‘विकासका नाममा थोरै मान्छेलाई धनी बनाउने प्रक्रियाले पर्यावरण नासिन्छ’

‘वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ।’

झापाको मेचीनगर–६ काँकरभिट्टा केन्द्र बनाएर सक्रिय रिडर्स झापाले स्थानीय संस्था देही आर्ट, परिवर्तन थिएटर एवं प्रकृति संरक्षणका क्षेत्रमा काम गरिरहेका समूहसँग सहकार्य गरेर फागुन १४ देखि १६ गतेसम्म ‘कला साहित्य उत्सव २०८१ः पर्यावरण विमर्श’ गर्दैछ। उत्सवको संयोजन गर्दैछन्, रिडर्स झापाका सदस्यद्वय सञ्जु साम्पाङ र सागर शिवाकोटी। उत्सवको विषयवस्तु र उद्देश्यबारे उकालोले संयोजक सागर शिवाकोटीसँग गरेको संवादः

रिडर्स झापाले आयोजना गर्न लागेको कला साहित्य उत्सवमा कस्ता मुद्दामा बहस हुन्छ?
यस उत्सवको नाम नै हामीले ‘कला साहित्य उत्सव २०८१ः पर्यावरण विमर्श’ राखेका छौँ। पर्यावरण विमर्श थप्नुको उद्देश्य पहिलेका चार उत्सवभन्दा फरक गर्ने मात्र होइन, पूरै कार्यक्रम एउटा विषयमा केन्द्रित बनाउने हो। पर्यावरण र जलवायु संकटसँग सम्बन्धित विविध महत्त्वपूर्ण विषय हाम्रो उत्सवका आकर्षण हुन्। नाटक, चित्रकला, संगीत र अन्तरक्रियात्मक सेसनहरू सबै एउटै मुद्दामा केन्द्रित हुनेछन्। कृषि, पानी, वनजंगल, नदी र रैथाने जनजीवन यसपटकका खास सरोकार हुन्। 

नेपालमा यतिधेरै साहित्यिक महोत्सव चल्छन्। यो उत्सव कसरी पृथक हुन्छ?
देशैभरि विभिन्न नाममा कला र साहित्यका फेस्टिभल आयोजना भइरहेका छन्, चिन्तन मनन व्यापक हुनु असाध्यै राम्रो हो। सिर्जनात्मक तरिकाले कार्यक्रम गर्न सके लोकतन्त्र बलियो हुन्छ। धेरै मान्छेले सूचित हुने र आवश्यक बहसमा सहभागी हुने अवसर पाउनु एकदमै राम्रो हो। हामीले पनि बहसलाई व्यापक बनाउन खोजेका हौँ।

वनजंगल, खोलानाला, चराचुरुंगी, जनावर सबैसँग हाम्रो जीवन जेलिएको हुन्छ। त्यसैले अब मान्छेले मान्छेकै मात्र चिन्ता गर्दै र मान्छेकै मात्र हित गर्छु भनेर मान्छेबाहेकका सबैको दोहन गर्ने काम रोकिनु पर्छ। विकास र समृद्धिको नाममा थोरै मान्छेलाई धनी बनाउने प्रक्रियाले बहुसंख्यक मान्छे, नदीनाला, हावापानी र जीवजन्तु नास्ने रहेछ। त्यसैले अब हाम्रो सोच्ने ढंग र काम गर्ने तरिका बदल्नुपर्छ भनेर कला साहित्य उत्सवलाई फरक बनाउन खोजेको हौँ।

यस्तो विषय केन्द्रित उत्सव गर्ने निर्णयमा कसरी पुग्नुभयो?
हामीले विगत एक वर्षदेखि पर्यावरणीय संकट र सामाजिक आन्दोलन शीर्षकमा ‘रिडिङ सेमिनार’ गर्दै थियौँ। वैशाखदेखि दुई महिनासम्म लगातार यही विषयका धेरै सामग्री पढेर रिडर्स झापाका सदस्य र सेमिनारमा सहभागीबीच प्रत्येक साता संवाद गर्यौं। त्यो सेमिनार सकिएपछि स्थानीय चरा तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने अभियन्ताहरूसँग सार्वजनिक अन्तरक्रियाको कार्यक्रम गर्यौं।

त्यस्तै, पर्यावरण र संस्कृति विषयमा काम गरिरहेका नर्थ बंगाल विश्वविद्यालयका प्राज्ञिकहरूसँग पनि विचार विमर्श गर्यौं। यो सबैको निचोडमा एउटा बृहत कार्यक्रम गर्ने निधो गरेर ‘कला साहित्य उत्सवः पर्यावरण विमर्श’ गर्ने ठाउँसम्म आइपुगेका हौँ। निरन्तर अन्तरक्रियाको प्रतिफल हो यो उत्सव।

यस्तो आयोजन यथास्थिति बदल्न कतिको प्रभावकारी हुन्छ? 
यस्ता उत्सव र गोष्ठी मात्रले चाहे अनुरूपको परिवर्तन हुँदैन। गर्नुपर्ने एकदमै धेरै काम हुन्छन्। कतिपय सन्दर्भमा ठूला सामाजिक, सांस्कृतिक, राजनीतिक आन्दोलनले पनि खोजेको परिवर्तन गर्न सकेका हुँदैनन्। तर यस्ता कार्यक्रममा व्यापारिक स्वार्थभन्दा अलि व्यापक उद्देश्य राखेर खटियौँ भने केही उपलब्धि हासिल हुन सक्लान्। कहिलेकाहीँ सामाजिक आन्दोलनका हिस्सा पनि बन्न सक्लान्। यिनै उपलब्धिहरू भएका छन् भनेर ठोस रुपमा देखाउन नसकिएला, तर यस्ता सार्वजनिक विमर्शका कार्यक्रम व्यापक बन्दै जाँदा नै लोकतन्त्र बलियो बन्ने हो, सकारात्मक परिवर्तनमा सहयोग पुग्ने हो।

तपाईंहरूको यो पर्यावरण केन्द्रित उत्सवमा कस्ता मान्छेको सहभागिता बढी हुने अपेक्षा गर्नुभएको छ?
हामीले यसपटक स्थानीय कृषक, सामुदायिक वनमा प्रत्यक्ष र परोक्ष जोडिएका समूह, शिक्षक र विद्यार्थीहरू, अनि राजनीतिक दलमा सक्रिय मान्छेलाई धेरैभन्दा धेरै सहभागी बनाउने कोशिश गरेका छौँ। यस्ता विभिन्न समूहलाई पत्र पठाएर, भेटेर, फोनमार्फत निम्तो गरेर कार्यक्रम स्थलसम्म ल्याउने जमर्को गरेका छौँ। उहाँहरू सबैको उपस्थितिमा धानका रैथाने बीउ जोगाउने कुरा, नदी दोहन रोक्ने प्रश्न, वन जंगल संरक्षण गर्ने विषय, हात्ती र अन्य जीवजन्तुलाई आफ्नै साथी कसरी बनाउने भन्ने सवालमा ठन्डा दिमागले सोच्ने कोशिश गरेका छौँ।