झन्डै दुई किलोको पुस्तकको ‘ज्ञानभार’

शहरमा हुर्केको एउटा युवाले पिँडालु र गाभा खान्थ्यो, तर बाआमाले आफ्नै करेसाबारीमा पिँडालु रोपेपछि मात्र यी दुई एउटै वनस्पतिका जमिनमुनि र जमिनमाथिका हिस्सा हुन् भनेर जान्न पायो। 

वनस्पतिसम्बन्धी अध्ययन अनुसन्धानमा आफ्नो प्राज्ञिक विशेषज्ञता हासिल गर्नुभएका डा. मानबहादुर रोकाया र डा. सालिकराम सिग्देलसँगको चिनजान पुरानै हो। वनस्पतिविद्का रूपमा डा. रोकाया र डा. सिग्देलको रुझान र योगदानबारे निक्कै पटक भेटघाट, कुराकानी र चिया गफ भए पनि म जस्तो ‘विज्ञानइतर’ मान्छेलाई वनस्पतिका कुरा कसोकसो प्राविधिक खालका लाग्थ्यो। यद्यपि, म प्रकृतिप्रेमी त हुँ नै। 

केही महिनाअघि वनस्पतिविद‍्द्वय डा. मानबहादुर रोकाया, डा. सालिकराम सिग्देल अनि सरोज कसजु र ला दोर्चे शेर्पाको संयुक्त नाममा ‘प्लान्टस अफ काठमाडौँ भ्याली अ पिक्चोरियल गाइड' शीर्षकको किताब निस्कियो। उक्त किताब निस्कनासाथ हात पनि पर्‍यो। वनस्पतिसम्बन्धी किताब अंग्रेजीमा छ, विषय र भाषा दुवै हिसाबले किताबको बाहिरी आवरणमा मात्र अल्झेको थिए। किताबभित्र प्रवेश गर्ने रुचि र आँट दुवै थिएन।

किताब हात लागेको केही दिनपछि हो, छोरीका लागि ‘ह्यारी पोर्टर’ सिरिजका सात वटै पुस्तक किन्न मण्डला बुक हाउस पुगेको थिएँ। अरू किताब किन्ने सोच थिएन। तैपनि ‘विन्डो सपिङ’ शैलीमा बुकसेल्फका किताबमा अलमलिँदै थिएँ। त्यहाँ कसैले भनिरहेको सुनेँ, ‘वनस्पतिसम्बन्धी यत्तिको किताब नछापिएको १२/१५ वर्ष भएको थियो।’ कुरा भएतर्फ यसो टाउको घुमाएर हेरेँ, त्यसो भन्ने व्यक्ति पल्टाइरहेका थिए, ‘प्लान्टस अफ काठमाडौँ भ्याली अ पिक्चोरियल गाइड’।

यो त मैले लेखकबाट नै प्राप्त गरेको थिएँ। कुनै अरू अरू दिन, किताबकै खोजीमा रत्न पुस्तक भण्डार र बज्र बुक्समा पुगेको बखत त्यहाँ पनि यो किताब ठाँटले सजाइएको देखेँ। फेरि लाग्यो– अरे, यो किताब त मसँग छदैछ, मैले पढ्ने रुचि किन नगरेको होला।

प्राय: नेपाली भाषामा लेखिएका आख्यान/ गैरआख्यानमा रुचि राख्ने मलाई अबचाहिँ ‘प्लान्टस अफ काठमाडौँ भ्याली अ पिक्चोरियलभित्र प्रवेश गर्न मन लाग्यो ।

काठमाडौँ उपत्यकाको बखान गर्दा मन्दिरैमन्दिरको शहर र सांस्कृतिक शहरका रूपमा यसको जति गरिन्छ, त्यत्तिकै अर्को विशेषता हो यहाँको जैविक विविधता। काठमाडौँ उपत्यकाको सुन्दरता र वातावरणीय स्वास्थ्य जोगाइराख्न बोटबिरुवाको भूमिका निकै ठूलो छ। सरसर्ती हेर्दा उपत्यकाको समथर भूभाग त प्रायजसो ‘कंक्रिट जंगल’मा परिणत भइसक्यो। यस्तो लाग्छ, बोटबिरुवा अब छेउछाउका डाँडाकाँडामा मात्र छन्। ती डाँडाकाँडामा देखिएका बोटबिरुवालाई टाढाबाट हेरिबस्दा एकसरो हरियालीजस्तो मात्र लाग्न सक्छ, तर होइन रहेछ। खासमा वृक्ष वनस्पति त चराचर जगतको ‘लाइफ लाइन’ नै रहेछन्।

वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठको शब्द सापटी लिएर भनौँ, ‘धेरै वर्षको घामपानी, हावाहुरी, मलजल, वर्षा र खडेरी भोगेर वनस्पति बाँचेका हुन्छन्। तिनी अनुभवी हुन्छन्।’ तापमान नाप्ने थर्मोमिटर र उँचाइ नाप्ने यन्त्र अल्टिमिटरले बताउने कुरा बोटबिरुवाले सित्तैमा बताइरहेका हुन्छन्। ती अनेक बोटबिरुवाको ‘बोली, व्यवहार, चरित्र र उपयोगिता’ बुझेर सहकार्य गर्ने दायित्व हाम्रो रहेछ। यो किताबले काठमाडौँ उपत्यकाका अनेकन् वनस्पतिको बोली सुन्ने चेष्टा गरेको छ।

उपत्यका र आसपासमा के के रुखबिरुवा छन्, ती रुखबिरुवाको जाति, प्रजाति, चल्तीको नाम, स्थानीय नाम, वैज्ञानिक नाम के हो? उपयोगिता के छ? ती तमाम बोटबिरुवाको सप्तरङ्गी वानस्पतिक सुन्दरताको गज्जब वर्णन गरेको छ यो किताबले।

किताबमा मानबहादुर रोकाया, सालिक राम सिग्देल, अनि सरोज कसजु र ला दोर्चे शेर्पाको अथक मिहिनेत झल्किन्छ। दैनिक जीवनमा हामीले देखेका, प्रयोग गरेका र बेवास्ता गरेका अनेकन् बोटबिरुवाको वासस्थान, उपयोगिता, प्रयोग विधि र आर्थिक पक्ष समेटिएको गठिलो जानकारी किताबभित्र छ। यो किताबलाई नजिकबाट बुझ्न किताबका लेखकहरूबारे थोरै कुरा जान्नु वाञ्छनीय हुन्छ।

यो पनि: नेपालमा ‘सुका जाति’का फलफूल: प्रयोग र फाइदा

वनस्पतिको तस्वीर र वर्णनसहितको यो किताब चार जनाको बलबुतामा आएको हो। चार लेखकमध्ये दुई जनाचाहिँ प्रखर वनस्पतिविद् हुन्। लेखकमध्ये एक रोकायाले सन् २००० मा त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्र स्नातकोत्तरको थेसिसका लागि दुर्गम जिल्ला डोल्पाको सदरमुकाम दुनैबाट हिँडेर लगभग एक साता-दश दिन लाग्ने धो-तरापमा आम्चीहरूले प्रयोग गर्ने विभिन्न औषधिजन्य वनस्पतिबारे अध्ययन गरेर अनुसन्धानको यात्रा थालेका थिए। आफ्नो अनुसन्धानको आकांक्षालाई अझ फराकिलो बनाउन सन् २००७ पछि संसारकै पुरानोमध्ये एक चेक रिपब्लिकस्थित चार्ल्स विश्वविद्यालय (सन् १३१४ मा स्थापना भएको) तिर पुग्छन्। सुरुमा वनस्पति वर्गीकरण प्रणाली (ट्याक्सोनोमी) मा विशेषज्ञता हासिल गरे पनि पछि सोही विश्वविद्यालयबाट नै औषधिमा प्रयोग हुने विभिन्न वनस्पति प्रजातिको पारिस्थितिकसँग सम्बन्धित क्षेत्र समेटेर सन् २०११ मा विद्यावारिधि हासिल गर्छन्। हाल उनी चेक रिपब्लिकमै ‘चेक एकेडेमी अफ साइन्सेस’सँग आबद्ध दुई प्राज्ञिक संस्था ‘इन्स्टिच्युट अफ बोटनी’ र ‘ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट’मा वैज्ञानिकको रूपमा अनुसन्धानरत छन्। उनले वनस्पतिसम्बन्धी दर्जनौँ अनुसन्धानात्मक लेख, पुस्तक अध्याय र अरू तीन पुस्तक लेखेका छन्।

अर्का लेखक सिग्देलले त्रिभुवन विश्वविद्यालयबाटै वनस्पति शास्त्रमा स्नातकोत्तर गरी चीनको प्रतिष्ठित अनुसन्धान संस्थान ‘चाइनिज एकेडेमी अफ साइन्सेज’ बाट विद्यावारिधि र ‘पोस्टडक्टोरल’ स्तरको अनुसन्धान पूरा गरी सोही संस्थानमा अनुसन्धानकर्ताको रूपमा कार्यरत छन्। जलवायु परिवर्तनको सन्दर्भमा ‘हिमालयन अल्पाइन प्लान्ट इकोलोजी’ केन्द्रित ठोस अनुसन्धानमा राम्रो ‘प्रोफाइल’ बनाएका सिग्देलले जलवायु ‘वार्मिङ’ अन्तर्गत ‘अल्पाइन ट्रीलाइन’हरूको संरचना र ढाँचाहरूमा आएको परिवर्तनलाई राम्रोसँग बुझ्न सकिने अनुसन्धानमा योगदान गरेका छन्। उनी विश्व प्रसिद्ध वैज्ञानिक जर्नल ‘नेचर’मा आफ्नो अनुसन्धान आलेख प्रकाशित गर्न सफल निकै सीमित नेपाली वैज्ञानिकको सूचीमा पर्छन्।

अन्य दुईमध्ये शेर्पा र कसजुको औपचारिक पढाइको विज्ञता वनस्पतिसम्बन्धी नभए तापनि अध्ययन र फोटोग्राफीको रुचि र लगावचाहिँ वनस्पतिमै भएका कारण द्वयले ‘सिटिजन साइन्टिस्ट’का रूपमा वनस्पति अध्ययनको क्षेत्रमा आफ्नो उपस्थित देखाउँदै आएका छन्।

वनस्पतिबारे लेखिएको यो विज्ञानपरक र एक किसिमले भन्ने हो भने प्राविधिक खालको किताबबारे लेख्न खोज्नुको अर्को एक प्रसंग पनि जोड्छु। पढाइ लेखाइमा निकै मेधावी एक जना युवक। युवकका आमाबुबा पहाडी ग्रामीण परिवेशबाट आएको भए पनि शिक्षित र सरकारी उच्च ओहोदामा पुगिसकेका थिए। ऊचाहिँ काठमाडौँमै जन्मियो, यतैको ब्रान्डेड स्कुल र महँगो कलेजमा पढ्यो। पढाइमा अब्बल रह्यो। ‘शहरीया’ भन्न मिल्ने उक्त युवकले पिँडालु (ट्यारो) को तरकारी पनि खान्थ्यो, मीठो मान्थ्यो। गाभा (पिँडालुको पात, डाक्ला, कर्कलो) पनि खुब मिठो मानी खान्थ्यो। उसले पिँडालु पनि चिन्थ्यो र गाभा पनि चिन्थ्यो। तर बाआमाले आफ्नै करेसाबारीमा पिँडालु रोपेपछि मात्र उसलाई पिँडालु र गाभा एउटै वनस्पतिका जमिनमुनि र जमिन माथिका हिस्सा हुन् भनेर चिन्न सक्यो। त्यो पनि स्नातक स्तरको पढाइ सकिने-सकिने बेला। यो दृष्टान्तको अर्थ हो, शहरी नौजवानलाई गृहस्थ, खेतीपाती, बोटबिरुवा र वनजंगलको व्यवहारिक जानकारी निकै कम छ।

थकाली भान्सा घर वा कुनै सेकुवा कर्नरमा पोलेको आलु वा बँदेलको मासु खाँदा टिम्मुरको छोपसँग प्रेम बसेका कैयौँ युवालाई टिम्मुरको बोट र त्यसको वैँशालु फल कस्तो हुन्छ भन्ने थाहा नहुन सक्छ। ‘चेपाङ र चिउरी’ सम्बन्धबारे सुने पनि चिउरीको बोट नचिन्ने युवा पुस्ता प्रशस्त छन्। राणा शासकले शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई फाँसी दिन प्रयोग गरेको खरी र बकाइनाको रुखबारे पढ्ने त धेरै होलान्, तर ती रुखलाई चिन्ने कति होलान्? ‘शिरीषको फूल’ कस्तो हुन्छ र शिरीषको बोट कस्तो हुन्छ? अहिलेको नयाँ पुस्तामध्ये कतिले चिन्दा हुन्?

राष्ट्रिय फूल गुराँसको बोट चिन्ने कति होलान्? चुत्रो, काफल, मयल (म्याल), ऐसेलु, काफलगेडी, तिजुबारे चिनारी कस्तो होला? वार्षिक लाखौँ माला बनेर बिक्ने र हिन्दु आस्थावानको पूज्य रुद्राक्षको बोट र फल कस्तो हुन्छ? अथवा, बौद्धहरूले प्रयोग गर्ने बोधिचित्त माला बनाइने फल र त्यसको रूख कस्तो हुन्छ भनेर कतिलाई थाहा होला?

जंगली गिठा भ्याकुरबारे कतिलाई थाहा छ? जेठी मधु, पाखनवेद, हर्रो, बर्रो, पैयुँ, गाँजा यी चर्चित वनस्पतिको विवरण र उपयोगिता कतिलाई थाहा होला? असुरो र ऐँसेलु अनि बाँको र बनमारा कस्ता हुन्छन्? यो जिज्ञासाले मलाई खुब चिमोट्यो। त्यसै कारण यी र यस्तै करिब आठ सय पचासी वनस्पतिको वैज्ञानिक नाम, अंग्रेजी नाम, नेपाली र स्थानीय चलनचल्तीका विभिन्न नाम, ती बोट-बिरुवाको फूल र फलको चिनारी, वासस्थान, उपयोगिता र व्यावसायिक सम्भावना समेटेर तयार पारिएको तस्वीर दस्ताबेज बनेको यो किताबबारे केही त लेख्नै पर्छ भन्ने लाग्यो।

यो किताब पढ्न/संग्रह गर्न ट्याक्सोनोमीको रुचि हुनुपर्छ भन्ने जरुरी छैन। वनस्पतिबारे सामान्य रुचि हुनेका लागि पनि उत्तिकै संग्रह गर्न लायक छ। साथै उपत्यकाको प्रदूषण र वातावरणीय अवस्थाका सन्दर्भमा ‘प्रकृति, पर्यावरण, जलवायु परिवर्तन, ग्लोबल वार्मिङ’ जस्ता मुद्दाबारे बोल्नेले पनि प्रथमतः उपत्यका आसपासका वनस्पतिबारे अलिकति त जान्नु आवश्यक होला। यी न्यूनतम जानकारी प्राप्त गर्न र एकमुष्ट झन्डै ८८५ वनस्पतिबारे अध्ययन गर्न र जानकारी लिन यो किताब गतिलो स्रोत हो।

माथि नै स्वीकारेको छु, आख्यान, गैरआख्यान र भाषागत विषयमा मात्र अभ्यस्त मजस्तो सामान्य पाठकका लागि यो किताब ‘प्राविधिक वर्ग’मा पर्छ। यो किताबबारे मेरो पठन र मूल्यांकन आलोकाँचो हुनसक्ने जोखिम कम गर्नु थियो। त्यसैले नेपालमा असाध्यै कहलिएका वनस्पतिविज्ञद्वय डा. तीर्थबहादुर श्रेष्ठ र डा. रामप्रसाद चौधरीसँग यही किताबमा केन्द्रित रहेर छोटो अन्तरक्रियासमेत गरेँ। किताबमाथि डा. तीर्थबहादुर श्रेष्ठको टिप्पणी थियो ‘दुई जना व्यावसायिक वनस्पतिविद्’ र वनस्पतिसम्बन्धी डिग्री नलिएका दुई ‘सिटिजन साइन्स्टिस्ट’को सहकार्यमा लेखिएको यो किताब काठमाडौँ उपत्यकाको वानस्पतिक तस्वीर देखाउने गजबको दर्पण बनेको छ।

यो ऐतिहासिक किताब हो। विज्ञान, वन-वनस्पति, जैविक विविधता र पर्यावरणबारे असाध्यै बोधगम्य शैलीमा लेख्ने डा. तीर्थबहादुर श्रेष्ठको प्राज्ञिक उचाइ आफैँमा लोभलाग्दो छ। त्यस अर्थमा पनि उहाँको टिप्पणीलाई मैले यो समीक्षाको ‘पियर रिभ्यु’को रूपमा लिएको छु। त्यसैगरी डा. रामप्रसाद चौधरीको टिप्पणी थियो ‘आफैँले वनस्पतिसम्बद्ध अध्ययन अनुसन्धानमा झन्डै चार दशक बिताइसकेँ, वनस्पतिको अध्ययन अनुसन्धान गर्न कति कठिन छ, मलाई अन्दाज छ। युवा वनस्पतिविद्हरूले यत्तिको किताब निकालेकोमा अप्रिसिएट गर्नैपर्छ। यो निकै राम्रो किताब आएको छ’।

हुन त यसै पनि यो किताबको वजन झन्डै एक किलो ७०० ग्राम जति छ। अझ नेपालको वनस्पति अध्ययन अनुसन्धान क्षेत्रका ‘पायोनियर’ व्यक्तित्वद्वय श्रेष्ठ र चौधरीको भनाइबाट अन्दाज गर्न सकिन्छ किताबको ‘वजन’ निक्कै भारी छ।

किताब शक्तिबारे यति धेरै कुरा आए, अब अलिकति किताबको सीमाबारे कुरा गरौँ। पहिलो कुरा किताबको वजन अलि ज्यादा भयो। वन-वनस्पतिको अध्ययन अनुसन्धान गर्ने प्राज्ञिक व्यक्ति, विद्यार्थी, वनस्पति फोटोग्राफी र पर्यापर्यटनको लोभका कारण काठमाडौँ उपत्यकालाई गन्तव्य बनाउने स्वदेशी, विदेशी पर्यटकहरूका लागि किताब जुन स्तरको प्राज्ञिक छ, सर्वसाधारणका लागिचाहिँ किताब अलिकति क्लिष्ट लाग्न सक्छ। यो स्तरको सामग्रीलाई विश्वव्यापी बनाउन अंग्रेजीमा लेखिनु अनिवार्य नै थियो, साथमा यो किताबमा समाविष्ट वनस्पतिबारे नेपाली भाषामा पनि विवरण उपलब्ध हुँदो हो त, सर्वसाधारणका लागि पनि अझ ग्राह्य हुने थियो। 

यद्यपि, आगामी दिनमा यो किताब अझ सरलीकरण भएर आउने सम्भावना टरेको छैन। किनकि, काठमाडौँ उपत्यकामा अन्दाजी एक हजार ५०० प्रकारका वन-वनस्पति रहेको अनुमान छ, यो किताबले हाल करिब ८८५ प्रकारका वनस्पति समेटेको छ। अपेक्षा गरौँ, उल्लेख हुन बाँकी वनस्पति समेटिएको दोस्रो अंक आउँदासम्म किताब अझै 'सामान्य' भएर आउनेछ।

‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भन्ने नेपाली जनजीवनमा आहान नै छ। हो त्यस्तै, चार जना लेखकको १२ वर्षको मिहिनेतले फर्काएको ‘वनस्पति वाङ्मयको खोला’ हो यो किताब। यस किताबले उपत्यकाका वनस्पतिको पहिचान, अभिलेखीकरण र दस्ताबेजीकरणमा ठूलो योगदान गरेको छ। नेपाली वैज्ञानिक र अध्येताको यो मिहिनेतलाई धन्यवाद।