विश्व सिनेमाबारेको मन्थन मात्र हैन, फिल्म डिस्ट्रिब्युटर र हलवालाले नपत्याएका, ओझेलमा परेका तथा फरकधारका सिनेमाको प्रवर्द्धनसमेत गरिरहेको छ ‘मुभी लभर्स’ले।
काठमाडौँ– कोभिड संक्रमणको त्रासदीपूर्ण समय। लकडाउनको उकुसमुकुस। मानिसहरू घरभित्र हुलिएको थियो। सामाजिक सञ्जालमा अल्झनुबाहेक कतिपयलाई समय बिताउने अर्को उपाय विकल्प थियो– सिनेमा हेर्ने र पुस्तक पढ्ने।
लकडाउनले बजार ठप्प भएको हुँदा सजिलै पुस्तकमा पहुँच सम्भव थिएन।
तर सिनेमा? इन्टरनेट भए, घरमै हेर्न सकिन्थ्यो।
त्यही बेला कतिपयलाई सिनेमाको लत नै बस्यो। तर राम्रा र अर्थपूर्ण सिनेमा कसरी पाउने? कस्ता सिनेमा हेर्ने? सिनेमा हेरिसकेपछि मन मस्तिष्कमा लागेका भावना कहाँ पोख्ने? सिनेमाबारे मन्थन कहाँ गर्ने?
कोभिड संक्रमणको यस्तै उकुसमुकुसबीच शुरू भयो फेसबुक ‘ग्रुप’– ‘मुभी लभर्स’। पत्रकारद्वय लेनिन बञ्जाडे र उनका भाइ दृश्यले शुरू गरेको मुभी लभर्स कालान्तरमा सिनेमा र सिनेप्रेमीलाई जोड्ने कडी बन्यो। नेपाली मात्र हैन विश्व सिनेमाबारे मन्थनको ‘भर्चुअल’ थलो बन्यो।
तर यो यतिमा मात्र सीमित भएन। कमर्सियल सिनेमाको छायामा परेका, हल सञ्चालकले नपत्याएका फरकधारका सिनेमालाई समेत दर्शकसम्म पुर्याउन सक्रिय बन्यो।
मुभी लभर्सको पुनर्जन्म
कोभिड संक्रमणकालमा मुभी लभर्सको पुनर्जन्म भयो। यसको शुरूआत सन् २०१४ मै भइसकेको थियो, तर गति लिन सकेको थिएन।
लकडाउनदेखि मुभी लभर्स असलमा सिनेमाप्रेमीको भर्चुअल ग्रुप बन्यो। त्यसअघि लेनिन र दृश्यले यसलाई धेरै टाढासम्म लैजान सकिन्छ भन्ने सोचेका थिएनन्। दृश्य भन्छन्, “कोभिड अघिसम्म यसबारे गम्भीर थिएनौँ।”

ग्रुप व्यवस्थित पनि थिएन। सिनेमाबारे पोस्ट मुस्किलले हुन्थे। “सिनेमासम्बन्धी ग्रुप भए पनि घडेरी बेच्नेसम्मका पोस्ट आइरहेका हुन्थे। फाटफुट मात्र सिनेमाका पोस्ट आउँथे,” उनी भन्छन्।
लकडाउनताका ग्रुपमा सिनेमासम्बन्धी पोस्ट बढ्न थाले। घरभित्र हुलिएका मानिसहरू फिल्म हेर्न थाले। आफूले हेरेका, हेर्न मन चाहेका सिनेमाबारे लेख्न थालेका थिए। “लकडाउनको समयमा हामीले सिनेमाप्रेमी छन् भन्ने थाहा पायौँ। सिनेमाबारे बोल्न लेख्न ठाउँ चाहिएको छ भन्ने बुझ्यौँ,” दृश्य भन्छन्, “कोभिडले हामीलाई त्यो महसुस गराइदियो।”
त्यसपछि उनीहरू सिनेमाबारे मन्थन गर्ने भर्चुअल ‘प्लाटफर्म’ बनाउनुपर्छ भन्ने महसुस गरे। लकडाउनमै ग्रुपलाई व्यवस्थित गर्न थाले। “ग्रुपमा अप्रुभल नियम लागू गर्यौँ,” उनी भन्छन्, “सिनेमासम्बन्धी मात्र पोस्ट राख्न लाग्यौँ।”
आफै पनि दैनिक चार वटासम्म सिनेमासम्बन्धी पोस्ट गर्न थाले। सिनेमा सिफारिस गर्न थाले। सिनेमाबारे हुने छलफल, विचार, टिप्पणीजस्ता पोस्ट बढ्दै गए। सिनेमाप्रेमी जोडिँदै गए।
सिनेमा संस्कृतिलाई टेवा
वास्तवमा दाङका सागर सुवेदीले मुभी लभर्स पेज जन्माएका थिए। त्यसलाई प्राण भरे लेनिन र दृश्यले।
मुभी लभर्स आज त्यो चौतारो बनेको छ, जहाँ सिनेमा र सिनेमा संस्कृतिबारे मन्थन हुन्छ। सिनेमाको समीक्षा हुन्छ। नेपालीदेखि विश्वका अन्य भाषाका फिल्मको पनि गफगाफ हुन्छ।
आफूले हेरेका फिल्मबारे लामो समीक्षा लेख्नु पर्दैन। सिनेमाबारे मनमा लागेका पक्षबारे पनि लेख्न पाइन्छ। “कुनै सिनेमा मन परेको छ, खुलेर लेख्न पाइन्छ। मन परेन भने पनि त्यसबारे पनि लेख्न सकिन्छ। रचनात्मक सुझाव दिन सकिन्छ,” दृश्य भन्छन्, “नागरिक पत्रकार भनेझैँ, हामी नागरिक फिल्म समीक्षक हौँ।”
नेपालमा बनेका फरकधारका सिनेमालाई वितरकले सजिलै पत्याउँदैनन्। हलवालाहरूले शो दिँदैनन्। दिइहाले दुई/चार दिनमै उतारिन्छन्। ती सिनेमा दर्शकसम्म पुग्नै पाउँदैनन्।
जस्तो कि, गायक भक्तराज आचार्यको जीवनमा आधारित सिनेमा ‘आचार्य’ दर्शकमाझ पुग्नै सकेन। निर्माताले पैसा पाएनन्। मुभी लभर्सले त्यसको खोजी गर्यो। फिल्म निर्माता रोशन राईलाई सम्पर्क गरेर २०७९ असोज ५ गते विशेष प्रदर्शनी गर्यो।
“फिल्म रिलिजपछि हामीले बचेको साढे सात हजार रुपैयाँ दियौँ,” लेनिन भन्छन्, “फिल्मले कमाएको सबैभन्दा धेरै पैसा नै त्यही हो भनेर निर्माताले खुशी भएर पैसा लिनुभयो।”
फरकधारको अर्को सिनेमा ‘हल्कारा’को पनि मुभी लभर्सले उपत्यकाबाहिर दाङमा विशेष प्रदर्शनी गरेको थियो। त्योबेला उपत्यकाबाहिर सबै ठाउँमा शो पाइरहेको थिएन। दाङमा भएका मुभी लभर्सको सञ्जालले २०८१ वैशाखमा विशेष प्रदर्शनी गरेको थियो।
त्यसअघि फरकधारका ‘डाकिनी’, डोरबहादुर विष्टको जीवनमा आधारित ‘म अलप हुन चाहन्छु,’ ‘द रेड सुटकेस’ जस्ता सिनेमालाई पनि मुभी लभर्सले विशेष प्रदर्शनी गरेको थियो। दुई वर्षअघि प्रदर्शनीमा आएको ‘ऐना झ्यालको पुतली’को मुभी लभर्सले विशेष प्रदर्शनी मात्र गरेन, मुभी लभर्सबाट दुई दर्जनभन्दा बढी समीक्षासमेत गरिए।
केही समयअघि काठमाडौँको सुकुमवासी बस्तीको कथामा आधारित सिनेमा ‘आँखा’ले हलमा राम्रो शो पाउन सकेन। मुभी लभर्सले त्यसको विशेष प्रदर्शनी गर्यो। फरकधारमा सिनेमा मन पराउने सिनेमाप्रेमी भेला भएर उक्त फिल्म हेरे।
“हामी कर्मसियल नभएर यस्तै खाले फरकधारका सिनेमा प्रवर्द्धन गर्छौं,” दृश्य भन्छन्। तर कर्मसियल सिनेमाबारे नकारात्मक भने नभएको उनी बताउँछन्।

...
मुभी लभर्समा अहिले साढे ७ हजार सदस्यहरू छन्। संख्याका हिसाबले यो अंक सानो हो, तर यो संख्या असलमा सिनेमा प्रेमीहरूको हो। ग्रुपका सदस्यहरू एकदमै फिल्टर गरी राखिएका छन्। यसमा सिनेमाप्रेमी मात्र पनि छैनन्, निर्देशक, कलाकार, लेखक, पत्रकारहरू पनि छन्। खासमा भन्दा सिनेमालाई माया गर्ने सिनेमा प्रेमीहरू छन्।
आजका दिनमा आइपुग्दा यो फेसबुक ग्रुपमा मात्र समिति छैन, यो एउटा नेपाली ‘सिनेमा कम्युनिटी’ नै बनिसकेको छ। यसै वर्ष मुभी लभर्सले आफ्नो १० वर्षे यात्रा पूरा गरेको छ।
मुभी लभर्सले जोडिरहेछ, दर्शक र सिनेमालाई। कालान्तरमा यो कम्युनिटीलाई अझै ठूलो बनाएर लैजाने लेनिन र दृश्यको योजना छ। विश्व सिनेमालाई रेटिंग गर्ने आईएमडीबीजस्तै नेपाली सिनेमाको रिभ्यु गर्ने आफ्नै प्लायट फर्म बनाउने सोच छ, उनीहरूको। भन्छन्, “मुभी लभर्स सिनेमाप्रेमीको भर्चुअल समाज हो, सिनेमाबारे मन्थन मात्रै होस् भन्ने हामी चाहनौँ। यसलाई धेरै टाढासम्म पुर्याउने योजना छ।”
कस्तो सिनेमा राम्रो?
असल सिनेमाले मानिसलाई उद्वेलित बनाउँछ। हामीले बाँचिरहेको भन्दा फरक संसारमा लैजान्छ। जीवनमा भोग्न नपाएका खुशी, दुःख, आनन्द सबै अनुभूत गराउँछ। राम्रा सिनेमा लामो समयसम्म मस्तिष्कमा घुमिरहन्छन् र जीवनमा पनि गहिरो प्रभाव छोडेर जान्छन्।
तर कस्तो सिनेमा राम्रो त? हामीले यही प्रश्न सोध्दा लेनिन भन्छन्, “यही सिनेमा भन्ने हुँदैन। सबैखाले सिनेमा आफैमा आर्ट मुभी हुन्। ती सिनेमा कलाको मिश्रण हुन्छन्। कसैलाई कुन मन पर्न सक्छ कसैलाई केही। कुनैमा धेरै कलात्मक प्रयोग गरिएको हुन्छ, कसैमा कम।”

बरु उनले सिनेमाले कति प्रभाव पार्यो भन्नेले अर्थ राख्ने लेलिन बताउँछन्। “सिनेमाले तपाईंलाई कति उद्वेलित बनायो, तपाईंभित्र कति करुणा जगायो? त्यसले प्रभाव कति गहिरो पार्यो? सायद त्यसले बढी महत्त्व राख्छ,” लेनिन भन्छन्।
सिनेमाको लत
लेनिन र दृश्यको सिनेमासँगको सम्बन्ध आफैमा अनौठो छ। दाङको घोराहीमा जन्मेका दुई दाजुभाइको सिनेमा हेर्दै हुर्किए। बाबु जो आफैमा सिनेमा पारखी थिए। बेला बेलाबखत सपरिवार फिल्म हेराउन लैजान्थे। त्यस बेलाको राप्ती र गणेश हलमा गएर फिल्म हेर्थे।
लेनिन र दृश्यलाई त्यही बेलै फिल्म हेर्ने लत बस्यो। कतिसम्म बाबुको पैसा चोरेरसमेत फिल्म हेर्न पुग्थे। पैसा नहुँदा हुलमा मिसिएर छिर्थे। टिकट उठाउँदा कुर्सीमुनि लुक्थे। सिनेमाको असली भोक त्यही बेलै जागेको थियो।
कालान्तरमा लेलिन पत्रकारितामा आइपुगे, दृश्य भूगर्भविद् बने। तर दुवैभित्र सिनेमाको भोक भने छँदै थियो, भलै करियरको एक समयमा उनीहरू अलग बाटो हिँडे।
तर सिनेमाको भोकले अन्ततः त्यतै डोर्यायो। अहिले उनीहरूलाई लाग्छ, “सायद रगतमा सिनेमा पो मिसिएको छ कि!”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
आभास बुढाथोकी
