नेपाल’मा उपयोग गरेका छन्। उनले ‘सुन्दर शहर भक्तपुरमा कंक्रिटको प्रवेश भएको’ सन्दर्भसमेत पुस्तकमा उल्लेख गरेका छन्।

त्यही नमीठो बयानलाई सम्झेर सम्पदाविद् पुरीले यो घर खरिद गरेर यसको परम्परागत शैलीमा संवर्द्धन गर्दै यसलाई टोनी हागन हाउस नाम दिएका हुन्। यो इतिहास र वर्तमानको झल्कोको अनुभूत गरेर राजकुमार एडवार्ड थप आनन्दित बनेको देखिन्थ्यो। यो घर घुमिरहेका बेला राजकुमारले टोनी हागनको नेपाल सम्बन्धबारे थप चासो राखेका थिए।

यसरी, केही घण्टाको भक्तपुर यात्रामा राजकुमार एडवार्डले उधुमकै अनुभव बटुल्न पाए, काष्ठकलाको सिप हेर्नेदेखि काष्ठकर्मी बन्नेसम्म। उनले टुसाको नेपाली स्वाददेखि पृथ्वीनारायण शाहको बढेमाको प्रतीकमा फोटो खिचाउनसम्म भ्याए।

राजकुमार–राजकुमारी लन्डन नउत्रँदै टुसा खानपिनको टोलीले एउटा सन्देश पायो– ‘बेलायत सरकारको चिफ अफ पब्लिक अफेयर्सबाट। लेखिएको थियो– इट वाज एन एक्सेलेन्ट लन्च एन्ड ब्रिलिएन्ट्ली हेन्डल्ड्!’