मेचीकिनारका भित्तामा प्रकृति दोहनविरुद्ध लड्नेका कथा

धनुषामा हत्या भएका दिलीप, कैलालीमा हात काटिएकी नन्दादेवी, रोइरहेको पाण्डा, बगिरहेको पानी र त्यसमा आश्रित कछुवा तथा घडियाल, पुराना शैलीका घर। पर्यावरण विनाशविरुद्ध उभिएको छ मेचीनगरको भित्तो।

झापा– काँकडभिट्टा बसपार्कबाट करिब २०० मिटर पूर्व गएपछि मेचीपुल पुगिन्छ। यो पुल नेपाल–भारतको सीमानामा छ। पुल पुग्नु अगावै सडकका दुई छेउतिर अग्ला पर्खाल छन्। देब्रेतिरको पर्खाल अहिले ‘म्युरल आर्ट’ अर्थात् भित्तेचित्रले आकर्षक बनाइएको छ।

भित्तेचित्रको बीच भागमा दुई पात्रको ‘पोट्रेट’ छ। पहिलोमा साना बालबालिकाहरूले बालुवाबाट मान्छेको चित्र बनाइरहेको जस्तो देखिन्छ। उनीहरूले बनाइरहेको देखिने मान्छेको कपाल हल्का उठेको, अलि ठूलो नाक, ओठमाथि थोेरै जुँगा देखिन्छ। खासमा यो चित्रमा भएका व्यक्ति धनुषाको मिथिला नगरपालिकाका दिलीप महतो हुन्।

नदीमा भएको अवैध उत्खनविरुद्ध लड्दालड्दै २०७६ पुस २५ गते दिलीपको हत्या भएको थियो। उनी भारतमा इन्जिनियरिङ पढ्दै थिए, पहिलेदेखि नै प्रकृति दोहनविरुद्ध सचेत थिए। त्यसबेला छुट्टिमा घर आएका थिए।

घरभन्दा करिब ५०० मिटर टाढाको औरही खोलामा अवैध गिट्टी बालुवा उत्खनन् भइरहेको सुनेपछि दिलीप त्यहाँ पुगेका थिए। अवैध उत्खनन् रोक्न पुगेका उनलाई क्रसर व्यवसायीले बालुवा प्रशोधन उद्योगमै आक्रमण गरे। फलाम प्रहारबाट घाइते बनाएपछि टाउकोमाथि टिप्पर कुदाएर उनको हत्या गरिएको थियो। त्यस बेला उनी २४ वर्षका थिए।

दिलीपको चित्र बनाउने कलाकारमध्ये एक हुन् देही आर्टका छेतेन शेर्पा। उनी भन्छन्, “बालुवा गिटीको अवैध उत्खनन् रोक्ने क्रममा मारिएका दिलीपको कथा हामीले सम्झनुपर्छ भनेर चित्र बनाइएको हो। अवैध उत्खनन्विरुद्ध देखाएको समर्पण बुझाउन बालुवाले नै बनेजस्तो चित्र बनाएका हौँ।” 

दिलीपको सँगै एक महिलाको पनि चित्र बनाइएको छ। उनको शरीर हरियो रङले बनाइएको छ र अगाडि लहरै रूख रोपिएको छ। उनको पछाडि पनि हरियो वन छ। उनी हुन् कैलालीको गोदावरी नगरपालिका–३ की नन्दादेवी कुँवर, जसको कथा वन जोगाउने संघर्षसँग जोडिएको छ। 

वन तस्करको आक्रमणबाट नन्दाले २०६९ वैशाख ९ गते आफ्ना दुवै हात गुमाइन्। त्यस बेला उनी प्रस्तावित मधुमालती सामुदायिक वनकोे अध्यक्ष थिइन्। त्यस वनमा साल, खयरलगायत थुप्रै प्रजातिका रूख थिए। स्थानीयले त्यही वनबाट घाँस दाउरा लैजान्थे।

उक्त वनबाट तस्करहरूले काठ चोरी गरिरहन्थे। कतिपयले त वनकै जमिन पनि हड्प्ने प्रयत्न गरेका थिए। वन जोगाउन उनी नेतृत्वको समितिले काँडेतार लगाइरहेको थियो।

त्यो दिन बिहान पनि उनीहरू वनमा काँडेतार लगाउँदै थिए। नन्दा तार बाँध्न खम्बा गाड्दै थिइन्। उनलाई पछाडि कोही आएजस्तो लाग्यो र फर्किइन्। फर्किंदा कसैले खुकुरीले हान्न खोजिरहेको देखिन्। आत्तिएर जुरुक्कै उठिन् र रोक्न खोजिन्। 

खुकुरीको प्रहार उनको टाउकोमा लाग्नबाट त जोगियो, तर दायाँ हात नै चुँडियो। फेरि तस्करले अर्को पटक प्रहार गरे। त्यसलाई रोक्दा बायाँ हात पनि काटियो। उनी भन्छिन्, “माथिबाट घाँटी नै छिनाउने हिसाबले हानेका रहेछन्। मैले हातले रोक्दा घाँटी बच्यो र हात दुवै हात काटियो।”

उनलाई तुरुन्तै त्यहीँको अत्तरिया अस्पताल पुर्‍याइयो। त्यहाँ दुवै हात जोडियो। तर उनका हातले अहिले पनि राम्रोसँग काम गर्दैनन्।

पछि नन्दाको नामबाटै सामुदायिक वनको नामकरण गरियो र महिला सामुदायिक वनका रूपमा दर्ता भयो। अहिले उनी वनको जिम्मेवारीमा छैनन्, तर वन र जनावरलाई उत्तिकै प्रेम गर्छिन्। 

वनप्रति उनको यही प्रेम देखेर मेचीकिनारको भित्तामा चित्र बनाउन आवश्यक ठानेको देही आर्टका कलाकार छेतेन बताउँछन्। उनी भन्छन्, “हामीले रूखहरूको भीडमा एकजना पर्यावरणका लागि काम गर्ने दिदी नन्दादेवी कुँवरको पोट्रेट बनाएर उहाँको देनलाई सम्मान गरेका हौँ।”

झापाको कलासाहित्य उत्सवका अवसरमा फागुन दोस्रो हप्ता आफ्नो भित्तेचित्र हेर्न पुगेकी नन्दा दंग थिइन्। उनी भन्छिन्, “आफूले गरेको कामप्रति सम्मान स्वरूप चित्र बनाइदिनुभएको देख्दा खुशी लाग्यो। अझै उत्साह मिलेको छ।” 

नन्दालाई भेटेपछि कलासाहित्य उत्सवमा आएका कलाकार डिल्लीकृष्ण आलेले पनि उनको चित्र उतारेका थिए।

लेखक अर्चना थापा स्थानीय स्तरमा प्रकृति संरक्षणमा काम गरेका पात्रहरूको चित्र मेचीनगरको भित्तामा बन्नु राम्रो सन्देश भएको बताउँछिन्। राजनीतिक व्यक्तिहरूको मात्रै चित्र, मूर्ति बनिरहेका बेला स्थानीयस्तरमा जोखिम मोलेर काम गर्नेहरूको चित्र बनाइँदा समय परिवर्तन हुँदै गएको भान भएको उनको भनाइ छ। 

चित्रले मान्छेलाई ती पात्र र उनीहरूका संघर्षबारे जिज्ञासा पनि जगाइदिने थापा बताउँछिन्। “अब भुइँमान्छेको पनि चित्र बन्यो, उहाँहरूको कथा सबैले थाहा पाउनुपर्छ। उहाँहरूका कथाले मान्छेलाई उत्प्रेरित गर्नुपर्छ,” उनी भन्छिन्।

३०० फिट लामो भित्तेचित्रमा पर्यावरण विमर्श
मेची किनारको भित्तामा चित्रमार्फत् पानीको कथा पनि देखाइएको छ। पानीसँगै जोडिएका जनवार, रूख, पन्छीका कथा पनि छन्।

कलाकार छेतेन यी चित्र ‘द सागा अफ अ वन्डरिङ वाटर’ अर्थात् एउटा घुमन्ते पानीको कथा भएको बताउँछन्। उनी भन्छन्, “३०० फिट लामो भित्तेचित्रमा पानीले कसरी यात्रा गर्छ भनेर देखाएका छौँ। पानीसँगै वन र जनवारबारे किन सोच्नुपर्छ भन्ने प्रश्न उठाएका छौँ।” 

भित्तेचित्र एउटा ढुंगेधाराबाट शुरू हुन्छ, जहाँबाट पानी निस्किरहेको छ। उक्त धारामा एक महिला पानी पिइरहेकी छन् र उनले पिएको पानी उनकै चुल्ठोबाट निस्किरहेको हुन्छ। ती महिलालाई प्रकृतिको एक पात्रका रूपमा चित्रण गरिएको छेतेन बताउँछन्। 

उनको चुल्ठोबाट छल्किएको पानीमा कछुवा, घडियाल, अजिंगरहरू आश्रित छन्। त्यहाँका विभिन्न जनवारहरू भन्दै छन्, “वाटर इज आवर लाइफ, नट योर डस्टबिन।”

तराइका पुराना पर्यावरणमैत्री घरहरू पनि देखिन्छन्। चित्रले पर्यावरण दोहन नगरी कसरी प्रकृतिमैत्री घर बनाउन सकिन्छ भन्ने सन्देश दिने छेतेनको भनाइ छ। 

चित्रमा सुपारीका रूख र चियाका बुट्यानहरू पनि छन्। झापामा चिया र सुपारी नगदेबालीका रूपमा परिचित छ। पर्यावरण र जीवनयापनको साधनलाई सँगसँगै लैजान सकिने सन्देश चित्रले दिन्छ। 

छेउमा एउटा रेडपान्डाको चित्र कोरिएको छ, जो रोइरहेको छ। नेपालको पूर्वी पहाड ताप्लेजुङलगायत जिल्लामा पाइने रेड पान्डा लोपोन्मुख जनवार हो। वन अतिक्रमणले उनीहरूको बासस्थान मासिँदै गएको छ।

मेचीनगरमा पाइने दुर्लभ चराहरू र हात्तीको मात्रै होइन, सेता हिमाल कसरी काला बन्दैछन् भन्ने कथा पनि यही चित्रमा छ। मानिसले गरेको प्रदूषणले हिमालहरू पग्लिएर काला बनेका छन्। यही कुरा बुझाउन हिमाल बचाउने अभियान चलाइरहेका अभियन्ता सोनाम वाङचुकको पनि चित्र बनाइएको छ।

छेतेन भन्छन्, “उहाँले (सोनामले) हिमश्रृंखला पग्लियो भने पहाड र हिमालका समुदायले मात्र नभई सबैले दुःख पाउछौँ भनेर म्यासेज फैलाइरहनुभएको छ। हिमाल बचाउने उहाँको यो अभियान हामी सबैले बुझ्नुपर्छ।” 

अभियानमा साथ खोज्दै कलाकार
पर्यावरणको कथा भन्ने ३०० फिट लामो भित्तेचित्र कलाकार छेतेन एक्लैले बनाएका होइनन्। झापाको देही आर्टका १३ कलाकार र स्थानीय विद्यालयका करिब ३० विद्यार्थीको संयुक्त परिश्रमबाट बनेको हो। 

विद्यार्थीहरूलाई कलासँग जोड्न छेतेन र उनका साथीहरूले विद्यालयहरूमा गएर केही दिन तालिम दिएका थिए। अनि उनीहरूको समेत सहयोगमा मेची किनारका भित्तामा पर्यावरण चित्र बने। 

यी चित्र बनाउन ८–९ दिनको मिहिनेत लागेको छेतेन बताउँछन्। उनी भन्छन्, “हामी दैनिक नौ घण्टाभन्दा बढी खट्यौँ। कहिले त राति १२ बजेसम्म पनि काम गरिरहेका हुन्थ्यौँ।” 

यस कामका लागि कसैसँग पैसा नलिएको छेतेन बताउँछन्। पर्यावरण विमर्श आफूहरूको मूल उद्देश्य रहेकाले पर्यावरणमै केन्द्रित भएको उनको भनाइ छ।

उनीहरूलाई मेची किनारका बाँकी भित्ता यस्तै कथा र सन्देश दिने चित्रले ढाक्न मन छ। तर आवश्यक सामग्री र कलाकारको पारिश्रमिकका लागि पर्याप्त बजेट छैन। त्यसैले मेची किनारको सानो भित्तोमा मात्र चित्र बनाएको उनी बताउँछन्।

उनका अनुसार यहाँको एकातिरको भित्तो मात्र करिब ६ हजार फिट लामो छ। यति लामो भित्तोमा चित्र बनाउने आफूहरूको आर्थिक क्षमता नभएको उनी बताउँछन्। स्थानीय तहले सहयोग गर्ने हो भने यस्ता चित्रबाट सन्देश प्रवाहसँगै सौन्दर्य पनि बढ्ने उनको भनाइ छ।