एक वर्षअघि खनिएका कतिपय भित्री सडकसमेत अझै बनेका छैनन्। वडाध्यक्षहरू सडक नबन्नुको कारण ठेकेदारलाई देखाउँछन्। काठमाडौँ महानगर भने प्रमुख प्रशासकीय अधिकृतको ‘रित्तो कुर्सी’लाई देखाउँछ।
काठमाडौँ– फागुन २३ गते दिउँसो १ बजे। मैतिदेवी–घट्टेकुलो सडकमा अचानक भिड जम्मा भयो। यहाँ जुलुस, सभा वा अन्य घोषित कार्यक्रम थिएन। भिड जम्मा हुनुको कारण थियो दुर्घटना। उक्त सडकमा मोटरसाइकल पल्टिएको थियो। दुर्घटनामा कालोपुलका प्रवीण घिमिरे घाइते भएका थिए।
निर्माणाधीन सडक अलपत्र छाड्दा प्रवीण चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो। सडक खन्दा निस्किएको ठूलो ढुंगामा ठोकिँदा मोटरसाइकल असन्तुलित भएर पल्टिएको थियो। “अर्को तर्फबाट पनि दुई वटा मोटरसाइकल आइरहेका थिए। म आफ्नै साइड च्यापेर गइरहेको थिएँ, दुई वटा ठूला ढुंगामा ठोक्किँदा मोटरसाइकलसहित लडेँ,” उनी गुनासो सुनाउँदै थिए।
मैतीदेवीबाट देब्रे मोडिएको सडक घट्टेकुलो हुँदै अनामनगर निस्कन्छ। छोटो ‘रुट’ भएको हुँदा यो सडक प्रयोगकर्ता पनि धेरै हुन्छन्। तर करिब एक वर्षअघि मर्मत थालिएको सडक अलपत्र छ।
स्थानीय हरिकृष्ण खनालका अनुसार पहिला पनि यो सडक राम्रो थिएन, कालोपत्रे उप्किएर ठाउँठाउँमा खाल्डाखुल्डी बनेका थिए। “खनेको लामो समयपछि अस्ति मात्रै ढल छोपछाप पारे। अब कहिले कालोपत्रे हुने हो थाहा छैन,” उनी भन्छन्, “धेरै नै सास्ती पायौँ। दुर्घटना त कति कति नि! भनि साध्य छैन।”

मैतिदेवी डेरीका सञ्चालक मीनकुमार अधिकारी यहाँका टोलबासी यो सडकका कारण आजित भएको बताउँछन्। पसलमा धुलो आएर उनी हैरान छन्। “धुलोले गर्दा मर्नै आँटिसक्यौँ, यहाँ कसैलाई केही मतलब छैन,” उनी भन्छन्, “खै कहिले काम सकिने हो, भगवान जानून्।”
काठमाडौँ महानगरपालिका वडा नं २९ मा पर्ने यो सडकलाई वीरेन्द्र मार्ग भनेर पनि चिनिन्छ। यहाँका वडाध्यक्ष कुश ढकाल घाम नलागेर सडक बन्न ढिलाइ भएको बताउँछन्। घाम लाग्ने बित्तिकै सडकको काम सकिने उनको जिकिर छ।
“टेन्डर भइसक्या छ। घाम लाग्ने बित्तिकै ६–७ दिनमै सबै सिध्याइदिन्छौँ, घाम नलागिकन पिच समात्दैन के फेरि,” उनी भन्छन्, “धेरै भएको छैन बाटो बिग्रेको। त्यहाँका मान्छेहरू अलिक बढी बोल्छन्। कसैलाई केही अप्ठेरो भा’छैन।”
काठमाडौँ महानगरभित्र बिग्रिएर मर्मत थालेर अलपत्र पारिएका, ढल हाल्न खनेर छाडिएका र खाल्डा नपुरी यतिकै छाडिएका सडक धेरै छन्। यसरी छाडिएका भित्री सडक काठमाडौँ महानगरको जिम्मेवारीमा पर्छन्।

रातो पुलबाट गौशाला नपुग्दै दाहिनेतिर मोडिने सडक राम मन्दिर भएर बत्तीसपुतलीको द्वारिकाज होटल सामुन्ने पुग्छ। यो सडक खनेको पनि ६ महिना नाघिसकेको छ। धुलो उडेर वरिपरिका घर र पसलका स्थानीय हैरान छन्। उनीहरू आफैले पानी हाल्ने गरे पनि एकैछिनमा धुलो उड्न थालिहाल्ने त्यही सडकमा किराना पसल सञ्चालन गर्ने सुनिता राई बताउँछिन्।
पानी धेरै हाल्दा पनि सडक हिलाम्य भएर पैदल हिँड्नेलाई झन् सास्ती हुने राईको भनाइ छ। वडा कार्यालयमा धेरैपटक गुनासो गर्दा समेत काम पूरा गराउन चासो नदेखाएको उनी बताउँछिन्। “यहाँ नयाँ सडक बन्ने भन्दा हामी जति खुशी थियौँ, अहिले त्यति नै दुःखी छौँ,” उनी भन्छिन्, “हामीले उहिले (बनाउन शुरू गर्दा) पनि कति समय लाग्ला बाटो बनाउन सोधेका थियौँ। त्यतिबेला चाँडै सकिन्छ भनेका थिए, तर अहिले वडाको कोही देखा पर्दैनन्।”
यो सडक काठमाडौँ महानगर–९ मा पर्छ। यही वडामा पर्ने गौशाला र बत्तीसपुतली क्षेत्रको जयन्ती मार्ग र अरनिको मार्गसहित आधा दर्जन सडक अलपत्र छाडिएका छन्।

जयन्ती मार्गकी स्थानीय अनुराधा ढकाल सडक बेहाल बनाएर छाड्दा आफूहरू महिनौँदेखि समस्यामा परेको बताउँछिन्। उनका अनुसार जयन्ती मार्ग मर्मतका लागि र ढलका लागि भनेर दुई पटक खनिएको हो। “एकपटक बाटो बनाउन खनेको भने, अर्कोपटक ढलको लागि खनेको भने,” उनी भन्छिन्, “हामी त सधैँ घरबाट निस्कनुपर्छ। गाडीसम्म निकाल्न नपाई कति दिन हिँडेरै काममा जानुपर्यो।”
अरनिको मार्गकी सम्झना थापाका अनुसार वडा कार्यालयले फागुन १३ गतेसम्म सडक कालोपत्रे भइसक्ने आश्वासन दिएको थियो। तर फागुन २७ गतेसम्म पनि अलपत्र सडकमा काम थालिएको छैन। “वडाध्यक्ष पनि कस्तोलाई जितायौँ भन्ने भइरहेको छ। जतिभन्दा पनि सुन्दैनन्। हामी यहाँ धुलो खाएर हैरान छौँ,” उनी भन्छिन्, “अब कहाँ गएर गुनासो गर्ने होला भन्ने भइसक्यो।”
काठमाडौँ–९ का वडाध्यक्ष रामजी भण्डारी ठेकेदारले आफ्नै तरिकाले काम गरिरहेका कारण हस्तक्षेप नगरेको जिकिर गर्छन्। ठेकेदारको तर्फबाट केही ढिलो भए पनि काम नरोकिएको उनको दाबी छ।
“अब कहाँ भनेकै समयमा सबै काम पूरा हुन्छ त? मौसम र वातावरणले पनि साथ दिनुपर्यो नि! भनेको कुरा पुर्याउनलाई त भगवान हुनुपर्छ,” वडाध्यक्ष भण्डारी भन्छन्, “जिम्मा लगाएका मान्छेले काम गरिहाल्छ नि। ठेकेदार मेरो मातहतमा पनि पर्दैन केही भन्नलाई, त्यो इन्जिनियरको मातहतभित्र पर्छ।”

काठमाडौँ महानगरपालिका–५ मा पर्ने भाटभटेनी मन्दिरदेखि गैरीधारा निस्किने सडक पनि भद्रगोल अवस्थामा छ। यहाँ ढल हालेपछि बालुवागिट्टी ओछ्याएर छोडिएको छ। भाटभटेनी मन्दिरअगाडि पत्रिका तथा स्टेसनरी पसल चलाइरहेका रामेश्वर कर्माचार्य धुलो उडेर बस्नै समस्या भइसकेको गुनासो गर्छन्।
“बाटो हिँड्नेलाई गाह्रो छँदैछ, पसलेलाई झनै गाह्रो छ,” उनी भन्छन्, “पानी खन्याउँदा हिलो भयो भनेर छिमेकीले नै फेरि वडामा गुनासो गर्न जान्छन्। यतिकै छोड्यो भने दुर्घटनाको जोखिम, धुलोले रोगको पनि जोखिम।”
वडा नं ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपत्रे गर्ने सामान नपाएर अलपत्र छाड्नु परेको बताउँछन्। त्यहाँ सडक चौडा बनाउने योजना पनि भएको हुँदा अहिलेलाई छाडिएको उनको भनाइ छ।
तर सडक फराकिलो बनाउन स्थानीयबीच सहमति भइसकेको छैन। “हामी सहमतिमै जानुपर्छ भनिरहेका छौँ, अब के हुन्छ हेरौँ। भएन भने कानूनअनुसार जान्छौँ,” उनी भन्छन्, “हाम्रो चाडपर्व पनि आउन लागेको छ, त्यसैले सकेसम्म चाँडै बनाउछौँ।”
यस्तै समस्या काठमाडौँ महानगर वडा नं ४ मा पनि छ। राष्ट्र बैंकको छेउबाट चुनदेवीसम्म जाने सडक भत्काएर छाडिएको लामो समय भइसकेको छ। काठमाडौँ महानगरका धेरै भित्री सडक भत्किँदा पनि समयमै मर्मत नभएको स्थानीयको गुनासो छ।
काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाह निर्वाचित भएपछि २०७९ जेठ ३० गते बसेको पहिलो कार्यपालिका बैठकले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। मेयर शाहकै प्रस्तावमा पारित यो निर्णयपछि महानगरको स्वामित्वका सडक भत्किए तत्कालै बनाइने जनाइएको थियो।
बैठकमा दुई वटा भौतिक पूर्वाधार एम्बुलेन्स राख्ने निर्णय पनि भएको थियो। यस्तो प्रस्ताव राख्दै मेयर शाहले भनेका थिए, “जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ।”
काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर महानगरले पूर्वाधार एम्बुलेन्सलाई निरन्तरता दिन नसकेको बताउँछन्। पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउन चाहिने सामग्रीहरू नहुँदा स्थगित गर्नुपरेको उनको भनाइ छ।
काठमाडौँमा मर्मत भइरहेका सडक अलपत्र पर्नुको मुख्य कारण महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुनु नै भएको प्रवक्ता मानन्धर बताउँछन्। वडाको मात्रै नभएर समग्र महानगरकै काम प्रभावित भइरहेको उनको भनाइ छ।
“वडाका सडकहरू अलपत्र पर्नुको कारण ठेकेदारहरूले भुक्तानी नपाउनु नै हो। हामीले भुक्तानी नदिँदा यतिकै छाडिएको अवस्था छ,” उनी भन्छन्, “कार्यकारी अधिकृत आएलगत्तै सबै काम द्रुत गतिमा अगाडि बढ्छ। यदि, वडाकै कारण सडक निर्माण रोकिएको छ भने सम्बन्धित वडाका मान्छेले उजुरी गरे हामी कारबाही गर्छौं।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
