राजतन्त्र र ‘जातीय विरासत’ उस्तैउस्तै

अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।

मुलुकको सबैभन्दा पुरानो, ठूलो र लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन विधानतः ०८२ मंसिरभित्र सम्पन्न गरिसक्नुपर्छ। विशेष परिस्थिति आइपरेको अवस्थामा भने कांग्रेस विधानले नै अर्को एक वर्ष समय थप्न अनुमति दिन्छ। विधानले निर्धारण गरेको मितिमा महाधिवेशन गर्ने सम्भावना देखिँदैन, बरु थप एक वर्ष धकेल्नका निम्ति कुन अवस्थालाई विशेष परिस्थितिको रूपमा बहाना बनाउने हुन्, त्यो कुरा भने सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा आदि नै जानून्। तथापि कांग्रेसको भावी नेतृत्वको दौडमा नेताहरू कसिएका छन्। जगजाहेरै छ, शेखर कोइराला सभापतिमा पुनः उम्मेदवार बन्ने घोषणासहित देश दौडाहामा निस्केका देखिन्छन्। महामन्त्री थापा भावी सभापति जित्ने रणनीतिमा लागेका छन्। उता देउवा गुटको स्वतः उम्मेदवार बन्ने ध्याउन्नमा उनी पक्षीय धेरै नेता लागिपरेका छन्। हालसम्म बलियो देखिएको देउवा गुट यथावत् रहने/नरहने सम्भावनाबीच कोइरालाले देउवा गुटका अधिकतम नेता आफ्नो पक्षमा भित्र्याउने खेल शुरू नै भइसकेको बताइन्छ।

दोस्रो ठूलो र हाल सरकारको नेतृत्व गरिरहेको दल हो, नेकपा एमाले। कांग्रेसमा जस्तो अग्रिम नेतृत्व प्रतिस्पर्धामा छैन एमाले। यसका दुई कारण विशेष छन्। पहिलो, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष बनिरहने इच्छा बरकरार रहुन्जेल एमालेमा अर्को कोही व्यक्तिले अध्यक्ष बन्ने चाहना मनमा राख्नसम्म सम्भव छैन। यदि कोही कसैले अध्यक्ष बन्ने इच्छा वा सपना मात्रै देखे पनि भीम रावलको जस्तो हालत बन्ने त्रास जागृत भइहाल्छ। दोस्रो, एमाले यस अघि नै ओलीका आलोचक तथा सम्भावित प्रतिस्पर्धीमुक्त दल बनाइएको तथ्य ज्ञात नै छ। पूर्वनेताहरू माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल आदि यसपूर्व नै एमाले त्यागेर अन्य दल बनाउन बाध्य पारिएका हुन्। 

मुलुकको तेस्रो दल हो, माओवादी। पहिलो कांग्रेस र दोस्रो एमाले मिलेर संसदीय मान्यता एवं परम्परा विपरीत नै सही, सरकार बन्यो। यस्तो अनपेक्षित सत्ता गठबन्धन बन्न पुगेका कारण अनपेक्षित ढंगले नै निकै कमजोर भए पनि माओवादीका भागमा संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियत प्राप्त हुन गयो। माओवादी पनि बेलैमा अध्यक्ष पुष्पकमल दाहालको आलोचक तथा उनका सम्भावित प्रतिस्पर्धीमुक्त दल बनाइएकै हो। पूर्ववरिष्ठ नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई आदि नेताहरू बहिर्गमनमा परिसके। त्यसैले दलको आकार जत्रो होला तर ३ दशक भन्दा बढी निरन्तर नेतृत्वमा विराजमान दाहाललाई धित नमरुन्जेल उनी अध्यक्ष कायम रहन कुनै व्यवधान आइपर्ने सम्भावना तत्कालका लागि देखा पर्दैन।

चौथो रास्वपालगायत अन्य दलहरूको चर्चा के गर्नु? सभापति रवि लामिछाने गैरकानूनी सहकारी ठगी र संगठित अपराधमा मुछिएपछि रास्वपा नेतृत्वविहीन मात्रै होइन राजनीतिक शून्यताको अवस्थामा पुगेको छ। कुनै एक जना ‘बहादुर’को भरमा ‘स्टन्टबाजी’ धेरै समय नटिक्ने रहेछ भन्ने तथ्य प्रमाणित हुँदैछ। राप्रपाको भविष्य के हुने टुंगो छैन।

उपेन्द्र यादव नेतृत्वको जसपा, डा.सिके राउतको जनमत, थारू बहुल नागरिक उन्मुक्ति आदिको राजनीतिक शक्ति बन्ने मार्ग र भविष्य खास प्रस्ट तथा सुनिश्चित छैन। उपेन्द्र यादवमा अन्य दलमा जस्तै सर्वथा अध्यक्ष बनी शक्तिमा रहने लालच कहीँ कतैबाट लुकेको छैन। यी दल कुनै क्षेत्रभित्रका पनि विशेष जाति वा समुदाय केन्द्रित शक्ति हुन्। त्यो सीमाभन्दा पर उनीहरू फराकिलो बन्ने सम्भावना देखिँदैन।

जातीय विरासतको नेतृत्व
यो लेखको मूल उद्देश्य भने सात दशकभन्दा लामो इतिहास निर्माण गरेका र पटक–पटक जनअनुमोदित भई मुलुकको नेतृत्वसमेत सम्हालिसकेका कांग्रेस, एमाले र माओवादी आदि दलका भावी सम्भावित नेतृत्वबारे बहस गर्नु हो। आफूलाई लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरी इतिहास निर्माण गरेको, आफू विना लोकतन्त्र, नागरिक स्वतन्त्रता सम्भव नदेख्ने नेपाली कांग्रेसको मुख्य नेतृत्व अर्थात् सभापति आर्य— खस विरासतमा चल्दै आएको छ।

स्थापनाका सात दशक पार गरेको र १५औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसका हालसम्मका सात जना सभापतिमध्ये सुवर्ण शमशेर राणा (क्षेत्री) र शेरबहादुर देउवा (क्षेत्री) दुई जना गैरबाहुनबाहेक सबै पहाडे, आर्य वा बाहुन पुरुष र हिन्दू मात्रै सभापति बने। अबको महाधिवेशनबाट पनि शेखर कोइराला वा अन्य जो बने पनि बाहुन वा खस नै सभापति बन्ने प्रायः निश्चित छ। 

यो पनि: ‘जात’ जसले बनाए, तिनैले देखाउँछन्

शोषित उत्पीडित जनका मसिहा डा. भीमराव अम्बेडकर भन्थे, ‘जसले इतिहास जान्दैन, उसले इतिहास पनि बनाउँदैन।’ विगतको अनुभव हेर्दा कांग्रेसबारे दुइटा महत्त्वपूर्ण प्रश्न उठ्ने गर्छ। पहिलो हो, अबको कति वर्षपछि कांग्रेस सभापतिमा दलित, आदिवासी जनजाति, मधेशी, गैरहिन्दू वा महिला आदि उत्पीडित समुदायको पालो आउला? दोस्रो, प्रश्न त यो पनि उठ्नेछ, कति वर्षपछि नेपाली कांग्रेस पार्टीको अस्तित्व यो मुलुकको राजनीतिबाट समाप्त भएर जाला? यी प्रश्नमध्ये दोस्रो सवालको जवाफ आकलन गर्न बरु सजिलो र स्वाभाविक होला, तर पहिलो सवालको सम्भावित जवाफ छैन। यदि त्यस्तो अवस्था हो भने उत्पीडित वर्ग, समुदाय, क्षेत्रका मानिस कांग्रेसमा किन लाग्ने? आफू र आफ्नो अघिल्ला पुस्ता कांग्रेसमा लागेको भनेर गर्व गर्नुपर्ने के छ आधार?

धनमान सिंह परियारलाई महामन्त्री बनाएकोमा कांग्रेस युवा गर्व गर्ने गर्छन्। तथापि बीपी कोइरालाको अवसानपछिका सर्वोच्च नेता गणेशमान सिंह श्रेष्ठलाई नेवार भएकै कारण लौह पुरुषलगायत विशेषणको पगरी उनलाई मूल शक्ति र सत्ताबाट बाहिर राख्न रचिएको षडयन्त्र मात्रै थिएनन् र? 

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निःसन्देह अब्बल र कुशल राजनीतिज्ञ हुन्। युवा राजनीतिज्ञप्रतिको आशा यी दुई नेताका कारण जाग्ने गरेको छ। त्यति मात्रै होइन उनीहरू कांग्रेसका भावी सभापति र मुलुकको प्रधानमन्त्री बन्ने आकलन हुने गर्छ। थापाले त यसअघि नै सभापति देउवाविरुद्ध कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धासमेत गरेका थिए।

कम्तीमा यो पंक्तिकारको दृष्टिमा महामन्त्रीद्वय कांग्रेसको भावी नेतृत्वको तम्तयार ‘जातीय विरासतका युवराज’ हुन्। हालसम्म कांग्रेसको मुख्य नेतृत्व अर्थात् सभापतिमा बाहुन र खस (क्षेत्री) मात्रै बन्ने गरेको र अन्य समुदाय त्यस उच्च पदमा पुग्ने कुनै सम्भावना देखिँदैन भन्नेबारे चर्चा माथि भई नै सकेको छ। गगन र विश्वप्रकाश प्रतिनिधि पात्रका रूपमा मात्रै यहाँ प्रसंग जोडिएको हो। उनीहरू वा उनीहरूझैँ आर्य–खस विरासतको भावी नेतृत्व कांग्रेसले चयन गर्ने नै छ।

पुष्पलाल श्रेष्ठ नेपाली कांग्रेसका संस्थापकमध्ये एक थिए। उनै पछि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव बने। २००६ सालमा पुष्पलालले स्थापना गरेको नेकपा विभिन्न कालखण्डमा विभाजित भई थुप्रै कम्युनिस्ट पार्टी गठन भएका छन्। तथापि प्रायः सबै कम्युनिस्ट पार्टी भनिनेहरूले आफूलाई उही पुष्पलालले गठन गरेको नेकपाको निरन्तरता बताउने गर्छन्। नेकपाको लामो यात्रासँगै यसको नेतृत्व बाहुनहरूबाट अपहरित बन्न पुग्यो। आज संसदीय मूलधारका एमाले, माओवादी, नेकपा एसलगायत विद्रोही मोहन वैद्य (पोखरेल) आदिको अध्यक्ष वा महासचिव बन्न बाहुन हुनु अनिवार्य जस्तै छ। एमालेको इतिहासमा अध्यक्ष र महासचिव गैरबाहुन (खससमेत) बनेको र अब पनि बन्ने सम्भावना देखिँदैन। त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल तीन दशकभन्दा लामो समयदेखि निरन्तर अध्यक्ष पदमा छन्। 

घोडाको छोटो कथा प्रस्तुत गर्दै यो लेख सक्याऊँ। अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ। त्यो कमजोर डोरी चुँडाएर उक्त बफादार घोडा कतै भाग्दैन। कारण: सानो उमेरमा त्यस घोडालाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ। डोरी चुँडाउने प्रयास गर्दा पनि उसले पहिले सकेको हुँदैन। अब त्यस घोडालाई जीवनभर के भ्रम पर्छ भने डोरी चुँडाउनु असम्भव छ। त्यसपछि उसले कहिल्यै डोरी चुँडाउने प्रयास गर्दैन। यसरी बलवान् घोडालाई पनि अत्यन्त कमजोर डोरीले सजिलै बाँधेर राख्न सकिन्छ। 

कथाबाट यो बुझ्न सकिन्छ कि विशाल जनसंख्या भएका मूलवासी बहुजन समुदाय अर्थात् आदिवासी जनजाति, दलित, उत्पीडित मधेशी, मुस्लिम, महिला आदि समुदाय, क्षेत्र अल्पसंख्यक जातिद्वारा शासित बन्न बाध्य छन्। बहुमत जनसंख्या बोकेको मूलवासी समुदायलाई आफ्नो तागतमा विश्वास छैन। र, त गुलामीको जिन्दगी जिउन अझै विवश छन्। कांग्रेस, एमाले, माओवादी, रास्वपा या राप्रपामा लागेर तिनलाई शासन सत्तामा पुर्‍याएर उत्पीडित समुदायको मुक्ति सम्भव छ? छैन। छैन भने त्यस्तो धोकाको राजनीतिमा किन लागिरहनु? आफ्नो मुक्तिको बाटो आफैं खोज्नु आवश्यक छ। यहीँनिर पुराना दलहरूको नयाँ विकल्पको ढोका खुल्छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)