नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले दुई जनाको मृत्यु भयो भने दुई जना अझै बेपत्ता छन्। ४० भन्दा बढी टहरा बगे। यो बाढीको कारण थियो– खोला साँघुरो बनाउँदै ललितपुर महानगरले नक्खुडोलमा बनाएको पुल।
काठमाडौँ– नक्खु खोलामा गत असोज १२ गते आएको बाढीले ४ वर्षीया सेतु साहलाई बगाएको पाँच महिनाभन्दा बढी भइसकेको छ। उनकी दिदी मेघना (६) अझै बहिनी फर्केर आउने आशामा छिन्। मेघना आफै पनि बाढीमा बगेकी थिइन्।
उनलाई उद्धारपछि पाटन अस्पतालमा पाँच दिन आईसीयूमा राखेर उपचार गरिएको थियो। अस्पतालबाट फर्किएपछि उनी बारम्बार बहिनीको सम्झना गरिरहन्छिन्। “मलाई बहिनीको धेरै याद आउँछ, स्कुलमा पनि उसको बारेमा सोध्छन्,” यति बोलेपछि मेघनाका आँखाबाट बरर आँसु खसे।
नक्खु खोला त्यो दिन बहाव क्षेत्रबाट करिब ३० मिटर पर रहेको जस्ताको टहरालाई बीचमा पारेर बगेको थियो। टहरामा रहेका पाँच जना ज्यान जोगाउन छानामा चढेका थिए। छिमेकीले डोरी फालेर उद्धार प्रयास गरे पनि सफल भएनन्। करिब ३ घण्टापछि बाढीले टहरा भत्कायो। छानामा चढेकामध्ये सेतु र देवराज कार्की (४२) अहिलेसम्म बेपत्ता छन्।
उनीहरूसँगै बाढीमा बगेका मेघना, उनका बुवा राजु र काका राज साहको ज्यान भने जोगियो। घर भत्किन थालेपछि मेघनालाई दाहिने हातले समातेर आफू बगेको र ३०० मिटर पर गएर किनार समात्न सफल भएको काका राज बताउँछन्। दुवै जनालाई स्थानीयले किनारबाट बाहिर तानेका थिए। अर्को किनारबाट मेघनाका बुवा राजु बाहिर निस्किए।
काका राजले पनि अझै भतिजी सेतुको आशा मारिसकेका छैनन्। “समाचार छाप्नु हुन्छ भने हाम्रो सेतुको फोटो पनि हाल्नु होला, मिल्छ भने” उनले भने।
उक्त घटनापछि साह दाजुभाइले करिब एक किलोमिटर उत्तर नक्खुकै किनारमा अग्लो ठाउँ खोजेर टिनको नयाँ संरचना बनाएका छन्। त्यहीँ ‘ग्रिल वर्कसप’ चलाउँछन्। कोही छोरीको खबर लिएर खोज्दै आयो भने भेट हुन सजिलो होस् भनेर खोलाको किनार छोड्न नसकेको राजु बताउँछन्। “उसको (छोरीको) शरीर भेटिएको छैन्, कहीँकतै जिउँदै छ कि भन्ने मलाई पनि लाग्छ,” उनी भन्छन्।
रौतहटको वृन्दावन नगरपालिका घर भएका राजुले चार वर्षअगाडि फलाम र जस्ताले बनाएको घर, ग्रिल वर्कसपका सामग्री, तीन वटा मोटरसाइकल, नगद, मोबाइल, भाँडाकुडा, लत्ताकपडा सबै बाढीले बगाएको थियो। उनी भन्छन्, “यहाँ बस्न थालेपछि पहिलोचोटि नसोचेको बाढीसँग सामना भयो। छोरी गुमाएँ र आर्थिक हिसाबले सडकमै आएँ।”
बाढीमा बेपत्ता भएका कार्की पनि ओखलढुंगाका थिए, राजुका साथी रहेका उनी त्यो दिन त्यहीँ बास बसेका थिए। उक्त दिन नक्खु खोलाको बाढीले नन्दु साह र बिकाउ साहको पनि ज्यान गयो। उनीहरू नक्खुडोल पुलनिजक मृत फेला परेको प्रहरीको अभिलेख छ।
बाढीले नखिपोटमा मात्र फलाम र जस्ताले बनाइएका आधा दर्जन संरचना बगाएको थियो। त्यहाँ टहरा भएकाहरूले सरसमान झिक्ने मौका पनि पाएनन्। नक्खुडोलको पुरानो पुलभन्दा दक्षिणमा तीन वटा घर टहरा हेर्दाहेर्दै बाढीमा बिलाएको त्यही क्षेत्रमा बस्ने आशा लाल सम्झिन्छन्। “२०७४ सालदेखि यहाँ बस्न थालको हुँ, यसअघि २०३८ सालतिर अलि ठूलो बाढी आएको थियो रे। तर (यसपटकको जस्तो बाढी) मैले देखेको थिएन,” उनले भने।
डेढ दशकभन्दा लामो समयदेखि सो ठाउँमा बसिरहेकी पुनम खतिवडा पनि असोज १२ गतेको जस्तो बाढी नदेखेको बताउँछिन्। नक्खुडोलको पुरानो पुलभन्दा उत्तरतिर अझ धेरै भौतिक क्षति भएको थियो। त्यहाँ करिब ४० वटा टहरा भेलमा बगेका थिए।
यति ठूलो क्षतिको कारण एउटै थियो– नक्खुडोलको पुल।
खोला घटाएर बाँध, पुल र पहुँच मार्ग
नक्खुडोलको सयपत्री टोल र कुसुन्तीबीच भएर बग्ने नक्खु खोलामा करिब दुई वर्षअघि एउटा पुल बन्यो। यो पुलले सयपत्री टोल र कुसुन्तीका स्थानीय खुशी हुनुको कारण थियो– वारिपारि गर्न करिब आधा घण्टा लाग्ने बाटो अब २ मिनेटमा छोट्टियो।
ललितपुर महानगरपलिकाले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट वडा नम्बर १३ र २५ बीच पुल बनाएको थियो। उद्घाटन नहुँदै पुलमा सवारी साधन चल्न थालेका थिए। असोज १२ गते त्यही पुल विनाशकारी बन्यो।
नक्खुको दुवै किनारामा अधिकार सम्मन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत करिडोर सडक बन्दैछ। दुवै किनारामा पक्की पर्खाल लगाउँदै खोलालाई १३ मिटरमा सीमित गरिएको छ। एकान्तकुना–भैँसेपाटी सडकभन्दा करिब एक किलोमिटर पूर्व नक्खु खोलामै दुवैतर्फको करिडोर जोड्न यो पुल बनाइएको हो।
ललितपुर महानगरले २ करोड ३ लाख ६१ हजारमा यो पुल बनाएको हो। तर पुल छोटो हुँदा अग्लो पहुँच सडक खोलाको बाँधजस्तो भएको छ।
काठमाडौँमा गएको असोज १० गतेदेखि नै भारी वर्षा हुन थालेको थियो। लगातारको वर्षापछि असोज १२ गते नक्खु खोला १३ मिटरको साँघुरो बाँधमा थामिन सकेन। खोलाभन्दा बाहिर निस्किएको पानी पनि प्राकृतिक रूपमा बग्न पाएन। त्यसलाई पुलको पहुँच सडकले रोकेपछि त्यसभन्दा माथिको होचो भागबाट पानी बस्तीतिर पस्न थाल्यो।
यसरी बस्ती डुबान शुरू भएपछि पक्की घरका धनीले राति नै सामान माथिल्लो तलामा सारे। तर टहरा र सामान्य घरका बासिन्दा बिलखबन्दमा परे।
असोज ११ गते राति वर्षा भइरहँदा ७३ वर्षीय गोपीलाल भोलान नक्खु नजिकैको टहरामा सुतिरहेका थिए। बिहान २ बजेतिर सुतेको खाट नै डुब्न थालेपछि आफूले थाहा पाएको उनी बताउँछन्। उक्त क्षेत्रमा रहेका ४० भन्दा बढी टहरा डुब्न थालेपछि स्थानीय बस्ती छाडेर उकालोतिर भागेका थिए।
पानीको सतह तीव्र रूपमा माथि चढ्दै थियो। पश्चिम जानुपर्ने पानी दायाँबायाँ बस्तीतिर फैलिन थालेको थियो। बिहान उज्यालो भएपछि पुलभन्दा पूर्व तालजस्तो देखिएको स्थानीय बताउँछन्।
असोज १२ गते बिहान करिब ९ बजेतिर नयाँ पुलसँगै बनेको दक्षिणतर्फको पहुँच सडक बाढीले भत्कायो। त्यसपछि तालजस्तो जमेको पानी द्रुत गतिमा निस्कन थाल्यो। बाढीले टहराका सरसामान मात्र नभई खसीबाख्रा, हाँस र कुखुरा पनि बगायो।
बाढीको दोस्रो दिन साँझ आफ्नो टहरा भएको ठाउँ ठम्याउँदै गर्दा भेटिएका भोलान निकै चिन्तित थिए। साहुको जग्गा भाडामा लिएका उनीसँगै श्रीमती, छोरी र नातिनातिना त्यही टहरामा सुतेका थिए। तीन छोराका परिवार उनीहरूकै टहरोमा थिए। “अचानक पानी आएपछि निस्किएर भाग्यौँ, एउटा केही पनि (सामान) झिक्न पाएनौँ,” उनले बाढीले बगरजस्तो बनाएको ठाउँतिर देखाउँदै उकालोसँग भनेका थिए, “यहाँ मेरो घर थियो, ऊ त्यहाँ कान्छोको, त्यसपछि काइँलोको र उ त्यो एउटा टिन अड्किरहेको ठाउँमा माइलोको घर थियो।”
त्यहीँ छिरिङ शेर्पा पनि आफ्नो टहरो भएको ठाउँ ठम्याउँदै थिए। टहरोका सामानसँगै उनले पालेका ६ वटा खसीबाख्रा पनि बगेको सुनाए। उनीहरूजस्ता धेरै पीडित त्यस बेलासम्म बगर बनेको स्थानमा फर्किएका थिए। तर उनीहरूको बास गुमिसकेको थियो।
यो सबै क्षतिको कारण नयाँ पुल र त्यसका लागि बनाइएको अवैज्ञानिक संरचना नै भएको स्थानीय उज्ज्वल धिताल बताउँछन्। नयाँ पुलको पूर्वमा बटुवा हिँड्न बनाइएको फलामको पुरानो पुल नहटाउँदा पनि पानी थुनिएको उनको भनाइ छ। “पुल र यो बाँधले (पहुँच मार्गले) गर्दा आएर पानी रोकियो, पानी रोकिएपछि बाढी बस्तीतिर पुग्यो,” उनी भन्छन्, “पछि पनि यो समस्या हुन्छ, हाम्रो बस्तीलाई त जोखिम नै देख्छु।”
२०७३ साउन १४ मा निर्माण शुरू भएर २०७५ सालमा सकिएको एकान्तकुना–भैँसैपाटी सडकमा पर्ने नक्खुको पुल ३७ मिटर लामो छ। तर त्यसभन्दा एक किलोमिटर टाढा बनाइएको नयाँ पुल १९ मिटर मात्र लामो बनाउँदा खोलाको चौँडाइ साँघुरिएको छ। जबकि, त्यहाँभन्दा अझ माथि नक्खुडोलको पुरानो पुल पनि करिब ३० मिटर लामो छ। पुराना दुवै पुलको उचाइ नदीको सतहबाट झन्डै दोब्बर छ।
नयाँ पुलभन्दा एक किलोमिटर माथिको नक्खुडोलको पुरानो पुलको पश्चिमतिरको पहुँच सडक पनि बाढीले क्षतिग्रस्त बनाएको छ। नयाँ पुलको दक्षिणतर्फको पहुँच सडक त बगर नै भएको थियो।
पहुँच सडक पुनर्निर्माण गरेर गत माघ १८ गते उद्घाटन गरिएको छ। उक्त पुलको काम २०७९ भदौ १३ मा शुरू भएर मंसिर २० गते सम्पन्न भएको ललितपुर महानगरको सार्वजनिक निर्माण महाशाखाले जनाएको छ। यसको अर्थ, भत्किएको पहुँच मार्ग बनाउन दुई महिना आठ दिनको थप समय लागेको थियो। पहुँच मार्ग पुनर्निर्माणपछि फेरि नक्खुमा बाँधजस्तो संरचना खडा भएको छ।
पुल उद्घाटन कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक भौतिक संरचनाको डिजाइन गलत हुन नहुने बताए। चक्रपथको गलत डिजाइनले कुसुन्ती र धोबीघाटमा धेरैले ज्यान गुमाएको पनि उनले दाबी गरे। तर उक्त पुलको डिजाइनबारे महर्जनले केही बोलेनन्।
प्राविधिक हेलचक्य्राइँ
बाङ्लादेशको पद्मा पुलजस्ता ठूला अन्तर्राष्ट्रिय परियोजनामा विज्ञको रूपमा काम गरिसकेका इन्जिनियर हेमनाथ घिमिरेसँग उकालोले ललितपुर महानगरले बनाएको पुलबारे प्राविधिक दृष्टिकोण मागेको थियो। नयाँ र पुराना पुलको तुलनात्मक अवलोकनपछि उनले कुसुन्ती नक्खुडोल बीच सुराहीको घाँटीजस्तो हुन गएको बताए। पुल साँघुरो भएर ‘अप स्ट्रिम’ (सिरान)मा पानी जम्मा हुँदा बाढी जाने कारण बनेको उनले बताए।
“नदीलाई दुवैतिर बाँध बाँधेर संकुचित गराइएको छ। यसको प्राकृतिक बेड लेबल (भू–सतह) कति थियो र कति पुरिसकेको छ भन्ने विषय पुल बनाउँदा हेर्नुपर्ने हो, पानीले त आफ्नो बाटो खोजिहाल्छ,” उनी भन्छन्, “नदीको पहिलेदेखिको क्षेत्रफल त पक्कै पनि धेरै थियो होला, पुलले गर्दा नै समस्या पारेजस्तो देखियो। यो साँघुरो नभइदिएको भए पानी अलिअलि ओभरफ्लो भए पनि ह्वातै जान्थ्यो, धेरै जम्ने थिएन नी।”
उनको बुझाइमा यो ‘हाइड्रोलोजी’ (जलविज्ञान)सँग जोडिएको विषय हो। “यो पुल जसले बनायो ऊसँग सोध्नु पर्ने हो, यसको हाइड्रोलोजीसँग जोडिएको तथ्यांक कसरी विश्लेषण गर्नुभयो भनेर,” उनले भने, “नजिकै डाउनस्ट्रिम (तल)तिर सडक विभागले बनाएको पुल ३७ मिटर छ, माथितिर पनि लामो र अग्लो पुल छ। यो कसरी १९ मिटर मात्र निर्धारण भयो? सडक विभागसँग समन्वय गरियो कि गरिएन?”
ठाउँ हुँदाहुँदै पनि पुलको लम्बाइ घटाइएको छ। काठमाडौँकै धोबीखोलामा बिजुली बजारको पुल, सेतोपुल, रातोपुल, कालोपुल सबैमा करिडोरको सडकलाई मुनिबाट लगेर पुलको लम्बाइ कायम राखिएको छ। यहाँ पनि त्यस्तो गर्न सकिने अवस्था रहेको उनी बताउँछन्।
बाढीबाट पाठ नसिकेर भत्किएको पहुँच सडक फेरि बनाएर हतारमा उद्घाटन गर्नु आश्चर्यको विषय भएको इन्जिनियर घिमिरेको भनाइ छ। यो पुलमा दक्षिणतिर करिडोरको सडकको चौडाइ बराबर लामो एउटा ‘स्प्यान’ थपेर भविष्यको जोखिम कम गर्नसक्ने सम्भावना बाँकी रहेको उनी बताउँछन्।
नदीले आफ्नो बाटो खोज्छ भन्ने बिर्सन नहुने उनको राय छ। निर्वाचित जनप्रतिनिधि प्राविधिक व्यक्ति नहुन सक्ने भएकाले प्राविधिज्ञहरूले यस्तो विषय औँल्याएर सचेत गराउनुपर्ने उनी बताउँछन्। “यो पुलको कारण भएको क्षतिको भर्पाइ यसको डिजाइन बनाउने कन्सल्टेन्टले गर्ला त अब?” उनी भन्छन्।
महानगरले ५० वर्षको ‘रिटर्न पिरियड’ (बाढी अवधिलाई आकलन) गरेर पुलको डिजाइन तयार गरिएको दाबी गरेको छ। तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा समावेश ‘हाइड्रोलोजिकल स्टडी’को ‘डिजाइन फ्लड डिस्चार्ज’मा २० वर्षको बाढी आकलन गरेर डिजाइन तय गरिएको उल्लेख छ।
पुलको सम्भाव्यता अध्ययन तथा डीपीआर निर्माणको जिम्मा महानगरले कुपण्डोलस्थित माइलस्टोन डिजाइन एन्ड प्लानिङ कन्सल्टलाई ९ लाख २ हजार ३०५ रूपैयाँमा दिएको थियो। विभिन्न चरणको प्रस्तुति र छलफलपछि महानगरले २०७८ फागुन २२ गते परामर्शदाताको डीपीआर स्वीकृत गरेको थियो।
परामर्शका लागि पैसा लिएर बनाइएको डीपीआरमा ‘उपयुक्त पुलको किसिम चयन गर्नु कठिन रहेको’ टिप्पणी गर्दै १५ देखि २० मिटरको स्पाम भएका पुल बनाउन सकिने देखिएको जनाइएको छ। बाढीमा त्यहाँ तीन मिटरसम्म पानीको बहाव हुने आकलन गरिएको छ।
नदीलाई साँघुरो गराएर पुलको लम्बाइ छोट्याएको सम्बन्धमा प्रश्न गर्दा ललितपुर महानगरकी प्रमुख प्रसाशकीय अधिकृत रेखा दास श्रेष्ठले यो विषयबारे प्राविधिकले मात्र भन्न सक्ने बताइन्। उनले कार्यालयका इन्जिनियर प्रदीप पौडेललाई प्रतिक्रिया दिने जिम्मा दिइन्। पौडेलले अधिकार सम्मन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीको चौडाइ १३ मिटर मात्र बनाएकोमा आफूहरूले बढाएर १९ मिटर बनाएको बताए।

पौडेलले सम्भावित पानीको बहावको अध्ययनबाटै पुलको लम्बाइ कायम गरिएको दाबी गरे। कति वर्षको ‘रिटर्न पिरियड’ (बाढी फर्किने सम्भावना अवधि) हेर्ने भन्ने महत्त्वपूर्ण रहेको उनको भनाइ छ। “नेपाल सरकार मन्त्रिपरिषद्ले २०६५ सालमा खोलाको बहाव केन्द्रको मापदण्डलाई घटाइदियो, एउटा कारण त्यो पनि हो,” इन्जिनियर पौडेल भन्छन्, “क्याबिनेटको त्यो निर्णयले समस्या भएकोले नै पुस ३ मा आएको सर्वोच्चको आदेशले खोलाको क्षेत्रलाई बढाउन भनेको छ।”
इन्जिनियर पौडेलले पुलको चौडाइ कम हुनुमा खोलाले लिएको क्षेत्र नै कम भएको दाबी गरे। नदीको भुईं सतहमा थिग्रिएको गेग्य्रानका कारण पुलको उचाइ पनि कम भएको उनले बताए।
मन्त्रिपरिषद्ले २०६५ मंसिर १ गते विभिन्न खोला नजिक संरचना बनाउँदा किनाराबाट छोड्नुपर्ने दूरी निर्धारण गरेको थियो। त्यति बेला नक्खु खोलामा किनाराबाट १२ मिटर छोड्नुपर्ने उल्लेख थियो। “नेपाल सरकारले तोकिदिएको बहाव क्षेत्रभन्दा बाहिर गएर व्यक्तिको घर जग्गा पर्ने गरी पुल बनाउनु नी भएन,” पौडेल भन्छन्, “हाइड्रोलोजी हेर्दा हाम्रो डिजाइनमा चाहिँ त्योभन्दा अग्लो पुल त्यहाँ चाहिएन, हिजो हाम्रो खोलाको बेडलेबल (भूईं सतह) कहाँ थियो? यसको तथ्यांक कहिँकतै भेटिँदैन, तल थुप्रिएको गेग्य्रान हामी हेर्दैनौँ, माथि कम भयो भनेर भन्छौँ।”
भौतिक पूर्वाधार निर्माण लागतसँग जोडिएको हुनाले अहिलेको भन्दा लामो पुल बनाउन आर्थिक रूपमा उपयुक्त नदेखिएको उनको तर्क छ। नजिकैका अन्य दुई पुल ठूला हुनुको कारण सम्बन्धित ठाउँको भौगोलिक अवस्था र अन्य कुरामा भर पर्ने उनले बताए।
पौडेलले मन्त्रिपरिषद्को २०६५ सालको निर्णयका कारण पुलको लम्बाइ १९ मिटरमा सीमित गरेको बताए पनि त्यहाँभन्दा एक किलोमिटर माथि एकान्तकुना–भैँसेपाटी सडकमा ३७ मिटर लामो पुल २०७२/७३ पछि मात्र बनाइएको हो। उक्त पुलको लम्बाइ मन्त्रिपरिषद्को निर्णयभन्दा नदीको आवश्यकताका आधारमा तय गरिएको देखिन्छ।
गत पुस ३ गते सार्वोच्चले गरेको फैसलाले पनि खोलाको क्षेत्र निर्धारणमा समस्या भएको महानगरका इन्जिनियर पौडेलले जिकिर गरे। सर्वोच्चको उक्त फैसलामा भनिएको छ, “यही मापदण्ड तोकिए पश्चात बागमती, विष्णुमती, धोबीखोला र अन्य केही खोलामा दुवै किनारातर्फ तटबन्ध बनाउने र सडक खोल्ने कार्य हुन थालेको छ। यद्यपि, यी तटबन्धहरूले यी नदीमा वर्षादमा आउने बाढी नियन्त्रणमा कति सहायता गर्छन् वा बाढी नियन्त्रणको विषयलाई अरू जटिल बनाउँछन्, त्यो भने समीक्षाको नै विषय बनेको छ।”
बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता उद्धव नेपाल आफूहरूको मुख्य काम नदीमा ढल मिसिन नदिनु र दायाँबायाँ ढल राखेर फोहोर पानी प्रशोधन केन्द्रसम्म पुर्याउनु भएको बताउँछन्। सडक निर्माणको काम आफूहरूलाई ‘आइपरेको’ उनले बताए।
“दायाँबायाँ ढल राखेर प्रशोधन केन्द्रसम्म पुर्याउन बनाइएको संरचना बाढीले बिगार्ने भएपछि तटबन्ध पनि गर्नपर्ने भयो। त्यसपछि ढल बनाउँदा राखेको मंगाल अर्को निकायले सडक बनाउँदा पुरिदिए,” समितिका सिनियर डिभिजनल इन्जिनियरसमेत रहेका नेपाल भन्छन्, “त्यसपछि बाटो पनि निर्माण गर्नुपर्ने भयो, यी भनेका थपिँदै आएका काम हुन्।”
नक्खु खोलाको दायरा बाढीलाई थेग्न नसक्ने गरी १३ मिटर कायम गरिएको विषयमा सोध्दा नदीको क्षेत्र बढाउन जग्गा प्राप्तिको विषय चुनौतीपूर्ण रहेको उनले बताए। “हाइड्रोलोजिकल अध्ययनमा हामीलाई रिटर्न पिरियड कति चाहिन्छ भन्ने छ। त्यसअनुसार जग्गा प्राप्ति कसरी गर्ने भन्ने चुनौतीपूर्ण छ। व्यक्तिको सम्पत्ति यत्तिकै लिन नि मिलेन,” उनी भन्छन्, “कतिपय ठाउँमा विकसित घडेरी दिएर जग्गा प्राप्ति गर्ने मोडेलमा पनि विचार भइरहेको छ, तर खासै अगाडि बढ्या छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
